हर नारीका सवालमा आज पनि समाज उस्तै छ, जस्ताे हिँज थियाे। त्यसमा पनि अझ याे ‘बिग्रेकी’ भनेर सिधै नाक खुच्याउने यही समाजसँग प्राचीले कम्ती लड्नुपरेन। याे समाजकाे बचनले उनकाे मन भत्भती पाेल्थ्याे तर हिम्मत भने कहिल्यै हारिनन्। आफूजसरी कुलतमा फँसेका महिलाहरूलाई आफूजस्तै सुधार्ने बाटाे रोजेकी प्राचीले सीतापाइलाकाे डाँडाेमा उभ्याएकाे ‘साहारा फिमेल फाउण्डेशन’ आज दुर्व्यसनीले सकिन थालेका कैयाैं महिलाका लागि जीवनमा फेरि नयाँ आशाकाे साहारा बनेकाे छ।
८ वर्षअघि विदेश जाने अनि पैसा कमाउने प्राचीकाे हुटहुटी थियाे। त्यही साेचले उनी ‘साइप्रस’ जाने तरखरमा थिइन्।
विदेशमै ‘सेटल’ हुने सपना बुनेकी उनले अन्तर्वार्ता पास गरिसकेकी थिइन्। र, साढे चार लाख रूपैयाँ पनि जम्मा पारिन्।
तर, सायद विदेशिनु उनकाे भाग्यमा लेखेकै थिएन। ‘मेडिकल’मा उनी फेल भइन्।
विदेश जाने प्राचीकाे सपना अधूरै रह्याे।
त्यसपछि उनी निराशिन थालिन्। र, अन्याेलमा परिन्।
अब के गर्ने?
न पढे–लेखेकाे मान्छे। न त हातमा केही सीप थियाे। तर प्राचीसँग अनुभव थियाे, त्यही पनि ७ वर्ष ‘रिकभरी’काे। अर्थात् उनले लागुऔषधकाे एउटा एउटा दलदलबाट भर्खर आफूलाई निकालेकी थिइन्।
उनलाई चिनेकै एक साथीले सुधार केन्द्र सञ्चालन गर्न सुझाव दिइन्। उनलाई पनि ती साथीको सुझाव राम्रो लाग्यो।
किनकि त्योभन्दा पहिले उनले सुधार केन्द्रमा काम गरिसकेकी थिइन्। उनीसँग रिह्याबमा काम गरेको अनुभव थियो।
त्यही अनुभवको कारण उनले सुधार केन्द्र चलाउने हिम्मत गरिन्। उनै साथीको दाइसँग साझेदारीमा।
उनीभित्र रिह्याब चलाउनसक्ने आँट थियो। तर साथमा पैसा थिएन। त्यसैले उनले आफ्नी सासूआमासँग पैसा मागिन् अनि आमासँग एक तोलाको गहाना।
त्यही बेचेर जम्मा गरेकाे उनले नागार्जुनमा दुई रोपनी जग्गामा सुरू गरेकी थिइन्, ‘साहारा नेपाल’ महिला सुधार केन्द्र।
त्यतिबेला अहिलेजस्ताे जताततै थिएन महिला सुधार केन्द्र। त्यसैले उनीकहाँ पहिलाे चरणमै १८ जना दुर्व्यसनी महिलाहरू सुध्रिनका लागि भर्ना भएका थिए। त्यही पनि प्राचीकाे चिनजानमा।
उनीसँग उनकाे पाटनरहरू थिए तर नामकाे मात्र। काम गर्थिन् प्राचीले तर नाम कमाएका थिए उनै दाइले। त्यही पनि केही बाेलेकी थिएनन् उनले।
तर सुधार केन्द्र सञ्चालन गर्न थालेकाे चार–पाँच महिनामै सञ्चालकहरूबीचै मनमुटाव भयाे।
उनले चिनेकाे एक दुर्व्यसनी बहिनीकाे कारण।
खासमा, प्राचीकाे नजिक थिइन् ती बहिनी। जोसँग प्राचीको चिनजान दुर्व्यसनीको अवस्थामा भएको थियो। उनीकहाँ ‘धूलो’ किन्ने गर्थिन् बहिनीले।
उनै बहिनीसँग प्राचीको छुट्टै घनिष्ठ सम्बन्ध बनिसकेको थियो।
त्यसैले त उनले आफू सुध्रिएपनि बहिनीसँग सम्बन्ध तोडेकी थिइनन्। बरू, सुध्रिसकेकी प्राचीलाई बेलामौकामा भेटेर पैसा दिँदै भन्ने बहिनीले भन्ने गर्थिन्, ‘तपाईंभन्दा धेरै पावरफूल छ, यो ड्रग्स। अब कहिल्यै नखानू दिदी। फेरि म तपाईंसँग कहिल्यै बोल्दिनँ।’
उनलाई त्यसरी सम्झाउँने बहिनी नै नशामा यतिधेरै डुबिसकेकी थिइन् कि उनी ठमेल क्षेत्रमा नाङ्गै हिँड्थिन्। त्याे कुरा जब प्राचीले थाह पाइन् बहिनीलाई आफ्नै सुधार केन्द्रमा राख्न खोजिन्।
तर उनको पार्टनर मानेनन्। बरू, उल्टै प्राचीलाई सम्झाउन थाले, ‘यो केटीलाई राखेर हामीलाई पैसा आउँदैन। यो मर्यो भने कसको दोष?’
सुधार केन्द्रका साथीहरूकाे मुखबाट त्यस्ताे शब्द सुनेपछि निकै भावुक भएकी थिइन् प्राची। त्यसैले उनले पार्टनरसिप नै ताेडिदिइन्।
किनकि उनलाई जसरीपनि ती बहिनीलाई साहारा दिनुथियाे।
‘मेरो बहिनीलाई नराख्ने भनेपछि मैले उनीहरूसँग पार्टनरसिप नै तोडिदिएँ’, उनी भन्छिन्, ‘सबैथोक पैसा मात्र होइन नि। मलाई त्यस्तो साथी चाहिएको थिएन। जो पैसाको लागि मात्र काम गर्न चाहन्छ।’
साझेदारीमा काम गरिरहेका साथीहरूसँग सम्बन्ध टुटेपछि उनी एक्लैले सुधार केन्द्र हाँक्ने अठाेट गरिन्।
उनले फेरि सासूआमालाई ब्याजमा पैसा मागिन्। उनकी सासूले पनि बुहारीले राम्रै कामको लागि पैसा मागेको बुझेर एकै शब्दमा पैसा खोजिदिइन्।
र, प्राचीले फेरि त्यही ठाउँमा ‘साहारा फिमेल फाउण्डेशन’ सुधार केन्द्र चलाउन थालिन्।
आफू एक्लैले सुधार केन्द्र चलाउँदा उनले धेरै संघर्ष गरिन्। मान्छेको तिरस्कार सहिन्। तर कहिल्यै हार मानिनन्। बरू, त्यसैलाई आफ्नो हिम्मत बनाएर अगाडि बढिरहिन्।
‘एउटा दुर्व्यसनी महिलालाई हेर्ने समाजको दृष्टिकोण अहिले त ठिक छैन भने त्योबेला कहाँ राम्रो हुन्थ्यो र? हामीलाई कत्ति हेप्न खोज्थ्यो तर कहिल्यै हिम्मत हारिनँ। सधैं ढडेर अगाडि बढें’, उनी सुनाउँछिन्, ‘मलाई मजस्ता दुर्व्यसनी दिदीबहिनीहरूलाई सुर्धानु थियो। त्यसैले कसैकाे गाली सुनिनँ।’
एक्लैले सुधार केन्द्र चलाउन थालेपछि उनले ठमेलमा अचेत अवस्थामा हिँडेकी बहिनीलाई पनि आफैंसँग राख्न थालिन्। र, उनको लागि चिनेका साथीभाइहरूसँग सहयोग मागेर अस्पताल लगिन्।
प्राचीले ती बहिनीलाई वीरदेखि न्यूरोलगायत टिचिङ अस्पतालसम्म लगेर उपचार गराइन्। निको बनाएरै छोडिन्।
अहिले उनै बहिनी प्राचीसँग सुधार केन्द्रमा बस्छिन्। दुर्व्यसनी महिलाहरूको हेरचाहमा खट्छिन्।
‘अहिले त्यो बहिनी मसँग बस्छिन्। सुधार भइसकेकी छिन्। दुर्व्यसनी महिलाहरूको स्याहार पनि गर्छिन’, सुधार केन्द्रकी खाइलाग्दी केटीतर्फ इशारा गर्दै उनले भनिन्, ‘उनै हाे बहिनी।’
डेढ दशकदेखि कुलतबिनाकाे जिन्दगी बिताइरहेकी प्राचीले पाँच सय महिला दुर्व्यसनीहरूकाे उपचार गरिसकेकी छिन्। भने सयाैंकाे संख्यामा दुर्व्यसनीहरूलाई सुधारिसकेकी छन्। र, अझैपनि सुधारिरहेकी छिन्।
कुनैबेला आफूले पनि नशालाई जिउने आदत बनाएकी प्राची अहिले दुर्व्यसनी महिलाहरूलाई नशामुक्त जिवन दिलाउन चाहन्छिन्।
तर पछिल्लाे ८ वर्षदेखि उनीसँग एउटा नमिठो अनुभव छ। त्यो हो, ७० प्रतिशत लागुऔषध प्रयोगकर्ताहरू पुनः कुलतमा फर्किन्छन्।
उनकाअनुसार सुधार केन्द्रमा बसेका ३० प्रतिशत प्रयोगकर्ताहरू मात्र सुध्रिन सक्छन्। बाँकी ७० प्रतिशतले कुलतकै बाटो पछ्याउँछन्। त्यसको कारण उनी पूरा उपचार नगर्नुलाई मान्छिन्।
एउटा लागुऔषध प्रयोगकर्तालाई पूर्ण रुपमा सुध्रिनका लागि एकदेखि डेढ वर्षसम्म लाग्छ। तर धेरैजसो रिह्याब सेन्टर बसेकाहरू तीनदेखि ६ महिनामै बाहिरिन्छन्। जसले गर्दा उनीहरूको उपचार पूरा हुँदैन। र, उनीहरू फेरि सुधार गृह पुग्छन्।
‘सुधार केन्द्रमा बस्दैमा निको भइहाल्छ भन्ने होइन। त्यसको लागि समय दिनुपर्छ। एउटा एडिक्टलाई पूरा रुपमा सुध्रिन एकदेखि दुई वर्षसम्म लाग्छ। तर त्यो कुरा परिवारले बुझ्दैनन्। तीन–चार महिनापछि घर लैजान्छन् अनि फेरि सुधारको ढोका ढकढकाउन बाध्य हुन्छन्’, ७० प्रतिशत दुर्व्यसनी सुधार केन्द्र फर्किनुको कारण खुलाउँदै उनले भनिन्, ‘एउटा दुर्व्यसनीले ६ महिनासम्म नशा छोड्नेभन्दा पनि कसरी जिउने भनेर सिकिरहेका हुन्छन्।’
प्राचीका अनुसार ६ महिनासम्म सुधार केन्द्र बसेर घर फर्किएका प्रयोगकर्ताहरूले समाजमा बोल्ने र जिउने तरिकाको मेसो पाएका हुँदैनन्। उनीहरू मान्छेसँग बाेल्न डराउँछन् अनि कतैबाट साहारा नपाएपछि उनीहरू पुनः कुलतको दुनियाँमा रमाउन थाल्छन्।
‘हामीले सुधार केन्दमा नशा छाड्न लगाउने मात्र होइन। समाजसँग कसरी घुलमिल हुने भनेरपनि सिकाउनुपर्छ’, उनी भन्छिन्, ‘आखिर! हामी बस्नुपर्ने त त्यही समाजमै हो।’
सुधार केन्द्र बसेका लागुऔषध प्रयोगकर्ताहरूलाई स–साना कुराहरू पनि सिकाउनुपर्ने उनकाे बुझाइ छ। दुर्व्यसनीहरूलाई तरिकारीको भाउदेखि देशको अवस्थाबारे पनि बुझाउनुपर्छ प्राचीले बताइन्।
दुर्व्यसनी महिललाई समाज र परिवारले नै गन्दैन
साहारा फिमेल फाउण्डेशनकी संस्थापक प्राचीका अनुसार गरिबीको कारण मानिसहरू दुर्व्यसनमा फसिरहेका छन्।
धेरैजसो मध्यम वर्गका छोराछोरीहरू कुलतमा लागेको उनकाे भनाइ छ।
प्राचीकाअनुसार जसकाे घरमा खान–लगाउन हम्मेहम्मे पर्छ, त्यही घरकाे छाेराछाेरी कुलतमा फस्ने सम्भावना धेरै हुन्छ।
दिनभरि काम गरेर बेलुका घर फर्किनेका छाेराछाेरीहरूले गलत संगत राेज्ने अनि त्यही संगत कुलतमा पुग्ने उनकाे बुझाइ छ।
खासगरी, एकल बुबाआमाका छोराछोरीहरू कुलतमा दुनियाँमा रुमलिरहेको प्राचीकाे अनुभव छ।
‘मैले देखेको धेरै घटनामा एकल बुबाआमाका छोराछोरीहरू दुर्व्यसनी बनेका छन्। एक त घरको अवस्था नाजुक हुन्छ, त्यसमाथि बुबाआमाको सेपेरेट। त्यो तनावबाट छुटकारा पाउनका लागि पनि उनीहरू नशामा बाँच्न थाल्छन्’, उनी भन्छिन्, ‘त्यसैले छोराछोरीलाई बिगार्ने कि सपार्ने भन्नेमा अभिभावकहरूकाे पनि ठुलाे हात हुन्छ।’
दुर्व्यसन जिवन आफैंमा पीडादायी छ। त्यहीपनि दुर्व्यसनी छोरा र छोरीमा भेदभाव हुने गरेकाे उनकाे तीताे अनुभव छ।
महिला सुधार केन्द्रकी संस्थापक प्राचीका अनुसार छोरालाई सुधार्नका लागि परिवार घर–जग्गा बेच्न तयार हुन्छन्। तर अवस्थामा छाेरी छिन् भने त्यति वास्ता गरेकाे पाइँदैन।
‘अहिलेपनि हाम्रो समाज पुरुषप्रधान छ। यदी छोरा मान्छे दुर्व्यसनी छ भने उसलाई सुधार्न बुबाआमाले घर–जग्गा बेच्नेदेखि ऋण खाेज्न तयार हुन्छन् तर त्यही अवस्थामा छाेरी छिन् भने त्यतिधेरै खर्च गर्न मान्दैन। सायद, छोराले कमाएर पाल्छ र चिन्तामा आगो हाल्छ भन्ने भ्रममा बाँचेर होला’, उनकाे बुझाइ छ।
८ वर्षको अवधिमा उनले मात्र औंलामा गन्नसक्ने परिवार भेट्याएकी छिन्, जाे छाेरीलाई सुधार्नका लागि हरसम्भव प्रयास गरिरहेका छन्।
परिवारले नै छाेरा र छाेरीमा विभेद गरेपछि समाजले दुर्व्यसनी महिलालाई झनै हेप्ने गरेकाे उनले बताइन्।
‘दुर्व्यसनी केटालाई त नमान्ने समाजले दुर्व्यसनी केटीलाई झन कहाँ मान्छे गन्छ र? समाज भनेको हाम्रो अगाडि हाँसेको जस्तो मात्र गर्ने हो। हाम्रो पछाडि त कुरा काटेर हिँड्छन्’, उनी सुनाउँछन्, ‘केटा मान्छे बिग्रेर हिँडेको त बिर्सिन्छ तर केटी मान्छे बिग्रियो भने जिन्दगीभरि नराम्रो नै साेचिरहन्छ।’
परिवार र समाजले गर्ने त्यही व्यवहारकै कारण उनलाई केटी मान्छे भएर जन्मिनु अभिशापजस्तै लाग्छ। ‘अभिशापको कारण म छोरी भएर जन्मिएको होला जस्तो लाग्थ्यो। किनकि छोरी मान्छेलाई धेरै समस्याहरू धेरै हुन्छछाेरी मान्छेले माइत घरमा पनि दु:ख पाउँछ र श्रीमानकाे घरमा पनि दुःख गर्नुपर्छ’, उनी भन्छिन्, ‘छाेरी मान्छे आफैं बलियो हुनुपर्छ। उनीहरूलाई कसैले साहारा दिँदैनन्। कसैले सहयाेग गर्छ भनेर साेच्नु ठुलाे मूर्खता हाे।
उनका अनुसार छाेरी मान्छेलाई सुधार केन्द्रमा राख्दा पनि समस्या हुन्छ। त्यसैले उनी विवाहित महिलालाई सुधार केन्द्रमा राख्दा माइती घर र श्रीमान पक्षकाे सहमति लिन्छिन्।
‘विवाह नभएकाहरूलाई माइतीघरको सहमतिमा राखिन्छ। तर विवाहित महिलालाई भने दुबै पक्षको सहमति हुनुपर्छ। नभए त हामी नराम्राे हुन्छाैं।’
कुलतमा फसेका पुरुषलाई भन्दा धेरै केटीलाई सुधार्न समस्या हुने उनकाे बुझाइ छ।
‘पुरुषहरू जस्तोसुकै ठाउँमा पनि एड्जस्ट गर्न सक्छन् तर महिलाले सक्दैनन्। उनीहरूलाई शारीरिक समस्याहरू पनि धेरै हुन्छ। त्यसैले केटीभन्दा छिटाे रिकवरि पनि केटा नै हुन्छन्’, उनले सुनाइन्।
कुलतबाट महिलाहरू सुध्रिन पनि एउटा चूनाैती रहेकाे उनकाे भाेगाइ छ। सुधार केन्द्रबाट बाहिरिएपछि ‘गोपनियता’को कार्यक्रम हुन्छ। तर त्यहाँ ९९ प्रतिशत केटाहरू हुन्छन्। त्यो कार्यक्रममा केटीहरूलाई परिवारले पठाउन मान्दैनन्। त्यसकारण पनि दुर्व्यसनी महिलालाई सुध्रिन समय लागेकाे प्राचीले बताइन्।
‘हामी रिकवरिले चाहिँ त्यो कार्यक्रममा सहभागिता लिनैपर्छ। किनकि त्यहाँ हामीजस्तै धेरै मान्छे हुन्छन्। त्यहाँ आ–आफ्नो कुरा सेयर हुन्छ। त्यस्तो कार्यक्रममा सहभागि हुनाले पनि मोटिभेट भइन्छ। र, आफ्नो सुध्रिने इच्छा बलियो हुन्छ’, उनी भन्छिन्, ‘तर हामीकहाँ त्यस्तो छैन। यूरोपेली देशहरूमा केटीहरूले मज्जाले त्यस्ता कार्यक्रममा भाग लिइरहेका हुन्छन्। त्यसैले उनीहरू राम्रोसँग सुध्रिरहेका पनि हुन्छन्। अब हाम्रो देशमा पनि त्यस्ताे खालकाे वातावरण हुनुपर्छ।’
कसरी सुधारिन्छन् महिला?
सुरुमा, उनी आफ्नो सुधार केन्द्रमा आएका महिलाहरूको स्वास्थ्य परिक्षण गर्छिन्। त्यसपछि डाक्टरको सल्लाह बमोजिम उनीहरूलाई ‘डिटक्स’ अर्थात् सुधारको पहिलो चरणमा राखिन्छ। जहाँ उनीहरूको हेरचाहका लागि तीनदेखि चार जना कर्मचारी खटाइन्छ।
जब सुधार केन्द्र बसेका उनीहरू खाना र सुत्न सक्ने हुन्छन्, त्यसपछि उनीहरूलाई दिइने औषधि पनि बन्द गरिन्छ। र, उनीहरूलाई दैनिकी कामहरू सिकाउन थालिन्छ।
‘अहिलेका केटीहरूले साधारण कामहरू पनि जानेका हुँदैनन्। त्यसैले उनीहरूलाई खाना पकाउनेदेखि लुगा धुन पनि सिकाउनुपर्छ’, प्राची भन्छिन्, ‘त्योसँगै विभिन्न शारिरीक कसरत पनि गराउनुपर्छ।’
सुध्रिन सुधार केन्द्र आएकाहरूलाई योगादेखि विभिन्न तालिम सिकाउनु त दैनिकीजस्तै हो। त्यसो गर्नाले उनीहरूमा सकारात्कम सोच बढ्ने उनको बुझाइ छ।
‘बिहानदेखि साँझसम्म विभिन्न कसरतमा व्यस्त बनाउँदा उनीहरूसँग नकारात्मक सोच्ने समय हुँदैन। उनीहरूको ध्यान मात्र काममा हुन्छ’, उनले बिएल नेपाली सेवालाई बताइन्।
उनका अनुसार सुधार केन्द्र सञ्चालन गर्नु आफैंमा चूनौतीपूर्ण छ। किनकि सुधार केन्द्रमा आइसक्दा मानिस अचेत अवस्थामा हुन्छन्। उनीहरूले जे–पनि गर्न सक्छन्।
कयौं पटक उनले पनि सुधार गृहमा आएकाहरूको मुखबाट आमा–बुबा गाली खाएकी छिन्। ‘उनीहरू होशमा हुँदैनन्। के–के बोल्छन् अनि म भने कान थुनेर हिँड्छु’, उनी भन्छिन्, ‘उनीहरूसँग झगडा गरेर कामै छैन।’
सुधार केन्द्र सञ्चालन चुनौतीको काम भएपनि आफूलाई त्यहीबाट सन्तृष्टी मिलेको उनी बताउँछन्। प्राची भन्छिन्, ‘हिजोको दिनमा म आफैं पनि बिग्रेकी थिएँ तर अहिले मैले उनीहरूलाई सुधारिरहेकी छु। धेरै खुसी र आनन्द लाग्छ।’
आफ्नो सुधार गृहमा सुध्रिरहेकाहरूलाई आफ्नै दिदीबहिनी मान्छिन्। त्यसैले त उनी त्यहाँका सबैजनालाई उत्तिकै प्रेम गर्छिन्।
‘सुधार गृहमा बसेकाहरू भागेका घटनाहरू मैले धेरैपटक सुनेकी छु तर मकहाँ त्यस्तो घटनाहरू भएको छैन। किनकि म सबैलाई सम्मान र प्रेम गर्छु। सबैलाई एकमुस्ट जोडेर राखेकी छु’, उनी भन्छिन्, ‘जब सुधार केन्द्रमा समूह–समूह बन्न थाल्छ। तब रिह्याब सेन्टरबाट भाग्ने योजना पनि बन्न थाल्छ। त्यसैले म सबैजनालाई सधैं एकसाथ राख्छु।’
त्यसैले त अहिले प्राचीकाे सुधार केन्द्रमा कुनै विवाद अनि दुर्घटना भएकाे छैन।