फिरंगी नेतृत्वले गौरमा विकास भएन: प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले फिरंगी नेतृत्वका कारण गौरको विकास हुन नसकेको बताएका छन्।

रौतहटको गौरमा शुक्रबार आजपाको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले गौरसहित रौतहट एवं मधेसको विकासका लागि धर्तीपुत्र नेताको नेतृत्व हुन आवश्यक रहेको बताए।

‘गौर वा रौतहटको विकास किन हुन सकेन्? तपाईं हामी सबैलाई थाहा छ, फिरंगी नेतृत्व रहेसम्म त्यो सम्भव छैन। फिरंगी नेताहरुको कारण रौतहटसहित मधेस मानव विकास सूचांकमा पछाडि परेको छ’, आजपा अध्यक्ष साहले भने, ‘यहाँको विकासका लागि यहीका धर्तीपुत्र नेताको नेतृत्व हुन जरुरी छ, यी फिरंगी नेतृत्वले यहाँको विकास हुँदैन। त्यसमा हामी सचेत हुनैपर्छ।’

प्रमुख भनिएका दलहरुको सिण्डिकेट र लुटका कारण मुलुक समृद्ध हुन नसकेको बताउँदै उनले दलीय सिण्डिकेटको अन्त्य हुनुपर्ने बताए।

अहिलेको व्यवस्था असफल भएको बताउँदै साहले दलहरुको भ्रष्टाचार र सरकारको मनोमानी कार्यका विरुद्धमा आवाज उठाउनुपर्ने समय आइसकेको बताए।

‘अहिले हेर्ने हो भने दलहरुले लुट मचाएका छन्। काम केही गर्नुछैन, जनतालाई झुक्याउने, आसेपासे पाल्ने, भ्रष्टाचार, अनियमितता गर्ने र समृद्धिको गफ दिने कामले आम जनता पनि आजित भइसकेका छन्’, साहले भने, ‘यो दलहरुको मनोमानीका विरुद्धमा आवाज उठाउने समय आइसकेको छ। यो व्यवस्था, दलीय सिण्डिकेट, भ्रष्टाचार तथा कुशासनका विरुद्धमा सडकमा उत्रिन ढिला नगरौँ।’

यस्तै आजपा अध्यक्ष साहले गौर हत्याकाण्डका हत्यारालाई कारवाही गर्नुपर्ने माग समेत गरे। गौर हत्याकाण्डका हत्याराहरु खुलेयाम घुमिरहेको भए पनि उनीहरुलाई सरकारले किन कारवाही नगरेको भन्दै उनले सरकारसंग आक्रोश व्यक्त गरेका छन्।

हत्यारा जोगाउनका लागि सरकार छोड्ने भन्ने जस्ता कुरा गर्नेहरुले मधेसको विकासका लागि किन बोल्दैनन् भन्दै उनले प्रश्न गरे। जसपा नेता उपेन्द्र यादवप्रति लक्षित गर्दै आजपा अध्यक्ष साहले भने, ‘संघीय सरकारमा सहभागी भएको मधेस सरकारको नेतृत्वसमेत गरेका नेताहरु हत्यारा बचाउन सरकार छोड्छु भन्नेले मधेसको विकासका लागि किन बोल्दैनन्? किन मौनव्रत बसेका होलान?’

यसैगरी आजपाले भन्सार कानुनमा रहेको ४५ प्रतिशतको पुरस्कारको व्यवस्था हटाउनुपर्ने मागसहित संघर्ष गर्दै आएको छ। सोही विषयमा बोल्दै अध्यक्ष साहले भन्सार कानुनमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था नहटाएसम्म पार्टीले संघर्षका कार्यक्रम जारी राख्ने चेतावनी दिए।

प्रकाशित मिति: : 2024-02-16 18:13:00

प्रतिकृया दिनुहोस्