ध्रुब बस्याल
गत हप्ता काठमाडाैँमा आयाेजित भारतीय सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रमकाे सम्बाेधनका क्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएकाे अभिव्यक्ति,- ‘उहाँ (सिंह)ले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो। धेरैचोटी दिल्ली जानु पनि भयो। काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो’लाई लिएर देशकाे राजनीति तरङ्गित छ।
साेही अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्रीकाे राजीनामा माग्दै संसद बैठक अवरुद्ध गरेकाे छ। माओवादी केन्द्रकै नेता कार्यकर्ताहरुले असन्तुष्टि पाेखिरहेका छन्। भने, केही व्यक्तिले प्रधानमन्त्रीले भएकै कुरा बाेलेकाे टिप्पणी गरेका छन्। आखिर किन प्रचण्डकाे जिब्राे चिप्लिरहन्छ ? यस विषयमा माओवादी केन्द्रकाे धारणा के हाे ? लगायत सन्दर्भमा बिएल नेपाली सेवाले माओवादी केन्द्रका पाेलिटव्यूराे सदस्य तथा दाेलखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गंगा कार्कीसँग कुराकानी गरेकाे छ।
प्रस्तुत छ, बिएल संवाददाता ध्रुब बस्यालले सांसद कार्कीसँग गरेकाे कुराकानीकाे सम्पादित अंश :
तपाईंकाे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भारतीय सरदार प्रितम सिंहले मलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली धाउनुभयाे’ भनि दिएकाे अभिव्यक्ति गैरजिम्मेवार छ जस्ताे लाग्दैन्, प्रधानमन्त्रीजस्ताे व्यक्ति यसरी बाेल्दै हिँड्न मिल्छ ?
तर्क गैरजिम्मेवार होइन। गैरजिम्मेवार त भित्र हुने बाहिर नभन्ने कुराहरु हुन्। जे हाे त्यो भन्दा त कसरी गैरजिम्मेवार भयो ? आफूसँग भएको कुरा जनतालाई भन्नु त सही हाे नि।
दाेस्राे कुरा तपाईंले प्रितमजीसँगको सन्दर्भ जोड्न खाेज्नु भएको होला, मेरो कुरा के छ भने कुनै व्यक्ति लाग्न सक्छ, कुनै व्यक्ति जान सक्छ। मलाई सभासत बनाउनुपर्छ भनेर मलाई नै थाहा नदिएर कैयौँ पटक मेरा समर्थक प्रधानमन्त्री प्रचण्ड कहाँ गए त। त्यसलाई के भन्ने मलाई नै थाहा हुँदैन तर पहल भइरहेको हुन्छ।
त्यो होला तर नेपाल अन्य देशको इसारामा चल्न थाल्यो। प्रधानमन्त्री बन्ने सिफारिसका लागि दिल्ली जाने भन्ने विषय त गलत होला नि ?
दिल्ली त प्रितम सिंह जानुभयो, प्रचण्डले पठाएको त होइन होला नि ? प्रचण्डले तपाईं दिल्ली गएर मलाई प्रधानमन्त्री बनाउन कुरा गर्दिनुस् भनेर त गएको होइन। उहाँले पठाउनुभएको भए गलत हुन्थ्यो। तर, व्यक्तिगत रुपमा कसलाई के लाग्यो ? के गर्दैछ ? भन्ने कुरा त उहाँसँग जोडिने कुरा भएन नि।
अर्को कुरा प्रितमजीको पुस्तक विमोचनमा जानु एउटा रिलेसन (सम्बन्ध)का कारण युद्धकालमा कुनै न कुनै रुपले जोडिएको स्थिति, अझ नेपालमा पहिलोपटक सडक बन्दाखेरि उहाँले गाडीको लहरी लिएर मकवानपुरसम्म आएको भन्ने कुरा र व्यवसायीसमेत भएकाे हुनाले आफ्नो रुपमा कुरा गर्नु स्वभाविक हो। प्रचण्डले जानुस्, कुरा गर्नुस्, भनेर कुरा गरेर आएको भए गम्भीर भयो। नत्र यो स्वभाविक नै हो।
तर, प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेकाे व्यक्तिले सार्वजनिक कार्यक्रममै यस्ताे तर्क गर्न मिल्छ ?
होइन, होइन। मैले पहिले पनि भनेँ जे भएको हाे त्याे कुरा जनतालाई भन्दिएको छ। तपाईं हामीले सबैले रेकर्ड हेरेकै छौँ। के-के भूमिका खेल्नुभयो त्यो उहाँको कुरा हो। हाम्रो पार्टीको कुरा पनि होइन। सिफारिस गरिदिनुभयो भन्ने व्यक्ति हाम्रो जिम्मेवार नेता कार्यकर्ता केही पनि होइन। बाँकी के-के भयो भन्ने उहाँको सरोकारको विषय हो।
प्रचण्डले किताब विमोचनमा गएको बेला भन्दिएको ‘मलाई प्रितमजीले प्रधानमन्त्री बनाउन लागिपर्नु भयो।’ उहाँ भारत जानु भयो। कोही अमेरिका नदेखेकाहरु अमेरिका पनि गए होलान् तिनीका कुरा किन आउँदैनन् ? प्रितमजीले नेपालका कैयौँ नेताहरु भेटे भन्ने कुरा छ। यो विषय यति ठुलो विवादमा ल्याउन नपर्ने विषय हो। तर, हाम्रो संस्कार कस्तो भने यो विषयलाई लिएर अन्य थुपै विषयहरु छन भित्र त्यसैले यो ‘के निहुँ पाऊँ कनिका फुकाऊँ’जस्ताे भएको छ। निहुँ खोजिरहनु भएको थियो, निहुँ पाउनु भयो। निहुँ खोज्नुको विषयवस्तु अर्कै छ।
एमालेले निहुँ खोजेका विषयवस्तु के-के हुन् ?
तपाईं हामी सबैलाई थाहा छ। केही समय पहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा मान्छे बेच्ने उहाँहरुकै मान्छे थिए। उहाँहरु जेल जानुभयो। कति तानिने हो अझै बाँकी छ। ललिता निवास प्रकरणको पनि फाइल खुलेको छ। यो फाइल खुल्दा ठुलठुला माछा को-को आउने हुन मैले नाम भन्दिनँ तर दुनियाँलाई थाहा छ। एमालेभित्रैका ठुला-ठुला माछाहरु आउँदैछन्।
आयल निगमका खड्काजी भित्र छन्। कर विभागमा काम गर्ने बस्नेतजी भित्र छन्। अब बिस्तारै ओम्नी काण्ड, कोरोना कालमा भएकाे स्वास्थ्य सामाग्रीसम्बन्धी घोटाला काण्ड, सहकारी काण्डलगायत विभिन्न काण्डहरुमा हेर्दै जानुहोला जसले अहिले विरोध गरेको छ, यो सबै काण्ड निस्किन्छन् भनेर अतङ्कित भएर यी कुराहरु गरेका हुन्। अब यी कुराहरुमा विराेध गरेर प्रधानमन्त्रीलाई आतङ्कित पारेर अरु काण्डहरु साट्न खाेजिरहेका छन्।
त्यसाे भए लडाकु शिविरमा भएकाे भ्रष्टाचारकाे काण्ड पनि त खुल्छ हाेला नि ?
यदि लडाकु शिविर काण्डमा प्रचण्डको कतै सानो भए पनि तल/माथि भएको भए बाँकी राख्ने थिएनन्, तपाईं हामीलाई थाहा भएको सेनाको विषयमा मुद्दाहरु परेकाे परै छन्। अदालत धाको धाइ छन्, मान्छेहरु ज्यान छोडेर लागेका छन्। खै केही भएकै छैन।
तपाईंहरु विभिन्न काण्ड निकालेर मोर्चाबन्दी गर्दै अरुलाई तर्साइरहनु भएको छ हाेइन ?
छैन, छैन। हामीले कहाँ तर्साएका छौँ ? लडाकु शिविर काण्डको मुद्दा लगेर हाले भयाे त। हुँदै नभएको मुद्दा लगेर हालेका छन्। सकेसम्म हाले भयाे त। यो शिविर काण्डमा सबैलाई थाहा छ, त्याहाँ प्रचण्ड त हुनुहुँदैन थियो, नेपाल सरकारको सचिव मात्र हाेइन, संयुक्त राष्ट्र्र संघको प्रतिनिधि छ। उनीहरुले हो खर्च गरेको त। कहीँ कतै प्रचण्डको सही (हस्ताक्षर) छ ? के प्रचण्डले पैसा लगेर बुझाएको होर ? यदि त्यस्तो भएको भए उहिल्यै प्रचण्डलाई जेल हाली सक्थे। नभएरै बाहिर चर्चा मात्र भएको हो। यो सत्य होइन।
एमालेहरु काण्डै काण्डमा भएकाले अब रोकिनेवाला छैन, फाइलहरु संस्थागत रुपमा गरेको भ्रष्टाचारको फाइल खुल्दै छन्। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर मान्छे बेच्ने अपराध गर्ने कुरा सामान्य हाेइन। राष्ट्र र जनतालाई विश्वासघात गर्ने कुरा अहिले एक-एक गरेर फाइल खुल्न लागेकाले डरले आतङ्कित भएर के निहुँ पाऊँ कनिका फुकाऊँ भन्नेजस्तै निहुँ पाएर ठुलो विषय बनाएका मात्र हुन्।
प्रचण्डले कहिले पाचँ हजार मानिस मरेको जिम्मा म लिन्छु भन्ने, कहिले भारतलाई कन्फर्टेबल हुने सरकार बनाउँछु भन्ने, कहिले नक्कली लडाकु शिविर राखेको भन्दै विवादमा आइरहनुहुन्छ। उहाँले बोलेको सबै कुरा सत्य हुन कि बोल्न नजानेको हो ?
नेपालमा सबैभन्दा धेरै बोल्न जानेको मान्छे प्रचण्ड हो सबैलाई थाहा छ। बोल्न नजानेको भन्ने कुरा बेकारको तर्क हो। प्रचण्डजी इमानदार मान्छे हो, जे हो सत्य बोल्नुहुन्छ। भएको कुरा जनतालाई भन्दिनुपर्छ भन्ने मान्यता उहाँमा छ। कुनै विषयवस्तु मनमा राख्न सक्नुहुन्न। जनतालाई भएको कुरा भनिरहँदै गर्दा ती कुराहरु कहिले सकारात्मक हुन्छ, त कहिले नकारात्मक हुन्छ।
अहिलेको कुरा सकारातमक हुँदा हुँदै नकारात्मक बनाइयो। मान्छेलाई तानेर होइन लाई हो हो बनाइएको न हो। नभएको कुरा पनि हो कि हो भनिरहँदै गर्दा हो भन्ने भ्रम सिर्जना हुन्छ। अहिले एउटा ठुलो षडयन्त्र ग्राइण्ड डिजाइन रचिएको छ। यो डिजाइन काम लाग्नेवाला छैन, पानीको फाेका जस्तै फुट्छ।
प्रतिपक्षहरुले उक्त अभिव्यक्तिलाई लिएर प्रतिनिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध गरेर प्रधानमन्त्रीको राजीनामा मागिरहेका छन्, प्रधानमन्त्रीज्यूले अब राजीनामा दिनुहुन्छ ?
राजीनामा किन दिने ? उहाँहरुले भोट हालेर प्रचण्ड प्रधानमन्त्री हुनुभएको होइन ? उनीहरुले सकेसम्म भोट नहालेर हराउन खोजेकै हाे। अहिले सरकारसँग बहुमत छ, बहुमत भएकाले सरकारबाट राजीनामा दिनुपर्ने केही देखिँदैन। कुनै अपराध गरे पो राजीनामा दिनु। राजीनामा दिने कुरै छैन।
प्रधानमन्त्रीको अभिव्यक्तिका कारण मिटरब्याजसम्बन्धी अध्यादेश निष्कृय भयो, तपाईंहरुलाई सत्ताबाहेक जनताको कामप्रति कुनै चिन्ता छैन है ?
हामीले मिटरब्याजीहरुले बेइमान गरे भनेर विधेयक ल्याउने बेइमान हुने अनि विधेयक ल्याउँछ भनेर संसद अवरुद्धसँगै अनेक हतकण्ड गर्नेहरु इमानदार भन्ने हुन्छ र ? यो उल्टो कुरा भयो।
संसदमा सत्तापक्ष किन यत्ति धेरै निरही बनेको छ ?
अहिले सत्तापक्ष निरही होइन, प्रतिपक्ष आतङ्कित बनेको छ। यो देशमा संस्थागत भ्रष्टाचार गर्ने सबै काण्डमा प्रतिपक्ष एमाले जोडिएको छ। हेर्दै जानुस् अब भ्रष्टाचारीविरुद्धकाे अभियान रोकिनेवाला छैन। अब विभिन्न काण्डमा ठुला-ठुला नेताहरु आउनेवाला छन्। अब जानु पर्याे भनेर ठुलो सकसका साथ उनीहरु बँच्न लागिरहेका छन्। अरु केही होइन।
जे-जे काण्ड खोलिए ती काण्ड प्रचण्डलाई मन नपर्नेहरुको फाइल मात्रै त हाे नि ?
नक्कली भुटानी शरणार्थी प्रकरणमा केही नगरेकाहरु जेल गएका हुन र ? भुटानी शरणार्थी प्रकरण प्रचण्डलाई मात्र होइन, तपाईंलाई मन नपरेको कुरा साँचो हो नि होइन ? देश, जनता र राष्ट्रलाई मन नपरेका विषयवस्तु खोलिँदैछ। प्रचण्डलाई मन नपरेको अप्रमाणित कुरा लिएर कारबाही त भइरहेको छैन। तथ्य र प्रमाणका आधारमा हिजो लुकाएर, गुम्साएर राज्य सत्ताको आडमा कुल्तिएर सुरक्षित राखिएको थियो। त्यही कुरा बाहिर लिएको त हो। प्रचण्डलाई मनपर्ने नपर्ने भन्ने होइन। प्रचण्ड पनि कुनै काण्डमा संलग्न भए हालदिए भयो।
भुटानी शरणार्थी काण्ड नभएको काण्ड हो ? प्रचण्ड यदि कुनै काण्डमा जोडिएको भए जेल जान तयार हुनुपर्छ। उहाँले सदनमै घोषणा गर्नुभएको छ, मेरो भ्रष्टाचारको काण्डमा कतै जोडिएको भए प्रमाणसहित आउनुस् जेल जान तयार छु भन्नु भएको कुरा सबैले सुनेका छन्। एउटा कुरा के हो भने सत्य, तथ्य र यर्थाथलाई सही भन्न सिकाैँ राष्ट्र अहितमा गएर बाटो मोड्नु हुँदैन।
प्रचण्ड कहिले सुध्रिनुहुन्छ ?
प्रचण्ड सुध्रिएका कारण यो सब हुँदैछ। पार्टीको आन्तरिक कुरामा समस्याहरु छन्, यो कुरा मानिन्छ।
प्रचण्डमात्र होइन अरु थुप्रै मान्छेहरु सुध्रिनुपर्ने अवस्था नै यो मामलामा मुख्य पदमा रहेकाले भूमिका फरक होला तर अरु पनि त जिम्मेवारी होलान् नि होइन र ? अब मिलाएर लैजाने कुरा गर्नुभएको छ। अब सरकारमा बसेर चलाएको अभियान राष्ट्र र पार्टी शुद्धीकरणमा पनि आवश्यक छ।
फेरि पनि तपाईंहरुले समाजवादी मोर्चा बनाएर काँग्रेस र एमालेलाई त्रसाएर सत्ताकाे आयु लम्ब्याउन खोज्नु भयो हाेइन ?
तपाईंको प्रश्नसँग मेरो सहमती छैन। राष्ट्र र जनताको हितमा केही होस् भनेर समाजवाद चाहने दलहरुलाई मिलाएर लैजान खोजिएको हो। अहिले हाम्रो गठबन्धनको हिसाबले सरकारमा काँग्रेससँग छौँ। अहिले हामीले संविधानले दिएको समाजवादउन्मुख लेख्खिएकाले समाजवादका लागि आधार तयार गर्नका लागि लागेको कुरा अहिले नयाँ होइन। संविधानमा भएका अपुगलाई संशाेधन गरेर समृद्ध बनाउने, आर्थिक समृद्धि कायम गरेर समाजवादमा जाने लगायतको कुरा छ। सरकारको उद्देश्य र समाजवादी मोर्चाको विषय फरक हो। यो कसैलाई त्रसाउन होइन, किन त्रसाउने जरुरी पनि छैन। सत्ता टिकाउन गठबन्धन छ किन समाजवादी मोर्चा चाहियो ? यो रणनीतिक उद्देश्यका कारण समाजवादमा जानका लागि हाम्रो समाजवादी मोर्चा हो।
समाजवादी मोर्चाले एमालेलाई समेट्छ ?
नीति तथा कार्यक्रम उद्देश्यसँग जो-जो सहमत हुन्छन् सबैलाई समेट्छौँ।
यो भन्दा पहिले तपाईंहरुले एमालेसँग पार्टी एकता गरेर नेकपा बनाएर जानुभएको थियो तर सत्ता स्वार्थकाे कारण टिक्न सकेन, अब समाजवादी माेर्चाकाे आयु कति हाे ?
तपाईंले के बुझ्नुस् भने बन्ने भत्किने भइरहन्छ। राजनीतिक पार्टी, आस्था र विचार हो। मोर्चा एकता आवश्यकताअनुसार बन्ने स्वार्थ पूरा भएपछि भत्किने भइरहन्छ। बनेपछि भत्किने हुँदैन, भत्किएपछि बन्न हुँदैन भन्ने पनि हुँदैन। देशको एजेण्डा आवश्यकताअनुसार बन्ने गर्छ अहिलेको आवश्यकता समाजवादी मोर्चा भएकाले मोर्चा बनेको हो। आवश्यकता सकिएपछि भत्किएछ भने पनि ठुलाे रुपमा लिनु हुँदैन।
तपाईंको पार्टी अध्यक्षले पूर्वमाओवादीहरु एकजुट हुनुपर्छ भन्ने अभिव्यक्ति दिइरहेको देखिन्छ, के पूर्वमाओवादीहरु एकजुट हुने सम्भावना छ ?
एक हुन सकिन्छ, त्यो सम्भावना छ। आज/भोलि नै नहोला तर माओवादीहरु एक ठाउँमा नआएर सुखै छैन। हिजो हिँड्दै जाँदा बाटो फरक-फरक भए होला एउटै परिवारको छोराछोरी त विचार नमिले भिन्नै बस्छन् भने माओवादीभित्र पूर्वपश्चिम, उत्तर दक्षिणका मान्छे भएकाले जुट्ने फुट्ने भइरहन्छ। माओवादीविरुद्ध कोही आउँछ भने एक हुन्छ।
तपाईंहरु समाजवादको बाटो खोज्दै हुनुहुन्छ तर अर्कोतर्फ राजसंस्था मान्नेहरुको जमात बढ्दो छ। देश समाजवाद नभएर पुन: राजतन्त्रतिर जाने त होइन ?
एकै शब्दमा भन्दा आर्यघाटमा पुर्याएकाे मुर्दा फेरि फकेर घर आउँदैन। अल्लीअल्ली बेला बेलामा उफ्रिने त भइहाल्छ नि, हल्ला गर्ने व्यवस्था हामीले ल्याइदिएकै छौँ। उनीहरु उफ्रिनुको कुनै अर्थ छैन, हिजो पञ्चायतकालमा किन नगरेको त ? देशलाई स्विडजरल्यण्ड, लण्डन बनाएकाे भए हुँदैन थियाे ? कसले छेकाे थियाे ? हिजो नसक्ने। अहिले देशमा भ्रष्टाचार भयो भन्नेहरुले हिजो उनीहरुको पालामा भएको थिएन भन्न सक्छन्। यो उफ्रिने हल्ला गर्नहरुको झुण्ड धेरै दिन टिक्दैन।
देशमा यति ठुलो संकट छ, जनताले सुख कहिले पाइन्छ भनेर आशा गरिरहेका छन् तर तपाईंहरु सत्ता स्वार्थमा लागेर संसदमा अराजकता देखाउनेबाहेक अरु केही गरेकाे देखिँदैन। जनताले सुख कहिले पाउँछन् ?
छलफलको कुरा त भइरहेको छ, भएकाे छैन भन्न मिल्दैन। तर, अहिले जुन अराजक, अस्तव्यस्थाको स्थिति सिर्जना भएको छ, ठुलो असन्तुष्टीकाे अवस्था सिर्जना भएको छ। यसले एउटा निकास खोजिरहेको छ। जनताको आशा भरोसा अब केही सुरुवात भयो है भन्ने अहिले खुलेको भ्रष्टाचारीविरुद्धको अभियानले नै जनतामा विश्वास र आशा राख्ने वातावरण बन्दैछ। प्रतिपक्ष भएपछि राम्रो नराम्रो जे भए पनि विराेध गर्ने आफ्ना भ्रष्टाचारी जोगाउन विभिन्न अराजकता देखाइरहेका छन्। हाम्रो कल्चर बिग्रिएकाे छ, सुध्रिनुपर्छ।
अन्त्यमा, तपाईंले लामो समयदेखि राजनीति गरिरहनु भएकाे अनुभवका आधारमा भन्नुहाेस् नेपाल कहिले बन्छ ?
देश बन्न राष्ट्र र जनताप्रति हरेक मान्छे जिम्मेवार बन्नुपर्छ। विकृति, विसङ्गतीको हल गरेर अहिले देखिएका समस्या समाधान गरे अर्थात् जे गरे भने पनि हुन्छ भन्ने पनि हुने जस्तो गर्दा पनि हुने प्रवृत्तिले गर्दा जनता र राष्ट्रले एउटा निकास खोजिरहेका छन्।
अब इमानदारीतापूर्वक अहिले जे गरिरहेका छौँ भ्रष्टाचारी अभियान जसरी अगाडि बढेको छ, यसलाई निष्कर्षमा पुर्याउने हो भने मुलुक सुशासनतिर जान्छ। इमादरीताका साथ देश जनताप्रति उत्तरदायित्व भएर काम गरे देश बन्छ।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया