सहर- जहाँ हर कोही आफ्नो जीवनको दिशा कोर्न व्यस्त छन्। बिहानदेखि रातिसम्म यहाँ मानिसहरू दौडिरहेका छन्- कसैले उच्च शिक्षा खोज्दै, कसैले जागिरका अवसरहरू पछ्याउँदै त कसैले व्यापारमा हात हाल्दै।
अग्ला गगनचुम्बी भवनहरूमा हजारौं सपना सजिएका छन्। सहरका सडकहरू केवल गाडीका आवाजले मात्र भरिएका छैनन्, यहाँ हरेक पाइला अगाडि बढ्न चाहने आकांक्षाहरूको दौड पनि छ।
सहरले मान्छेलाई अवसर दिन्छ, तर कहिलेकाहीँ म आफैंलाई प्रश्न गर्छु- मेरो सफलताको जरा कहाँ छ? पहिलोपटक सपना देख्न सिकाउने हातहरू को थिए? उत्तर सधैं एउटै आउँछ- मेरो गाउँ।
त्यो हरिया डाँडाहरूको माझमा रहेको मेरो गाउँ, जहाँ हरेक बिहान चिसो बतासले नयाँ ऊर्जा भर्ने गर्थ्यो। जहाँ खोल्सामा दौडेर विद्यालय पुग्ने उत्साह थियो। जहाँ खेतबारीमा बाल्यकाल बित्यो, चौतारीमा बसेर संसारका अनगिन्ती कथाहरू सुन्न पाइन्थ्यो। गाउँमा कसैले भौतिक सुख खोज्दैन, यहाँको सम्पत्ति प्रेम, अपनत्व, र सामूहिक भावनामा छ। साँझ परेपछि आगनमा हजुरबुबाका अनुभवी कथाहरू सुन्ने, आमाको माया मिसिएको खानाको स्वाद लिने, र बाँसुरीको मधुर धुनमा मन हराउने। यी नै थिए मेरा सबैभन्दा मूल्यवान सम्पत्ति।
त्यही गाउँले मलाई सिकायो- ‘सपना देख्न डराउनु हुँदैन।’ ‘संघर्ष गर्न छोड्नु हुँदैन। ‘असफलता भनेको अन्तिम गन्तव्य होइन, नयाँ सुरुवात हो।’
समयसँगै अवसरको खोजीमा म राजधानी आइपुगें। गाउँबाट आएका हरेक युवा जस्तै म पनि उत्साहित थिएँ। लाग्थ्यो, यही सहर नै सफलताको वास्तविक गन्तव्य हो। तर बिस्तारै बुझ्दै गएँ- सहरले अवसर त दिन्छ, तर आत्मीयता खोस्छ। यहाँका मान्छेहरू आफ्नै दुनियाँमा हराएका छन्। सम्बन्धहरू स्वार्थमा आधारित लाग्छन्।हरेक दिन नयाँ प्रतिस्पर्धा, हरेक क्षण केही न केही गुमाइरहेको अनुभूति। कोही दौडिरहेका छन्, कोही थाकेर पछाडि हटिरहेका।
सहरको उज्यालो बत्तीले मेरो आँखामा चमक त ल्यायो, तर मनभित्रको उज्यालोपन विस्तारै धमिलिँदै गयो। जब-जब जीवनको दौडले थकित बनाउँछ, म गाउँ सम्झन्छु।
त्यो गाउँ नै थियो, जसले मलाई संघर्ष गर्न सिकायो।
त्यो गाउँ नै थियो, जसले मलाई मेहनतको मूल्य बुझायो।
गर्मीमा हलीले जोत्ने बारीबाट मैले लगनशीलताको पाठ सिकें। झरीमा भीर चढ्दै विद्यालय जाँदाको यात्राले दृढ संकल्पको पाठ सिकायो। दुःख पर्दा गाउँलेहरू मिलेर समाधान खोज्ने संस्कृतिले आपसी सहयोगको अर्थ बुझायो। सहरमा पैसा कमाउन सकिन्छ, तर गाउँले सिकाएका यी पाठहरू जीवनभर उपयोगी हुन्छन्।
अब मलाई थाहा छ- सपना पूरा गर्न संघर्ष गर्नुपर्छ, तर आफ्ना जरा बिर्सनु हुँदैन।जीवन केवल दौड होईन, यो आत्मीयता, सन्तुलन, र मानसिक शान्तिको खोजी पनि हो। सहरले मलाई अवसर दियो, गाउँले मलाई आत्मा दियो। सहरले मलाई दौड्न सिकायो, गाउँले मलाई उभिन सिकायो। सहरले सपना पूरा गर्नुपर्छ भनेर सिकायो, गाउँले सपना देख्नुपर्छ भनेर सिकायो।
त्यसैले, जति नै सफल भए पनि, जति नै अगाडि बढे पनि, मेरो गाउँ मेरो अस्तित्वको मूल जरा हो। किनभने- सपना सहरमा पूरा हुन्छ, तर त्यो सपना देखाउने मेरो गाउँ नै हो।