सन्दर्भः विश्व आत्महत्या रोकथाम दिवस

मर्नै खोजेको होइन, बाँच्न गाह्रो भएको हो!

दिपा धिताल

रुकुम (पूर्व)
Break n Links
Break n Links

फलाना वा फलानीले आत्महत्या गरेछन्। कस्ता पापी रछन्। हेर परिवारको बिचल्ली। मलामी फर्केको १३ दिनसम्म आदि–इत्यादि सुनिन्छ। त्यसपछि छिमेकी तथा आफन्त आफ्नो घरतिर लागेपछि परिवारका सदस्यले समेत मृत्युको दाग बोकेर बस्छन्। मनभित्रको सदस्य गुमाउनुको पीडा बोकेर यादमा जिउन कति कठिन हुन्छ, कसैले बुझ्दैनन्। कसैलाई पनि मर्न मन हुँदैन। उसको मनको अवस्था गाह्रो भएको हुन्छ। व्यक्ति मर्नै खोजेको होइन, बाँच्न गाह्रो भएको हो। तर यो विषय ओझेल पर्ने गर्दछ।

कोही कसैले आत्महत्या गर्‍यो भने छिमेकमा केही दिन चर्चा हुन्छ। अलि प्रतिष्ठा बनाएको कोही परेछ भने आमरूपमा पनि छलफल हुन्छ। तैपनि आत्महत्या किन हुन्छ र यसलाई घटाउन के गर्न सकिन्छ भनेर खासै बहस हुने गरेको पाइँदैन। आत्महत्या मानसिक समस्याको अन्तिम चरणमा पुगेपछिको रोजाइँ हो। समयमै मनोविमर्श सेवा वा मानसिक चिकित्सकको सल्लाह र उपचार लिन सकेको खण्डमा व्यक्तिले आत्महत्या रोज्दैन।

लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य समस्या निकै उच्च रहेको एक तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ३ सय ३४ जनाले आत्महत्या गरेको प्रहरीले बताएको छ। त्यसैगरी २०७९/०८० मा १ हजार ३ सय ६ जनाले आत्महत्या गरेका थिए भने आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ३ सय २१ जनाले आत्महत्या गरेका छन्। यो आर्थिक बर्षको २ महिनामा १ सय २२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ। दाङमा सबै भन्दा धेरै आत्महत्याको दर देखिँदा रुकुम पूर्वमा भने यो संख्या न्यून रहेको छ। प्रहरीको तथ्यांक अनुसार झुण्डिएर आत्महत्या गर्नेको संख्या अत्याधिक छ। 

स्थानीय स्तरका समस्यामा केन्द्र सरकारको आँखा नपुगेको भन्दै संघीयतामार्फत् घरछेउमा ल्याइएको स्थानीय सरकार पनि यस्ता विषयमा गम्भीर बनेको पाइँदैन। जिल्लाहरूमा मदिरा खानेहरूको संख्या बढ्नु, विद्यालय खुलेको ८ महिनासम्म विद्यार्थीको हातमा पुस्तक नपुग्नु, घरमा बिरामी हुँदा आर्थिक अभावले उपचार गर्न नसक्नु, बालबच्चाको माग पूर्ति गर्न नसक्नु, घरेलु हिंसा, अत्यधिक गरिबी लगायत आत्महत्या हुनाका कारण रहेको जानकारहरूको बुझाइ छ।

आत्महत्या भनेको आफैँले आफैँलाई मार्नु हो। आत्महत्याकाे कारण एउटा मात्रै हुँदैन। व्यक्क्ति पिच्छे फरक हुन्छ। मानिसले मुक्तिका लागि अन्तिम अस्त्र प्रयोग किन गर्छन्, कसैसँग उत्तर छैन। दिमागी सन्तुलन गुमाएपछि ब्यक्तिले आफूलाई मृत्युको मुखमा धकेल्छ।

कसैले कहिलेकाहीँ लामो समयसम्म समस्या भएर योजनाबद्ध तरिकाले आत्महत्या गर्छन् भने कहिलेकाहीँ आत्महत्या आवेगमा पनि हुने गर्दछ। मदिरा, एक्लोपना, भेदभाव, सम्बन्ध विच्छेद, आर्थिक समस्या, शारीरिक पीडा तथा रोग, महामारी, हिंसा, दुरुपयोग र द्वन्द्वलगायतले हुन्छन्। हरेक व्यक्तिको समस्या सँगजुध्ने क्षमता फरक फरक हुन्छ। कसैले त्यही समस्यालाई सजिलै सामना गर्नसक्छन् भने कसैलाई त्यही समस्याले आत्महत्याको स्थितिसम्म पनि पुर्‍याउन सक्छ।

नेपालमा आर्थिक वर्ष २०८०/०८१ मा सात हजार २ सय २३ जनाले आत्महत्या गरेका छन्। नेपालमा सरदर दिनमा २० जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाएको हो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा वयस्कमा ६.५ प्रतिशत र ३.९ प्रतिशत किशोर किशोरीले आत्महत्या गर्ने सोच राख्ने गरेको र १५ देखि ४५ वर्षका प्रजनन उमेर समूहका महिलाको मृत्युको पहिलो कारण आत्महत्या रहेको छ।

विश्वमा मृत्युका कारणमध्ये आत्महत्या १५ औँ कारण रहेको छ भने वार्षिक सात लाख मानिस आत्महत्याको कारणले मृत्यु वरण गर्ने तथ्याङ्क रहेको छ। विश्वमा हरेक ४० सेकेण्डमा एक मानिसले आत्महत्या गर्ने गरेको तथ्याङ्क रहेको छ भने ७७ प्रतिशत आत्महत्याका घटनाहरू अति कम र मध्यम आर्थिक अवस्था भएका देशमा हुने गरेका छन्। साउथ इस्ट एसियामा मात्रै ३९ प्रतिशत रहेको छ। यस वर्ष ‘आत्महत्या दिवसबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ भन्ने नारासहित’ विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै छ।

विकराल बन्दै गइरहेको मानसिक समस्यालाई न्यूनीकरण गर्न देशमा रहेका तीनै तहका सरकारले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ। स्थानीय सरकारले आफ्नो ठाउँका समस्या पहिचान गर्दै समस्या समाधानका लागि बेलैमा सोच्न सक्ने हो भने आम नागरिकले समस्याबाट मुक्ति पाउनेछन्। हरेक स्थानीय तहहरूले एकजना मनोविमर्शकर्तालाई खटनपटन गर्न सके मात्र पनि भोलिका दिनमा रोग पहिचान गर्न र उचित व्यवस्थापन गर्न सहज हुनेछ।

लेखक नेपाल महिला सामुदायिक सेवा केन्द्र रुकुमपूर्वका जिल्ला संयोजक हुन्।
 

प्रकाशित मिति: : 2024-09-24 18:38:00

प्रतिकृया दिनुहोस्

    डर लाग्दाे छऽ अात्महत्याकाे दर । पठनिय अालेख,

    • एक महिना अगाडि
    • Manu krishna MGR