दायाँ–बायाँ दुईवटा देवल, बीचमा स्याउजस्ताे आकार दिने गरी घुँगुरिएका दुईवटा नरसिंहा, त्यसभित्र देखिएकाे कर्णालीकाे भूगोल र चर्चित स्थलहरुले मञ्चकाे आकर्षण थपेकाे छ। यसले आकर्षण मात्रै थपेकाे छैन विचारकाे बिगुल फुकिरहेकाे छ भन्ने सन्देश समेत प्रवाह गरिरहेको छ।
वि. सं. १८४६ मा गाेर्खालीहरुले जुम्ला राज्यमा षडयन्त्र गरी विजय हासिल गरेपछि शक्तिशाली जुम्ला राज्य र त्यहाँका जनताकाे बिम्ब बदलिएकाे थियाे। राेग, भाेग, अशिक्षाकाे पर्याय बनाइएकाे कर्णालीमा जन्मनु नै हिनताबाेध गर्नुपर्ने अवस्था आइलाग्याे भने अपवादमा अगाडि बढ्नु गाेर्खालीकाे निगाह हुन लाग्याे।
तर, अब कर्णालीमा जन्मनु भनेकाे गर्वकाे कुरा हाे भन्ने बिम्ब निर्माण गर्न अध्ययन, लेखन, चिन्तन, मनन थालिएकाे छ। यसका विभिन्न स्वरुप मध्ये सामाजिक संवादलाई पनि उत्तिकै स्थान दिइएकाे छ।
संघीयता कार्यान्वयनपछि संघीय सरकारकाे संसदभन्दा फराकिलाे दायारामा कर्णालीकाे संसदले बहस, पैरबी गर्नु अर्काे उदाहरण हाे। यी सबैलाई एउटै मञ्चमा देखाउनलाई विगत तीन वर्ष यता 'कर्णाली उत्सव कुडा कर्णालीका' नामकाे विचारकाे मेला गर्न थालिएको छ। जसले सामाजिक संवादकाे थालनी गरेकाे छ।
आयाेजक समितिका संयाेजक कमल लम्सालकाअनुसार कर्णाली उत्सव विचारकाे कुम्भ मेला हाे। त्यसैले हरेक वर्ष नयाँ–नयाँ ठाउँका नयाँ मान्छेहरु नयाँ विचारकाे विजाराेपण गर्न राजधानी सुर्खेतकाे बुलबुले उद्यानमा भेला हुन्छन्। फागुन २७ बाट तेस्राे संस्करणकाे सिलसिला सुरु भयाे।
विचारकाे मेला सुरुवात गर्न पञ्चेबाजा अगाडि लाइयाे। वर्तमान कर्णाली प्रदेशकाे भूगोल भेरी र कर्णाली समटिएर बनेकाे हाे। कर्णाली भेरी दुबै बाजाका नाम हुन्। मानव सभ्यतामा संचारकाे सुरुवात बाजाले गरेकाे छ। त्यसैले कर्णाली उत्सवमा पञ्चेबाजा बजाउनु कर्णालीकाे प्रारम्भिक इतिहासकाे स्मरण गर्नु हाे।
अध्ययन, अनुसन्धानकाे दायरा फराकिलो हुँदै गएकाे खण्डमा सिंजा साम्राज्य खडा हुनु पूर्वकाे मानव सभ्यताको विषयमा पनि जानकार हुन पाउने अवसर प्राप्त हुनेछ भने दुनियाँलाई सिकाउन सकिनेछ। त्यसकाे सुरुवात आज कर्णालीले गरिरहेकाे छ।
विचारकाे मेला लाउन देशभरबाट कर्णाली पुगेका प्रवुद्ध व्यक्तित्वलाई वीरेन्द्रनगर नगरपालिकाकाे तर्फबाट माेहनमाया ढकालले स्वागत गरिन्। उनकाे स्वागत मालामा उनिएका शब्दहरुले उर्जा दियाे। गर्व गर्ने थुप्रै ठाउँमा रहेकाे जानकारी मिल्याे। त्यसैले उनका प्रत्येक शब्दलाई विद्वत प्रवचन भन्न मिल्ने भनेर प्राध्यापक दिनेशराज पन्तले मञ्चबाटै भने।
नेपाल सरकारका सचिव केवलप्रसाद भण्डारीले सामाजिक संवादकाे स्थायी शृङ्खलाकाे सुरुवाती दिनहरु सम्झिदा मञ्च शान्त थियाे। आम नागरिकको आवाजलाई कम सुनिने संस्कार रहेको समयमा कर्णालीका नागरिकले विचार विमर्श गर्ने थालाे आफैले निर्माण गर्नु गर्वकाे विषय भएकाे उनकाे भनाइ थियाे। कर्णाली उत्सवकाे आयतन हरेक वर्ष थप फराकिलो भन्दै गएकाे उनकाे बुझाइ छ।
कार्यक्रमलाई राजनीतिक पार्टीका भेला जस्ताे ‘हाइ प्राेफाईल’का मान्छे मञ्चमा बस्ने संस्कारकाे अन्त्य गरिएकाे थियाे। वक्ताहरु फ्लाेरबाट मञ्चमा गई आफ्ना भनाइ राख्थे। उत्सवकाे मुख्य प्रायाेजक रहेकाे राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कर्णालीलाई आत्मरनिर्भर र निर्भीक ठानेर भने, 'कर्णाली आफ्ना कुरा आफै राख्न सक्ने भइसकेकाेे छ।'
लगत्तै सुरू भयाे उत्सवकाे उत्साह। उत्साह बाँड्न आइपुगेका थिए, मिथिला फाउन्डेसनका मनिश झा। उनले जनकपुर साहित्य महाेत्सवमा एक जना दलित युवा रामजी रामले सुनाएकाे विचार प्रवाह गरे। जहाँ उनले भनेकाे थिए,'मेरो नाम पछाडिको थरले हाम्रा आमाबाबुले गरेको कामलाई जनाउँछ। मेरा बुबाको काम थियो, गाउँमा मरेका गाईवस्तु फालेर रोगबाट समाजलाई बचाउनु र मेरी आमाको काम थियो, सुत्केरी आमा र शिशुहरुको हेरचाह गर्नु। समाजलाई फोहोरबाट बचाउने हामी, अनि हामी नै फोहोरी ? यो अन्यायी समाजमा फोहोर सफा गर्नेको अपमान, फोहोर गर्नेको चाहिँ सम्मान किन ?'
उनका तिखा प्रश्नकाे तिर उत्सवकाे उत्साह मार्फत् कर्णाली आइपुगेको थियाे। परिणाम कर्णालीमा पनि धारिला प्रश्न गर्ने संस्कृतिकाे विकास भइरहेकाे छ।
कर्णाली र मिथिलाकाे सहकार्यलाई लिएर मनिशले भने, 'हामी एक अर्काका सहयात्री हाैं। एक अर्कालाई सहयाेग पनि गर्छौ र सँग–सँगै हामी एउटा माैन प्रतिस्पर्धा पनि गरिरहेकाे छाैं। यसले हामीलाई माझिन सहयोग गरिरहेकाे छ।'
उत्सवकाे उत्साह बाँड्न जुम्लाको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्याैपाने पुगेका थिए। उनले दाेस्राे संस्करण पूरा गरेकाे 'लाम्राे संवाद: गाउँ–गाउँका कुडा'काे अनुभूती सुनाए।
'हामी कर्णालीबासी निराश मात्रै हाेइन उत्साहित पनि छाैं। हामी बलवान पनि छाै,' उनले भने, 'जुम्लामा मार्सी खेती गर्ने जिउलाहरु छन्। तातोपानीसँग मार्सी आविस्कार गर्काे गुरु फाेक्टाे छ। यिनै कुराले कर्णाली अब हेपिएर बस्दैन।'
उनले रामायणमा हनुमानले उठाएकाे सुमेरु पर्वतकाे जीवनबुटी कर्णालीसँग रहेकाे विषयमा लाम्रा संवादले छलफल गरेकाे बताए। 'अब कर्णालीकाे बाैद्विक लडाइँ सुरु भएकाे छ। यतिबेला हामीले जित्ने गरी तयारी गरेका छाैं।'
उद्घाटन सत्रकाे अन्त्यतिर राखिएकाे थियाे प्रा. दिनेशराज पन्तकाे विद्वत प्रवचन। 'खस भाषाकाे लहराे' विषयमा प्रवचन दिन डाकिएका उनले भाषा उत्पति र विकासकाे लहराे तान्ने काेसिस नै गरेनन्। केवल खस भाषकाे महिमाबारे मात्रै बाेले।
इतिहास संशाेधन मण्डल मार्फत् नेपालकाे इतिहासकाे सत्य, तथ्यलाई उजागर गरेका उनले खस भाषाले नेपाल एकीकरणको जग बसालेकाे बताए। उनकाअनुसार पृथ्वीनारायण शाहले त पुन: एकीकरण मात्रै गरेका हुन।
उनले भने, 'नेपालकाे पहिलाे प्रमाणिक काल भनेकाे लिच्छविकाल हाे। तथ्य, अभिलेख, संस्कृत वाङ्मयका शब्द, चिनियाँ यात्रीहरुका अभिलेख, लिच्छविकालका सम्पूर्ण अभिलेख आदीबाट याे सिद्ध भएकाे छ।'
तर, विक्रमकाे ११ओैं शताब्दीतिर लिच्छविकाल टुक्रन गयाे। तत पश्चात् नेपाल मण्डल राज्य, सिम्राेनगड राज्य र पश्चिम नेपालमा नागराजले स्थापना गरेकाे सिंजा राज्य गरी तीनवटा राज्यहरु देखा परे।
तिब्बतकाे खारी प्रदेशबाट आएका नागराजले स्थापना गरेकाे राज्य सबैभन्दा बलियाे र शक्तिशाली थियाे। यसले अपनाएकाे खस भाषा नै आसपासका राज्यहरुले समेत मान्दै आएका थिए। जसरी आज शक्तिशाली ब्रिटिस साम्राज्यले अपनाएकाे भाषा बाँकी विश्वकाे माध्यम भाषा हुन पुगेकाे छ।
'कुमाउका रानीले पनि खस भाषाकाे प्रयाेग गरेकाे पाइन्छ। मैथिली राज्यले माध्यम भाषा खस बनाएकाे थियाे,' उनले भने, 'यतिमात्र हाेइन तिब्बती अधिकारीले पृथ्वीनारायण शाहालाई धर्मपत्र दिँदा नेपाली भाषाकाे प्रयाेग गरेका थिए, भने भ्याटिकन सिटीका पाेपा समेत खास भाषालाई माध्यम भाषा मान्थे।'
यसरी प्राज्ञ पन्तले खस भाषाकाे विषयमा बाेलिरहँदा मञ्चकाे कुनामा प्रयाेग भएकाे सांकेतिक भाषाले कर्णाली उत्सवकाे आकर्षक अझ बढेकाे थियाे। सुन्न नसक्ने र बाेली नफुट्ने अपाङ्गता भएकाहरु समते उत्सवकाे हिस्सा हुने ऋति फाउन्डेसनका कार्यकारी निर्देशक दिनेश गाैतमले बताए।