सोमबार, १९ जनवरी २०२६

हुण्डी कारोबारको आरोपमा प्रभु म्याजेनमेन्टका सहायक लेखा प्रमुख पक्राउ

News Image
• • •

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु म्यानेजमेन्ट प्रालिका सहायक लेखा प्रमुख हेमकुमार महाजुलाई पक्राउ गरेको छ।

उनलाई आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूर मुद्धामा अनुसन्धानका क्रममा पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए।

प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामासमेत जोडिएको उक्त मुद्धाको अनुसन्धानका क्रममा प्रभुको नाममा रहेको सिटिजन्स बैंकको खातामा १० लाख नबढ्ने गरी ९ लाख ९९ हजार ५०० रुपैयाँका दरले पटकपटक शंकास्पद रुपमा रकम जम्मा भएको प्रमाण फेला परेको थियो।

रेमिट कारोबारको क्रममा प्रभु म्यानेजमेण्ट प्रालिले रेमिट रकम भुक्तानी (Outward Remit) मात्र गर्नु पर्नेमा प्रस्तुत कारोवारमा एकै दिनमा पटक पटक शंकास्पद रकम जम्मा भएको देखिएको थियो।

प्रभु म्यानेजमेन्ट प्रालिको नाममा रहेको उक्त खातामार्फत रेमिट कारोबारको आवरणमा अवैध रूपमा नेपालमा विप्रेषण बापत प्राप्त हुने रकम हुण्डीमार्फत प्राप्त गरी हिसाब मिलान गरेको प्रमाण सीआईबीले फेला पारेको थियो।

सोही कसुरमा काभ्रेको पनौती घर भएका महाजुलाई मंसिर ३ गते सीआईबीको टोलीले गोदावरीबाट पक्राउ गरेको हो। उनी प्रभु म्यानेजमेन्ट प्रालिका पूर्व शेयरधनी हुन्। र हुण्डी कारोबार भएको सिजिजन्स बैंकमा रहेको प्रमुको खाता सञ्चालकमध्येका एक हुन्।

यता ठगी आरोपमै पक्राउ परेर सरकारी वकिल कार्यालयको सेटिङमा छुटेका एमालेका पूर्वसांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन यतिबेला दिनदिनै सीआईबी कार्यालयमा हाजिर भइरहेका छन्। उनीमाथि ९८ करोड रुपैयाँ ठगी गरेको आरोप छ। 

अहिले उनीसँग सम्बन्धित र प्रभुसँग जोडिएका फाइलहरूमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

त्यस्तै भट्टचन आफैं संस्थापक रहेको प्रभु बैंक र यसको अमेरिकी साझेदार ‘प्रभु यूएसए’बीच पनि ५० लाख अमेरिकी डलर बराबर अपचलनको तथ्य फेरि चर्चामा छ।

रेमिट्यान्स कारोबारका लागि अमेरिकामा खोलेको कम्पनी ‘प्रभु यूएस’ले प्रभु बैंकलाई भुक्तानी गर्नुपर्ने करिब ५० लाख अमेरिकी डलर बैंकलाई नपठाई अमेरिकामै राखेर अनियमितता गरेको फेला परेको हो।

विदेशी मुद्रामा नेपाल भित्र्याइनु पर्ने रकम ल्याउन बैंक मात्रै होइन नियामक निकाय नेपाल राष्ट्र बैंक नै मौन रहेको आरोप छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!