फलोअप

पोल खुल्ने डरले कर्मचारी निकाल्दै समता फाउण्डेसन

कमल प्रभात

काठमाडौं
फाइल तस्बिर: उमेश सापकाेटा (माथि), उज्जवल सुन्दास (तल)

दलित समुदायको हक, हित र अधिकारको क्षेत्रमा काम गर्दै आएको समता फाउण्डेसन यतिबेला आन्तरिक विवादको दलदलमा फसेको छ। संस्थाका पूर्वअध्यक्ष प्रदीप परियारको नियुक्तिदेखि सुरु भएको विवाद जिल्ला, उच्च हुँदै सर्वाेच्च अदालतसम्म पुगेको छ।

संस्थाका कार्य समिति सदस्य सरिता परियार र डा. सुमित्रा मानन्धर गुरुङले प्रदीपको नियुक्ति त्रृटिपूर्ण रहेको र उनको नियुक्तिपछि संस्थामा विभेदपूर्ण अराजकता निम्तिएको आरोपसहित अदालतमा मुद्दा दायर गरेका छन्।

उक्त मुद्दामा सर्वोच्च अदालतले अल्पकालिन अन्तरकालिन आदेश र ललितपुर जिल्ला अदालतले प्रदीप परियारलाई संस्थाको सदस्यसमेत नरहने गरी अन्तरिम आदेश जारी गरेको छ।

बिएल नेपाली सेवाले प्राप्त गरेको र अदालतहरूमा पुगेको फाइलअनुसार प्रदीप परियारलाई संस्थाको कार्य समिति बैठकले ‘कार्यवाहक अध्यक्ष’मा नियुक्ति गरेको थियो। तर, प्रदीपले उक्त शब्दलाई केरमेट गरेर ‘कार्यकारी अध्यक्ष’ बनाएका छन्।

तर, उक्त कुरा सत्य नभएको र सरिता परियार पक्षले नेतृत्व हत्याउनको लागि झुट्टा विवरणहरू पेश गरेको दाबी गर्दै आएका छन्। यद्यपि, संस्थामा प्रदीप र उनको पक्षले शंकास्पद गतिविधि गरेको पाइएको छ।

पूर्वकार्यालय सहयोगी (चौकीदार) विक्रम शाहले फाउण्डेसनले आफूमाथि अमानवीय व्यवहार गरेको गुनासोसहित लेखेको पत्र बिएल नेपाली सेवाले प्राप्त गरेको छ।

शाह उनै व्यक्ति हुन्, जो एमबिबिएस पढ्ने सपना बोकेर काठमाडौँ आएका थिए। तर, आर्थिक अवस्था कमजोर भएका करण एमबिबिएस पढ्ने सपना थाँती राखेर बिएस्सीमा भर्ना भएका थिए। त्यही क्रममा काठमाडौँमा जागिर र बस्ने बाससमेत नभएका उनलाई तत्कालीन अध्यक्ष प्रदीप परियारले फाउण्डेसनको कार्यालयमा नै बस्ने गरी चौकीदारको काम दिए लगाएका थिए।

विज्ञान विषय पढिरहेका शाहलाई प्रदीपले सुरुमा प्रशिक्षार्थीको रुपमा काम दिने अश्वासन दिएका थिए तर पछि कार्यालयको रेखदेख गर्ने, पानी भर्ने, सरसफाइ गर्ने तथा बिजुली बत्तीहरू बाल्ने/निभाउने गरी २०७८ फागुन २ गते सम्झौतापत्रमा हस्ताक्षर गराए।

त्यसपछि शाहले कार्यालयले दिएको जिम्मेवारीअनुसार बिहान कलेज जाने र दिउँसो कार्यालयमा काम गर्दै आइरहेका थिए। त्यही क्रममा २०७९ चैत २ गते फाण्डेसनको वार्षिक साधारणसभापछि उत्पन्न विवादले शाहलाई जागिरविहीन मात्रै बनाएन, संस्थाकै कर्मचारीबाट सोच्दै नसोचेको व्यवहार सहन बाध्य बनायो।

‘कुरा यही मिति २०८० जेठ ०४ गतेको हो, मलाई उमेश सरको कार्यकक्षमा बोलाइयो, जहाँ उमेश सर र उज्जवल सर हुनुहुन्थ्यो र सुरुमा बसाइँ के छ ? कसो छ ? भन्दै सामान्य कुरा सोधियो मैले नि राम्रो रहेको बताए। पछि बिस्तारै प्रश्नहरू अकल्पनीय रुपमै भिन्न–भिन्न आउन थाल्यो। भाइ तपाईं कोमार्फत् आउनु भएको हो ? कसले रिकमेण्ड गरेको ? प्रश्न हुँदै पछि त हाम्लाई तपाईंको बारेमा थाहा थिएन, पूर्वअध्यक्षले लौन केही गरौँ भनेर मात्रै हो अब पूर्वअध्यक्ष नै हुनुहुन्न भाइ तपाईंले जतिसक्दो चाँडो हप्ता– १० दिन भित्र बाहिर कोठा खोज्नुस् र जानुस् भन्नु भयो,’ कार्यालय छोड्दा शाहले लेखेको पत्रमा उल्लेख छ।

आफ्नो पढाइ सकिन एक वर्ष मात्रै बाँकी रहेको र त्यसपछि स्वतः कामबाट बिदा हुने बताए पनि कार्यालयले आफूमाथि थप लाञ्छना लगाएको शाहले गुनासो गरेका छन्। ‘...उहाँहरूबाट मैले अफिसमा जो पायो तेही मान्छेलाई बोलाएर नुहाउन दिएको, अफिसको गोप्य कागजत बाहिर सप्लाइ गरेको जस्ता आरोप लगाउनुभयो,’ शाहले पत्रमा उल्लेख गरेका छन्।

उनले आफूले कार्यालयको काम राम्रो गर्दा गर्दै ‘तँ यो पक्षको, तँ ऊ पक्षको’ भन्दै आरोप र त्यस्ता आरोपले आफ्नो चित्त दुखेको बताएका छन्। ‘संस्था हो कर्मचारी मन नपरे उठ्, हिँड, जाऊ, निस्क भन्न त पाइन्छ तर यसरी गर्दै नगरेको झुट्टा आरोपहरू लगाउनु राम्रो होइन्,’ उनले भनेका छन्। उनले आफ्नो जीवनमा न्यायको लागि काम गरिरहेका संस्थाहरूले कसरी अन्याय गरिरहेका छन् भन्ने कुरा प्रत्यक्ष भोगेको बताएका छन्।

आफूमाथि गम्भीर आरोप लागेपछि शाह समता फाउण्डेसनबाट बाहिरिएका छन्। हाल उनले बिएस्सी तेस्रो वर्षको परीक्षाको तयारी गरिरहेका छन्।

यसरी संस्थामा राम्रो काम गरिरहेका ब्यक्तिलाई विभिन्न आरोप लगाएर कामबाट निकाल्नु आफैंमा अमानवीय व्यवहार भएको त्यसमाथि संस्थाका गलत काम कारबाहीहरू बाहिरिने डरले शाहलाई कामबाट निकालिएको संस्था एक कर्मचारी बताउँछन्।

त्यसो त अहिले पूर्वअध्यक्ष प्रदीप परियारमाथि तीन तहका अदालतमा मुद्दा चलेको छ। उनले विगतमा गलत कार्य गरेको र ती गलत कार्य बाहिर नजाउन् भन्ने उद्देश्यले प्रदीप पक्षका व्यक्तिहरूले विपक्षी कर्मचारीहरूलाई निकाल्ने गरेको पाइएको छ।

समता फाउण्डेसनभित्र असमानताको पराकाष्ठ

प्रकाशित मिति: : 2023-07-10 21:50:00

प्रतिकृया दिनुहोस्