थाहा थियो यस्तो विपद् हुन्छ तर सरकार झरीसँगै बगिरहन्छ

तस्बिर: नेपाल प्रहरी
तस्बिर: नेपाल प्रहरी

छेउमै मन्त्रीहरू बस्ने आधुनिक ‘क्वार्टर’हरूले झिलिमिलि छ, भैंसेपाटीको डाँडो। झरीले बिथोलिएको काठमाडौं उपत्यकका खोलानदीहरूमा ‘खहरे बैंश’ उर्लिरहेका थिए। नख्खुखोला पनि उसैगरी उर्लिरहेको थियो। शुक्रबार रातिदेखि नै। 

टहरामा काम गरिरहेका उनीहरूलाई कतिबेला नख्खु खोलाले घेरिसकेछ स्वयम् उनीहरूलाई नै थाहा भएन। टिनको छतमा बसेर ‘सरकार’ पर्खिरहेका उनीहरूलाई टहरासँगै खोलाले लग्यो। 

बचाउ–बचाउको चिच्चाहटसँगै वरपर गुहार मागे। स्थानीयले देखेपछि प्रहरीलाई खबर गरे।

प्रहरी पुग्दा–पुग्दै टहरा न हो, निरन्तरको वर्षामा बढिरहेको खोलाले टहरा भत्काइ छाड्यो। ४ जनालाई बगाइ छाड्यो। छेउबाट हेरि बसेकाले भिडियो खिचे। सामाजिक सञ्जालमा पोष्ट्याए। त्यो त्यतिबेलै भाइरल भयो। 

उता ४ जना बग्दै गर्दा सिंहदरबारमा गृहमन्त्री रमेश लेखकले उद्द्धार तयारीका लागि आपतकालीन बैठक राखेका थिए। बैठकबाट बाहिरिँदै गर्दा नख्खुमा एक बालकसहित ४ जना बेपत्ता भएको खबर सार्वजनिक भइसकेको थियो। 

यो पनि– 

बैठकबाट बाहिरिँदै गृहमन्त्री लेखकले भनिदिए– ‘हामीले उहाँहरूलाई बचाउन सकेनौँ।’ तर नख्खुमा बगिगएका ४ जनामध्ये ३ जनाको उद्धार भइसकेको थियो। एक बालकको भने उद्धार हुन सकेन। 

तर उनीहरूको उद्धार राज्यका तालिम प्राप्त उद्धारकर्मीले गरेका होइनन्। राज्यका गोताखोरले गरेका होइनन्। उनीहरूको उद्धार त एक जना सोही ठाउँमा बस्दै आएका काभ्रेका चनिकलाल तामाङले गरेका हुन्। 

आफ्नो सम्यन्त्रले उद्धार नगरेको भएर होला सायद गृहमन्त्रीले खोलामा बगिगएकाहरूको उद्धार भएको पत्तै पाएनन्। उद्धार भइसक्दा पनि बचाउन नसकिएको खबर दिइरहे। 

तस्बिर: उद्धार गर्ने तामाङ र नख्खु खोलामा बग्नुअघि टीनमाथिबाट गुहार मागेका स्थानीय

यसले मुलत: विपद्मा राज्यसम्यन्त्र कसरी चुकिरहेको छ भन्ने देखाउँछ। यसबाहेक शनिबार देशभरका नागरिकले बाढी–पहिरोका कारण प्रताडना भोग्नुपर्‍यो। बिहीबार रातिदेखि भएको अविरल वर्षापछिको बाढी–पहिरोमा शुक्रबार र शनिबार मात्र १४८ जनाले ज्यान गुमाए।

यो संख्या यो समाचार तयार पार्दै गर्दा देशभरको बाढी–पहिरोको क्षति हेर्दा मृत्यु हुनेको संख्या अझै बढ्ने आँकलन गर्न सकिन्छ। 

दुई दिनमा १४८ जनाको मृत्यु हुँदा ५५ जना बेपत्ता छन्। १०१ जना घाइते भए। मृत्यु हुनेमा सबै भन्दा धेरै काठमाडौँ उपत्यका (भक्तपुर, ललितपुर र काठमाडौँ)का छन्। बागमती प्रदेशका अन्य जिल्ला र कोशी तथा मधेश प्रदेशले पनि क्षति बेहोरेको छ। 

यो समाचार तयार गर्दै गर्दा (असोज १३ गते साँझ ६ बजे)सम्म धादिङको झ्याप्ले खोलामा आएको पहिरोमा पुरिएकाहरूको उद्धार भइरहेको छ। जहाँबाट मात्र अहिलेसम्म ३५ जनाको शव निकालिएको छ। जुन बसमा सवार नागरिकहरू हुन्। 

यहाँ ३ वटा बस पुरिएको अनुमान गरिएको छ। यी बस कहिले पुरिएको एकिन नभए पनि शनिबार बिहान आएको पहिरोमा पुरिएको अनुमान छ। यी बसहरू गोर्खा र बुटवलबाट आएका हुन्। बाँकी विवरण खुलिसकेको छैन। 

बिडम्बना यहाँ पनि राज्यको सम्यन्त्र चुकेको छ। बिहीबार साँझदेखि वर्षा हुने र शुक्रबार र शनिबार रातीमा बस नचलाउन भनेर विपद न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सुझाव दिइसकेको थियो। मौसम पूर्वानूमानले केही दिनसम्म घनघोर वर्षा हुने भनेको थियो।

नभन्दै शुक्रबारदेखिको चौविसघण्टामै काठमाडौंमा त्यस्तै वर्षा भयो र महाशाखाले वर्षाको रेकर्ड राख्न लागेदेखि ४६ वर्ष यताको यो सबैभन्दा धेरै वर्षा थियो। उसैगरी यहाँका खोलानदीहरू पनि उर्लिए। जसले सायदै कसैले सोचेको क्षति गर्‍यो। 

वर्षाको क्षतिपछि सरकारले लापर्वाही गरेको भनेर प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कडा प्रतिवाद गरेको छ। हुन पनि साउनमा बनेको यो सरकार दुई तिहाइको छ। रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले दुई दिनको पानीले दुई तिहाइको सरकारलाई धक्का दिएको बताए। 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी केन्द्रलेसमेत सरकारको तदारुकतामाथि प्रश्न उठाएको छ। यद्यपि अहिले पनि प्रधानमन्त्री केपी शर्मा ओली भने राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेकोमा उतै छन्।  

सरकार विपद्को पूर्व अनुमान गर्छ, तयारी गर्छ तर काम गर्दैन

विपद्को जोखिम न्यूनिकरणका लागि सरकारले हरेक वर्ष पूर्व तयारी गर्छ। त्यो मनसुनी वर्षा जन्य विपद् होस् वा आगलागी जस्ताका घटना सबैको पूर्व तयारी सरकारले गरेको हुन्छ। 

विपद् पूर्व तयारीका लागि गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नै छ। जसको काम विपद्का घटनाको अध्ययन गर्ने हो। 

यस वर्ष पनि प्राधिकरणले पूर्व तयारी र यसबाट हुन सक्ने जोखिमकाबारेमा सरकारलाई जानकारी गराएको छ। मौसम पूर्वानुमान महाशाखाले यसै पनि यस वर्ष धेरै वर्षा रहेको अनुमान गरेको थियो। 

जसले गर्दा प्राधिकरले यस वर्ष ४ लाख १२ हजार २०९ घरधुरी मनसुनजन्य विपद्बाट प्रभावित हुन सक्छ आँकलन गरेको थियो। ती मध्ये ८३ हजार घरधुरी अझ बढी प्रभावित हुन सक्ने अनुमान थियो। जुन अरु वर्षभन्दा धेरै हो। 

यस वर्ष मनसुन भित्रिएको दिन जेठ १९ गतेदेखि पूर्वमा क्षति हुने गरेको थियो। यो मनसुन यही असोज १४ गते (आज)बाहिरिने अनुमान थियो। यस अवधिमा सरदर भन्दा बढी वर्षा हुने र जहाँ ३५ देखि ५५ प्रतिशत वर्षा हुने अनुमान पनि थियो। यसपालि मनसुन बाहिरिन अझै केही दिन बाँकी छ र यो अन्तिमकालमा झन धेरै वर्षा हुने आँकलन गरिएको छ। 

सोही अनुमानलाई मध्ये नजर गर्दै गृहमन्त्रालयले उद्धारमा खटिने स्वयमसेवकदेखि राहतसम्मको व्यवस्था गरेको थियो। विपद्मा खटिकानका लागि गृहमन्त्रालय विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा. भीष्मकुमार भुषालको संयोजकत्वमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट गठन गरेको थियो। 

जसअन्तर्गत अहिले उद्धार तथा राहत वितरणको काम भइरहेको छ। तर सरकारको प्रभावकारिता भने देखिएको छैन। साना–साना विपदजन्य घटनामा पनि सरकारको तदारुकता देखिएको छैन। नख्खु खोलाले बगाएका हुन वा काठमाडौँका अन्य खोला छेउबाट बगेका हुन् वा पूर्वको रोसी खोलामा अलपत्र परेकाहरू हुन्, सरकार नागरिकप्रति सम्वेदन भएको देखिँदैन। 

हुन त सरकारले जे गरिरहेको छ यो पनि सानो काम भने होइन। यही तीन दिनको वर्षामा पनि सरकारले ३ हजार ६ सय बढीको उद्धार गरेको छ। जहाँ खटिनेहरू भोकभोकै उद्धारमा खटिएका पनि छन्। 

तर पूर्व तयारीको योजनाअनुसार सरकारले काम गरेको भने देखिँदैन। विपद्‌विज्ञ तथा त्रिभुवन विश्वविद्यालय भू-गर्भशास्त्र विभागका सह-प्राध्यापक रञ्जनकुमार दाहाल विपद्मा राज्यको लापर्वाही देखिने गरेको बताउँछन्। 

‘विपद्मा काम गर्ने भनेर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बनाइएको छ। तर यसलाई प्रभावकारी बनाउने भन्दा गृह मन्त्रालयको एउटा शाखाजस्तो बनाएर राखिएको छ’, उनले सिमलता बस दुर्घटनाको सवालमा कुरा गर्दै बिएल नेपाली सेवासँग भनेका थिए। 
त्यतिबेला उनले विपद् भनेकै इमर्जेन्सीमा एक्सन लिने काम भएको भए पनि त्यसअनुसार काम हुन नसकेको बताएका थिए। 

तीन दिनमा धेरै क्षति

शुक्रबारदेखि निरन्तर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले भनेको थियो। निरन्तरको वर्षाले बाढी–पहिरोको जोखिम हुने र त्यसबाट सतर्क रहन भनेको भए पनि सरकार न नागरिक सबैको गैर जिम्मेवारी हुँदा तीन दिनमा अतुलनीय क्षति भयो। 

मकवानपुरमा लापर्वाहीले गर्दा नेपाल फुटबुल संघ (एन्फा)का ६ खेलाडीले ज्यान गुमाएका छन्। कुलेखानी जलविद्युत आयोजनाको बाँध खोलिएपछि सिस्नेरी खोलामा बाढी आएको थियो। त्यहाँबाट खेलाडीलाई छिटो सुरक्षित स्थानमा नसार्दा उनीहरूको बाढीले बगाउँदा ज्यान गएको हो। 

तीन दिनको वर्षाले पूर्वदेखि पश्चिमसम्म ठुलो मात्रमा जनधनको क्षति गरेको छ। जसको विवरण आइसकेको छैन। बढी कोशी प्रदेशले क्षति बेहोरेको छ। जहाँ विभिन्न नदी–खोलामा रहेका पुलहरू बगाएका छन् भने कयौँ खेतियोग्य जमिन बगाएको अनुमान गरिएको छ। 

काभ्रेसमा रोसी खोलाले गाउँ नै बगाएको छ। काठमाडौँ मा त ५४ वर्ष यताको धेरै वर्षा हुँदा बागमती, विष्णुमती, मनोहरा, बल्खुलगायत नदी खोलाले सयौँ घर डुबाएको छ। 

थप समाचार– 

बर्खाकाे विपद्: पुरातन संरचनामा मस्त सरकार

मृत्युमा पनि विभेद गर्छ सरकार!

वर्षा अविरल छ, बस्तीबस्तीमा बाढी छ, पहिरो खसिरहेछ, तर सरकार छैन

प्रकाशित मिति: : 2024-09-29 18:37:00

प्रतिकृया दिनुहोस्