सय वर्षयताको सबैभन्दा ‘बिनाशकारी’ आँधीले फ्लोरिडा सुनसान

अमेरिकाको फ्लोरिडामा विनाशकारी आँधी ‘मिल्टन’ पुगिसक्दा सहर र सडकहरू लगभग शून्य र शान्तजस्ता देखिएका छन्। बुधबारभन्दा अघि नै सहरका घरहरू खालि गरिएका थिए।

स्थानीय प्रशासनका अनुसार सहरका लगभग १० लाख मानिसहरूलाई सुरक्षित स्थानतिर जान भनिएको थियो। बुधबार रातिदेखि नै यहाँका करिब २० लाख घरहरू बिजुलीबिहीन भएका छन्। 

यो आँधीलाई अमेरिकी इतिहासमा सय वर्ष यताकै सबैभन्दा खराब र बिनाशकारी हुने ठानिएको छ। दुई साताअघिमात्रै यही ठाउँमा ‘हेलेन’ नाम दिइएको आँधीले विध्वंश गरेको थियो। यो आँधीले फ्लोरिडालगायत विभिन्न ६ राज्यका कम्तीमा २२५ जनाको ज्यान लिएको थियो। 

यो आँधीको बेग लगभग २७० किलोमिटर प्रतिघण्टा हुने बताइएको छ। मौसमविज्ञहरूले यसलाई पाँचौं क्याटोगरीको आँधीमा सूचीकृत गरेका छन्। पाँचाै श्रेणीको याे आँधीमा हावाकाे बेग १५७ माइल प्रतिघण्टाभन्दा तीब्र हुनसक्छ। अनि धेरै संरचनाहरूमा क्षति पुर्‍याउनसक्छ। सडकहरू तथा जमिन भासिन र भत्किनसक्छन्। 

यो आँधीबाट लगभग ३० लाख मानिस बसोबास गरिरहेको टाम्पा क्षेत्रमा सबैभन्दा धेरै बज्रिनसक्ने र त्यहाँ धेरै क्षति पुर्‍याउनसक्ने अनुमानहरू लगाइएको छ। 

ह्वाइटहाउसबाट बोल्दै अमेरिकी राष्ट्रपति जो बाइडनले फ्लोरिडामा सय वर्षयताकै खराब आँधी आउन लागेको र त्यसबाट सावधानी अपनाउन अनि संयम हुन नागरिकलाई भनेका थिए। 

यो आँधीको पूर्वानूमानपछि तयारीका लागि भनेर राष्ट्रपति बाइडनले जर्मनीलगायत राष्ट्रहरूमा तय गरिएको आफ्नो भ्रमण स्थगित गरेका छन्। 
 

प्रकाशित मिति: : 2024-10-10 11:10:00

प्रतिकृया दिनुहोस्