सदाझैं बुधबार पनि मूलपानीका प्रकाश कार्की सबेरै काम गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
माघ महिनादेखि एयरपोर्ट क्षेत्रमा मजदुरी गर्दैआइरहेका उनी ६ बजेदेखि नै मेलोमा छिरिसकेका थिए।
बिहानको ११ बजेतिर उनीसँगै करिब दस जनाको टोली सडकमा ईट्टाको गारो ठड्याउँदै थिए। त्यतिनैबेला एयरपोर्टभित्रबाट ठुलो आवाज आयो, ‘बुरुङ्ग...’।
मनै कपाउने आवाज सुनेर साथीहरूसँगै उनी आवाज आएको स्थानतिर लागे। त्यहाँ पुगेपछि उनको हात–गोडा नै गले।
उनको अगाडि जहाज दुर्घटना भएको थियो। छेउमै मानिसहरू जलिरहेका थिए। त्यो आगोको ‘राप’ले प्रकाशलाई पनि पोलिरहेको थियो।
‘हामी त काम गरिरहेका थियौं। एक्कासी बम पड्केको जस्तो आवाज आयो। सुरुमा त हामीलाई थाह थिएन, त्यो के–को आवाज थियो तर पछि बल्ल थाहा प्लेन दुर्घटना भएको रहेछ’, सौर्य एयरलाइन्सको जहाज दुर्घटना देख्ने पहिलो प्रत्यक्षदर्शी कार्की भन्छन्, ‘बम पड्किएको जस्तो आवाज त मान्छेको टाउको र पेट पड्किएर पो आएको रहेछ।’ सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा तीन भागमा उछिटिएको बताउँदै उनी भन्छन्, ‘सायद! कोही पनि बाँच्दैनन् होला।’ ५६ औं बसन्त पार गरिसकेका प्रकाशले अहिलेसम्म दुर्घटनालाई नजिकबाट निल्याएका थिएनन् तर बुधबार बिहानको जहाज घटनाले भने उनको मन डराएको छ।
‘आजको जस्तो दर्दनाक दृश्य कहिल्यै देखेको थिइनँ, मन त्रर्सिएको छ’, बिएल नेपाली सेवासँग उनले भने, ‘आँखैमा झलझली आइरहेको छ।’
सर्लाहीका सुरेश यादव पनि जहाज दुर्घटनाको दृश्यले डराएका छन्। उनले पनि आफ्नो आँखै अगाडि पाँच जना मानिसहरू जलेको देखे।
यादव भन्छन्, ‘कसैको टाउको त कसैको हात–खुट्टै चुडिएको देखें। हेर्दै डरलाग्दो थियो।’
कार्की र यादवसँगै काममा खटिरहेका थिए, दुई महिलाहरू। उनीहरूले पनि जहाज पड्केको आवाज सुने।
तर घटनास्थलसम्म पुग्ने हिम्मत गरेनन्। त्यहाँकी एक महिलाले भनिन्, ‘हामीलाई डर लाग्यो। त्यसैले कतै गएनौं। कुरा सुनेरै मन डराएको छ।मानिसहरू जलिरहेको हेर्न सक्ने हामीसँग आँट छैन।’