भूम्या पर्व

तेस्रो भूमे खुला साँस्कृतिक महोत्सवको झलक (फोटो फिचर)

बिएल संवाददाता

रुकुम पूर्व
Breaknlinks
Breaknlinks

भूमे गाउँपालिकाकाे खावाङ बजारमा आयोजित 'तेस्रो भूमे खुला साँस्कृतिक महोत्सव' धुमधामले मनाइएको छ।

१८ मगरातको क्षेत्रको ठूलो चाड भूम्याको अवसरमा स्थानीय मौलिक गीत र नाचहरुको संरक्षण, प्रवर्द्धन, पुस्तान्तरणको लागि २०७५ सालदेखि पालिकाले आयोजना गर्दै आएको छ।

कोरोना महामारीका कारण २ वर्ष स्थगित भएको महोत्सवमा विभिन्न मौलिक नाचहरुको झाँकी प्रदर्शन गरिएको थियो।

तेस्रो भूमे खुला साँस्कृतिक महोत्सव-२०७९ मा भूमे, पैसेरु, ढँगे/नचारु, फाँक, मयुर, झोरेल्ने ६ वटा स्थानीय मौलिक नाचहरुमा प्रतिस्पर्धा गराइएको थियो।

भूमे नाच प्रतियोगितामा भूमे गाउँपालिका वडा-७ धर्मशालाको समूह प्रथम भएको छ। त्यस्तै भूमे-२ काँक्री दोस्रो, भूमे-६ महत तेस्रो र भूमे-३ क्याङसीले शान्त्वना पुरस्कार पाएको छ।

नचारुरु/ढंगे नाचमा भूमे-३ क्याङसी प्रथम,  भूमे-३ सीमा द्वितिय र भूमे-६ महत तेस्रो स्थान हासिल गरेको छ। त्यस्तै मयूर नाचमा सिस्ने गाउँपालिका ५ रुमालवाराको टिम प्रथम, भु-२ खावाङ दोस्रो र कोर्जा, भूमे-८ तेस्रो भएको छ।

फाँक गीत तथा नाचमा भूमे- ३, क्याङसी ‘ए’ प्रथम,  क्याङसी ‘बि’ दोस्रो , भूमे- १, लुकुम तेस्रो र भूमे-६ महतले शान्त्वना स्थान हासिल गरेको छ।

झोरेल्नी नाचतर्फ भूमे ६ महत प्रथम, भूमे ३ सीमा द्वितीय र भूमे ३ क्याङसी तेस्रो भएका छन् भने पैसेरु नाचमा रुन्चे नाखे, भूमे-६ का प्रथम, डाँग्रीबाङ-भित्रिवन-रिसालचौर (डिभिआर) नाच तथा कला संरक्षण समूह भूमे-७ दोस्रो र झुम्लावाङ, भूमे-३ तेस्रो र क्याङसी, भूमे-३ ले शान्तवना पुरस्कार हात पारेको छन्।

१८ मगरातका क्षेत्रका सबै जात जातीका समुदायले हरेक वर्ष असारको पहिलो साता भूम्या पर्व हर्षोल्लासाथ मनाउने गर्छन्।

भूम्या पर्व प्रकृति पूजक मगर समुदायको महान चाड हो। जेठ मसान्तको अघिल्लो दिन लेकमा फुल टिप्न गएर फर्केपछि गाउँमा विशेष भूम्या अर्थात बल पुजा गरिन्छ। त्यसपछि असारको १ गतेदेखि ५ दिनसम्म धुमधामले भुम्या पर्व मनाउने गरिन्छ।

यही अवसरमा भूमे गाउँपालिकाका अघिल्लो स्थानिय सरकारले २०७५ सालदेखि स्थानीय मौलिक नाच तथा गीतहरुको खुला साँस्कृतिक महोत्सव र प्रतिस्पर्धा गराइरहेको गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताए। यो कार्यक्रमलाई अगामी वर्षमा निरन्तरता दिइरहने उनले बताए।

तीन दिनसम्म चलेको साँस्कृतिक महोत्सवको उद्घाटन प्रतिनिधिसभाका सांसद कमला रोकाले गरेकी थिइन्। भूमे गाउँपालिकाले वर्षेनि आयोजना गरेको स्थानीय नाच र गीतहरुको संरक्षण तथा प्रवर्द्धन गर्न ठूलो योगदान पुगेको र यस कार्यप्रति गाउँपालिकालाई खुलेर प्रसंसा समेत गरेकी थिइन्।

महोत्सवमा पूर्वमन्त्री दलजित शेर्पाली, लुम्बिनी प्रदेश सांसद तेजबहादुर ओली, पूर्वसांसद जुनकुमारी रोका, रुकुम (पूर्व) का जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ, भूमे गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठ, उपाध्यक्ष सविना बुढा, निवर्तमान अध्यक्ष रामसुर बुढामगर र प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठको सहभागी थियो।

गत २ वर्ष कोरोना महामारीले स्थगित भएको महोत्सवमा हजारौँ मानिसहरुको उल्लासमय उपस्थित रहेको थियो। महोत्सव असार २ देखि ४ गतेसम्म चलेको थियो।

प्रकाशित मिति: : 2022-06-20 14:43:00

प्रतिकृया दिनुहोस्