सौर्य एयरलाइन्स: टाट पल्टिएको कम्पनी, जबर्जस्ती उडिरहेका जहाज

कमल विक

काठमाडौं

बुधबार बिहानैदेखि काठमाडौंको आकाशमा चहकिलो घाम लागिरहेको थियो। ‘एयर ट्राफिक’का लागि चाहिने ‘भिजिविलिटी’ प्रशस्तै थियो। अर्थात् हवाइ उडानका लागि बिहानको मौसम ‘अनुकूल’ थियो। 

तर बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन विमानस्थलको आन्तरिक धावनमार्ग छोडेको सौर्य एयरलाइन्सको एउटा जहाज उचाँई नसमाउँदै लरखराउँदै फेरि भुँइमै बजारिन पुग्यो।

धावनमार्गदेखि करिब २०० मिटरमै बजारिएर दनदनी बलिरहेको जहाजमा भएका चालकबाहेक अरु सबै १८ जनाको मृत्यु भयो। 

सौर्यको यो ९-एनएएमइ सिआरजे जहाजको नियमित उडान भने थिएन। खासगरी यो जहाज मर्मतका लागि पोखरा विमानस्थलमा जाँदै थियो। त्यसमा १६ जना सौर्य एयरलाइन्सकै प्राविधिकहरू थिए। एकजना प्राविधिककी श्रीमति थिइन् र अर्का उनका नाबालक छोरा थिए।

यस्तो उडानमा अन्यलाई यात्रा अनुमति भने थिएन। नाबालकलाई झन अनुमति नै हुँदैन। यो प्राधिकरणको नियमविरीपत थियो। सौर्यका प्राविधिक मनुराज शर्माले श्रीमति र छोरालाई पनि पोखरा घुमाउनका लागि लैजाँदै थिए। उनकी श्रीमति प्रिजा खतिवडा उर्जा मन्त्रालयकी कम्प्युटर अपरेटर हुन्। 

एकैछिनमा जहाजसँगै ढडेका १८ शबहरू निकालिए। चालक मनिषरत्न शाक्यलाई भने सकुशल निकालिएको थियो। अहिले उपचार गराइरहेका उनी खतरामुक्त छन्। उनका सहयोगी पाइटलको पनि मृत्यु भयो। धावनमार्गको छेउमै जहाज पुत्ताइरहे पनि आगो निभाउने साधन र उद्धारकर्मीहरू स्वभाविक समयभन्दा पनि ढिला पुगेको भनेर आलोचना पनि भइरहेको छ। तर नेपाल प्रहरीले भने दुर्घटनाको १९ मिनेटभित्रै पाइटललाई शकुसल उद्धार गरिएको दाबी गरेको छ। 

२०७९ साल माघ १ गते पोखराको सेती खोंचमा खसेको यति एयरलाइन्सको जहाज दुर्घटनापछि यो अर्को ठूलो दुर्घटना हो। त्यो दुर्घटनामा सवार सबै ७२ जनाको निधन भएको थियो। त्यसअघि त्रिभुवन विमानस्थलमै सन् २०१८ मा बंगलादेशबाट नेपाल आएको युएस बङ्गलाको विमान दुर्घटनाग्रस्त भएको थियो र त्यसबेला ५१ जना यात्रुको निधन भएको थियो।

किन विमान दुर्घटना भयो? 
बुधबार दुर्घटना भएको जहाज करिब १७ वर्ष ४ महिना पुरानो हो। ५० जना यात्रु क्षमता भएको यो विमान निर्माण कम्पनीले सन् २००३मा बनाएको थियो। र सन् २०१७ मा सौर्य एयरलाइन्सले किनेको थियो। नियमित विस्तृत चेकजाँच (सी चेक)का लागि यो जहाजसँग अझै लगभग ११९ घण्टा बाँकी थियो। अर्थात् यो अवधिभर नियमित चेकजाँच नगराएर पनि उडान भर्न सक्थ्यो। 

तर अवधिभन्दा अघि नै चेकजाँचका लागि विमानलाई पोखरा विमानस्थल लगिंदै थियो। काठमाडौं विमानस्थलमा त्यसका लागि पर्याप्त ‘ह्याङ्गर’ छैन। एउटा ह्याङ्गर नेपालगन्जमा भए पनि जहाज मर्मत र चेकजाँचका लागि पोखरा विमानस्थल अझ फराकिलो छ। अहिले पोखरामा त्यतिधेरै उडानको चाप पनि छैन। चेकजाँचका लागि लगभग चार हप्ताजति लाग्नसक्छ।

कारण कम्पनीले आफ्नै प्राविधिकहरू लगेर जाँदै थियो। त्यसका लागि सौर्य एयरलाइन्सले पोखरा विमानस्थलको ह्याङ्गर भाडामा पनि लिएको थियो। यसअघि नेपालमा यस्ता विमानको चेकजाँच विदेशमै हुन्थ्यो।

अहिले भने लगभग सबै हवाइ कम्पनीहरूले आफ्नै प्राविधिक राखेका छन् र त्यस्तो ‘एनुअल मेन्टिनेन्स प्रोग्राम’का लागि केही दिन नेपालकै विमानस्थलका ह्याङ्गरहरूमा राखेर त्यस्तो मर्मत कार्य गरिन्छ। यो खासमा अरु सवारी साधनको नियमित यान्त्रिक चेकजाँच गरेजस्तै हो। 

दुर्घटनाबारे विस्तृत अनुसन्धान भइसकेको छैन। तर अहिलेसम्म नागरिक उड्डयन प्राधिकरणले रनवे छोडेसँगै ‘देब्रेतिर मोडिनुपर्ने जहाज दाहिनेतिर मोडिएर दुर्घटना भएको’ भन्ने प्रारम्भिक कारण भनेको छ।

तर विमानस्थल र वरिपरिका प्रत्यक्षदर्शीहरूले भने विमान रनवेमै लरखराउँदै उडेको र भुँइ छोड्नासाथ फेरि भुँइमै बजारिन पुगेको बताएका छन्। अर्को विमानमा चढेका यात्रुहरूले खिचेको त्यस्तो भिडियोहरू सामाजिक सञ्जालमा पनि भाइरल भइरहेका छन्।

जहाज विमानस्थलको उत्तरपूर्वी पाखामा दुर्घटनाग्रस्त भएको थियो। त्यो ठाउँमा अहिले विमानस्थलका संचरनाहरू विस्तार भइरहेका छन्। 

सरकारको छानबिन समिति 
सरकारले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो।  

आयोगमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी सदस्य रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन्।

प्रवक्ता गुरुङका अनुसार आयोगलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। मन्त्रिपरिषद् बैठकले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

दुर्घटनालगत्तै प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रमेश लेखकलगायत सरकारी अधिकारीहरू दुर्घटनास्थल पुगेका थिए। 

टाट पल्टिसकेको विमान कम्पनी 

सन् २०१४ मा स्थापना भएको सौर्य एयरलाइन्स कम्पनीले सन् २०१७ बाटमात्रै नेपालमा आन्तरिक उडान थालेको थियो। यो कम्पनीका अध्यक्ष झापाका दीपक पोखरेल हुन्।

बहुदलपछि २०४९ सालातिर सरकारी अड्डामा सामान्य कर्मचारीका रुपमा काम गरेका पोखरेल पछि ‘सुपारी’का ब्यापारी भए। पछि राजनीतिक छत्रछाँयामा उनले आफ्नो ब्यापारका दायरा बढाउँदै गए र चिया बगानदेखि अस्पतालसम्ममा लगानी गरे।

त्यसपछि उनले एयरलाइन्समा पैसा लगाए। केही समयअघि उनकै कम्पनीका एक कर्मचारीसँग स्रोत नखुलेको करोडौं रकम बरामद भएपछि उनी विवादमा तानिएका थिए। 

२०१७ मा ५० सिटे जहाज किनेको सौर्यले त्यसपछि भने क्षमता बढाउन सकेन। अहिले भएका उसका ३ जहाजमध्ये एउटा ग्राउन्डेड थियो। अपरेशनमा रहेका २ मात्रै जहाजले भद्रपुर र बिराटनगर उडान भर्दै आएको थियो। पोखरामा भने उसको नियमित उडान थिएन।

दुर् वर्षअघि नै नागरिक उड्डयन प्राधिकरणले यो कम्पनीलाई कालोसूचीमा राखेको थियो। नियमित लेखा परीक्षणका क्रममा निरन्तर घाटामा गएको देखिएपछि प्राधिकरणले उसका जहाजलाई उडानमै प्रतिबन्ध गर्ने तयरी गरेपनि राजनीतिक पहुँच प्रयोग गरेर कम्पनीका अध्यक्ष पोखरलेले त्यसबाट जोगाए।

तर हरेक महिना ५ करोडभन्दा नोक्सानी बेहोरिरहेको कम्पनी चल्नै मुश्किल भइरहेको थियो। त्यो बेला उसले कम्पनीमा कार्यरत लगभग ४० जनाभन्दा धेरै कर्मचारीहरू कटौतीसमेत गर्‍यो। 

त्यसपछि कम्पनीले भारतीय लगानीकर्ताहरूलाई पनि भित्र्यायो। भारतको कुबेर समूहले यो समूहमा लगभग ७५ प्रतिशत शेयर हालेको थियो। तर जेट इन्जिनयुक्त एटिआर जहाज किन्ने सन्दर्भमा सञ्चालकहरूबीच विवाद भयो र उसले जहाजहरूको स्तरोन्नती पनि गर्नसकेन।

त्यो शेयर सदस्यहरूले एटिआर जहाज नथप्ने हो भने कम्पनी बन्द गर्नुको विकल्प नभएको निष्कर्ष निकालेका थिए। शेयर लगानी गरेको भारतीय समूहसँग अहिले सञ्चालक समितिसँग राम्रो सम्बन्ध छैन।

अहिलेसम्म अर्बौं घाटा बेहोरिसकेको सौर्य एयरलाइन्सले नयाँ जहाज त थप्न सकेन नै भएका जहाजहरूको पनि राम्रो मर्तत गर्न सकेको थिएन। ग्राउन्डेड जहाजकै इन्जिन साटफेर गरेर अपरेशनमा रहेका जहाजहरूबाट उडान भर्दै आएको सौर्यसँग अब चालु अवस्थामा एउटामात्रै विमान छ।

थप समाचार पढ्नुस्– 
प्रकाशित मिति: : 2024-07-24 19:26:00

प्रतिकृया दिनुहोस्