फलोअप:

बलात्कारका अभियुक्त कर्णालीका कृषिमन्त्री सरकारी गाडीमा झण्डा हल्लाउँदै सरर…

Breaknlinks
Breaknlinks

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीको 'बलात्कार काण्ड' फेरि चर्किएको छ। बलात्कृत महिला स्वयंले मन्त्री शाहीबाट आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै सार्वजनिक रुपमै बताइसके पनि मन्त्री शाही सरकारी गाडीमा झण्डा हल्लाउँदै सवार भइरहेका छन्।

मन्त्री शाहीले आफ्ना तत्कालीन स्वकीय सचिवकी श्रीमतीलाई यौन दुर्व्यवहार गरेको समाचार सार्वजनिक भएको डेढ महिना नाघिसकेको छ। गत भदौ ६ गते उक्त घटना प्रकाशित भएको थियो। त्यसलगत्तै भिडियोसमेत सार्वजनिक भएको थियो। 

उक्त घटनापछि पनि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उनलाई पदमुक्त नगरी संरक्षण दिएपछि उनी मन्त्री पदमै बहाल छन्। त्यसबेला तातेको माहोल सेलाए पनि हाल आएर मन्त्रीको बलात्कार काण्ड फेरि चुलिएको छ।

सार्वजनिक भिडियोमा मन्त्री शाही पीडित महिलाको कोठाभित्र पसेको दृश्य प्रष्ट देखिन्छ। बत्ती निभाइएको हुनाले बलात्कारको दृश्य धमिलो छ। प्रहरीको सम्पर्कमा पुगेका पीडितहरुले उक्त भिडियो २०७६ माघतिरको भएको बताएका छन्।

त्यसबेला मन्त्री शाही प्रदेशसभा सदस्य मात्रै थिए।भिडियो सार्वजनिक भएर घटना प्रहरीसम्म पुग्दा हदम्याद नाघिसकेको थियो। घटना प्रहरीसमक्ष ढिलो गरी पुग्नुमा पीडितहरुले तत्कालीन सांसद् एवम् हालका मन्त्री शाहीसँग 'रकम बार्गेनिङ' गरेको कुरा मन्त्री आफैँले बारम्बार भन्दै आएका छन्। 

घटना सतहमा आएर विरोध हुन थालेपछि मन्त्री शाही आफैँले पत्रकार सम्मेलन गरेर ढोकाबाट भित्र छिर्ने आफू भए पनि बलात्कार गर्ने आफू नभएको बताएका थिए। पत्रकार सम्मेलनमा उनले भने, 'कोठामा छिरेको देखिने व्यक्ति मै हुँ तर केटीसँग त्यसपछि भएका कार्यहरु सत्य होइनन्।'

पत्रकार सम्मेलनमा मन्त्री शाहीले केटीसँग आफ्नो कुनै परिचय नभएको भनी झूटो बोले भने भिडियो पूर्ण रुपमा सम्पादन गरेर सार्वजनिक गरिएको दाबी समेत गरे। 'मलाई भिडियोबारे थाहै थिएन्। एक्कासी भाइरल बनेपछि मात्रै थाहा पाएँ। भिडियो काइनमाष्टरमा एडिट गरेर राखिएको हो। कोठामा गएको सत्य हो। त्यसपछि कुनै अनैतिक कार्यहरु भएका छैनन्,' उनले भने।

सँगै उनले आफूले 'फ्लोर क्रस' गरेको झोकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले भिडियो बनाउन लगाएको आरोपसमेत लगाए। उनले यो पनि भने, 'भिडियो बनाउनुमा मुख्य भूमिका कँडेलकै छ।'

उनले पत्रकार सम्मेलनमा केटीलाई नचिनेको भने पनि पीडितसँगको निकटताको विषयमा बोल्दा बेला–बेला चिप्लिएका छन्। उनले आफूनिकटस्थ र अरू व्यक्तिहरुसँगको अनौपचारिक कुराकानीमा भने छ महिना एकै कोठामा बसेकाले यौनसम्पर्कका लागि बलात्कार नै जरुरी नभएको समेत बताएका छन्। यसो भनेको भिडियो पनि सञ्चारमाध्यममा बजिसकेको छ।

पत्रकारसँगको भेटघाटमा र उनका स्वकीय सचिव नन्दकेश अधिकारी समेतले बोल्दा पीडित महिलासँग उनी छ महिनासँगै बसेको बताएका छन्। उनले भनेका छन्, 'एउटै कोठामा छ महिना सँगै बसेको हो। उसको जीउमा कतिबेला धाप मार्ने काम पनि गर्थे तर बलात्कार गरेको होइन। छ महिना सँगै बसेकोलाई फकाएर शारीरिक सम्पर्क गर्न सकिन्छ। बलात्कार गर्नु पर्दैन।'

पीडित महिलाका अनुसार मन्त्रीका स्वकीय सचिवले छलफलका लागि बोलाएका छन् भन्दै रातितिर गाडीमा राखेर मन्त्रीका काकाका छोराले लगेका थिए। उनीहरु सुर्खेतको छिन्चुबजार पुगेर एक होटलमा मदिरापानसहित छलफलमा जुटेका थिए। फर्केर आउँदा भेरीको पुलमा विवाद भयो। उक्त विवाद पारिवारिक नै थियो। 

घटना विवरण अनुसार छिन्चुमा लेनदेनको विषय नमिलेपछि उनीहरु वीरेन्द्रनगर फर्किएका थिए। वीरेन्द्रनगर फर्किने क्रममा स्वकीय सचिव र शाहीले पीडित महिलाका पतिलाई राति साढे १२ बजेतिर कुटपिट गरेका थिए।

प्रहरीले साढे १ बजेतिर युवकको उद्दार गरेको थियो। यसरी एक पछि अर्को चरण पार गर्दै घटना सार्वजनिक हुने स्थितिमा पुग्यो।

मन्त्रीले लेनदेनमा कुरा नमिलेपछि घटना सार्वजनिक गरिएको बताइसकेका छन्। उनले सांसद भएका बेला स्वकीय सचिव राखेको र त्यसबेला आर्थिक हिनामिना गरेका कारण स्वकीय सचिवबाट हटाएको आरोप लगाएका छन्।

रिसमा श्रीमतीसँगको कृत्रिम भिडियो बनाएर धम्की दिइरहेको उनको दाबी छ। 'यो बारम्बारको बार्गेनिङ हो। ऊसँग दुई वर्षअगाडिदेखि बोलचाल बन्द छ,' उनले भने, 'विभिन्न योजना हालिदिनका लागि बारम्बार मलाई दबाब पनि दिएको छ।'

सुरुमा समाचार लेख्ने नागरिक दैनिकका पत्रकार नगेन्द्र न्यौपानेले मन्त्री निकट स्रोतबाटै बार्गेनिङ चलिरहेको कुरा बाहिर आइसकेको अवस्थामा पीडित होष्टाइल हुँदा पनि घटना अगाडि बढ्न नसकेको बताए। उनले भने, 'बीचमा लेनदेनको मिलाएकाले पनि पीडितले ममाथि अपराध भएको छैन भनेको हुनुपर्छ। नत्र भिडियो र हालसम्मका रेकर्ड रहरुले मन्त्रीमाथि लागेको आरोप सत्यताको नजिक भएको प्रष्ट छ।'

यसै मौकाको फाइदा उठाउँदै मन्त्री शाहीले जवाफ दिए, 'कोठामा जाउँला, बाटोमा हिडुँला ड्रेस मिल्यो भन्दैमा आरोप लगाउन पाइँदैन। पीडित युवतीले नै म बलात्कार भएको होइन भनिसक्दा पनि फण्डा मच्चाउनु राम्रो हैन।'

संसदीय मर्यादा अनुसार मन्त्रीलाई संगिन आरोप लाग्दा नैतिकताको आधारमा राजीनामा दिनुपर्ने एक मन्त्रीले नाम नखुलाउने शर्तमा बताए। सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने पीडित महिला न्याय माग्दै आएमा आरोपित मन्त्रीलाई सरकारले संरक्षण नगर्ने बताए।

'मिडियाले आरोप लगाउँदैमा तत्काल 'एक्सन'मा जानुपर्ने बाध्यतामा सरकार छैन,' मुख्यमन्त्री शाहीले भने, 'पीडित महिलाले ममाथि अन्याय भएकै हो भनेर आएपछि सरकारले अपराधीलाई  संरक्षण गर्दैन।'

बलात्कार आरोपी मन्त्री शाहीविरुद्ध राजनीतिक तवरबाट विरोधका कार्यक्रम हुँदा समेत संसदीय मर्यादा र नैतिकताको हुर्मत लिँदै उनी भने निर्धक्क सरकारी गाडीमा झण्डा हल्लाउँदै हिँडिरहेका छन्।


कर्णालीका कृषि मन्त्री शाहीकाे बलात्कार काण्ड: पत्रकारको कलमलाई खुकुरीकाे चुनाैती

प्रकाशित मिति: : 2021-10-07 07:41:00

प्रतिकृया दिनुहोस्