संसारमा हरेक पल केही न केही सामान्य दृश्य–परिदृश्यहरू घटिरहन्छन् ।फरक यति हो- कुनै देखिन्छन्, कुनै देखिँदैनन् । जे भए पनि ती स्वाभाविक हुन्छन् र कुनै समाचारका शीर्षक बन्दैनन् । न कुनै चर्चा–परिचर्चा गरिन्छ न कुनै सार्वजनिक टिप्पणीको विषय नै बन्छन् । तर, संसारमा यदाकदा यस्ता केही अनपेक्षित दृश्य–परिदृश्यहरू पनि घट्न पुग्छन्, जो न स्वाभाविक हुन्छन्, न अपेक्षित ।
यस्ता दृश्यहरूले कसैलाई जिब्रो टोक्ने बनाउँछ, कसैलाई ऐँठन लगाउँछ त कसैका शरीरका रौँ नै ठाडा हुन्छन् । त्यस्ता दृश्यहरूले आममानिसको ध्यान तान्छ । त्यसमा क्रिया–प्रतिक्रिया हुन्छ । चर्चा–परिचर्चा हुन्छ र समाचारका शीर्षक पनि बन्छन् । त्यसले एक किसिमको बहस सिर्जना गर्छ । कहिलेकाहीँ त तिनै दृश्यहरू ऐतिहासिक घटनाका प्रस्थानविन्दु नै बन्न पुग्छन् । संसारमा भएका ठुल्ठूला युद्ध र ऐतिहासिक परिवर्तनको स्रोत खोज्दै जाने हो भने अन्ततः त्यस्तै अनपेक्षित दृश्य–परिदृश्यको नजिक पुगिन्छ ।
केही सातायता अमेरिकामा एक हैन, दुई यस्ता अनपेक्षित दृश्य–परिदृश्यहरू देखिए । पहिलो दृश्य फेब्रुअरी २५ मा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा देखिएको थियो । राष्ट्रसंघमा ‘युक्रेनमा व्यापक, न्यायपूर्ण र दिगो शान्तिको विकास’ शीर्षकको प्रस्ताव प्रस्तुत भयो । रुसी आक्रमणको निन्दा गर्दै युक्रेनबाट रुसी सेना फिर्ती र शान्ति आह्वान गरिएको प्रस्तावको पक्षमा ९३, विपक्षमा १८ देश उभिँदा ६५ देशले मतदानमै भाग लिएनन् ।
राष्ट्रसंघको बैठकमा प्रस्तुत हुने हरेक प्रस्तावमा यस्तो मत विभाजन हुनु स्वाभाविक हो । तर, यो प्रस्तावमाथि मतदान गर्ने क्रममा एक असामान्य दृश्य देखियो । त्यो के भने पहिलोपटक अमेरिका, रूस, उत्तर कोरिया, बेलारूस र इरान एकसाथ प्रस्तावको विपक्षमा उभिए ।
यसको अर्थ अमेरिकाले युक्रेनमा रूसी आक्रमणको विरोध गरेन, रूसी सेना फिर्ता गर्न चाहेन र शान्तिको आह्वान पनि गरेन । रूस र उत्तर कोरियासँगै उभिएर अमेरिकाले यस्तो प्रस्तावको विपक्षमा मतदान गर्ने दिन आउला र त्यस्तो दृश्य–परिदृश्य हेर्न पाइएला भन्ने शायदै कसैले कल्पना गरेको थियो होला ? अझ, त्यसमा पनि केही समय अघिसम्म सारा शक्ति लगाएर युक्रेनको पक्षमा उभिएको अमेरिकाले यस्तो कसरी गर्न सक्ने, कुरा त कल्पनाभन्दा धेरै टाढाको थियो ।
तर, त्यसतै भयो । सारा संसार त्यसको साक्षी बन्यो । यो दृश्य–परिदृश्यमाथि चर्चा–परिचर्चा, क्रिया–प्रतिक्रिया जारी थियो । अमेरिकी मिडियामा मात्र हैन, सारा संसारकै मिडियामा समाचारका शीर्षक बनिरहेकै थिए । विचार सम्प्रेषण भइरहेको थियो । एक किसिमको जबरजस्त बहस नै जारी थियो ।
त्यसैको ठीक एक सातापछिको सोमबार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइह हाउसको ओभल अफिसमा राष्ट्रसंघको बैठक कक्षमा भएको मतदानको दृश्यलाई कोशौँ टाढा छोड्ने अर्को दृश्य देखियो । यो दृश्य त अमेरिकी र सारा विश्वका ग्लोबल टेलिभिजनले प्रत्यक्ष प्रसारण नै गरे । दृश्यमा तीन पात्रहरू थिए– अमेरिकी राष्ट्रपति ट्रम्प, उनका उपराष्ट्रपति जेडी भान्स र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की ।
जेलेन्स्की अमेरिकासँग युक्रेनको खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न ह्वाइट हाउस छिरेका थिए । एक पाहुनाको रूपमा छिरेका उनलाई स्वागत गर्ने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले टाउकोदेखि खुट्टासम्म हेरेर उनको युद्ध–पोशाक कम्ब्याटको खिसिट्युरी गरे ।
देश युद्धमा रहुञ्जेल आफूले अर्को पोशाक नलगाउने प्रतिज्ञा गरेका जेलेन्स्कीका लागि त्यो प्रतिक्रिया अनपेक्षित थियो । यसअघि यही पहिरनमा ह्वाइट हाउस, अमेरिकी संसद, संयुक्त राष्ट्रसंघ छिरिसकेका उनी ट्रम्प निवास मारालागोमा पनि यही कम्ब्याट पोशाकमा प्रवेश गरेका थिए । तर, ती सबै अवसरमा उनको पहिरन कहिलै खिसिट्युरीको विषय बनेको थिएन ।
हस्ताक्षर गर्नुअघि उनले युक्रेनको सुरक्षा सुनिश्चितताको विषय उठाए । अमेरिका आउनुअघि उनले सुरक्षा सुनिश्चितताको सर्तमा मात्र खनिज सहमतिमा हस्ताक्षर गर्ने युक्रेनी म्यान्डेट लिएर आएका थिए । उनको यो प्रश्नमाथि उपराष्ट्रपति भान्स जाइलागे ।
सुरूदेखि नै जेलेन्स्की र युक्रेनको कट्टर विरोधी रहेका भान्सलाई उनीमाथि जाइ लाग्ने यो सुनौलो अवसर थियो । उनले चुनावमा जेलेन्स्की ट्रम्पविरूद्ध लागेको मात्र भन्न भ्याएनन्, राष्ट्रपति ट्रम्पलाई धन्यवाद नभनेको भनदै थप आक्रोश पनि व्यक्त गरे । उनी यतिमा मात्र रोकिएनन, यसलाई उनले ओभल अफिस र अमेरिकाको अपमानका रूपमा चित्रण गर्न भ्याए । जिलेन्स्की भने पुटिनको विश्वासै गर्न नसकिने पृष्ठभूमि प्रस्तुत गर्दै युक्रेनको समस्या बुझिदिन अनुनयविनय गरिरहेका थिए । तर, स्थिति यतिमै सीमित भएन, तँ तँ म म कै नाजुक मोडमा पुग्यो ।
यो देखिएको दृश्य–परिदृश्य थियो । नदेखिएको दृश्यको परिणाम के थियो भने सहमतिपत्रमा हस्ताक्षर, दिवाभोज, संयुक्त पत्रकार सम्मेलन सबै रद्द भए । यतिसम्मको समाचार बाहिरियो कि राष्ट्रपति ट्रम्पले जिलेन्स्कीलाई तुरून्तै ह्वाइट हाउस छोड्न आदेश नै दिए । भनाभनको क्रममा ट्रम्पको अनुहारमा चढेको रातो र बोलीको पिच हेर्दा उनले त्यसो भनेनन् होला भन्न सकिन्न ।
यो विरालाकोटी दृश्य कुनै पनि अमेरिकीका लागि प्रिय थिएन । अमेरिका राजनीतिक रूपमा ठाडो चिरामा भए पनि यस विषयमा भने एक ठाउँमा छ । तर, यसका लागि को जिम्मेवार भन्ने विषयमा भने दुई परस्पर विरोधी मत छन् । डेमोक्रेट्सहरूले यो अमेरिकालाई सुहाउने काम नभएको र यसबाट अमेरिकीहरू लज्जित हुनुपरेको प्रतिक्रिया दिएका छन् । उनीहरूले समकक्षी पाहुनालाई बोलाएर यो किसिमको हर्कत गरिनु अमेरिकाका लागि लाजको विषय भएकोसमेत भन्न भ्याएका छन ।
उता, ट्रम्पकन रिपब्लिकनहरू यसबाट अमेरिकी राष्ट्रपति र अमेरिकाको बेइज्जत भएको भन्दै जिलेन्स्कीले माफी माग्नुपर्ने भनिरहेका छन् । केही कट्टर दक्षिणपन्थी रिपब्लिकन त जिलेन्स्कीको राजीनामा नै मागि भनिरहेका छन् । तर, उदार रिपब्लिकनहरू भने यो परिस्थिति आउन दिनु हुने थिएन भनिरहेका छन् । उनीहरूलाई पनि त्यसका लागि कहीँ न कहीँ अमेरिकी आतित्थ्यतामा पनि कमी रहेको लागेको छ । तर, ट्रम्पको एकछत्र चलेको यो बेला उनीहरू त्यसो भन्न मुख खोल्न सक्ने अवस्थामा छैनन् ।
यो स्तम्भकारका लागि पनि यो दृश्य पटट्कै प्रिय थिएन । यो दृश्य देख्दा जसरी अरू अमेरिकी गौरवान्वित भएनन, यो स्तम्भकारलाई पनि त्यस्तै अनुभूति भयो । सुरूदेखि नै अमेरिका बिस्तारै ट्रम्पेरिका भइरहेको दृष्टिकोण राखिरहेको यो स्तम्भकार यो दृश्य अमेरिका अरू आइसोलेसनमा जाने टर्निङ पोइन्ट हुने ठान्छ ।
ह्वाइट हाउसबाट निकालिएर लण्डन पुगेका जिलेन्स्कीलाई युरोपेली नेताहरूले जुन महत्व दिएर भाइचारा देखाए, त्यो दृश्य अमेरिकाका लागि पटक्कै प्रिय हैन । यो दृश्यले जिलेन्स्की अझै पनि एक्लो नभएको जस्तो मात्र देखाएन, उल्टै अमेरिका एक्लिएको जस्तो स्थिति देखायो । नेटोको सबैभन्दा प्रभावकारी देश अमेरिका आफ्ना सहकर्मी राष्ट्रहरूसँग नउभिएको यो दृश्य इतिहासको आँखामा बिझाउने एक दृश्य थियो ।
अहिलेका लागि यतिनै भन्न सकिन्छ । बाँकी त बिहानीले दिउँसोको संकेत गर्छ भनेर मौन बस्नुपर्ने बेला छ अहिले । भनाइ नै छ, अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जीउ । अहिले अमेरिकामा एक किसिमको हुलमुलकै स्थिति नै छ भन्दा पनि हुन्छ । त्यसमा पनि हामी जस्तो रङको अनुहार भएका आप्रवासीका लागि त ‘बोल्यो कि पोल्यो’ कै स्थिति छ भने पनि हुन्छ ।
…..
यो त अमेरिकाको कुरा भयो । देख्नै नपर्ने दुई अप्रिय दृश्य देखिएको कुरा । तर, यही बेला उता नेपाल वा नेपालसँग सम्बन्धित दुई देखिनुपर्ने दृश्य भने गायब छन् । दुबै दृश्यहरू नेपालको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी, अझ त्यसमा पनि पार्टी सुप्रिमो रवि लामिछानेसँग सम्बन्धित छन् ।
रवि भन्ने बित्तिकै जो कोहीलाई पनि घाम जतिकै छर्लङ्ग छ कि, उनको अमेरिकासँग पनि गहिरो साइनो छ । कुनै समय रवि आफ्नो जन्मभूमि नेपाल त्यागेर अमेरिकी नागरिक भएका थिए । अनेक कागजी प्रपञ्च मिलाएर अमेरिकी नागरिक भएका उनले दाहिने हात उठाएर अमेरिकाको पक्षमा मरने -बाँच्ने सपथ पनि खाएका थिए ।
तर, केही वर्ष नबित्दै उनी आफ्नै अमेरिकी घरमा सोफामा सुत्नुपर्ने परिस्थितिमा धकेलिए । यसका अरू पनि कारण होलान् तर मूल कारण उनको परस्त्रीगमन चरित्र नै थियो । नेपाल फर्कनुअघि नै उनी आर्थिक अपचलनका एक हैन, थुप्रै मुद्दामा तानिसकेका रहेछन् । ती सबै थाँति राखेर उनी अमेरिकी पासपोर्ट बोकेर नेपाल छिरे । उनी यसपटक नेपाल छिर्दा अमेरिकी पासपोर्टमा पारिवारिक भिसाको छाप लगाएका थिए ।
पासपोर्ट अमेरिकी भए पनि उनको अनुहार नेपाली थियो, पुरानो नेपाली नागरिकता पनि साथमै थियो । उनले यी दुईको फाइदा लिँदै एक हैन अनेक गैरकानूनी काम गरे । यही क्रममा नेपाली पासपोर्ट नै बनाए । एक हातमा अमेरिकी पासपोर्ट र अर्को हातमा नेपाली पासपोर्ट बोकेर विदेश यात्रा गरे । परिवार भिसामा नेपाल छिरेका उनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनमा प्रधानमन्त्रीसँगै प्रश्न सोध्ने जागिर दिए ।
जबकि, एक विदेशीलाई त्यो जागिर दिनै हुदैनथ्यो । त्यति मात्र हैन, उनले पछि सर्वोच्च अदालतले नै अवैद्य घोषणा गरेको खोटो नेपाली नागरिकताले विवाह दर्ता गरे । ग्यालेक्सी टीभी मात्र खोलेनन्, राष्ट्रिय स्वतन्त्र पार्टी नै खोले । उनले आफ्नो मात्र उम्मेद्वारी पत्रमा हस्ताक्षर गरेनन्, अहिले मै हुँ भन्ने घण्टी सांसदहरूको उम्मेद्वारीपत्रमा पनि हस्ताक्षर गरे । त्यति मात्र हो र ? चुनाव जितेर देशको उपप्रधानमन्त्री तथा गृहमन्त्री नै भए ।
यसो गर्दा उनले भाग्यले जन्मेको देश नेपाल र पछि रहरले बनाएको देश अमेरिका दुबैलाई धोका दिइरहेका थिए । चितवनका जनता र नेपाली जनतालाई दिएको धोकाको हिसाब त समयले खोज्ला नै, अहिले सहकारीमा आधा पेट काटेर पैसा राख्ने गरीबहरूको पाप कराउँदै पनि उनलाई भारी भएको छ । उनी ठगी, संगठित अपराध र बिना स्रोत अकूत सम्पत्तिको संगीन अभियोगका अभियुक्त बनेका छन् । प्राप्त प्रमाणका आधारमा निर्दोष भन्न नसकिने भन्दै देशका चारवटा अदालतले उनलाई करोडौँ धरौटी लिएर मात्र छोडेका छन् ।
सांसदबाट समेत निलम्बित उनले यही बिचमा पार्टी पनि डीपी अर्याललाई कार्यवाहक सभापति बनाएर जिम्मा लगाए । त्यसयता उनी दृश्यबाटै अचानक गायब भएका छन् । सधैं दृश्यमा आएर एक हैन, अनेक स्टण्टको खेती गरिरहने रविको यो गुप्तबास आफैंमा एक स्वभाविक परिदृश्य हैन ।
यो स्तम्भकार रविको विरोधी हैन, साँचो मानेमा उनको शुभचिन्तक नै हो । यो स्तम्भकारले उनको विवादास्पद विगत नजिकबाट देखेको छ । यही कारण उनलाई सार्वजनिक जीवनमा नजान सुरूदेखि नै आग्रह गर्दैआएको पनि हो ।
एटा ध्रुवसत्य नै भनौँ, विवादास्पद विगत भएको मानिसको सार्वजनिक जीवनको कुनै आयु नै हुन्न । चाहेर होस् वा नचाहेर, परिस्थितिले होस् वा बाध्यताले, भाग्यले होस् वा दुर्भाग्यले– जे–जेले भए पनि विगत विवादास्पद भएपछि जो कोहीले पनि नितान्त व्यक्तिगत जीवन बाँच्ने हो । रविका लागि पनि ‘शान्त सुखाय’को यही नै एकमात्र उपाय हुन सक्छ ।
शायद उनी ‘मरता क्या नही करता’को स्थितिमा आफैंलाई ढाँटेर जब्बर भएर लागेका छन् । अहिले त उनलाई एक कल्ट लिडर भन्दा पनि हुन्छ । उनलाई भगवान् नै मानेर एउटा ठूलो जत्था आमाचकारी गालीमा उत्रेको छ ।
यो जत्था उनका लागि मर्न र मार्न नै तयार छ । सहकारी प्रकरणमा उनको विपक्षमा वकालत गर्ने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि उनकै पार्टीका नेता–कार्यकर्ताले सांघातिक हमला गरेको घटनाले त्यही कुराको संकेत गर्छ ।
रबि यति धेरै महत्वाकांक्षी देखिएका छन् कि उनले नेपालको प्रधानमन्त्री नै हुने सपना देखेका छन् । यो स्तम्भकार उनका लागि २०७९ को चुनाव परिणाम नै न भूत न भविष्य हो भन्ने ठान्छ । त्यो खहरे अब कहिलै आउँने छैन । उनको विगतका बारेमा धेरै थाहा नभएका र अतिमहत्वाकांक्षा नबुझेका जनताका लागि उनले उपप्रधानमन्त्री र गृहमन्त्री बन्नकै लागि गरेका सारा कर्तुतहरू नै पर्याप्त छन् ।
उता नेपालमा गुप्तबास बस्नुपरेकै बेला यता अमेरिकामा रविका दाहिने हात मोहन थापा पक्राउ परेका छन । उनी अमेरिका पस्ने क्रममा पक्राउ परेको हुन । तर, यो दृश्य सार्वजनिक भैसकेको छैन । सन् २०१८ मा मानव बेचबिखनको गम्भीर अभियोगमा अमेरिकामै जेल परेका उनी ट्रम्प प्रशासनको कडा उर्दीका बाबजुद पनि अमेरिका छिर्ने दुस्साहस गर्दै थिए । शायद उनी नेपालमा हुण्डी प्रकरणमा पक्राउ पर्ने डरले जोगिन अमेरिकातिर लागेको हुनुपर्छ । रास्वपाका केन्द्रीय सदस्य थापाको कालो विगत र हुण्डी कारोबारको नालीबेली खोज्दै जाँदा रविसम्मै नपुगला भन्न सकिन्न ।
रविको अहिलेको देश नेपाल र भूतपूर्व देश अमेरिकासँग जोडिएका देखिएका–नदेखिएका यी दुबै दृश्य रविका लागि त घातक छन नै, कसैका लागि पनि प्रिय छैनन । त्यसैले कोही पनि खुशी हुनुपरदैन । यो स्तम्भकार स्वयं पनि पटक्कै खुसी छैन । यी विषय गल्तीका पाठशाला मात्र हैनन्, विश्वविद्यालय नै हुन् । सम्बन्धित सबैले पाठ सिके उनीहरूका लागि त राम्रो हुन्छ नै, उनीहरूलाई नेता, भगवान्, आदर्श जे जे मान्नेहरू पनि तनावबाट मुक्त हुन्छन् ।