फोहोर टिप्ने बहाना बनाएर १ कराेड बढीकाे धनमाल चाेरी गर्ने पाँच भारतीय पक्राउ 

काठमाडौँमा फोहोर टिप्ने बहाना बनाएर ठुलो धनमाल चोरी गर्ने पाँच भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको समस्तीपुर जिल्ला मोहदीनगरका २६ वर्षीय लक्का भन्ने विकास पोदार, वेगसरा जिल्ला बरौनीका २८ वर्षीय जितेन्द्र पोदार रहेका छन्। 

यस्तै बैशाली जल्ला बिहार बुधुपुरका २७ वर्षीय भाइलाल पोखार, समस्तीपुर जिल्ला विध्यापती थानाका ४० वर्षीय संजय पोदार र सोही जिल्लाका ५० वर्षीय मञ्जुदेवी पोखार पक्राउ परेका छन्। 

हाल उनीहरु सबै काठमाडौँको तिलगंगा क्षेत्रमा बस्दै आएका थिए। उनीहरुले विभिन्न ठाउँबाट भिन्न समयमा एक करोड बराबरको धनमाल चोरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा एसपी रबिन्द्र रेग्मीले जानकारी दिए। 

यसरी बाहिर आएको थियो चोरीको घटना

यही माघ २८ घते काठमाडौँको गोकर्णेश्वर नगरपालिका– ४स्थित माकलवारीकी दिमायाँ आले मगरको घरमा चोरी भयो। घरमा कोही नभएको समयमा दिउँसै ढोका फोडी उनको घरबाट ६५ लाख बराबरको गरगहना तथा अन्य धनमाल चोरी भयो। प्रहरीले खोज्दै जाँदा चोरीमा संलग्न भएको आरोपमा लक्का भन्ने विकास पोदारलाई पक्राउ गर्यो। 

प्रहरीले अनुसन्धानका क्रममा माघ २४ गते बुढानिलकण्ठ नगरपालिका– १० स्थित दिनेश घिमिरेको घरबाट सुन तथा नगद गरी रु २५ लाख बराबरको धनमाल र २८ गते नै गोकणेश्वर– ३ की गिता राईको घरबाट सुन तथा चाँदीका गरगहना  तथा नगदसमेत गरी करिब ४ लाख १० हजार चोरीमा भएकोमा पनि उनी नै संलग्न रहेको पाइयो। 

चोरीमा संलग्नको अनुसन्धान गर्दै जाँदा अन्य थप चार जना पत्ता लागेको र उनीहरुलाई पनि पक्राउ गरिएको प्रवक्ता रेग्मीले जानकारी दिए। 

प्रकाशित मिति: : 2024-02-15 17:57:00

प्रतिकृया दिनुहोस्