आश्रममा बाआमा–१

छोरा बेलायतमा, छोरी अमेरिकामा, ‘सुबेदार बा’ वृद्धाश्रममा (भिडियोसहित)

'जसले युद्धमा होमिएर देशका निम्ति ‘मुटु’ मा गोली खाए'

BreaknLinks
BreaknLinks

भोजपुरका सुन्दरकुमार विष्टका कान्छा छोरा बेलायतको लण्डनमा छन्, कान्छी छोरी मिलन अमेरिकामा बस्छिन्। तर ८७ वर्षका विष्ट भने नयाँ बसपार्कको हिमालय वृद्धाश्रम केन्द्रमा जिन्दगी बिताइरहेका छन्। उनी करिब डेढ वर्षअघि आश्रम आएका हुन्। सन्तानबाट अलग्गिएर बेसहारा बनेका उनी सहारा खोज्दै हिमालय आश्रम पुगेका हुन्।


४४ जना आश्रित वृद्धाश्रममा सबैभन्दा फूर्तिला छन्, उनी। सबेरै उठ्छन्, योगा गर्छन् र सँगैका साथीहरुलाई पनि उनी व्यायाम गर्न सिकाउँछन्। उनी अर्थात् आश्रमका चर्चित पात्र ‘सुबदार’ बा। भलै, उनको नाम सुन्दर हो तर आश्रममा उनलाई ‘सुबेदार’ बा भनेर सम्बोधन गरिन्छ।

सुन्दरले ‘सुबेदार’ को उपनाम त्यतिकै पाएका होइनन्। उनी पूर्व इन्डियन आर्मीका ‘क्याप्टेन’ हुन्। जसले युद्धमा होमिएर देशका निम्ति ‘मुटु’ मा गोली खाए।

वि.स. २००७ सालतिरको कुरा हो, दिल्लीको एक सानो गल्लीमा ‘सुन्दर’ भविष्यका लागि सुन्दर हुर्किँदै थिए। स्कुल जानु र घरायसी काम गर्नु नै उनको मुख्य काम थियो। मेलापात गर्दै परिवार पालिरहेका सुन्दर एकदिन स्कुलबाट घर फर्किएर गृहकार्य गरिरहेका थिए। त्यति नै बेला उनले एकाएक ‘माइक’ फुकेको आवाज सुने। त्यही आवाज सुनेर सुन्दर किताबै बोकेर घरबाहिर निस्किए।

घरभित्रबाट बाहिर निस्किएपछि सुन्दरले चाल पाए, उनीहरुको बस्तीमा आर्मी छिरेको रहेछ। आफ्नो घरकाे आँगनमा आर्मीलाई देखेर दङ्ग परेका सुन्दर खुसीले गदगदी हुन थाले। आफ्नो दाजुहरुलाई आर्मीहरुले घरबाटै लगेर आर्मी बनेकाे कुरा सम्झिएर उनले पनि मनमनै सोच्न थाले, ‘मेराे सपना अब पूरा भयाे, म पनि आर्मी हुने भएँ।’ 

१८ वटा घर भएको बस्तीमा सुन्दरकै उमेरका १७ जना किशोर भेटिए। जसलाई आर्मीहरुले उनीहरुको ‘हुलिया’ हेर्दै एकएक गरी छान्न थाले। सर्लक्क परेको जीउडाल भएका सुन्दर आर्मीकाे नजरमा परे। घरायसी कामका साथै दौड र पौडी खेल्नमा तेज सुन्दर आर्मी बन्न योग्य ठहरिए।

‘त्योबेला आर्मी बन्न अहिले जस्तो लोक सेवा दिएर पास हुनु पर्दैन थियो’, ७० वर्षअघिको कुरा काेट्याउँदै उनले भने, ‘जो ठिटो खाइलाग्दो देखिन्थ्यो, उनै आर्मी बन्न याेग्य हुन्थ्याे।’

खाइलाग्दाे शरीरकै कारण आर्मी हुन याेग्य भएका सुन्दर निकै खुसी थिए तर बूढी आमालाई छाडेर जानुपर्ने कुरामा उनी उत्तिकै दुखी पनि थिए। १५ वर्षका किशोर सुन्दरलाई आफ्नो श्रीमतीसँग बिछोड हुनुको पीडाले भन्दा धेरै आमासँग टाढिनु पर्ने कुराले पिरोलिरहेको थियाे।

घर छाडेर आर्मीसँग ‘क्याम्प’ जानुअघि उनले आर्मीका कमाण्डरसँग सर्त राख्दै भन्न थाले, ‘क्या आप हमे उधर पढाएगेँ?’ उनको कुरा सुनेर आर्मीले पनि भने, ‘हाँ, हाँ तुमको हि नहीँ बल्की सबको पढाएगेँ।’ कमाण्डरको जवाफ सुनेर मख्ख परेका सुन्दरले आमालाई अँगालेर रुँदै भने, ‘आमा मेरो पीर नलिनू है। आफ्नाे ख्याल राख्नू।’

आमासँग बिदा लिएर सुन्दरलगायत १५ जना किशाेर दिल्लीकाे एक आर्मी क्याम्पमा पुगे। कक्षा ५ मा अध्ययनरत उनले त्यहीँबाट पढाइलाई निरन्तरता दिन थाले। बिहान र दिउँसाे आर्मीको तालिम लिन्थे भने साझँपख उनी किताब लिएर पढ्न बस्थे।

आफ्नाे पढाइसँगै सुन्दरले कामलाई पनि उत्तिकै महत्व दिए। त्यसैकाे फलस्वरूप उनी ६ महिनामै परिपक्व आर्मी बन्न सफल भए। ‘मसँग गएका मेरा दौँतरीहरुलाई आर्मी बन्न वर्षदिन लाग्यो तर म ६ महिनामै आर्मी भएँ’, उनले भने, ‘आर्मी बन्दा धेरै खुसी थिएँ।’

आर्मी बनेका सुन्दरका दाइहरु युद्धमा शहिद भएका थिए। त्यसैले उनमा हुटहुटी थियो, आर्मी भएर देशको सेवक बन्ने।

‘मेरा दाजुहरु पनि आर्मी हुनुहुन्थ्यो, उहाँहरू युद्धमा शहिद हुनुभयो’, स्वर्गीय दाइहरुलाई सम्झँदै उनले भने, ‘दाइहरुले देशकाे लागि ज्यान दिनुभयाे। त्यसैले मलाई पनि दाजुहरूले जस्ताे सम्माननीय काम गर्ने मन थियाे।’

आर्मीको सिपाही बनेर ‘ड्युटी’ मा लागेका सुन्दर २ वर्षमै ‘क्याप्टेन’ बने। ‘मेरो काम देखेर सबै जना खुसी हुनुहुन्थ्यो, त्यसैले मलाई २ वर्षमै क्याप्टेन बनाइदिनुभयाे’, विगत सुनाउँदै उनले भने, ‘सँगैका साथी आर्मी नै थिए तर म उनीहरूभन्दा सिनियर भएँ, त्याेबेला म निकै खुसी भएकाे थिएँ।’

‘मृत्युको मुखमा पुगेर फर्किएँ’

आफ्नो कामप्रति लगनशील सुन्दरलाई ६० को दशकमा युद्धमा जानुपर्ने कमाण्ड आयो। युद्ध लड्ने कमाण्डलाई स्विकार्दै उनी १६४ जनाको नेतृत्व गर्दै युद्धमा होमिए।

‘क्याप्टेन म एक जना थिएँ, मेरो मुनिका अफिसरहरु पनि थिए तर १६४ जनाको नेतृत्व मैले नै गरेको थिएँ’, उनी सुनाउँछन्, ‘युद्धमा नै मेरा प्यारा दाजुहरूले ज्यान गुमाउनुभएकाे थियाे, त्यसैले युद्धमा जानुअघि निडर भएँ।’ 

युद्धभूमिमा गएका सुन्दर शहिद भएका दाजुहरुलाई सम्झँदै लडाइँ गर्न थाले। बन्दुक पड्काउँदै लडाइँ गर्नमा व्यस्त रहेका सुन्दरको मुटुमा अचानक दुखाइ हुन थाल्यो, त्यसपछि के भयो उनलाई थाहा पत्तो छैन।

‘युद्ध गरिरहेको बेला मेरो मुटुमा बुलेट लागेर म बेहोस भएछु। मलाई मेरा साथीहरुले नै अस्पताल पुर्याएका रहिछन्। १६५ जना गएका टोली हामीहरु ३५ जना मात्र फर्किन सफल भएका रहिछौँ’, साथीमार्फत थाहा पाएको कुरा सुनाउँदै उनले भने, ‘मलाई कलकताको अस्पतालमा पुर्याएका रहिछन्, बुलेट लागेर कोमामा पुगेको मलाई हप्ता दिनपछि मात्र होश फर्किएको रहिछ।’

२४ वर्षकै उमेरमा युद्धमा गोली खाएर बाँच्न सफल भएका उनी भन्छन्, ‘म मृत्युको मुखमा पुगेर फर्किएँ।’ युद्धबाट बाँचेर फर्किएका सुन्दर पुनः आर्मीमा लाग्न सकेनन्। ‘म बिरामी भएर कमजोर भएँ, त्यसैले आर्मीमा समावेश हुन सकिनँ’, उनी भन्छन्, ‘ती कुरा सम्झँदा दुख लाग्छ।’

‘आर्मी छाडेपछि इन्जिनियर भएँ’

युद्धमा गोली खाएर कमजोर शरीर लिएर उनले आर्मी त्यागे। ‘युद्धमा घाइते भएपछि ५ लाख भारतीय पैसा लिएर म आर्मीबाट बाहिरिएँ’, उनले भने, ‘त्यसपछि म घर फर्किएँ।’

आर्मीबाट पाएको पैसाले सुन्दरले गाउँमै २८ वटा गाई किनेर फार्म खोले। त्यही गाईले दिएको दुधलाई उनले ध्यूँ बनाउँदै बेच्न थाले। आम्दानी राम्रै थियो, गाई पालनले घरपरिवार थेगेकै थियो। तर उनी भने आफूले गरिरहेको कामप्रति सन्तृष्ट भएनन्। जसको कारण थियो, उनको शिक्षा।

विज्ञान विषयमा स्नातक तह पास गरेर घरकै काममा व्यस्त रहेका सुन्दरलाई एकदिन साथीले ‘इन्जिनियर’ बन्न सुझाव दिए। साथीको कुरा सुनेर सुन्दरले इन्जिनियर बन्ने तरखर गर्न थाले। इन्जिनियर बन्ने सिलसिलामा उनी भुटानको थिम्फु पुगे।

कडा परिश्रम गरेर इन्जिनियर बनेपछि सुन्दरले भुटानमा ५० वटा घर बनाए, सडक निर्माण गरे, खानेपानी नपुगेको ठाउँमा पानी पुर्याए र बिजुली नगएकाे सहरमा बत्ती पुर्याए। तीन दशक बढी इन्जिनियर बनेर भुटानमा बसेका उनलाई अहिले एउटै कुराको पछुतो लाग्छ, ‘भुटानमा गरेको काम नेपालमा गरेको भए चर्चित हुन्थेँ होला। सम्मान पाउथेँ हाेला।’

‘६ वर्षको उमेरमा गाडी कुदाएँ’

३२ वर्ष थिम्फुमा बिताएका उनी २०४७ सालमा नेपाल फर्किए। आफ्नो देश फर्किएका उनी ललितपुरको सानेपामा बस्न थाले।

‘आफ्नै देश फर्किँदा खुसी थिएँ, तर बाआमाको सम्झनामा धेरैँ रोएँ’, गहभरिका आँसु पुछ्दै बिएल नेपाली सेवासँग उनले भने, ‘देश छोड्दा बाआमा मेरो साथमा हुनुहुन्थ्यो तर फर्किँदा हुनुभएन।’

भोजपुरमा जन्मिएका उनी विष्ट परिवारका १३औँ सन्तान हुन्। घरका कान्छा छोरा भएका कारण उनी बाआमाका प्यारो सन्तान थिए। त्यसैमाथि उनी पिताका ‘लक्की’ छोरा।

‘मेरो बुबा पनि इन्जिनियर हुनुहुन्थ्यो, त्यसैले उहाँले कामको लागि इन्डियाको एक कम्पनिमा आवेदन दिनुभएको थियो। तर त्यसको कुनै जवाफ नै आएन’, उनी सुनाउँछन्, ‘तर मेरो जन्मपछि मेरो पितालाई इन्डियाबाट कामको लागि टेलिग्राम आयो र हामी खुसी हुँदै इन्डिया गयौँ।’

तीन महिनाकै उमेरमा भारत पुगेका सुन्दर दिल्ली बसेर पढ्न थाले। पिताको कमाइ राम्रै थियाे। त्यसैले त सुन्दरले ६ वर्षकै उमेरमा गाडी कुदाउने अवसर पाए।

६ वर्षका बालक सुन्दरमा गाडी गुडाउने धोको भएकै कारण उनले गाडीको सिटमा सिरानी बिछ्याउदै गाडी हाकेका कुदाएका थिए।

‘बुबाले ५ हजारमा गाडी किन्नुभएको थियो। त्यही गाडी लिएर बजार हुइँकिन्थेँ’, विगतका कुरा सम्झिएर हाँस्दै उनी भन्छन्, ‘शनिबार र आइतबार स्कुल बिदा हुन्थ्यो। त्यसैले गाडी लिएर बजार जान्थेँ अनि शौदागरहरुलाई गाडीमा बसालेर ठाउँसम्म पुर्याइदिन्थेँ। मलाई उनीहरुले सुक्का पैसा दिनुहुन्थ्यो।’

बुबाको भरमा बाँचिरहेको विष्ट परिवारमा एक्कासी बज्रपात पर्यो। सुन्दरका पिताले संसार त्यागे। ७ वर्षकै उमेरमा पिता गुमाएपछि सुन्दरले नै घरको व्यवहार सम्हान थाले।

उनले ८ वर्षकै उमेरदेखि मेलापात गर्दै परिवार पाल्न थाले। ‘दाजुहरु कोही युद्धमा शहिद हुनुभयो, कोही दाइ भाउजु लिएर जानुभयो। त्यसैले सबै जिम्मेवारी मेरो थाप्लोमा आइपर्यो’, उनले भने, ‘कान्छा छोरा भएर पनि मैले धेरै दुख गरेँ।’

घरकाे कान्छा छोरा भएर जन्मिएका सुन्दरको आफूप्रति एउटा गुनासो छ। ‘कान्छा छोरा भएर जन्म नलिनू, किनकि कान्छा छोराले बाआमासँग धेरै समय बिताउन पाउँदैन’, सानै उमेरमा पिता गुमाएका सुन्दर भन्छन्, ‘कान्छा छोराले नै सारा घरपरिवार सम्हाल्नुपर्छ। धेरै दुख पाउँछ।’

‘माओवादीले बन्दुक तेर्साएर ज्यान मार्ने धम्की दियो’

झण्डै ६ दशकपछि स्वदेश फर्किएका सुन्दरले विज्ञापन एजेन्सी खोलेर काम गर्न थाले। नयाँ बानेश्वरमा खोलेको एजेन्सीबाट नै उनले परिवार पाल्न थाले। तर माओवादीले काम गर्न नदिएकाे उनी बताउँछन्।

‘त्योबेला माओवादीको बिगबिगी नै थियो। त्यसैले कहिलेकाहीँ माओवादीको विरुद्धमा विज्ञापन आउँथ्यो’, उनले भने, ‘माओवादीको बारेमा नकारात्मक विज्ञापन प्रचार गरेको भन्दै मलाई माओवादीले बन्दुक तेर्साएर ज्यान मार्ने धम्की दियो।’

टाउकोमा बन्दुक तेर्साउँदै उनलाई माओवादीले भनेको थियो, ‘सुबेदार साब, विज्ञापनको अफिस बन्द गर्छौ कि बन्दुकले उडाइदिम?’

माओवादीले दिएको धम्कीको कारण उनले आफ्नो कार्यालय बन्द गरिदिए। माओवादीको कारण कामबाट विश्राम लिएका सुन्दर खुसी नै थिए तर उनमा अर्को संकट आइपर्यो। जब उनकी श्रीमतीले सुन्दरलाई सदाका लागि छाडेर गइन्।

श्रीमतीको निधनले बिरक्तिएका सुन्दरलाई छोरीले नयाँ बसपार्कको ‘गेस्ट हाउस’ मा राख्न थालिन्। दिनको एघार सय रुपैयाँ तिरेर होटेलमा बसेका  सुन्दरले छोरीलाई भनेका थिए, ‘छोरी, मलाई यसरी महँगो ठाउँमा नराख। बरु मलाई कोठा खोजेर राखिदे, आफैँ कमाएर खान्छु। तँलाई धेरै समस्या छ।’

सुन्दरकाे कुरा सुनेर छोरीले पनि भन्ने गर्थिन्, ‘पर्दैन बुबा, तपाईं बूढो भइसक्नुभयो, काम गर्नु सक्नुहुन्न। आरामले बस्नु न। तपाईंको लागि म छु नि बुबा।’

छोरीकै चाहनाअनुसार उनी साढे ५ महिना होटेल बसे। ‘छोरीले मलाई महँगो होटेलमा राखिन्, साढे ५ महिनामै एक लाख ८० हजारको बिल उठ्यो’ उनले भने, ‘छोरीसँग पनि पैसा थिएन, त्यसैले छोरीले ८० हजार पैसा तिरिन् र एक लाख पछि तिर्ने भाका राखिन्।’

पाटनका इन्जिनियरसँग उनले छाेरी मिलनकाे विवाह गरिदिएका थिए। प्रेम विवाह गरेकी छाेरी खुसी नै थिइन्। तर विवाह गरेकाे केही वर्षपछि नै छोरी र ज्वाइँबीच झगडा बढ्न थाल्यो। जसकारण छोरीलाई छोडेर ज्वाइँ रसिया भासिए।

श्रीमानले छाडेर गएपछि छोरीले पनि बाहिर जाने निधो गरिन्। ‘मैले छोरीलाई बाहिर नजाऊ भनेको थिएँ तर छोरीले मेरो कुरा मानिनन्’, दुख पोख्दै उनले भने, ‘छोरीले मलाई, बाबा म तपाईंको लागि घर बनाउने पैसा बोकेर मात्र स्वदेश फर्किन्छु। यहाँ बसेर मैले घर बनाउन सक्दिनँ भनेकी थिइन।’

पैसा कमाउन ‘लण्डन’ गएका कान्छा छोराले माया मारेपछि उनी चाहँदैनन् थिए कि एउटी भएकी छोरी पनि विदेशै जाउन्। तर छोरीको इच्छाकाे अगाडि उनकाे केही लागेन। त्यसपछि छोरीलाई अमेरिका जान अनुमति दिए।

छोरी अमेरिका गएको केही दिनपछि नै उनलाई होटेलका मालिकले त्यहाँबाट निकालिदिए। हाेटेलबाट निकालिएपछि घरविहीन भएका उनी छोराछोरी भएर पनि बेसहारा भए।

घरविहीन भएर अलपत्र परेका उनलाई हिमालय आश्रमकी संस्थापक सरला पन्थीले आश्रममा लगिन् र सहारा दिन थालिन्।

डेढ वर्षअघि आश्रम आएका उनी अहिले खुसी नै छन्, तर उनी लण्डन र अमेरिकामा भएका छोराछोरीलाई सम्झिएर रुने गर्छन्। ‘छोराछोरीलाई दुख गरेर हुर्काएँ तर अहिले उनीहरु नै साथमा छैनन्। यहाँ बस्नुभएका सबै जनाले मलाई माया गर्नुहुन्छ तर छोराछोरीको याद आउँछ’, उनी भन्छन्, ‘तर मलाई छाेराछाेरी हेरेनन्, माया गरेनन् भनेर कुनै दुख छैन। जहाँ भएपनि उनीहरू खुसी रहुन्।’

जिन्दगीलाई सुख र दुखकाे यात्रा बताउने सुबेदार बाको जिउनुको एउटै सहारा भनेको छोरीको त्याे अन्तिम ‘भ्वाइस म्यासेज’ हो।

अमेरिका पुगेपछि छोरीले फोन गरेर सुन्दरलाई भनेकी थिइन्, ‘बुबा मेरो चिन्ता नलिनू, मलाई केही भयो भने तपाईंलाई थाहा हुन्छ, तपाईंलाई केही भयो भने मलाई थाहा हुन्छ। त्यसैले चिन्ता नलिनूस् है बुबा।’

त्यही म्यासेज सुनेर दिन बिताउने सुन्दर सम्पर्कविहीन भएका छोराछोरीको यादमा वृद्धाश्रममा जिन्दगी कटाइरहेका छन्।

प्रकाशित मिति: : 2023-03-09 18:00:00

प्रतिकृया दिनुहोस्