अंक १–

पल शाह प्रकरण: कति विरोधाभास छ– 'नायक' र 'बलात्कार' !

नेपाली शव्दकोशमा नायकका अनेकौ अर्थ छन्। जे जति छन् ती सबै सकारात्मक छन् र लगभग एउटै अर्थ बोक्छन्, मार्गनिदर्शन गर्ने व्यक्ति– पथप्रदर्शक। 

यो त शव्दकोशको अर्थ भयो। तर, नेपाली समाजले शव्दकोश पल्टाउनुभन्दा पहिले चलचित्रमा नायक भेट्टायो र उसले नायिकाको इज्जत बचाउने पात्र नै नायक भनेर बुझ्यो। त्यसका लागि चलचित्रको कथाले एक खलपात्र अर्थात् खलनायक माग्छ र उसले क्लाइमेक्समा नायिकालाई बलात्कारसम्म पनि गर्न खोज्छ। त्यही बेला बचाउन आउने एउटा पात्र सिर्जना गरिन्छ, जसलाई नेपाली समाजले नायक भनेर बुझ्ने गर्छ। सुरूमा त उसले अझ नायकलाई हिरो भनेर बुझेको थियो। नायक र हिरो उस्तै उस्तै मात्र हुन्, यथार्थमा उही चाँहि हैनन्। कसरी ? यसको लामो मिमांशा गर्न सकिन्छ, अहिले त्यतातिर नजाउँ।

अब प्रश्न उठ्छ, के नायकले बलात्कार गर्न सक्छ त ? चलचित्रमा एउटा जादूमय स्वतन्त्रता हुन्छ, सिनेमा लिवर्टी। यसको प्रयोग गरेर यदाकदा कथालाई जबर्जस्ती एन्टी हिरो माग्न लगाइन्छ र केही हर्कत पनि गराइन्छ। तर पनि त्यो प्रयोगले हाम्रो समाजमा नायककै मान्यता भने पाउँन सकेको छैन। 

बुधबारदेखि एकजना नेपाली चलचित्रका नायकका बारेमा लगभग उस्तै समाचारका शीर्षक आएका छन्, नायक पल शाहमाथि बलात्कारको आरोप। नायक र बलात्कार एउटै शीर्षकमा आउँदा कता के नमिलेको नमिलेको अर्थात् संगति नमिले जस्तो लाग्दो रहेछ। तर, हेदै जाउँ बाँचे देखिन्छ भन्थे, अहिले त्यस्तै संगति नमिलेका शीर्षकहरू छ्याप्छ्याप्ती छन् र हामी बाँचेकाहरू हेरिरहेका छों। 

मलाई यो समाचारले टाउकोमा घनले ठोकेजस्तो भएको छ। एक हैन, अनेक प्रश्नहरू झुत्ति खेल्न आएका छन्। म ती प्रश्नहरूको एकसाथ उत्तर नपाएर हैरान छु। 

यो घटना अत्यन्त संवेदनशील छ। यसमा नारी अस्मिताको प्रश्न छ, जबर्जस्ती करणीको कुरा छ, नावालिगमाथि पटक पटक करणी भएको दावी छ र अझ कानुनले यस्तो विन्दुमा पुर्याइदिएको छ कि करणी दावी गर्नेले आफ्नो नाम पनि भन्न नपाउँने स्थिति छ,  उमेरका कारण आफैं उजुरी दिन नसक्दा र एकजना निरीह बाबु मेरी छोरीमाथि पटक पटक करणी भयो भनेर उजुर गर्न बाध्य छन्। उनको फेरि अर्को बाध्यता छ, उनी आफैं चाहेर पनि आफ्नो परिचय दिन सक्दैनन्। 

बिडम्बना, यस्तो छ कि पल शाहमाथि जबर्जस्ती करणीको आरोप लगाउनेको नाम त के तीनपुस्ते नै थाहा भैसकेको छ हाम्रो समाजलाई। उनी आफैं प्रहरीमा खुल्लमखुल्ला गएकी छिन्, करणी भएको छ कि छैन भनेर शायद कुमारीत्व परीक्षण गर्न चिकित्सककोमा गएकी छिन्। यी सबै समाचारमा आएका छन्। यस्तो अवस्थामा आमसञ्चार आफैं नाम दिने कि नदिने भनेर विलखबन्दमा छ। 

नेपालको कानूनअनुसार नाम दिन मिल्दैन, पत्रकारिता आचारसंहिताले पनि त्यही भन्छ। तर, नेपाल पत्रकार महासंघका अध्यक्षलगायत विभिन्न पदमा पुगेकाहरूको नाम प्रिन्टलाइनमा छापिएका मिडियाले पनि नाम लेखेकै छन्, देशको नम्बर १ भनेर ट्यागलाइन झुण्याउनेहरूले पनि नाम लेखेकै छन्। परिस्थिति नै यस्तो बनेर आयो कि नाम दिउँ, पीडितमाथि थप पीडा हुने, आचारसंहिता पनि उलंघन हुने, नदिउँ पीडितको तीनपुस्तेलाई सार्वजनिक भैसकेको छ।

हामीले नेपाली चलचित्रका नायकलाई अलि बढी नै छुट दियौं, अलि बढी नै विश्वास गर्यौं कि उनीहरूले जे गर्दा पनि हामी मौन बस्यौं, अझ फ्यानहरू त प्रतिरोधमै उत्रियौं। पल शाहलाई यति संगीन आरोप लाग्दा पनि कतिपय महिलाहरू नै लेखिरहेका छन् कि मन मिले सदाचार, मन नमिले व्यभिचार। 

अझै पनि केहीलाई लागेको छ, पल शाह आरोपी मात्र हुन्, अभियुक्त हैनन्। तर, सावर्जनिक जीवन भएकी एक किशारी आफ्नो अस्मिता दाउमा लगाएर  किटानीसाथ भनिरहेकी छिन् कि म पल शाहबाट बलात्कृत भएँ। यस्तो स्थितिमा यो पंक्तिकार पललाई शंकाको सुविधा दिनुपर्छ भन्न सक्दैन। 

समाजले दिएको यो छुटलाई नायकहरूले स्वभाविक रूपमा गलत रूपमा बुझे र त्यही अनुसार व्यवहार गरे। सम्पादक पुर्णबिक्रम शाह नायक पल शाह भए, त्यसपछि उनले पनि त्यही बुझे। उनले के बुझेनन् भने नायक भनेको मार्गनिदर्शन गर्ने व्यक्ति– पथप्रदर्शक हो। यदि उनले त्यस्तो बुझेको भए शायद आज उनी यो विन्दुमा पुग्ने थिएनन्। आजको यो परिस्थिति सिर्जना हुनमा नावालिग र अरू पनि कारक तत्वहरू छन् तर यसको मूल जिम्म्वार पल आफैं हुन् । उनी यसकारणले पनि अलि बढी नै हुन् कि उनी त नेपाली चलचित्रका नायक हुन् । 

अझै पनि कतिलाई लागेको छ, पल शाह आरोपी मात्र हुन्, अभियुक्त हैनन्; दोषी त धेरै परको कुरा हो। तर, यो पंक्तिकार त्यो मान्न तयार छैन। एउटी सावर्जनिक जीवन भएकी किशारी भनिरहेकी छिन् कि म पल शाहबाट बलात्कार भएँ। भनिरहेकी मात्र छैनन्, प्रहरीमा गएकी छिन्। एउटी महिलाका लागि उसको अस्मिताभन्दा ठूलो केही हुदैन, उनी त्यही अस्मिता दाउमा लगाएर न्यायको ढोका ढकढकाउन पुगेकी छिन्। जब स्थिति यस्तो छ र पृष्ठभूमीले पनि त्यही भाषा बोलिरहेको छ भने अब पल शाह निर्दोष हुन् भनेर तर्क गर्नुको कुनै तुक छैन।  

हो, यो कोणबाट कुरा उठाउन सम्म सकिन्छ कि सहमतिमा भएको थियो होला, करणी थिएन होला। तर, यो परिस्थितिसम्म आइपुग्न दिने जुन परिस्थिति पलले बनाए, त्यसको हिसाबकिताब गर्न नसक्नु नै उनको दुर्भाग्य हो। यसमा उनलाई जसले जे जे सल्लाह दिए, ती सबै उनका शुभचिन्तक हैनन्, उनलाई कुनै न कुनै रूपमा लैनो गाइ बनाउने गोठाला मात्र हुन्।

यो पंक्तिकारलाई यस अर्थमा दु:ख लागेको छ कि पलको यो पाटोलाई एक छिन पज गर्ने हो भने उनी एक प्रतिभाशाली कलाकार हुन् र उनी आज जहाँ पुगेका छन्, त्यो भाग्यको मात्र खेल हैन, उनको कठिन मेहेनतको फल पनि हो। यो परिघटनाले उनलाई अब पल शाह भन्दा पनि पूर्णविक्रम शाह हुने सम्भावनातिर धकेलिदियो। यसबाट उनीमाथि करोडोंको लगानी भएको नेपाली चलचित्र क्षेत्र र संगीत क्षेत्र पनि प्रभावित हुने नै भयो। 

हिजैदेखि उनका म्युजिक भिडियोहरू बैठक कोठाका टिभीहरूमा कम हेरिन थाले । धेरै आमाहरू भन्न थाले कि यस्ता 'पातकी'लाई पनि हेर्ने। जब आमाहरू नै यसो भन्न थाल्छन्, हाम्रो समाजमा त्यस्ता मानिसहरू अभिषप्त हुन्छन् र धेरै टिक्न सक्दैनन्।  

पल शाह आफ्नो बहुचर्चित चलचित्रको प्रिमियरमा पनि जान नसक्ने अवस्थामा पुगे । उनको यो घटना यस्तो समयमा आयो कि करोडौको लगानी भएको एउटा आशलाग्दो चलचित्रको भविष्यमाथि नै गम्भीर प्रश्न चिन्ह लाग्यो। मलाई लाग्दैन कि चलचित्रको नायक वास्तविक जीवनमा खलनायक भएको घटनामा मुछिएको बेला उसलाई दर्शकले नायककै रूपमा स्विकार्छन्। 

लामो समय चलचित्र पत्रकारिता गरेर त्यही क्षेत्रले परिचय दिएको मलाई अझै पनि नेपाली चलचित्रका सानातिना घटनाले पनि विचलित बनाउँछन्, यो त ऐठन नै लगाउने परिघटना हो मेरो लागि। त्यसैले पनि माफ् गर्नुहोला, मैले एउटै आलेखमा सबै कुरा लेख्न सकिनँ। 

यो अंकमा म यो निस्कर्षमा मात्र पुगेँ कि हाम्रो चलचित्रका नायकले बलात्कार गर्दैनन्। पल शाह नायक हुन् भने उनी पनि अपवाद हुन सक्दैनन् । त्यसैले 'नायक पल शाहमाथि बलात्कारको आरोप' जस्ता विरोभासपूर्ण शिर्षकहरू लेख्नुपर्ने जुन विडम्वनापूर्ण परिस्थिति सिर्जना भयो, त्यो आफैंमा प्रिय परिस्थिति हैन।  

थप कुरा, 
यसैबीच पल शाहले आफ्नै अन्य चारजना साथीले समीक्षालाई उकासेर आफूलाई षडयन्त्रमुलक ढंगले फसाउन खोजेको भनेर भ्वाइस क्लिपसहितको भनाइ फेसबुकमार्फत्  सार्वजनिक गरेका छन्। शाहको यो वचाउले उनीमाथि षडयन्त्र भएको हुन सक्ने ठाउँ दिएको छ तर  सिक्काको अर्को पाटो पीडितलाई न्याय दिन सघाएको भनेर हेर्न पनि सकिन्छ। दुरूत्साहनको पक्षबाट उनीहरूमाथि पनि छानबीन होला, त्यो बेग्लै पाटो हो। मूलकुरा, अब समीक्षाले के भन्छिन् भन्ने नै हो, उनले जे भनेर मुद्दा दिएकी छिन्, त्यसमा अडिग भइन् र उहाँहरूसँग मैले न्यायका लागि अनुरोध गरेको भनिन् भने पल फेरि पनि निरूपाय हुनेछन्। तर, उनले पलले भनेका चारजनाले उकासेर मैले उजुरी दिएको हुँ, हामीबीच केही भएको छैन भनिन् भने मुद्दाको पासा पलको पक्षमा फर्किनेछ र उनले भनेका चारजना दुरूत्साहनको मुद्दामा सजायको भागी बन्नेछन्। जे भए पनि १७ वर्षे उमेरले भने समीक्षालाई बचाउने छ। 

यसका अरू पाटाका बारेमा अर्को अंकमा । 


 

प्रकाशित मिति: : 2022-02-24 19:20:00

प्रतिकृया दिनुहोस्