बर्खाकाे विपद्: पुरातन संरचनामा मस्त सरकार

Break n Links
Break n Links

शुक्रबार रातिदेखिको अविरल वर्षापछि आएको बाढी–पहिरोमा परी ३ दिनमा १४ जनाभन्दा बढीको मृत्यु भएको छ। मनसुन सक्रिय भएको जेठ २८ गतेदेखि हो। त्यसयता आज असार २४ गतेसम्म विपद्मा परी ७० जनाको मृत्यु भएको छ।

मनसुन सक्रिय भएयता (बाढी, पहिरो, चट्याङ आदि)का विभिन्न घटनामा ८६ जना घाइते भएका छन्। ५ जना बेपत्ता छन्। ८६ घरमा क्षति पुगेको छ। ३ सय ३५ पशुचौपाया मरेका छन्।

यो बीचमा सत्ता परिवर्तनको रन्को व्यापारीको घरदेखि संसदसम्म चर्किँदा बाढीपहिरोबाट भएको क्षतिप्रति सांसदहरूको चासो कम भएको छ। तर केही सांसदहरूले बाढीपहिरोका कारण नागरिकले ज्यान गुमाइरहेकाे भन्दै सरकारको पूर्वतयारीमाथि प्रश्न उठाइरहेका छन्।

तस्बिर– कञ्चनपुर बाढीले आधा डुबेकाे घर

प्रतिपक्षमा रहेका सांसदहरूले सरकारमाथि प्रश्न गर्दै सरकारको पूर्वतयारी नपुगेको, विपद्मा उद्धार तथा राहत वितरणमा सरकार चुकेको भनेका छन्।

कसले के भने?

नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरे सरकारको पूर्वतयारी कमजोर भएकाले मनसुन सक्रिय भएयता ६ दर्जन बढी नागरिकले ज्यान गुमाउन बाध्य भएको बताए। सोमबार आकस्मिक समयमा बोल्दै उनले भने, ‘विपद् पूर्वतयारी भएको र उद्धार तथा राहतका लागि गृहमन्त्रीले पनि योजना संसदमा प्रस्तुत गर्नुभएको थियो। तर त्यो कामकाजी हुन सकेन।’

उनले सुरक्षा संयन्त्रको परिचालन पनि फितलो भएको भन्दै नागरिकको सुरक्षाका लागि संसदको ध्यानाकर्षण गराए। ‘हाम्रोजस्तो देशमा दुई–तीन दिनको झरीले ६ दर्जन बढीको मृत्यु हुने कुराले हाम्रो व्यवस्थापकीय पाटो, सुरक्षा संयन्त्रको परिचालनको पाटो फितलो छ भन्ने देखिन्छ’, उनले भने, ‘यसरी एक झरीमा यति धेरैले ज्यान गुमाउने कुरा हाम्रो शासकीय प्रणालीमा, हाम्रो शासकीय सञ्चालनको तरिकामा, हाम्रो व्यवस्थापन, उद्धार र राहतको काम एकदमै कमजोर छ भन्ने देखाउँछ।’

संसदकाे विशेष समयमा बोल्दै काँग्रेस सांसद प्रतिमा गौतमले प्रत्येक वर्ष आउने वर्षाले नागरिकले विपद्को सामाना गर्नु परेको भन्दै चिन्ता व्यक्त गरिन्। उनले वर्षालाई राज्यले महसुस गर्न नसक्दा नागरिक मारमा परिरहेको बताइन्।

‘वर्षा कुनै भूकम्प आएको जस्तो होइन। यो त जसरी दसैँ आउँछ अनि तिहार आउँछ, त्यसैगरी वैशाख, जेठ र असार आउँछ र वर्षा हुन्छ’, उनले भनिन्, ‘प्रत्येक वर्ष आउने यो वर्षालाई यो राज्यले कहिल्यै पनि महसुस नगर्दा नागरिकले जहिले पनि विपद्को सामाना गर्नुपरेको छ। आज सयौँ नदी किनारमा बस्ने नागरिकले पीडा भोगिरहेका छन्। पहिरोले पुरिएका छन्।’

सांसद गौतमले देशकै राजधानी डुवानमा पर्नेदेखि सडकमै खोल्डो पर्नेसम्मका विषय संसदमा उठाइन्। ‘काठमाडौँमा हिँड्दा–हिँड्दै मोटरसाइकल खोल्डोमा पर्दा उद्धार गर्न ४ घण्टा लाग्छ। काठमाडौँ जलमग्न छ’, उनले भनिन्, ‘काठमाडौँमा बनाइएका भौतिक संरचनाहरू कस्ता छन् भन्ने कुरा हामीले ध्यान दिनुपर्ने भएको छ। जहिले विपद् आउँछ अनि राज्य तात्ने गर्नुभएन।’

तस्बिर– तनहुँमा पहिरोपछि उद्धारमा खटिएका सेना

उनले गाउँगाउँमा स्काभेटर चालक इन्जिनियर बनेर जथाभावी सडक बनाउँदा पनि अहिले विपद् बढिरहेको बताइन्। ‘अहिले प्रत्येक गाउँमा स्काभेटर चालक इन्जिनियर भएको छ। उसले बाटो खन्छ। त्यसपछि नागरिकले पहिरोको सामाना गर्नुपरेको छ। यो अहिले आइरहेको विपद्ले हाम्रो विकासको रणनीतिलाई गिज्याइरहेको छ’, उनले भनिन्।

त्यस्तै, एमालेका अर्का सांसद किरणकुमार साहले सरकार कानमा तेल हालेर सुतेकै कारण नागरिक विपद्को जोखिममा परेको आरोप लगाए। उनले पूर्वतयारी गरेर विपद्को अध्ययन गरौँ भन्दा सरकारले बेखबर बनेको गुनासो गरे।

‘यस संसदमै पटक–पटक मनसुनबाट हुने जोखिमको सम्भाव्यता अध्ययन गरेर पूर्वतयारी गरौँ भन्दा सरकार कानमा तेल हालेर सुतेको छ। जसको परिणाम अहिले देशभर नागरिकले जनधन गुमाइरहेका छन्’, उनले भने।

पूर्वतयारी भएन भन्नु सत्य होइन: डा. भुसाल

सरकारले मनसुन पूर्वतयारी स्वरुप के-के तयारी गरेको छ? त्यो गृहमन्त्री रवि लामिछानेले संसदमै जानकारी गराएका थिए। मनसुन पूर्वतयारी स्वरुप सरकारले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’ बनाएर बाढीपहिरोमा परेकाको उद्धार गरिरहेको छ।

तस्बिर– भक्तपुर चाँगुनारायणमा पहिरोले अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी

कमाण्ड पोष्टका संयोजक गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसाल रहेका छन्। भुसालले सरकारले पूर्वतयारीमा कुनै कमी नगरेको बताउँछन्। उनले पूर्वतयारी नहुँदा विपद्बाट नागरिकले ज्यान गुमाएको भन्नु सत्य नभएको बताए।

‘हामीले पूर्वतयारी भएन भन्दै गर्दा फिल्ड (विपद् क्षेत्रमा) खट्नेहरूमाथि पहिरो झरिरहँदा बाटो खुलाइरहेका, बाढीमा ज्यानको माया मारेर उद्धारमा खटिरहेकाहरूमाथि नजरअन्दाज गर्नुहुँदैन’, उनले भने।

प्रकाशित मिति: : 2024-07-08 18:46:00

प्रतिकृया दिनुहोस्