जेठ २८ गते मनसुन भित्रिएयता देशभर विपद्जन्य घटनामा परी ७० जनाले महिना दिनमा ज्यान गुमाएका छन्।
यतिधेरै नागरिकले महिना दिनमा ज्यान गुमाएको भन्दै संसदमा सरकारको आलोचना भइरहेको छ। पूर्वतयारी नभएको र जसले गर्दा नागरिकले ज्यान गुमाइरहेको भन्दै संसदमा सरकारमाथि प्रश्न उठिरहेको छ।
यद्यपि सरकारले पूर्वतयारी स्वरुप पालिकादेखि जिल्ला, प्रदेशसम्म विपद् समिति बनाएको छ। जसले अहिले काम गरिरहेका छन्। संघीय सरकारले पनि विपद्का घटना न्यूनीकरण गर्न गृह सहसचिव डा. भीष्मकुमार भुसालको नेतृत्वमा ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’ बनाएको छ।
जस मातहत सरकारले विपद्मा उद्धार तथा राहतको काम गरिरहेको छ। सरकारले के विपद्का समयमा काम गर्न सकेन त? अहिले कसरी काम गरेको छ भन्ने विषयमा बिएल नेपाली सेवाका लागि टोपेन्द्र रोका मगरले कमाण्ड पोष्टका संयोजक भुसालसँग संक्षिप्त कुराकानी गरेका छन्।
प्रस्तुत छ उनै भुसालसँग गरिएको कुराकानीको सम्पादित अंश:
एक झरीमै देशभर बाढीपहिरोले जनधनको क्षति गर्यो, तपाईं नेतृत्वको कमाण्ड पोष्टले के गरिरहेको छ?
विपद्मा उद्धार तथा राहत विरतणका लागि मेरो नेतृत्वमा भएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले काम गरिरहेको छ।
शुक्रबारदेखि देशभर भएको वर्षाले विभिन्न ठाउँमा क्षति गर्यो। त्यसपछि हामीले जतिसक्यो सुरक्षाकर्मीहरूलाई खटाएका छौँ र उद्धारका काम गरिरहेका छौँ।
देशभर बाढीपहिरोले क्षति गरेपछि सुरक्षा निकायका प्रमुखज्यू, प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यूसँग विपद्मा कसरी कमाण्ड पोष्टलाई प्रभावकारी बनाउने भन्ने छलफल पनि भयो।
यो कमाण्ड पोष्ट कुनै पनि ठाउँमा कुनै पनि समयमा गर्नुपर्ने काम निरन्तर गरिरहेको छ।
शुक्रबार रातिदेखि यता ३ दिनको वर्षाले १४ जना र मनसुन सक्रिय भएपछि यता महिना दिनमा ७० जनाको मृत्यु भयो। एकै झरीमै विपद्ले यति धेरै नागरिकको ज्यान लियो। यो पूर्वतयारीको अभावले भनिएको छ नि?
यो घटना नहुनुपर्ने हाे, भयो। तर हामीले गरेकै पूर्वतयारीले जति नागरिकको ज्यान बचेको छ नि, त्यसलाई सन्तोष मान्नुपर्ने छ। सोमबार मात्र सशस्त्र प्रहरी वलले कैलाली, कञ्चनपुरमा ५७० बढी नागरिकलाई बाढीबाट बग्नबाट बचायो।
यो कसरी सम्भव भयो भने हामीले पहिले नै कहाँ बाढी आउँदैछ, कहाँ जोखिम बढिरहेको छ भनेर सिडियो (जिल्ला प्रशासन कार्यालय) कार्यालयलाई पठाउन सक्यौँ र उहाँहरूले टोलटोलमा खोलाका किनारहरूमा सुरक्षाकर्मी परिचालन गर्नुभयो र यति धेरै नागरिकको जीवन रक्षा भयो। यो कसरी सम्भव भयो भन्दा हामीले पूर्वतयारी गरेका थियौँ।
पूर्वतयारी राम्रो छ भन्नुभयो तर संसदमा सांसदहरूले पूर्वतयारी हुन सकेन र त्यसले गर्दा नागरिकले ज्यान गुमाइरहेका छन् भनेर सरकारको आलोचना गरिरहेका छन्। यसलाई कसरी लिने?
माननीयज्यूहरूले भनेको विषयमा मैले केही भन्नुपर्छ जस्तो लाग्दैन। किनकी उहाँहरूको ह्वाट्सएपमा बाढीको पूर्वसूचनादेखि हामी (कमाण्ड पोष्ट)ले के गरिरहेका छाैँ भनेर एसएमएस पठाइएको हुन्छ। तर माननीयज्यूहरूले नागरिकको ज्यान रक्षाका लागि चासो राख्नुपर्छ राख्नु राम्रो हो। अर्को के कुरा बिर्सनु हुँदैन भने जतिसुकै पूर्वतयारी गरेपनि सरकारले विपद् रोक्न सक्दैन।
अर्को कुरा विपद्को क्षति कसरी कम गर्ने भन्ने महत्वपूर्ण पाटो भनेको पूर्वतयारी हो। हामीले पूर्वतयारी भएन भन्दै गर्दा फिल्ड (विपद् क्षेत्रमा) खट्ने, माथिबाट पहिरो झरिरहँदा बाटो खुलाइरहेका, बाढीमा ज्यानको माया मारेर उद्धारमा खटिरहेकाहरूमाथि नजरअन्दाज गर्नु हुँदैन।
यसरी काम भइरहेको समयमा पूर्वतयारी भएन, सरकारकै लापर्वाहीले गर्दा विपद्बाट नागरिकले ज्यान गुमाए भन्नेमा कम्तिमा हामी छैनौँ।
विपद् मानवीय स्वभावकै उपज हो भनिन्छ। राजधानीमै बस्तीमा बाढी पस्यो। अन्य जिल्लामा पनि नहुने ठाउँमा विपद्का घटना भए भन्ने भयो। यो विपद्को क्षतिलाई अझै कम गर्न त सकिन्थ्यो नि?
राजधानीको विषय- खोला छेउका बस्तीमा बाढी पसेको हो। यहाँबाट नागरिकलाई कसरी बचाउने भन्नेमा बस्ती हटाउने विषय होला। तर यहाँ रातारात बस्ती बसेको होइन।
चार दशकअघि एउटा ड्राफ्ट (तयारी) गरिएको ऐनमा वर्षामा उच्चतम बाढी आएको समयमा त्यसले जहाँसम्म डोब छाडेको हुन्छ, त्यसको २६ मिटर दायाँबायाँ छाडेर बस्ती विकास हुनुपर्छ भन्नेलाई हामीले नजरअन्दाज गर्यौँ र त्यो ऐन आएन।
हाम्रो सोच यस्तो छ, चारदशक अघिदेखि त्यसलाई हामीले मानिरहेका छैनौँ। नदी, खोलामा बस्ती विकास गर्यौँ। हामीले कहाँ डुवान हुन्छ, कहाँ नदीको क्षेत्राधिकार हो भन्ने सोचेनौँ र प्रकृतिलाई आफूले चाहेअनुसार हिँडाउन खोज्यौँ।
प्रकृति हामीले भनेको ठाउँमा त हिँड्दैन। त्यसैले काठमाडौँमा भएका डुवान अहिलेको समस्याले भएको होइन। धेरै समयदेखिको समस्या हो। यो हाम्रै अव्यवस्थित बस्ती विकासको उपज हो।
अन्य ठाउँमा पनि हाम्रै उपजले विपद् निम्तिएको हो। गाउँगाउँमा हरेक वर्ष नयाँ नयाँ ठाउँमा डाँडाहरू भत्काइरहेका छौँ। त्यही ठाउँमा पहिरो गएको छ। त्यसैले खोला थुनिएको छ। यो हामीले गरेको योजनाविहीन विकासको उपज हो। यसमा पूर्वतयारी पुगेन भनेर व्याख्या गर्न मिल्दैन। मनसुन पूर्वतयारी भनेको कसरी विपद्मा क्षति कम गर्न सकिन्छ भन्ने मात्र हो।
राहत, उद्धारका लागि सुरक्षा निकायका जनपथ, सशस्त्र प्रहरी परिचालन भइरहेको छ। यसको समन्वय कसरी भइरहेको छ?
सुरक्षा निकायलाई परिचालन प्रमुख जिल्ला अधिकारीले गर्नुहुन्छ। कहिलेकाहीँ के हुन्छ भने एउटा उदाहरण दिन्छु- कञ्चनपुरमा धेरै ठाउँमा डुवान पर्यो। डुवानमा परेका मानिसलाई उद्धार गर्न मोटरबोट चाहियो। तर कञ्चनपुरमा उपलब्ध भएन। हामीले तत्काल के गर्यौँ भने कैलालीमा सशसत्र जहाँ नजिक छ, त्यहाँबाट परिचालन गर्यौँ।
भनेको जिल्लाभन्दा बाहिरबाट कुनै सामान, सहयोग ल्याउनुपर्ने हुन्छ र जिल्लाभित्रको अपुग भएपछि कमाण्ड पोष्टले केन्द्रबाट आवश्यक समन्वय गर्छ। त्योबाहेकको अवस्थामा जिल्ला विपद् व्यवस्थापन समितिले काम गर्छ।
वर्षा बल्ल सुरु भएको छ। अझै वर्षा बाँकी नै छ। धेरै पानी पर्ने सम्भावना अझै छ भनिन्छ। जनशक्ति पूर्ण छ?
पानी पर्ने विषय भनेको कति पर्ने, कति समयमा पर्ने भन्ने हो। कञ्चनपुरमा हिजो (आइतबार) ३ घण्टामा १०५ मिलिमिटर पानी पर्यो। त्यस्तो वर्षा यस वर्ष एक–दुई ठाउँमा पर्छ भनिएको छ।
हामीले यस्तो ठाउँमा सूचना प्रभावकारी रुपमा दिएका छौँ। स्थानीय रेडियोदेखि सबै ठाउँबाट छिटो सूचना प्रवाह गर्ने र सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने गरेका छौँ। जिल्ला विपद् व्यवस्थापन समितिहरू पनि सक्रिय छन्। उनीहरूले पनि उद्धार, राहत वितरणलाई प्रभावकारी बनाएका छन्।