चितवनकाे सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बससँगै हराइरहेका ३७ जना यात्रु अझै भेटिएका छैनन्। सडकमा पहिरोसँगै त्रिशूलीमा यात्रुहरूसहित बसहरू हराइरहँदा यता संसदमा भने दलहरू सरकार ‘ढाल्न’ र बनाउन लागिरहेका थिए। एउटा कार्यदल बनाएको सरकारले अझै ती यात्रुहरू र हराइरहेको बस भेटाउन सकेको छैन।
बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको एउटा जहाज दुर्घटना भयो। सौर्यका १६ जना प्राविधिक तथा इन्जिनियरहरूसहित १८ जनाको निधन भयो। दुर्घटना हुनासाथ मन्त्रीहरूदेखि प्रधानमन्त्री केपी शर्मा ओलीहरू विमानस्थलमा लावालश्कर लिएर पुगे।
सरकारको आकस्मिक बैठकले तत्कालै छानबिन समिति बनायो अनि आधा झन्डा झुकाउने निर्णय पनि गर्यो। सारा राजनीतिक दलका नेतालगायत सांसदहरूले पनि विज्ञप्ति निकाले।
तर त्रिशूलीको त्यो घटनाबारे अहिलेसम्म सरकार औपचारिकरुपमा एक शब्द पनि बोलेको छैन। नेपालमा हवाई दुर्घटना नौलो होइन। न सडक दुर्घटना। बितेको २४ वर्षमा भएका जहाज दुर्घटनामा नेपालमा लगभग ४ सयजनाले ज्यान गुमाएका छन् भने बितेको लगभग डेढ दशकमा भएका सवारी दुर्घटनामा देशका लगभग ३३ हजार नागरिकको ज्यान गइसकेको छ। तर सरकार सवारी दुर्घटनाबारे जहिल्यै वेपरवाह हुन्छ।
सामाजिक सञ्जालमा अहिले ‘उड्ने’ र ‘गुड्ने’ नागरिकबीच राज्यले देखाएको विभेदको बारेमा चर्चा भइरहेको छ। सरकारले आफ्नै नागरिकको मृत्युमा पनि विभेद गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आलोचना गरिरहेका छन्।
आलोचकहरू गुड्नेमा यात्रा गर्ने नागरिकलाई गरिबीसँग र जहाजमा यात्रा गर्ने नागरिकलाई सम्पन्नतासँग जोडेर विभेद भएको चर्चा गरेका छन्। यस विषयलाई चर्चामा ल्याउनेमा कयौँमध्ये एक हुन्, कलाकार मनोज गजुरेल।
उनी भन्छन्, ‘मृत्युले ठुलो–सानो, धनी–गरिब, हवाईयात्रु, बसयात्रु भनेर विभेद गर्दैन भने मान्छे को हो भेदभाव गर्ने?’ उनले किन विभेद गरेको भनेर घुमाउरो शैलीमा सरकारलाई प्रश्न गरेका छन्।
जसरी अहिले हवाईयात्रु र बसयात्रुमाबीचमा विभेद भएको भनिकएको छ, के सरकारले विभेद गरेकै हो त? तथ्य के भन्छ? तथ्य हेरौँ।
त्रिभुवन विमानस्थल क्षेत्रमा सौर्य एयरलाइन्सको नाइन एन एएमई कलसाइन रहेको सिआरजे २०० जहाज बुधबार बिहान ११:११ बजे दुर्घटनाग्रस्त भयो। चालक दलका सदस्य लिएर मर्मतका लागि पाेखरा उडेको केही सेकेन्डमै दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनामा एक बालक, एक विदेशीसहित १८ जनाले ज्यान गुमाए। जहाजका पाइलट मनिषरत्न शाक्यको घाइते अवस्थामा उद्धार भयो। उनको उपचार भइरहेको छ। उनी खतरामुक्त रहेको काठमाडौँ मेडिकल कलेजले बताएको छ।
आलोचना त जहाज दुर्घटनास्थलमा उद्धारकर्मी ढिला पुगेको भन्दै पनि भएको छ। त्रिभुवन विमानस्थल नजिकै सबै स्रोतसाधन हुँदा पनि किन उद्धारमा ढिलाइ भएको भनी टिप्पणी भएको छ। स्थानीय नै उद्धारका लागि तत्काल उद्धारकर्मी नपुगेको बताएका छन्।
र अर्को विषय जहाज दुर्घटना भएको करिब २ घण्टापछि प्रधानमन्त्री केपी शर्मा ओली घटनास्थल पुगे। कतिपय दुर्घटनास्थलमै हुलहुज्जत गर्दै जान हुँदैनथ्यो भन्ने गर्छन्। यद्यपि दु:खमा देशको प्रमुख जानुलाई स्वभाविक नै मानिएको छ।
अवलोकनपछि प्रधानमन्त्री ओलीले छानबिन गर्न विमानस्थल कर्मचारीलाई निर्देशन दिए। त्यससँगै दुर्घटनास्थलमा गृहमन्त्री रमेश लेखकले अवलोकन गरे। प्रधानमन्त्री ओलीले अवलोकनलगत्तै मन्त्रिपरिषद् बैठक बोलाएर छानबिन समिति गठन गरे।
शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि भयो। आज बिहीबार देश शोकमा छ। देशको आधा झण्डा झुकाइएको छ। यो स्वभाविक हो। देशका नागरिकले ज्यान गुमाउँदा राष्ट्रलाई स्वभाविक पीडाबोध हुनेभयो।
सरकारले गर्ने काम त गरेकै छ। तर विरोध? विरोध गर्नुपर्ने कारण यहाँ छ।
असार २८ गते बिहान साढे ३ बजे दुई वटा बसलाई पहिरोले बगाएर त्रिशूलीमा फाल्यो। बससँगै ६५ यात्रु बगेको आजसम्म आशंका छ। ६५ यात्रुमा ३ जना सकुशल उत्रिए।
बाँकी ६२ जना यात्रुमा २५ जनाको शव फेला परेको छ। अझै ३७ जनाको अवस्था अज्ञात छ। ३७ जना यात्रु कुन अवस्थामा होलान्? सरकारको संयन्त्र आँकलन गर्ने अवस्थामा छैन।
अहिलेसम्म सरकारले उनीहरूको खोजीमा भारतबाट गोताखोर मगाएर खोजी गरेको छ। नेपालका काबिल तालिम प्राप्त गोताखोरबाट पनि निरन्तर खोजी भइरहेको छ। तर बेपत्ताको अवस्था पत्ता लाग्न सकेको छैन।
यति मात्र होइन, विरोध हुनुको कारण अर्को विषय पनि छ। दुई बसका यति धेरै यात्रु बेपत्ता हुँदा पनि सरकार प्रमुखदेखि दलका नेताहरू सामाजिक सञ्जालमा दु:ख व्यक्त गर्दै बसे मात्र।
घटनास्थलमा पुग्न सरकारका अधिकारीलाई ३ दिन लाग्यो। दुर्घटना भएको ३ दिनपछि असार ३० गते गृहसचिव एकनारायण अर्यालले घटनास्थलको अवलोकन गरे। अवलोकन गर्दै सचिव अर्यालले बाहिरी देशबाट नयाँ प्रविधि ल्याएर बेपत्ताको खोजी गरिने बताएका थिए। तर त्यो गर्न उनले सकेनन्।
तत्कालीन गृहमन्त्री रवि लामिछाने दुर्घटना भएको ५ दिनपछि घटनास्थलमा पुगेका थिए। त्यस समयमा उनको गृहमन्त्री पद गइसकेको थियो। दुर्घटना भएकै दिन माओवादी अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार ढलेको थियो।
अहिले सरकारको आलोचना हुनुमा अर्को महत्वपूर्ण विषय भनेको हालको सरकारको नेतृत्व गरेको दुई ठुला दल एमाले र काँग्रेसको हो। असार ३० गते प्रधामन्त्रीमा नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्को दिन असार ३१ गते शपथ ग्रहण गर्दै सरकारको प्राथमिकता विपद्मा हुने भनेका थिए।
यस्तै सोही दिन गृहमन्त्रीको शपथ लिएका काँग्रेसका नेता रमेश लेखकले पनि प्राथमिकतामा विपद् नै हुने बताएका थिए। तर उनीहरूको बोली अहिलेसम्म काममा देखिएको छैन। त्रिशूलीमा बेपत्ता भएकाहरूको नदी आफैँले किनारा लगाएका शवहरू भेटिएका छन्।
बाँकी अब जीवित रहेको कम आशामा पनि उनीहरूको अवस्था पत्ता लगाउन सरकारले प्रविधि ल्याउन सकेको छैन। यसले के देखाउँछ भने यति धेरै जना यात्रु बेपत्ता भएको घटनामाथि सरकारको उदासिनाता देखिन्छ।
त्रिशूलीमा बेपत्ता भएको घटनामा अध्ययनका लागि कार्यदल गठन गरेको छ। त्यसबाहेक सरकारले माथि उठेर जहाज दुर्घटनालाई जसरी हेर्न सकेन। ६२ जना यात्रु बेपत्तामा सरकारले शोक पनि मनाएन। जसले गर्दा अहिले सरकारले विभेद गरेको आलोचना भइरहेको छ। जुन स्वभाविक पनि हो।
शोक मनाउने दिनमा उत्सवमा थिए दलहरू
सरकारको आलोचना किन भइरहेको छ? अर्को महत्वपूर्ण विषय देशले शोक मनाउने अवस्थामा दलहरू उत्वस मनाउने अवस्थामा थिए। उत्सव पनि मनाए।
असार २८ गते बिहान साढे ३ बजे बस दुर्घटना भयो। कयौँ यात्रु हराएको खबरले देश शोकमा पर्यो। सोही दिन अविरल वर्षा पनि थियो। बसमात्र होइन, पोखरालगायतका ठाउँमा पहिरोले घर, बस्ती बगाउँदा दु:खमाथि दु:ख थपिएको थियो।
तर विडम्बना सोही दिन कोही सरकार जोगाउन, कोही सरकार ढलाउन घनिभूत लागेका थिए। प्रचण्ड सरकार सोही दिन ढल्दै थियो। काँग्रेस–एमाले गठबन्धनको सरकार बन्दै थियो।
‘एकमनले सोचेँको थिएँ। बिहान बस दुर्घटना भएको। कास्कीमा ११ जनाको मृत्यु भएको। अन्य ठाउँमा पनि यो भइरहेकाबेलामा आज नै मैले विश्वासको मत माग्न उचित हुन्छ होला कि हुन्न होला भनेर सोचेँ’, तत्कालीन प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दै गर्दा भनेका थिए।
भावुक मन्तव्य राख्दै उनले अगाडि भनेका थिए, ‘मलाई लाग्छ दुई ठुला दल (काँग्रेस–एमाले) मिलेर छिटोभन्दा छिटो सरकार बनाउने उद्धत भएको र हिजो मैले मुख्य सचेतकमार्फत २ घण्टा समय सारौँ भन्दा पनि नहुने देखेपछि फेरि मैले केही दिन सारेँ भने अर्को अर्थ लाग्ला भनेर मैले सभामुखसँग यो कुरा गरिनँ।’
प्रचण्डको यो भनाइले पनि देखाउँछ कि काँग्रेस–एमाले नागरिकको उद्धारमा भन्दा सत्ता यात्राको उत्सवमा थियो। यसअघि नै दुई दलले प्रचण्डलाई अल्पमतमा परेको भन्दै राजीनामा दिन भनेका थिए।
बस दुर्घटना भएको दिनमा सत्ताको चलखेलले आमरुपमा राम्रो सन्देश गएको थिएन। त्रिशूलीमा बस र नागरिक बेपत्ता, यता संसदमा सरकार ढाल्ने र बचाउने खेलले पनि सरकार वा राजनीतिक दल नागरिकको दु:खमा कति गैरजिम्मेवार छन् भन्ने देखाएको थियो।
यसरी हेर्दा सरकार गुड्ने बस र उड्ने जहाजमाथि कस्तो व्यवहार गर्छ भन्ने देखाउँछ। जुन विभेदकारी छ। अहिले सरकारको आलोचना हुनुपनि त्यही हो।