कर्णालीमा ‘जीवनमार्ग’ हराएका मान्ठहरू

Break n Links
तस्बिर: सामाजिक सञ्जालबाट

सुर्खेत-जुम्ला २३२ किलोमिटरको कर्णाली राजमार्ग पार गर्न करिब ४/५ दिन लाग्छ, बाटोको यो दूरी नाप्नुपर्ने यो ‘समयरेखा’ अनौठो होइन, अझ यसका दु:ख त के कुरा बयानगरि साध्यै छैन। 

सडक बनेको दशकौँ बितिसक्दा पनि अझै कहिँकतै मर्मत सम्भार तथा बाटो स्तरोन्नती गर्ने कार्य भएको छैन। जसले गर्दा बेलाबखत दुर्घटना भएर धेरै जन धनको क्षति हुने गरेको छ।

जति भयानक यो राजमार्ग छ, यसको यात्रा छ अनि त्यो भन्दा पनि अझ भयंकर यसका कथाहरू छन्। यसका पीडाहरू छन्। अनि त्यसलाई भोग्ने सिङ्गो कर्णालीवासीका ब्यथाहरू छन्। कर्णालीमा बाटा छन्, गोरेटा छन्। तर भन्दा अत्युक्ति नहोला कर्णाली ‘राजमार्ग’ हराएको छ। 

कर्णालीका विकट जिल्ला जोड्ने एकमात्र बाटोको रूपमा रहेको यो बाटो नै हरायो भन्दा कर्णालीबासीहरूमा त झन कस्तो बज्रपात हुँदो हो।

हो पक्कै पनि! 

कर्णाली राजमार्ग आजभोलि हराएको छ। जब जुम्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाकि सांसद  बिनिता कठायतले संसदमा बोल्दै ‘कर्णाली राजमार्ग हराएको’ भन्ने कुरा सरकारलाई जानकारी गराइन्  अनि यो कुरा सुन्दा मेरो मनमा पनि एक किसिमको तरंग नै  पैदा भयो। तरंग पनि पैदा किन नहोस् जब की म पनि त्यहीं विकट कर्णालीको एउटा मान्ठ न परें।

भौगोलिक बनावटको हिसाबमा अति विकट भए पनि प्राकृतिक सुन्दरता र अमूल्य जडिबुटी, दुर्लभ वन्यजन्तुले गर्दा साविकको कर्णाली नेपालकै धनी मानिन्छ।

नेपालकै सबभन्दा ठूलो रारा ताल, गहिरो ताल फोक्सण्डो, सुन्दर चाँदी झै टल्किने कान्जिरुवा र  पातरासी हिमाल साविकको कर्णालीमा नै पर्दछन्। नेपालकै सबभन्दा लामो नदी कर्णाली र ठूलो झरना पञ्चाल झरना पनि कर्णालीमै पर्छन्।

कर्णालीमा नेपालकै दुर्लभ मानिने कस्तुरी मृग, रातोपाण्डा डाँफे आदि पशुपंक्षी पाइनुको साथै जीवन बुटी (यार्सागुम्बा), पाँचऔँले (हातेजडी), शिलाजीत जस्ता थुप्रै औषधिजन्य जडीबुटी प्रशस्तै पाइन्छन्।

राष्ट्र भाषाको उद्गम स्थल सिंजा उपत्यका पनि यहीँ पर्दछ। विश्वकै अग्लो स्थानमा फल्ने जुम्ली मार्सीधान जुम्ला जिल्लाको छुमचौर जिउलामा फल्दछ।
त्यस्तै जुम्लामा फल्ने ओखर स्याउ र स्याउबाट बनेका विभिन्न ब्रान्डहरु विश्वबजारमा प्रख्यात छन्।

यस्तै प्राकृतिक रूपले धनी कर्णालीका यी स्थानहरुसम्म पुग्न निकै कठिन छ।कठिन पनि किन नहोस् जब की त्यहाँ सम्म पुग्ने बाटो कर्णाली राजमार्ग स्वर्ग/यमराजको प्यारो हुन जाने बाटोको नाममा प्रचलित छ। त्यति मात्र कहाँ हो र त्यही स्वर्गको बाटो नै हराएको छ।

कर्णालीको मुटु मानिने कर्णाली राजमार्ग, जुन यस क्षेत्रको विकास र समृद्धिको महत्वपूर्ण आधार हो, आज जीर्ण अवस्थामा पुगेको छ। नेपालको सबभन्दा दुर्गम क्षेत्रहरूलाई राजधानीसँग जोड्न निर्मित यो राजमार्गले कर्णालीका बासिन्दाको आर्थिक, सामाजिक, र सांस्कृतिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने थियो। तर, निर्माण सुरु भएको दशकौं बितिसक्दा पनि यसको स्थिति दयनीय बनेको छ।

राजमार्गको अवस्था दिन प्रतिदिन बिग्रिँदै गएको छ। बर्खायाममा पहिरोले बाटो बन्द हुने समस्या नियमित बनिसकेको छ। कतिपय ठाउँमा खाल्डाखुल्डीले भरिएको सडकका कारण दुर्घटना हुने सम्भावना बढ्दो छ। कतिपय क्षेत्रमा सडक नै भत्किसकेको छ। यस्ता अवरोधहरूले यातायातका साधनहरू सञ्चालनमा कठिनाइ मात्र नभई कर्णालीबासीको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पुर्‍याइरहेको छ। खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा, र शिक्षा जस्ता आधारभूत आवश्यकतामा ठुलो धक्का लागेको छ।

हे सरकार जहिले पनि तिमी कर्णालीलाई सौतेली व्यवहार किन गर्दछौ? के कर्णाली तिम्रो कर्तव्य अनि अधिकार क्षेत्र भित्र पर्दैन र? के सरकारले कर्णालीलाई हेर्ने नजर फेर्न सक्दैन र? के कर्णालीका जनता तिम्रा भोटका लागि मात्र जन्मेका हुन् र?  के कर्णालीमा विकास भएको हेर्न सक्दैनौं र? के कर्णाली खुसी र सुखी भएको हेर्न सक्दैनौ र? के कर्णाली समृद्धि भएको हेर्न सक्दैनौं र?
कर्णालीले तिमीलाई  सके जति सहयोग गरेर सत्तामा पुर्‍याएको छ। तिमीलाई नमरुन्जेल सहयोग गर्ने कर्णालीले वाचा गरेको छ। अझै पनि तिमीमा आफूलाई सहयोग गर्ने लाई सहयोग गर्नु पर्दछ भन्ने भावना पलाएको छैन र?

आज कर्णाली राजमार्ग नै हराएको छ भनी संसदमा बिगुल फुक्ने अवस्था आइपुग्दा सम्म पनि  सरकारले कर्णाली राजमार्गको स्थिति बुझ्न पर्दैन र?

कि हराएका वर्षमा झै प्रकाशले न्याय पाए त्यसरी विद्या चापागाइँले हराएको बाटो भनी कर्णाली राजमार्गको डकुमेन्ट्री बनाउनै पर्ने हो र? यदि यसो गर्दा हराएको बाटो कर्णाली राजमार्ग सरकारले भेटेर मर्मत सम्भार र फराकिलो तथा सेवासुविधायुक्त पार्दछ भने विद्या दिदी हजुरले विकट कर्णालीका जनताको चिच्चावट सुनेर हराएको बाटो अर्थात् कर्णाली राजमार्गको एउटा दुःखदायी डकुमेन्ट्री बनाइदिनु पर्‍यो।

कर्णाली राजमार्गमा एकचोटी सवार गरेका मान्छेहरूले फेरि यो बाटो प्रयोग गर्न नपरोस् भन्दै यात्रा गरिरहेका हुन्छन्। धेरैले यस राजमार्गलाई मृत्युको बाटो अर्थात् स्वर्गलोकको बाटो भन्ने जस्ता उपनाम पनि दिने/भन्ने गरेका छन्। जे जस्तो भए पनि दुःखी, गरीब कर्णालीबासीहरुले सुख-दुःखका साथ त्रासपूर्ण यात्रा गरिरहेका छन्।

कर्णालीका जनताले पटक–पटक कर्णाली राजमार्गको जीर्ण अवस्था सुधार गर्न सरकारलाई सचेत गराउँदै आएका छन्। स्थानीय स्तरमा जनप्रतिनिधि, नागरिक समाज, र व्यापारीहरूले सरकारलाई अनुरोध गर्दा पनि कुनै ठोस पहल नहुँदा उनीहरूमा गहिरो असन्तोष छ। कर्णालीबासीको मुख्य माग भनेको राजमार्गको दिगो मर्मत र स्तरोन्नति हो। उनीहरूले राजमार्गको नियमित अनुगमन र मर्मतसम्भारको प्रक्रिया चाँडो सुरु गर्न जोड दिँदै आएका छन्।

चाडपर्व नजिकिए सँगै कर्णाली राजमार्गमा यात्रा गर्नेको संख्या बिस्तारै बढ्दै छ । यसलाई मध्यनजर गर्दै कर्णाली राजमार्गको समस्या समाधानका लागि सरकारको तदारुकता अत्यावश्यक छ। सरकारले तत्कालै दीर्घकालीन योजना बनाउनुपर्ने देखिन्छ, जसले गर्दा यो राजमार्गले आर्थिक गतिविधिलाई चलायमान बनाउन सकोस्। गुणस्तरीय मर्मत, सडकको स्तरोन्नति, र समयमै पहिरो नियन्त्रणका कामहरू प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेछ।

राजमार्गमा लगानी मात्र नभई नियमित निरीक्षण र अनुगमनका कार्यक्रमहरू पनि हुन आवश्यक छ। यातायात सहज भएमा कर्णाली प्रदेशमा पर्यटन विकासको अवसर खुल्नेछ, कृषि तथा अन्य स्थानीय उद्योगहरू पनि थप प्रोत्साहित हुनेछन्। यसले गर्दा  जनताले आर्थिक अवसरहरूको लाभ उठाउन पाउनेछन् र कर्णालीको समग्र विकासले गति लिनेछ।

अन्त्यमा, य कर्णालीको प्रतिनिधित्व गर्ने सांसदहरु हो। के संसदमा बोलेर मात्र हुने हो कि काम पनि गर्ने हो। बनाउनु पर्ने ठाउँमा बजेट नहालेर बन्दै नबन्ने ठाउँमा बजेट हाली खेर फाल्न लाज लाग्दैन र ? विकास हुँदै नहुने ठाउँमा बजेट हालेऊ भनी २ हात माथि उफ्रिदै स्ट्यान्ड बाजि गर्न लाज लाग्दैन र ? लाज पनि किन लागोस जब की आफू पुग्नु पर्ने ठाउँमा पुगेपछि लाज पचाउने बानी परिसकेपछि।

कर्णाली वासीको आवश्यकता भनेको कर्णाली राजमार्गलाई स्तर उन्नती गर्ने हो। अन्य विकासका कामहरूलाई द्रोसो स्थानमा राख्ने हो। सक्छौ भने हराएको बाटो खोजेर ल्याऊ त्यसको स्तर उन्नती गर सक्दैनौं अन्य अनावश्यक कामको जस् लिने काम नगर। यति मात्र गर्न सक्यौ भने कर्णालीमा फेरि पनि तिमीलेनै राज गर्ने छौ नत्र कर्णालीले शासन सत्ता पल्टाउन पनि जानेको छ।

अन्त: कर्णाली राजमार्ग कर्णालीका जनताको जीवन रक्षाको रेखा हो। यसको जीर्ण अवस्था सुधार्न र हराएको बाटोको स्तरोन्नति गर्न सरकारले आजका दिनदेखि नै तदारुकता देखाउनु पर्नेछ, ताकि कर्णाली बासीले हराएको बाटोको खोजी गर्दै यात्रा गर्नुपर्ने बाध्यता हराएर जाओस्। अनि, विकासका अवसरबाट वञ्चित हुन नपरोस्।

प्रकाशित मिति: : 2024-09-14 11:16:00

प्रतिकृया दिनुहोस्