बर्षेनी हजारौं नेपालीहरू रमाउन जाने ‘थाइल्यान्ड’ मै कसरी बेचिन्छन् नेपाली युवा? गरिब र बेरोजगार युवालाई अनलाइन ‘स्क्याम’का लागि कसरी पुर्याइन्छ बैंकक? ‘चिनियां बदमास’हरूले नेपाली युवालाई कसरी थाप्छन् प्रलोभनको पासो? मानव-तस्करी र साइबर ठगीको जालोमा कसरी जेलिंदैछ- नेपाल? आज हामी प्रस्तुत गर्दैछौं- मानव बेचबिखनको डरलाग्दो ‘ग्राफ’।
०००
दक्षिणपूर्वी एयिाली देश थाइल्यान्डसँगसीमा जोडिएका- म्यान्मार, कम्बोडिया र लाओसमा आकर्षक रोजगारीको लोभमा दिनदिनै ठगिएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको कहालीलाग्दो कथा हो।
साइबर ठगी र मानव तस्करीको अन्तर्राष्ट्रिय केन्द्र बनेको छ- थाइल्यान्ड। यहीँ थाइल्यान्डको राजधानी बैंककको बाटो हुंदै म्यान्मार, कम्बोडिया र लाओसका सीमावर्ती इलाकाहरूमा नेपाललगायत अन्य देशका हजारौं युवा बन्धक छन्। मानव-तस्करले त्यहाँ पुर्याएका ती युवालाई चिनियां र थाई नागरिकले यातना दिई साइबर अपराध गर्न बाध्य पार्छन्।
आकर्षक रोजगारीको प्रलोभन देखाएर त्यहाँ पुर्याइएका हजारौं युवाहरू शारिरीक यातना संगसंगै ठगीको शिकार पनि भएका छन्। त्यस्तै, वार्षिक अरबौं डलरभन्दा बढीको ठगी हुने गरेको यो धन्दाले दैनिक करोडौं डलरको नोक्सानी पुर्याइरहेको छ।
म्यान्मार, कम्बोडिया र लाओसमा सयौं नेपालीहरू ठगी परेका छन्। जसमध्ये केहीलाई थाइल्यान्डको सरकारले उद्धार गरेको छ। कतिपय उल्टै चर्को रकम तिरेर फर्किरहेका छन्, केही भने अझैपनि बन्धक नै बनाइएका छन्। तर, पीडितहरूले थाइल्यान्डस्थित नेपाली दूतावास र म्यान्मारस्थित नेपाली दूतावासले आफूहरूलाई उद्धारका लागि कुनैपनि सहयोग र पहल नगरेको गुनासो गरेका छन्।
कम्बोडियाको पोइपेट, नोम पेन्ह र बाभेट। म्यान्मारको म्यावडी, वाङ म्याङ्टम र टाइछीलेक। त्यस्तै, लाओसका विभिन्न भूमिगत क्षेत्रहरूमा खासगरी नेपाली, भारतीय, श्रीलंका, मलेसियनहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर ल्याइन्छ र पछि बन्धक बनाएर साइबर ठगीमा संलग्न गराइन्छ।
फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमार्फत नक्कली विज्ञापनहरू राखेर युवाहरूलाई फसाउने गरेको झापाका योगराज लिवाङले बताएका छन्। उनी आफैपनि म्यान्मारको वाङ म्याङ्टमबाट उम्किएका नेपाली युवा हुन्। मासिक ३ हजारदेखि ८ हजार डलरसम्मको तलबको लोभ देखाएर म्यान्मार, थाइल्यान्ड, कम्बोडियार लाओस पुर्याइएका युवाहरूलाई पछि नारकीय जीवन बिताउन बाध्य पारिन्छ। उनीहरूको राहदानी जफत गरिन्छ र परिवारसँगसम्पर्क गर्न समेत दिइंदैन।
ठगी केन्द्रहरू उच्च सुरक्षाका साथ बनाइएका हुन्छन्। १५-२० फिट अग्ला पर्खाल, कांडेतार र सयौं क्यामेराले घेरिएका यी केन्द्रहरूमा हातहतियारधारी सुरक्षागार्डहरूले २४ सै घण्टा पहरा दिन्छन्। भाग्ने प्रयास गर्नेहरूलाई कठोर यातना दिइन्छ। पिटाइ, बिजुलीको झड्का र पानीमा डुबाउनेसम्मका सजाय दिइन्छ।
कतिपय अवस्थामा त भाग्न खोज्नेहरूको मृत्यु समेत हुने गरेको पीडितहरूले बताएका छन्। भित्र फसेकाहरूलाई दिनको १५ घण्टाभन्दा बढी काम गर्न लगाइन्छ। उनीहरूलाई विभिन्न किसिमका अनलाइन ठगी गर्न दबाब दिइन्छ, जसमा लगानी ठगी, प्रेम सम्बन्धमा आधारित ठगी, र अन्य विभिन्न किसिमका साइबर अपराध समावेश छन्।
यहाँ ठगीका विभिन्न तरिकाहरू अपनाइन्छन्। नक्कली लगानी योजना र प्रेम सम्बन्धमा आधारित ठगी प्रमुख हुन्- लगानी ठगीमा क्रिप्टोकरेन्सी र स्टक मार्केटमा लगानी गर्ने प्रलोभन देखाइन्छ र पछि ठगी गरिन्छ। प्रेम सम्बन्धमा आधारित ठगीमा डेटिङ एप्समार्फत विश्वास जितेर ठगी गरिन्छ। यसबाहेक, उनीहरूलाई विभिन्न किसिमका एप्स र वेबसाइटहरु बनाएर ठगी गर्न पनि लगाइन्छ। कतिपयलाई त टेलिकम कम्पनीको कस्टमर केयरको रुपमा काम गर्न लगाएर ठगी गर्न लगाइन्छ।
पीडितहरूको अवस्था अत्यन्तै दयनीय छ। उनीहरूलाई शारीरिक र मानसिक रूपमा चरम यातना दिइन्छ। ७० प्रतिशत पीडितहरू मानसिक आघातबाट ग्रस्त छन् भने ६५ प्रतिशतमा डिप्रेशन देखिएको छ। उनीहरूलाई खान र बस्नको समेत राम्रो व्यवस्था हुंदैन।