रतन टाटा: जो ‘बिजनेश टाइकुन’ भएर पनि मजदूरकै जिन्दगी बाँचे

Break n Links
Break n Links

सन् १९९२मा इन्डियन एयरलाइन्सले आफ्ना कर्मचारीहरू बीच एउटा ‘अद्भूत’ सर्वेक्षण गरायो। त्यो सर्वाक्षेणमा कर्मचारीहरूलाई सोधिएको एउटा प्रश्न थियो- दिल्लीबाट मुम्बईको उडानमा त्यस्तो कुनचाहिँ यात्रु थिए जसले तपाईंहरूलाई अधिक प्रभावित पार्‍यो?

सबैजसो कर्मचारीहरूले त्यसको जवाफमा एउटै नाम लेखेका थिए- रतन टाटा।

त्यसको कारण पनि उनै कर्मचारीहरूबीचबाट खोजियो। कर्मचारीहरूका लागि त्यो बिमानमा धेरैजसो यात्रा गरिरहनेमध्ये रतन टाटा एकमात्रै त्यस्तो ‘भिआइपी’ थिए जो एक्लै यात्रा गर्थे। उनका झोलाहरू बोक्ने अनि फाइल समाउने कुनै पनि सहयोगी उनीसँग हुँदैनथे।

उडानभरि पनि उनी आफ्नै काम गरिरहन्थे। कसैसँग बोल्दैनथे। एकदमै कम चिनी हालेको कालो कफी पिउँथे। आफूलाई मन परे पनि नपरे पनि उनले त्यो कफीबारे कहिल्यै उडान कर्मचारीहरूसँग विवाद गरेनन्। 

यस्ता धेरै ‘सादगी’का किस्साहरू छन् रतन टाटाको जीवनमा। 

टाटा समूहबारे लेखिएको एउटा चर्चित पुसत्क ‘द टाटाज् हाउ अ फेमेली बिल्ट अब बिजनेस एन्ड अ नेशन’मा गिरिश कुबेरले लेखेका छन् ‘जब उनी टाटा सन्सको प्रमुख बने उनी कहिल्यै पनि आफ्नो सानसोकतवाला कोठामा बसेनन्। बरु आफ्ना लागि एउटा सामान्य बस्ने ठाउँ बनाए। जहाँ उनले साधारण कर्मचारीहरूसँग भेट्थे। त्यो बेला कुनै भिआइपीहरू भेट्न आए पनि कुरेर बस्न भन्थे। तर कहिल्यै आफ्ना सामान्य कर्मचारीहरूलाई अपमान गरेनन्।’

उनको साथमा हमेसा दुईवटा जर्मन सेफर्ड कुकुर हुन्थे। तिनको नाम थियो ‘टिटो’ अनि ‘ट्याङ्गो’ यी कुकुरहरू जसलाई उनले अति नै प्रेम गर्थे। 

यीमात्रै होइन कुकुरहरूलाई उनले यतिसम्म प्यार गर्थे कि जब उनी आफ्नो महल पुग्थे त्यो बेला सडकका सारा भुस्याहा कुकुरहरू पनि उनको पछि लागेर लिफ्टसम्मै पुग्थे। उनीहरू जहिल्यै टाटा महलकै परिसर वरिपरि हुन्थे। तिनलाई धपाउने अनुमति कसैलाई थिएन। रतन टाटा धेरै समय तिनै कुकुरहरूसँग रमाउँथे। उनले जीवनभरि बिवाह गरेनन्। युवा उमेरमा एक अमेरिकी महिलासँगको प्रेममा परे पनि त्यो प्रेम विवाहमा परिणत हुन सकेन। 

व्यवसायी तथा तथा लेखक सुहेल सेठ एक किस्सा अझै सम्झिन्छन् ‘२०१८को फ्रेबुअरी ६ मा रतनटाटालाई ब्रिटेनका राजकुमार चार्ल्सले रतन टाटालाई बकिंघम प्यालेसमा सम्मान गर्ने कार्यक्रम थियो। तर समारोहको केही समयअघिमात्रै उनले आयोजकलाई उपस्थित हुन नसक्ने खबर पठाए। त्यसको कारणबारे थाहा पाएर चार्ल्स पनि अचम्मै परे। कारण थियो रतन टाटाको कुकुर अचानक बिरामी भयो। अनि चार्ल्सले भनेका थिए- यो असली मानवताको पहिचान हो।

उनी घरमा पनि एक्लै बसेर काम गर्न रुचाउँथे। लगभग हरेक बिहान साढे ६ बजे नै अफिसका लागि निस्किन्थे। मजदुरहरूकै सहर कपडा लगाउँथे। किनकी विश्वचर्चित एक सफल ब्यवसायी रतनको जीवनको सुरवात नै यस्तै साधारण मजदूरबाट सुर भएको थियो। सन् १९६२ मा उनले जमसेदपुरस्थित टाटा स्टिल कम्पनीबाट एउटा साधारण मजदूरका रुपमा आफ्नो करिअर सुरु गरेका थिए। त्यही कम्पनीमा उनी म्यानेजरदेखि निर्देशकसम्मको पदमा पुगे। कामप्रतिको त्यो लगाव देखेर उनलाई कम्पनीका एक मालिक जेरआरडी टाटाले मुम्बइ बोलाए। जेआरडी रतनका काका हुन्। त्यसपछि १९८१ मा उनी टाटा इन्डस्ट्रीजका प्रमुख बने। त्यो बेला यो कम्पनीको टर्नओभर मात्रै ६० लाख थियो। जीवनको अन्तिममा उनी आफ्नापछि लगभग ३ हजार ८ सय करोड बराबरको सम्पत्ति छोडिगएका छन्। जीवनको सबैजसो कमाइ उनले सामाजिक सेवामा खर्च गरिसकेका छन्। 

२०१२ सम्म उनी यो समूहको नेतृत्व गरेर दैनिक व्यावसायिक जीवनबाट बिश्राम लिएका थिए। त्यो बेला उनी ७५ वर्ष नाघिसकेका थिए। आफ्नो नेतृत्वकालमा रतन टाटाले कम्पनीलाई भारतमात्रै होइन पूरै दुनियाभरि नै फैलाए। खासगरी सवारी साधन उत्पादनमा चर्चा कमाएको यो कम्पनीले सूचना प्रविधि क्षेत्रमा पनि उत्तिकै ब्यापार फैलायो। पछिल्ला दिनमा टाटाका विद्युतीय सवारीहरू निकै चर्चित छन्। 

२८ डिसेम्बर १९३७ मा भारतको महाराष्ट्रमा जन्मिएका रतन दश वर्षको छँदा नै उनका आमाबुवा अलग भए। त्यसपछि रतनजी टाटाकी विधवा श्रीमतिले उनलाई धर्मपुत्रका रुपमा पालनपोषण गरिन्। रतनजी टाटा कम्पीनका संस्थापक थिए। 

भारत सरकारबाट पद्म भुषण पदवी पाएका रतन टाटाको निधन बुधबार राति मुम्बइस्थित एक अस्पतालमा भयो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई एकसाताअघि अस्पताल भर्ना गरिएको थियो। उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विश्वका कैयौ प्रतिष्ठित व्यक्तित्वहरूले शोक व्यक्त गरेका छन्। भारतको झरखण्ड सरकारले एक दिनका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ। 

प्रकाशित मिति: : 2024-10-10 10:16:00

प्रतिकृया दिनुहोस्