वर्षा अविरल छ, बस्तीबस्तीमा बाढी छ, पहिरो खसिरहेछ, तर सरकार छैन

Break n Links
Break n Links

एक झरी वर्षाले देश यसरी रूवाइरहेको छ कि जसले तराईदेखि पहाड र काठमाडौँ उपत्याकासम्मलाई डुबाइरहेको छ। 

भत्काएर त्यसै छोडिएको उपत्यकाका कतिपय वस्तीहरू डुबानमा छन्। राजधानीका खोला, नदीमा भेल बनेर आएको पानी वस्तीमा छिर्न थालेको छ। 
 
राजधानीमात्रै होइन, शुक्रबार मध्यरातदेखि भएको अविरल वर्षाले ठाउँ–ठाउँमा पहिरो झारेको छ। घर बगाएको छ। बाढी–पहिरोले नागरिको ज्यान लिइरहेको छ। 

बस्तीहरू डुवानमा छन्। विभिन्न नदीको वहाव उच्च हुँदा ठुलो मानव बस्तीहरू जोखिममा छ। एक झरीमा देशका सबैजसो राजमार्गहरू अवरुद्ध भइरहेको छ।

निरन्तरको झरीले स्थलमार्ग त निकै अस्तव्यस्त छ नै हवाइमार्ग पनि अवरुद्ध भइरहेको छ। 

वर्षापछिको अहिलेको अवस्था यस्तो छ कि घरबाट निस्किएको कोही सदस्य सकुलशल घर फर्किन्छ कि फर्किदैन भन्नेमा अन्योलता छ। 

क्षति कस्तो?

शुक्रबार दुध बेचेर घर फर्किँदै गरेका दाङ राजपुर गाउँपालिका– २ का १९ वर्षीय राजकुमार यादव राप्ती नदीमा बेपत्ता भए। उनी आइतबार मृत फेला परे। 

झण्ड उनीसँगै बगेका सोही ठाउँका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवलाई भने प्रहरीले उद्धार गर्‍यो। 

घरमै बसिरहेका पनि कतिबेला बाढी र पहिरो आउने हो भन्नेमा चिन्ता छ। शनिबार स्याङ्जाको बिरुवा गाउँपालिका– ६ लामाखेतस्थित ईश्वरी लम्सालको घर पहिरोमा पुरिँदा ६५ वर्षीया गुन्जेश्वरी शर्मा मरासिनी, ६७ वर्षीया हरिमाया शर्मा र ६९ वर्षीय माधव शर्माको मृत्यु भयो। उनीहरू एकै परिवारका हुन्। 

तस्बिर–दाङमा बेपत्ता यादवको शव निकाल्दै सशस्त्र प्रहरी 

काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, हनुमन्ते नदीहरू बस्तीमा पसे। जसले नागरिकको उठिबास बनायो। देशमा हाल नागरिकको अवस्था यस्तो छ। 

शनिबार मात्र देशभर १४ जनाले बाढी र पहिरोमा परी ज्यान गुमाए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार शनिबार ५ जना बाढी र ९ जना पहिरोमा परी ज्यान गुमाएका हुन्।

यस्तै बाढी र पहिरोमा परी ४ जना बेपत्ता छन्। विपद्मा परी २४ जना घाइते भएका छन्। बाढी र पहिरोले घरगोठ गरी ४१ वटामा क्षति पुर्‍याइसकेको छ।

सरकार कहाँ छ, सांसदहरू के भन्छन्? 

एउटा प्रमुख साझेदारले अर्को मुख्य प्रतिपक्ष दलसँग सत्ता साझेदारीको नयाँ समिकरण बनाएपछि अहिले सरकार अल्पमतमा छ। डेढ वर्षमै संसदका सबैभन्दा ठूला दलहरूलाई आफ्नै नेतृत्वमा नचाइरहेका नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले ‘काम चलाउ’जस्तै छन्। 

तर यति हुँदा पनि उनले राजीनामा दिएका छैनन्। बरु संवैधानिक अधिकार प्रयोग गरेर विश्वासको मत लिने घोषणा गरेका छन्। 

सांसदहरू नयाँ ‘सत्ता’ कुरिरहेका छन्। नत्र यतिबेला त सांसदहरू वर्षा, बाढी र पहिराले पुरिन थालेको, डुबिरहेको आफ्नो निर्वाचन क्षेत्रका जनतासँग हुनुपर्ने हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार भने ‘वार रुम’बाट देशभरि बढी पहिराको जानकारी लिंदै उद्धार र राहत कार्यका लागि खट्न निर्देशन दिएका छन्। 
 
बाढी–पहिरोको यो अवस्थामा देशमाथि शासन गर्नेहरू (राजनीतिक दल)को ध्यान कता हुनुपर्छ? समान्यतया बुझ्ने भनेको बाढी–पहिरोबाट कसरी नागरिकको ज्यान बचाउने भन्नेमा हुनुपर्छ। 

तर देशका नेताहरू यतिबेला सत्ताको रोनाधोनामै केन्द्रित छन्। असार १५ देखि माओवादी केन्द्र नेतृत्वको सरकार ढालेर अब एमाले नेतृत्वमा सरकार बनाउने रस्साकस्सी चलिरहेको छ। 

जसका लागि काँग्रेस अनि एमालेले प्रचण्डलाई पदबाट राजीनामा दिन २ पटक उर्दी गरिसकेको छ। संवैधानिक व्यवस्था अनुसार प्रचण्डले यही असार २८ गते संसदबाट विश्वासको मत लिने भनिरहँदा एमालेले भने कुर्चीका लागि हतार गरिरहेको छ। 

काँग्रेस त यसै पनि प्रतिपक्ष थियो। उसले प्रचण्डको राजीनामा माग नगर्ने कुरै भएन। 

वर्षे झरीले देशलाई रुवाइरहेको समयमा देशका शासकहरू भने पदका लागि संघर्ष गरिरहेका छन्। 

यो वर्षे झरीले नागरिकको आम दैनिकी बिथोल्न थालेको असार सुरु देखि नै हो। यो समयमा कसरी सरकार बलियो बनाउने र नागरिकको हितमा काम गर्ने भन्नेमा नेताहरूको चिन्तित भएको देखिँदैन। 

आइतबार संसद बैठकमा विशेष समय माग गर्दै बोल्ने सांसदहरूलाई सुन्दा यस्तो लाग्दै थियो देशले यतिबेला सरकार परिवर्तन खोजीरहेको छ। र त्यसकै लागि संसदमा नेताहरू भिडिरहेका छन्। 

तर बिल्कुल्यै नागरिकले सरकार परिवर्तन होस् भन्नेमा यसबेला सोचेका छैनन्। यो बेला नागरिक कसरी बाढी पहिरोबाट बच्ने र बाढी पहिरोबाट भएको क्षतिपछि उद्धारको पर्खाइमा छन्। 

तस्बिर– प्रधानमन्त्री प्रचण्ड बाढी–पहिरोको जानकारी लिँदै

आइतबार संसदमा नेताहरू नागरिकलाई बचाउने र उद्धारका विषय भन्दा नैतिकता पढाउन उद्धत भए। एमालेका खरो सांसद रुघुजी पन्तले संसदमा प्रचण्डले विश्वास गुमाइसकेको भन्दै नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरे। 

एमालेको यौगेश भट्टराई विशेष समयमा बोल्दै प्रचण्डकै राजीनामा मागे। काँग्रेसका डिगबहादुर लिम्बुले पनि प्रचण्डकै राजीनामा मागे। माओवादी सांसद माधव सापकोटाले अहिले प्रचण्डले राजीनामा नदिने र संविधानअनुसार असार २८ गते संसद फेस गर्ने बताए। 

यस्तै गरी संसदमा बोल्ने केही सांसदले बाढी–पहिरोको चिन्ता गरे पनि अधिकांश नेताहरू भने सत्ता परिवर्तनकै नजिक रहेर बसहमा उत्रिए। 

यसले के देखाइरह्यो भने जननिर्वाचित सांसदहरू जनताकै लागि अनउदार भइरहेका छन्। 

विपदको पूर्वानूमान कस्तो?

शुक्रबार रातिदेखिको झरी शनिबार र आइतबार निरन्तर पर्‍यो। यो झरी सोमबारदेखि कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखा अनुसार अन्य प्रदेशमा जरी कम हुँदै गए पनि कोशी र गण्डकीमा भने सोमबार पनि कायमै रहने छ।

मनुसुनी न्यूनचापीय रेखा सोमबारदेखि क्रमिक रूपमा दक्षिणतिर सर्दै जाने अनुमान महाशाखाको छ। जसले गर्दा मनसुन क्रमिक कम हुँदै जानेछ। 

हाल (साँझ ६ बजे) महाकाली, कर्णाली, नारायणी नदीमा जलसतह चेतावनी तहभन्दा माथि छ। केहीबेर अघिसम्म महाकाली नदीमा जलसतह चेतावनी तह पार गरेको थियो। 

देशका विभिन्न ठाउँमा अबका दिनमा वर्षा भइरहने हुँदा बाढी–पहिरोको जोखिम भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

प्रकाशित मिति: : 2024-07-07 18:25:00

प्रतिकृया दिनुहोस्