नेपालगन्जको राजनीतिमा जब–जब चुनाव आउँछ तब–तब पशुपतिदयाल मिश्र विरूद्ध विरोधीले नियोजित रूपमा उचाल्ने मुद्दा हो–मधेस आन्दोलनमा सीमापारीबाट ढुङ्गा प्रहार! रोचक त के छ भने त्यसबेला आफू नदेखिएर नेता–कार्यकर्तालाई गोप्य रूपमा कडारूपमा आन्दोलनलाई झन् चर्काउन रणनीति बनाउने नेता–कार्यकर्ताले नै मुख्यरूपमा ढुङ्गा हानेको विषय उठाएर मिश्र विरूद्ध मत प्रभावित गर्न खोज्छन्। आफूहरूले सीमामा बसेर ढुङ्गा हानेको र आन्दोलन चर्काउन रणनीति बनाएको चटक्कै बिर्सिएर मिश्र एक्लैले सबैथोक बिगारेझैं गरेर सामाजिक सन्जालमा आफ्नो भडास पोखिरहेका भेटिन्छन्।
सीमा नाका बन्द गर्नेका रणनीतिकारहरू स–गौरव राजनीतिमा लागिरहँदा मिश्रले भने सदैव त्यसको सजाय पाउनुपर्ने झैं गरी नेपालगन्जमा तयार गरिने राजनीति अन्यायपूर्ण छ। तर यसपटक यहाँका मतदाताले त्यही विषयलाई लिएर मिश्रलाई अन्याय नगर्ने देखेपछि विराेधी आत्तिएका छन्। उक्त विषय उठाएर मिश्र आवद्ध दल एमाले समर्थक मतदाता र अन्य मतदाता भड्काउन सके आफ्ना उम्मेदवार जित्छन् भन्ने नियत राख्नेहरूको पोल खुल्दै गएको छ। ढुङ्गा हानेको मुद्दा मिश्र विरूद्ध मच्चाइने चुनावी हत्कण्डा मात्र भएकाले उनलाई पटकपटक अन्याय गर्न सकिदैन भन्ने बुझाई आममतदातामा रहेको पाइन्छ।
‘हिजो ढुङ्गा हान्ने र हान्न लगाउने अनेक थिए। अरू छाती फुलाएर हिड्दा पशुपतिलाई भनेर अन्याय गरिरहने ?’ – मतदाताको बुझाई यही छ। नेपालगञ्ज उपमहानगरपालिकामा पशुपति दयाल मिश्रलाई पार्टी प्रवेश गराएर नेकपा एमालेले चुनावी शक्तिआर्जन गरेको छ। त्यसो त एमालेसँग मिश्रको नाता पाँच बर्ष अघिकै हो। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मिश्रले सुर्य चुनाव लिएर बाँके क्षेत्र–२ मा चुनाव लडेका थिए। मधेसमा प्रतिकुल अवस्था ठानिएको त्यो बेला समेत मिश्रले झण्डै १६ हजार मत ल्याएर दोस्रो भएका थिए। मधेस आन्दोलन चर्किए लगत्तै भएको निर्वाचनमा होमिएका मिश्र सुर्य चुनाव चिन्हबाट लडे पनि एमाले भइसकेका थिएनन्।
मधेस आन्दोलनको राप र पूर्णरूपमा एमाले नहुँदा पनि मिश्रले सम्मानजनक मत ल्याएका थिए। अहिले भने परिस्थिती मिश्रकै पक्षमा छ। विराेधीले चर्काउने ढुङ्गा हानेको विषय एकाध मान्छेको आत्मरतीको विषय मात्र बनेको छ भने सबैजसो मतदाताले मिश्रलाई बदनाम गर्न खोज्ने अस्त्र मात्र भएको बुझिसकेका छन्। यसपटक ठूलो संख्यामा एमाले प्रवेश गरेपछि मिश्रले नेपालगन्ज मात्र होइन बाँकेका सबै क्षेत्रमा एमाले सँगठन बिस्तारलाई प्राथमिकता दिएका छन्।
खासमा एमालेका केन्द्रदेखि तल्लोतहसम्मका कार्यकर्ताले पशुपतिलाई र पशुपतिले तल्लो तहका कार्यकर्तालाई मनैदेखि अपनाइसकेकाले एमालेका मत उनी बाहेक अन्त जाने सम्भावना छैन। विरोधले मच्चाउने हल्ला र एकढिक्का एमालेका नेता–कार्यकर्ताबीच चुनावमा होमिदा नेपालगन्जमा मेयरका लागि एकल नाम सिफारिस भएका मिश्रले जित्ने सम्भावना देखिन्छ। तर परिणाम भने वैशाख ३० गते नै प्रष्ट हुने छ।
विराेधीले उचाल्ने तुच्छ टिप्पणीप्रति मिश्रले कहिल्यै रूखो तरिकाले प्रतिवाद गर्दैनन। खासमा मधेस आन्दोलनताका उनको सक्रिय सहभागिता रहेको साँचो हो। तर ढुङ्गा नै हानेको भने सत्य होइन। बरू आन्दोलन भड्काउन र गलत बाटोमा लैजान खोज्नेहरूलाई उग्र र उदण्ड बन्न नदिन उनले समन्वयकारी भूमिका निभाएका थिए। त्यसलाई चटक्क बिर्सिएर त्यही आन्दोलनका कारण नेता बनेकाहरूले नै मिश्र विरूद्ध प्रचारबाजी गरेको पाइन्छ। जुन प्रचारबाजीलाई यहाँका मतदाताले यसपटक बिश्वास गरिरहेका छैनन्।
मिश्र भन्छन्, ‘त्यतिबेलाको यथार्थ बुझ्दै नबुझी अत्यन्त सँगीन विषय उछालेर पटक–पटक मानमर्दन गरेको देख्दा दुःख लाग्छ। यहाँका मतदाताले सबै कुरा थाहा पाइसकेकाले त्यसरी मानमर्दन गर्नेहरूप्रति कुनै गुनासो राख्दिनँ। यत्तिमात्र भन्छु– समृद्ध नेपालगन्ज बनाउनेतिर लागौं। तल्लोस्तरका आरोप प्रत्यारोपको राजनीति त्यागेर अगाडी बढौ। हरेक धर्म,सम्प्रदायका नागरिक अटाउने बिशाल हृदयको र समृद्ध नेपालगन्ज बनाउन जुटौं।’ मिश्रले आफूले एमाले र एमोले आफूलाई मनैदेखि अङ्गालिसकेकाले अब जीवन नै यसैमा बित्ने जनाएका छन्।
‘मलाई एमालेका नेता–कार्यकर्ताले अपनाए,मैले उहाँहरूलाई। अब मेरो राजनीतिक जिवन यही पार्टीमा बित्छ। गीत छ नी! सै पनि एमाले, मै पनि एमाले। हो, अब जीवनभर एमाले,’ मिश्रले भने।