सोमबार, २३ मार्च २०२६

अमेरिका र इजरायले युद्ध सुरु गरे, ‘अन्त्य इरानले गर्छ’!

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

इरानसँग झस्किसकेका छन् अमेरिका र इजरायल

तीन साताअघि अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेका थिए। त्यो आक्रमणको पहिलो चरणमै उनिहरू इरानका सर्वोच्च नेता र उनको परिवारका लगभग सबै सदस्यहरूको विनाश गर्न सफल भए। त्यसपछि केही दिन हौसिएका अमेरिका र इजरायललाई अब यो युद्ध निल्नु न ओकल्नुजस्तै भएको छ।

उक्त आक्रमणबाट त्यहाँका सर्वोच्च नेता आयोतोल्लाह अलि खामेनेई मारिएपछि इरानले बचेका एकजना उनका माइला छोरा मोजतवा खामेनेईलाई नयाँ सर्वोच्च नेता चुनेको घोषणा गर्‍यो। यद्यपि उनि भौतिकरुपमा सार्वजनिक भएका छैनन्। युद्धका बारेमा बेलाबेला लिखित निर्देशन र युद्धका रणनीतिहरू सार्वजनिक गरिरहेका छन्।

जवाफमा इरानले सिधै अमेरिकामाथि आक्रमण गरेको छैन। तर अमेरिकाका ब्यापारिक तथा रणनीतिक साझेदारकारुपमा रहेका खाडीका राष्ट्रहरूमा भने इरानले लगातार आक्रमण गरिरहेको छ। किनकि यी राष्ट्रहरु भनेका तेलका धनी राष्ट्र हुन्। अनि यी अमेरिकाका ब्यापारिक र रणनीतिक साझेदार देशहरू पनि हुन्। यी देशहरूमा अमेरिकी सैनिकका बेसक्याम्पहरू पनि छन्। जसलाई इरनाले लगातार निशाना बनाइरहेको छ। इजरायललाई भने उसले हायलकायल पारिरहेको छ। इरानले यस्तो किन गरिरहेको छ भने अमेरिकामा सिधा आक्रमण नगरेर खाडी राष्ट्रहरूमा आक्रमण गर्दा अमेरिकामाथि थप दबाव सिर्जना हुन्छ। खाडी राष्ट्रहरूले इरानमाथि जवाफी आक्रमण गरिरहेका छैनन्। तर इरानले प्रहार गर्दै आएका मिसाइल र ड्रोनहरूलाई आफ्नो प्रतिरक्षा प्रणालीबाट निस्क्रिय पार्ने प्रयास गरिरहेका छन्। र पनि यी देशले ठूलै क्षति ब्यहोरिरहेका छन्। मात्रै अमेरिकाका कारण नचाहेरै पनि खाडीका यी राष्ट्रहरू इरान युद्धको चपेटामा लपेटिएका छन्।

यो युद्धको सबैभन्दा ठूलो प्रभाव विश्व इन्धन बजारमा देखिएको छ। किनभने विश्वको लगभग २० प्रतिशत तेल सिपिङ हुने बाटो भनेको हर्मुज स्ट्रीट हो। अरब सागरको यो बाटोको एउटा महत्वपूर्ण मोड अर्थात् साँघुरो खोंचमा इरानले अवरोध गरिरहेको छ। त्यसबाट पनि उसले विश्वबजारमार्फत अमेरिकामाथि दबाव सिर्जना गरिरहेको छ। हर्मुज स्ट्रीट भनिने विश्व तेलको यो बाटो कसरी खुलाउने भन्ने कुरा अहिले ट्रम्पका लागि युद्ध बिसाउनुभन्दा पनि अझ चुनौतीपूर्ण देखिएको छ। यसबीचमा ट्रम्पले उक्त बाटो खुलाउनका लागि इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन्। तर इरानले अब ‘युद्ध नयाँ मोडमा प्रवेश गरेको’ भन्दै इजरायलमाथि निर्णायक आक्रमण सुरु गरेको छ। यसअघि ट्रम्पले उक्त खनिज तेलका लागि हर्मुज स्ट्रीटमा निर्भर रहेका देशहरूले नै उक्त बाटो खुलाउन पहल गर्नुपर्ने भनेका थिए। र चीन, जापालगायत युरोपका शक्ति राष्ट्रहरूलाई समेत हर्मुज स्ट्रीटमा आफ्ना सैनिक तैनाथ गर्न आह्वान गरेका थिए। तर ट्रम्पले सुरु गरेको यो युद्धमा यी शक्ति राष्ट्रहरू सिधै मुछिन चाहेका छैनन्। अमेरिका भने इन्धनका लागि यो बाटो वा अरु राष्ट्रमा निर्भर छैन। अमेरिका खपत भन्दा धेरै इन्धन उत्पादन गर्नेमध्यको देश हो।

यता इरानले भने इजरायलमाथि आफ्नो निर्णायक आक्रमण सुरु गरेको जनाएको छ। शनिबार उसले दक्षिणी इजरायलका दुई सहरमा भीषण आक्रमण गर्‍यो। जसबाट इजरायल अहिलेसम्मकै ध्वस्त भएको देखिन्छ। र इजरायल यतिबेला साँच्चिकै आत्तिएको जस्तो देखिएको छ। इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले उक्त आक्रमणको क्षणलाई अहिलेसम्मकै सबैभन्दा ‘कठीन साँझ’ भनेर टिप्पणी गरेका छन्। इरानको यो आक्रमणबाट इजरायलका अरद र डिनोमा सहर लगभग ध्वस्त भएका छन्। यो आक्रमणबाट सयौं मानिस घाइते भएका विवरणहरू आएका छन्। अरु मानवीय क्षतिबारे भने इजरायले सार्वजनिकरुपमा भनेको छैन। आक्रमणपछि यी सहरहरूमा इजरायले सबै विद्यालयहरू बन्द गर्न आदेश दिएको छ भने कक्षाहरू अब अनलाइनमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाएको छ। इजरायले इरानको सबैभन्दा ठूलो आक्रमणलाई रोक्नका लागि आफ्नो हवाई प्रतिरक्षा प्रणाली विफल भएको स्वीकार गरेको छ। इरानले आक्रमण गरेर ध्वस्त बनाएको यो सहर इजरायलको सबैभन्दा ठूलो र अहिलेसम्म इजरायलले लुकाइराखेको सबैभन्दा ठूलो परमाणु हतियारको मुख्य केन्द्र पनि हो। इजरायलले यसलाई अनुसन्धान केन्द्र भने पनि विश्वको सबैभन्दा शक्तिशाली परमाणु हतियार यही केन्द्रमा छ भन्ने कुरा एउटा खुला रहस्यजस्तै हो।

इरानले यसअघि नै अमेरिका र इजरायलले गर्ने सम्भावित आक्रमणका बारेमा आँकलन गरिसकेको थियो र अब त्यसका लागि पहिला नै तय गरेको रणनीति अपनाउनुपर्ने समय आइसकेको बताएको थियो। इरानले अब युद्ध नरोकिने र त्यसको अन्त्यको फैसला पनि इरानले नै गर्ने पनि चेतावनी दिइसकेको थियो। त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्ध अन्त्य गर्नेबारे आफूले बिचार गरिरहेको बताएका थिए। तर जवाफमा इरानले यो युद्धको अन्त्य कसरी वा कहिले हुन्छ भन्ने निर्णय इरानको हातमा रहेको बताएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!