‘एनसिसी’मा छब्बिस वर्षअघिको त्यो ‘शाख’ फर्काउन कस्सिएका रविन

Break n Links
Break n Links

देशकै एउटा पुरानो ‘व्यवस्थापन’ संकाय पढाई हुने क्याम्पस हो नेपाल कमर्श क्याम्प। पछिल्लो पुस्तामा ‘एनसिसी’को नामले देशभरि चिनिएको यो क्याम्पसको इतिहास जति लामो छ, यहाँका विद्यार्थी राजनीतिको कहानीहरू पनि उत्तिकै लामा छन्। 

राजनीतिक पार्टीहरूमा ‘नेता’ जन्माउने एउटा क्याम्पस यो पनि हो। अहिले पनि नेपाली काँग्रेस, नेकपा एमालेलगायत धेरै पार्टीहरूका धेरै नेताहरूको ‘जग’ एनसिसी नै हो। तर विद्यार्थी संगठनकै बीच सधै बल्झिने राजनीतिक विवादका कारण धेरै वर्षसम्म यो क्याम्पसमा पढ्ने विद्यार्थीहरूले आफ्ना ‘नेता’ भने चुन्नै पाएनन्। २०६५ पछि यहाँ स्ववियुको चुनाव हुन सकेको छैन।

र, पनि १६ वर्षपछि फेरि एकपटक देशभरिका अरु क्याम्पस जस्तै एनसिसी पनि ‘स्वतन्त्र विद्यार्थी युनियन’को चुनावी माहोलमा छ। चैत ५ गते हुने स्वतन्त्र विद्यार्थीको चुनावबाट यहाँका लगभग ६ हजार ६ सय २५ विद्यार्थीले आफ्ना साझा नेता चुन्दैछन्। 

एनसिसीको ‘विद्यार्थी नेता’ बन्न अहिले स्ववियुको चुनावी मैदानमा ५ जना विद्यार्थी नेताहरू आआफ्नो समूह लिएर मैदानमा उत्रिएका छन्। खासगरी राजनीतिक दलकै भ्रातृ संगठनहरू अहिले मैदानमा छन्। 

ती मध्ये नेपाल विद्यार्थी संघ पनि सशक्त दाबेवार हो। २०५५ सालपछि एनसिसीमा नेपाल विद्यार्थी संघले नेतृत्व पाउन सकेको छैन। यसपालि नेविसंघको त्यही पुरानो ‘शाख’ फर्काउनका लागि रविन वली चुनावी मैदानमा खरो उत्रिएका छन्। 

२७ वर्षीय उनी कर्णालीको सुर्खेतका स्थायी वासिन्दा हुन्। नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यसमेत रहिसकेका वलीले यसपालि एनसिसीमा नेविसंघको शाख फर्काउन आफूले सक्दो प्रयास गरिरहेको बताएका छन्। २०५५ सालमा नेपाल विद्यार्थी संघका तर्फबाट भीम भन्डारी स्ववियुका अध्यक्ष चुनिएका थिए। अहिलेसम्मको १४ वटा स्ववियु नेतृत्वमध्ये नेवि संघको त्यही एउटामात्रै नेतृत्व हो।

‘चुनाव भनेको चुनाव नै हो। तर यसपालि नेपाल विद्यार्थी संघको माहोल निकै राम्रो छ र हामीले नै जित्छौं भन्ने पूर्ण विश्वासका साथ मैदानमा छौं’ नेविसंघका उम्मेदवार वली भन्छन् ‘हाम्रो विश्वास अनि भरोसा भनेकै यहाँका विद्यार्थी मित्रहरू हुनुहुन्छ। अहिलेसम्म उहाँको विश्वास जितिरहेका छौं।’

व्यवस्थापन संकाय पढाइ हुने देशको एकमात्र सबैभन्दा ठूलो र पुरानो यो क्याम्पसमा देशका लगभग सबैजसो जिल्लाका विद्यार्थीहरू अध्ययनरत छन्। धेरैजसो राजधानी बाहिरका विद्यार्थीहरू अध्ययन गर्ने यो क्याम्पस ती सबै विद्यार्थीका आशा र भविष्य-भरोसाको केन्द्र पनि हो। 

‘यो निर्वाचन स्ववियुका पदाधिकारी चुन्ने वा नेता बन्ने, बनाउनका लागि मात्रै होइन। लोकतन्त्रको रक्षा, विद्यार्थी अधिकारको सुनिश्चितता र शैक्षिक सुधारको ऐतिहासिक अवसर पनि हो’ नेविसंघका तर्फबाट एनसिसीमा स्ववियु उम्मेदवार बनेका वली भन्छन् ‘विद्यार्थी हकहितको संरक्षण, गुणस्तरीय शिक्षाका लागि सशक्त दबाबमूलक भूमिका, शैक्षिक सुधार र विद्यार्थी अधिकारका लागि निरन्तर संघर्ष अनि राजनीतिक हस्तक्षेपमुक्त शैक्षिक वातावरणको स्थापना मेरो अनि मेरो समूहको मुख्य जिम्मेवारी रहनेछन्।’  

एनसिसीमा नेपाल विद्यार्थी संघका नेता रविन्द्र राेकाय(रवि)का अनुसार अहिले नेपाल विद्यार्थी संघको माहोल निकै सकारात्मक छ। थुप्रै वर्षसम्म आफ्नो नेतृत्व चुन्न नपाएका विद्यार्थीहरू पनि यसपालि स्ववियु चुनावका लागि निकै उत्साहित छन्। 

‘यसपालि नेविसंघकै माहोल छ। हामी जित्छौं नै भन्ने छ’ रवि भन्छन् ‘लामो समय विद्यार्थी नेता छान्न नपाउनु भएका विद्यार्थी साथीहरू यसपालि उत्साहित नै हुनुहुन्छ। त्यसमा पनि यसपालि क्याम्पसमा डेमोक्र्याट लहर छ।’

प्रकाशित मिति: : 2025-03-14 18:49:00

प्रतिकृया दिनुहोस्