शहिद स्मारक ‘ए’ डिभिजन लिग

आक्रामक फुटबलसँगै लगातार लिग जित्ने योजनामा मछिन्द्र

Photo : NK
Photo : NK

अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई एक अंक आवश्यक्ता थियो। आर्मीलाई बराबरी तथा जितले ऐतिहासिक शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि हात पर्ने थियो। यता, मछिन्द्र फुटबल क्लबलाई भने तीन अंकको विकल्प थिएन । अर्थात् अन्तिम खेलमा विभागीय प्रतिद्वन्द्वी आर्मीविरुद्ध गर या मरको अवस्थामा थियो मछिन्द्र।

भयो त्यस्तै, अन्तिम खेलमा मछिन्द्रले आर्मीलाई १-० गोल अन्तरले पराजित गर्‍यो। गोल भने आर्मीका खेलाडीले नै गरेका थिए । खेलमा आर्मीले बलियो प्रस्तुति देखाए पनि फिनिसिङमा चुक्यो। आर्मीका डिफेण्डर विकास तामाङले आफ्नै पोष्टमा गरेको गोल मछिन्द्रको लागि वरदान सावित भयो।

मछिन्द्र क्लब स्थापना भए यता पहिलो पटक देशकै शीर्ष डिभिजनको लिग जित्न सफल भयो। पछिलो पटक फुटबलमा ठूलो लगानी गरेको मछिन्द्रले लगानीअनुसारको फल पायो। उसले फुटबलमा लगानी गर फल आउने छ भनेर एक पटक प्रमाणित गरिदियो।

यदि अन्तिम खेलमा मछिन्द्र आर्मीसँग पराजित भएको भए न त मछिन्द्रले बाँकी समय फुटबलमा लगानी गर्थ्यो न त अन्य क्लबले नै।

पहिलो पटक लिग जितेको मछिन्द्रले पुनः एक पटक ‘ए’ डिभिजन लिगमा ठुलै लगानी गर्दै छ। पुनः  मछिन्द्र लिगको उपाधि हात पार्न मैदानमा होमिएको छ। मछिन्द्र लगातार दोस्रो पटक लिग जित्ने योजनासहित २९ कात्तिकमा सुरु हुने लिगको तयारीमा जुटेको हो।

मछिन्द्रले यस पटकसमेत राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता क्लबमा राखेको छ। गत सिजनझैँ क्लबले ठूला नामलाई यस पटकसमेत निरन्तरता दिएको छ।

अझ यस पटक मछिन्द्रले एएफसी लाइसेन्स पाएसँगै एएफसी प्रतियोगिता खेल्न हौसिएको हो। सोहीअनुसार राष्ट्रिय टोली तथा उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई मछिन्द्रले भित्र्याएको छ। 

गत सिजन मछिन्द्रले लिगको उपाधि जिते पनि एएफसी कप भने खेल्न पाएन। एएफसीले आफ्नो सदस्य राष्ट्रका शीर्ष डिभिजन लिग विजेता टोलीलाई एएफसी कप खेल्न दिन्छ। तर, एएफसी लाइसेन्स नभएकै कारण सो अवसर उपविजेता आर्मी क्लबले पायो।

मछिन्द्रले लिग जितेर एएफसी प्रतियोगिता मात्र खेल्न नपाएको हैन। उसले एएफसीबाट पाउने ठूलो अनुदानसमेत गुमायो।

अघिल्लो सिजन मछिन्द्रले ठुलै ‘रिक्स’ लियो। यति मात्र हैन मनाङ मर्स्याङ्दी र थ्रीस्टारले पाल्दै आएका ठूला नाम चलेका खेलाडीलाई नसोचिएको तरिकाले क्लबमा भित्र्यायो। यसका लागि मछिन्द्रको व्यवस्थापक टोलीले ठूलो चुनौती मोल्यो।

यस पटकसमेत मछिन्द्रले गत सिजनकै सुजल श्रेष्ठ, विशाल श्रेष्ठ ?(गोलरक्षक), विशाल राई, रेजिन सुब्बा, देवेन्द्र तामाङ, अभिषेक रिजाल, विमल घर्ति मगर, विजय धिमाल, रेजिन धिमाललगायतका खेलाडीलाई निरन्तरता दिएको छ।

यस पटक मछिन्द्रले नयाँ खेलाडीको रूपमा मनिष डांगी, छिरिङ गुरुङ, सुनिल बल, दिलेन लोक्तान, विदेशी खेलाडीमा अजरबैजानका नुर्लान नोभ्रुजोभ र आन्द्रेनियालाई भित्र्याएको छ। एक दक्षिण एसियाली कोटासहित मछिन्द्र अझै दुई विदेशी खेलाडीको खोजीमा छ।

क्लबले लिगको उपाधि लगातार हात पार्ने लक्ष्यसहित यस पटक दुई करोडभन्दा बढी लगानी गर्ने निर्णय लिएको  छ। क्लबका व्यवस्थापक अनिल श्रेष्ठ लगातार उपाधि हात पार्ने लक्ष्यसहित तयारी गरिरहेको र खेलाडीसमेत त्यहीअनुसार अनबन्धन गरेको न्युज कारखानालाई बताउँछन्। 

‘लगातार लिगको उपाधि जित्ने योजना छ। त्यहीअनुसार लगानी पनि गरेका छौं। यस पटक हाम्रो लगानी नै दुई करोड माथि छ। सोहीअनुसार खेलाडी पनि अनुबन्धन गरेका छौं’,  क्लबका उपाध्यक्षसमेत रहेका श्रेष्ठ भन्छन्।

मछिन्द्रले उपाधि हात पार्दा सिंगल राउण्ड रोबिनको लिगमा १० खेल जित्दा दुई खेलमा अंक बाँडेको थियो भने एक खेलमा हार व्यहोर्दै ३१ अंक जोडेको थियो।

गत सिजन मछिन्द्रबाट देखिएका कप्तान विराज महर्जन, दिपक राई, विदेशी खेलाडी पिटर सेगुन, एडेलाजा सोमिडे भने यस पटक क्लबमा देखिने छैनन्।

अग्रपंक्तिमा पछिल्लो समय नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीको बाहुल्यता र केही विदेशी खेलाडीको उपस्थितिमा मछिन्द्रले आक्रामक फुटबल खेल्ने रणनीति तयार पारेको छ।

‘गत सिजन हामीलाई खेलाडीको चोटले सतायो। यसपटक सो हुन नदिन खेलाडीसमेत हामीले राम्रोसँग अनुबन्धन गरेका छौं। यस पटक हामीले काउन्टर खेल र आक्रामक खेललाई नै प्राथमिकतामा राखेका छौं। हाम्रो लक्ष्य भनेको उपाधि हो।  त्यसका लागि हामीलाई स्कोरमा समस्या हुनु हुँदैन। त्यसैले अट्याकमा हामीले धेरै खेलाडी बनाएका छौं’, पहिलो पटक क्लबलाई लिगको उपाधि जिताएका ४० वर्षीय प्रशिक्षक प्रवेश कुटवालले भने।

सन् २०१७ मा पहिलो पटक एएफसी ए लाइसेन्स पाएका प्रशिक्षक प्रवेश यसपटकको मुख्य चुनौती विभागीय क्लब रहेको र त्यसका लागि आफ्नो खेलाडी तयार रहेको बताउँछन्।

साविक विजेता मछिन्द्रले २ मसिंरमा दशरथ रंगशालामा न्युरोड टिम एनआरटीको सामना गर्दै लिगको सुरुवात गर्नेछ। दोस्रो खेलमा मछिन्द्रले साविक उपविजेता आर्मीको सामना गर्नेछ। 

मछिन्द्रले हालसम्म सम्झौता गरेका खेलाडी

गोलरक्षक – विशाल श्रेष्ठ, सूर्य अधिकारी 

डिफेण्डर – देभेन्द्र तामाङ, विजय धिमाल, रेजिन धिमाल, छिरिङ गुरुङ, दिलेन लोक्तान,

मिडफिल्डर – सुजल श्रेष्ठ, विशाल राई, मनिष डांगी, सुनिल बल, नुर्लान नोभ्रुजोभ, आन्द्रेनिया 

स्ट्राइकर – रेजिन सुब्बा, अभिषेक रिजाल, बिमल घर्ति मगर

प्रकाशित मिति: : 2021-11-09 15:41:00

प्रतिकृया दिनुहोस्