समता फाउण्डेसन भाग– १

समता फाउण्डेसनभित्र असमानताको पराकाष्ठ

कमल प्रभात

काठमाडौं

सामाजिक न्यायको क्षेत्रमा काम गर्दै आएको ‘समता फाउन्डेसन’का पूर्वअध्यक्ष प्रदीप परियारमाथि गम्भीर आरोप लागेको छ। सन् २००९ मा स्थापना भएको फाउन्डेसनका संस्थापक अध्यक्ष पदम सुन्दास बहराइनका लागि नेपाली राजदूत बन्ने भएपछि नेतृत्वमा आएका प्रदीपले अवैधानिक रुपमा फाउन्डेसन कब्जा गरी संस्थाको उद्देश्यविपरीत कार्य गरेको आरोप लागेको हो।

फाउन्डेसनको सञ्चालक समिति सदस्य सरिता परियार र डा.सुमित्रा मानन्धर गुरुङले प्रदीपमाथि यस्तो आरोप लगाएका छन्। उनीहरुकाअनुसार सुन्दास राजदूत भएर बहराइन जाने भएपछि साधारण सदस्यसमेत नरहेका प्रदीपलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो। तर, प्रदीपले फाउन्डेसनका केही सदस्यहरुसँग मिलेर माइन्युट किर्ते गरी आफूलाई ‘कार्यवाहक अध्यक्ष’बाट ‘कार्यकारी अध्यक्ष’बनाएर आफूअनुकल गतिविधि गरेका थिए।

त्यसो त त्यतिबेला सञ्चालक समितिहरुबाट सरितालाई अध्यक्ष पदको जिम्मेवारी सम्हान अनुरोध गरिएको थियो तर उनले आफू संस्थामा नयाँ भएको, श्रीमानकाे निधन भएकाे र बच्चा सानाे भएकाेले जिम्मेवारी लिन अस्वीकार गरेकी थिइन्। ‘पदम सरले त्यतिबेला मलाई अध्यक्ष बन्नुपर्छ भन्नु भएको थियो तर त्यतिबेला त्यो जिम्मेवारी सम्हाल्ने अवस्थामा थिएनँ म, त्यसैले मैले पदम सरलाई भनेँ ‘अंकल अहिले मेरो बच्चा सानो छ। पढाइ पनि बाँकी छ अहिले अध्यक्ष बन्दिनँ’ अनि म अध्यक्ष बनिन्ँ,’ सरिताले बिएल नेपाली सेवासँग भनिन्।

सरिता फाउन्डेसनका संस्थापक सुवास दर्नालकी श्रीमती हुन्। सुवासको समता फाउन्डेसन खुलेको दुई वर्षपछि सन् २०११ अगस्टमा संस्थाकै कामकाे लागि अमेरिका गएका बेला उतै सवारी दुर्घनामा परेर निधन भएको थियो। उनै सुवासकाे अगुवाइमा समता फाउन्डेसन खडा भएकाे हाे।

श्रीमानको निधनपछि विक्षिप्त बनेकी सरिताले त्यतिबेला आफ्नो अवस्था र भविष्यको चिन्ता गर्दै अन्य सदस्यको भरोसा गरेर अध्यक्षकाे जिम्मेवारी सम्हान चाहिनन्। ‘त्यतिबेला मलाई फाउन्डेसनबारे जानकारी दिएन्। श्रीमान बितेको चौँथो दिनमा फाउन्डेसनमा जोडिएकी थिएँ, अरु दाइहरुले जे–जे भन्नुभयो उहाँहरुको भरोसामा मान्दै गइयो। तर, मेरो विश्वास र धैर्यतामाथि घात भयाे,’ सरिताले भनिन्।

प्रदीपले सन् २०१७ को मे महिनादेखि फाउन्डेसनको जिम्मेवारी सम्हालेका थिए, जतिबेला उनी साधारण सदस्यसमेत थिएन्। साधारण सदस्यसमेत नरहेका व्यक्तिलाई अध्यक्षकाे जिम्मेवारी दिन नमिल्ने भए पनि आफन्त पर्ने सुन्दासले प्रदीपलाई नेतृत्व सुम्पिएर बहरानइन गएका थिए। त्यसपछि प्रदीपले सञ्चालक समितिका सदस्यहरुकाे कुरा नसुनी सुन्दासकाे उत्तराधिकारीकाे रुपमा काम गर्न थालेका थिए।

त्यसपश्चत फाउन्डेसनको नेतृत्वमा पुगेका प्रदीपले संस्थाका सदस्यहरुलाई झुक्याएर आफूलाई आर्थिक लाभ हुने गरी गतिविधि गरेकाे भन्दै उनीविरुद्ध ललितपुर जिल्ला अदालतमा उजुरी परेको छ। फाउन्डेसनकै सञ्चालक समिति सदस्य डा.सुमित्रा मानन्धर गुरुङले दायर गरेको उजुरीमा पेश गरिएको माइन्युटको प्रतिलिपिमा कार्यवाहक शब्दमा केरमेट गरिएको स्पष्ट देखिन्छ।

प्रदीपले भने माइन्युट लेख्दा भुलवश केरमेट भएको वा अशुद्ध अक्षर भएको हुन सक्ने दाबी गर्छन्। ‘त्यो त माइन्युट लेख्दा समस्या भएको होला, त्यस्तो केही होइन ममाथि लागेका आरोप झुट्टा हुन्,’ प्रदीपले बिएल नेपाली सेवासँग भने।

त्यस्तै तत्कालीन अध्यक्षसमेत रहेका बहराइनका लागि पूर्वनेपाली राजदूत पदम सुन्दासले प्रदीपलाई कार्यकारी अध्यक्ष नै बनाएको स्वीकार गरे। ‘तपाईंको अध्यक्षतामा बसेको बैठकले प्रदीपजीलाई कार्यकारी अध्यक्ष बनाएको हो ?’ भन्ने बिएल नेपाली सेवाको प्रश्नमा सुन्दासले भने,‘हो, कार्यकारी नै बनाएको हो।’

त्यसलगत्तै बिएल नेपाली सेवाले सोधेको प्रश्नमा उनी अक्मक्किए। ‘माइन्युटमा त केरमेमेट गरिएकाे छ नि ?’ भन्ने प्रश्नमा उनले भने, ‘त्यसमा हस्ताक्षर होला बाँकी अहिले थाहा भएन।’

नातावाद र कृपावाद हावी

समता फाउन्डेसन विशेषगरी दलित समुदायको हक अधिकारीको लागि काम गर्ने अर्थात् सामाजिक समानता र सुशासनको लागि काम गर्ने संस्था हो। तर, सुरुवातमै अवैध बाटाे हुँदै नेतृत्वमा आएका प्रदीपले आफ्नाे कार्यकालमा अनेकाैँ गतिविधि गरी दलित समुदायकाे नाममा व्यक्तिगत लाभ लिन खाेजेकाे तथ्याहरु फेला परेका छन्।

प्रदीप नेतृत्वमा आएपछि फाउन्डेसनका गतिविधिहरु आफू अनुकुल हुने गरी काम गर्ने, फाउन्डेसनको कार्य क्षेत्रभन्दा बाहिर गएर टेलिभिजनहरुमा खर्चिला कार्यक्रमहरु चलाउने, गाउँ–गाउँ पुगेर चलाउनु पर्ने अभियानहरु काठमाडाैँका हाेटेलमा गर्ने, फाउन्डेसनको विधिविधानविपरीत संस्थामा आफ्ना मानिसहरु भर्ती गरेकाे आरोप प्रदीपमाथि लागेको छ।

सन् २००९ मा समता फाउन्डेसन स्थापना हुँदा सुवास दर्नाल, पदम सुन्दास, सुमित्रा मानन्धर गुरुङ, मदन परियार र ठाकुर ढकाल गरी सञ्चालक समितिमा पाँच जना व्यक्तिहरु थिए। त्यतिबेला नै पाँच जना सञ्चालक समिति रहने व्यवस्था गरिएकाे थियाे तर साधारण सदस्यसमेत नरहँदै अध्यक्षकाे जिम्मेवारी सम्हालेका प्रदीपले आफूलाई फाइदा पुग्ने गरी सञ्चालक समितिमा तीन जनाकाे नाम थप गरी ८ सदस्यीय सञ्चालक समिति बनाए।

‘त्यतिबेला पाँच जनामध्ये हामीहरु (सरिता, सुमित्रा र ठाकुर ढकाल)ले संस्थालाई विधिविधानअनुसार सञ्चालन गर्नुपर्छ भन्ने कुरा उठाउँदै आएका थियौँ तर उहाँहरु दुई जनाले बहुमत सदस्यको कुरा नसुनेर मानार्थ सदस्यलाई समेत भोटिङ राइट (मतदानकाे अधिकार) दिएर सञ्चालक समिति सदस्यहरुको संख्या ८ पुर्‍याउनुभयो,’ सरिताले भनिन्।

त्यसो त फाउन्डेसनका पाँचमध्ये तीन सदस्यहरु (सरिता, सुमित्रा र ठाकुर)ले सञ्चाक समितिमा लिङ्ग र क्षेत्रका आधारमा मानिसहरु राखिनु पर्ने कुरा उठाएका थिए तर परियारले आफूअनुकुल निर्णय गर्न सक्ने गरी सबै परियार थरका व्यक्तिलाई मात्रै सञ्चालक समितिमा राखेका छन्।

हाल ८ सदस्सीय सञ्चालक समितिमा सरिता परियार, डा. मदन परियार (अध्यक्ष), डा. सुमित्रा मानन्धर गुरुङ, प्रदीप परियार, राजकुमार त्रिखत्री परियार, गोविन्द परियार र पदम सुन्दास रहेका छन्। यीमध्ये तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकारसमेत रहेका गोविन्द परियार, प्रदीप परियार (यसअघि उनी साधारण सदस्यसमेत नहुँदै अध्यक्ष बनेकाले) र राजकुमार त्रिखत्री परियार नयाँ हुन्।

त्यस्तै प्रदीपले समता फाउन्डेसनमा काम गर्ने कर्मचारीहरुमध्ये अधिकांश परियार थर गरेका मानिस मात्रै राखेका छन्। जसमा धेरै त प्रदीप र सुन्दासका आफन्त हुन्।

अवैध साधारणसभाबाट मदन परियारलाई नेतृत्व हस्तान्तरण

प्रदीप परियारकाे कार्यकाल २०८० साउन १४ गते सकिँदै थियो। प्रदीपपछि फाउन्डेसनको नेतृत्वमा समावेशी हुने गरी महिला आउनुपर्छ भन्ने आवाज उठिरहेको थियो। त्यसमाथि पनि संस्थाको पुरानो सदस्य भएका कारण सुमित्रालाई अध्यक्षको जिम्मेवारी दिनुपर्छ भन्ने कुरा उठेको थियो। त्यसो हुन नसके अनुभव र कार्यकुशलताका आधारमा सरिता परियारले फाउन्डेसनको नेतृत्व पाउने निश्चित थियो। तर, ती दुबै महिलालाई रोक्ने योजना बनाएका प्रदीपले आफ्नो कार्यकाल सकिनुभन्दा पाँच महिना अगाडि नै राजीनामा दिएर डा. मदन परियारलाई अवैध साधारणसभामार्फत् अध्यक्ष पद हस्तान्तरण गरे।

गत चैत १ गते भएको साधारणसभाले तत्कालीन अध्यक्ष प्रदीप परियारको राजीनामा स्वीकृत गरेर डा.मदन परियारलाई अध्यक्षको जिम्मेवारी दियो। तर, फाउन्डेसनको सञ्चालक समितिमै नरहेका एक सदस्य (प्रदीप)ले कार्यकारी अध्यक्षलाई सञ्चालक समितिको बैठक राख्न आदेश दिने, बोर्डमा हस्तक्षेप गर्ने र अनधिकृतरुपमा स्पष्टिकरण माग्ने गरेकोजस्ता गतिविधि भएको गुरुङ र परियारको आरोप छ।

त्यतिबेला अवैधानिक रुपमा साधारणसभा बोलाइएको र नवगठित सदस्यको बलमा मदन परियारलाई अध्यक्ष बनाइएकाेप्रति सरिता र सुमित्राकाे आपत्ति छ। प्रदीपले मदनलाई अध्यक्ष बनाउनकै लागि साधारणसभाको ठिक एक महिनाअघि फागुन १ गते मानार्थ सदस्यहरुलाई समेत भाेट गर्ने अधिकार दिएर आफू, गोविन्द परियार र राजकुमार त्रिखत्री परियार सञ्चालक समितिमा राखेर ८ सदस्ययी सञ्चालक समिति बनाउने प्रपन्च रचेका थिए। त्यसपछि फाउन्डेसनमा विवाद उत्पान्न भएकाे थियाे।

यद्यपि, प्रदीप परियारले सरिता परियार अध्यक्ष बन्न चाहेको तर बन्न नपाएपछि पुराना कुरा बाहिर ल्याएकाे आराेप लगाएका छन्। उनले सरिता केही महिनापछि अध्ययनकाे लागि अमेरिका जान लागेकाेले अध्यक्ष बन्नबाट राेकेकाे तर्क गर्छन्। ‘हामीले त उहाँलाई अध्यक्ष बनाउने सोचेका थियौँ तर उहाँले अध्ययनको लागि केही समय अमेरिका जाने बताएकोले अध्यक्ष पद दिन सकिएन्। त्यसमाथि उहाँले अशोक गुरुङलाई सिइओ बनाउने भन्नुभएको थियो, गैरदलितमा जिम्मेवारी नजाहोस् भनेर हामीले सरिताको सट्टा मदन परियारलाई जिम्मेवारी दिएको हो,’ प्रदीपले बिएल नेपाली सेवासँग भने।

सरिताले भने आफूले फाउन्डेसन नेतृत्व पाउनुपर्छ भनेर दाबी नगरेकाे तर लैङ्गिक समानता, सुशासन हुनुपर्छ भन्ने माग राेखेकाे बताइन्। ‘मदन दाइप्रति त मेरो सम्मान छ। तर, मेरो कुरा के हो भने समानताको लागि लडिरहेको हाम्रो संस्थामा पनि समानता हुनुपर्छ भन्ने हो तर यहाँ महिला भएकै कारण नेतृत्व दिएन। ५ महिना अगाडि नै गलत प्रपन्च रचेर साधारणसभा गरियाे। त्यति मात्रै होइन, उहाँहरुले समता फाउन्डेसन परियार थरकोले मात्रै चलाउनुपर्छ भन्ने मान्यता राख्नुभयाे। सामाजिक न्यायको लागि लडिरहेका हामीमाथि नै विभेद र अन्याय भयाे,’ सरिताले भनिन्।


त्यस्तै प्रदीप परियारले दलित समुदायको नाममा आएको पैसामा व्यक्तिगत लाभ लिने गरी काम गरेको, सरकारी कागजपत्रमा आफ्नो तलब ७५ हजार मात्रै देखाउने तर फाउन्डेसनबाट मासिक ३ लाख लिने गरेको र जस्ट फ्युचर इनिसियटिभ (जेएफआई) कार्यक्रम अन्तर्गतको करिब ८ करोड रकम रोकेर कार्यक्रम अस्तव्यस्त बनाएकाेलगायत तथ्यहरु फेला परेका छन्, जुन अर्को भागमा प्रकाशन गरिनेछ।


दलितको नाममा प्रदीपको मनोमानी, हस्ताक्षर किर्ते गरेकाे भन्दै अदालतमा उजुरी दायर

प्रकाशित मिति: : 2023-06-26 07:50:00

प्रतिकृया दिनुहोस्