जीवनका गांैडाहरुमा अप्रत्यासित रुपले झुल्किदिन्छन्– केही अनुहार। यसरी झुल्किने अनुहारमा कोही बसिदिन्छन् स्मृतिपटलमा सम्झनाको च्यादर ओढेर लामो समयसम्म। कोही एकछिन भेटिएर हराउँछन् सम्झनाबाट। चीरकालसम्म मान्छेको मनमस्तिष्कमा बस्न सफल व्यक्तिहरु पनि नजन्मेका हैनन् यो धर्तीमा।
सृष्टिको चक्र चलिरहन्छ। यही चक्रमा उदाउँदै गर्छन् कति जना अनि अस्ताउँदै जान्छन् कति। मानव चोला दुई दिनको पाहुना न हो। धर्तीरुपी धर्मशालामा विश्राम लिन्छन् र जान्छन्, आलोपालो सबै जना। विश्राम लिनुअघि नै भ्याइसक्छन्, आआफ्नो मनले सोचेको कर्मले डोर्याएको गोरेटोको यात्रा।
यही धर्मशालामा भेटिन्छन्– कहिलेकाहीँ क्याप्टेन सविन लामाजस्ता हसमुख मिलनसार मनहरु। जो आइदिन्छन् बेलाबखत सम्झनामा। रामेछापमा जन्मेका लामासँग मुलाकात भयो, यसपल्ट खप्तड यात्राका क्रममा।
दीपक खड्काले आयोजना गरेको हेली टुर प्याकेज अन्तर्गत हामीलाई खप्तड पुर्याउने क्याप्टेन थिए, शैलेन्द्र बस्नेत। जो सुविनका पनि गुरु हुन्। नेपालका सबै जिल्लामा हेलिकप्टर उडाइसकेका चालक बस्नेतले ७ हजार घण्टा उडाइसकेका छन् हेलिकप्टर। पहिलो दिन आफुसँगै लगेका थिए तिनले क्याप्टेन लामालाई खप्तड। त्यसपछि दोस्रो दिनदेखि चार दिनसम्म निरन्तर रुपमा दैनिक तीनचार पल्ट पर्यटक बोकेर खप्तडमा पुगिरहे सबिन।
खप्तडमा पहिलोपल्ट माउन्टेन हेलिकप्टर अवतरण गरेका सबिन हेर्दै थिए त्रिवेणीमा पानी जमेर आइस बनेको दृश्य। उनी नियालीरहेका थिए त्यहाँका मन्दिरहरु।एक विश्लेषक अनुसन्धानकर्ताको जस्तो उनको हेराइलाई भङ्ग गर्दै मैले प्रश्न सोधेको थिएँ– ‘क्याप्टेन साब, कस्तो लाग्यो खप्तड?’
मुसुक्क मुस्कुराउँदै उनलेसुनाएका थिए–‘जङ्गलको बीचमा यस्तो ठाउँ छ भन्ने थाहै थिएन। बहुत् आनन्द आयो– कचौरा जस्तो खप्तड देख्दा।’
सानो छँदा ब्रिटिश आर्मीमा भर्ना भई जागिर खाने रहर बोकेका लामाको इच्छा त्यतिखेर बदलियो, जतिखेर उनकी हजुरआमा बिमारी भइन्। उनले देखे– रामेछापको खलङ्गाबाट हेलिकप्टरले हजुरआमालाई रेस्क्यु गरेको दृश्य। उनलाई पाइलट बन्न प्रेरित गर्ने त्यही दृश्य थियो।
एसएलसीपछि विज्ञान विषयबाट प्लस–टु उत्तीर्ण गरी उनी फिलिपिन्स हिँडे जहाँ उनले एकवर्षे पाइलट कोर्स गरे। फिलिपिन्सबाट नेपाल फर्केर चार वर्ष बिताए, को–पाइलट बनेर। ‘किन चार वर्षसम्म को–पाइलट ?’, मैले कुराकानी सुरु गरेँ। खप्तडमा चिसो हावा चलिरहेको थियो। घाँटीमा बाँधेको रुमालले कान छोप्दै उनले सुनाएका थिए, ‘नेपालको भौगोलिक बनावटले गर्दा एकैचोटी दिँदैन। पहिले तराईमा उडाउन दिन्छ, त्यसपछि बिस्तारै लेवल हेरी छोड्छ। यहाँको मौसम र भूगोलको कारण अलि गाह्रो छ।’
अहिले कोभिड–१९ को कारण काठमाडौं उपत्यकाबाहिर दुर्गमतिर बढी उडाइरहेका छन् उनले हेलिकप्टर। बाहिर–बाहिर उडान गर्नुपर्दा केही दिन जिल्लातिरै बस्नुपर्ने भएकाले विगतका वर्षझै निरन्तर रुपमा परिवारसँग भेट हुन सकेको छैन।
पहिले दिनभरि उडान गरेर बेलुकी काठमाडौंमा परिवारसँगै बस्थे– क्याप्टेन लामा। यतिखेर फुर्सदको समय कुराकानी भइरहेको हुन्छ फोनमा। उनकी जीवनसाथी पूजा तामाङ नेपाली मूलकी इटालियन नागरिक हुन्, जो भिसा थप्दै बसिरहेकी छन् नेपालमा।
नेपालमै रमाउन खोज्ने लामा बाध्य छन्– श्रीमतीको भीसा थपिरहन। ‘इटालीको नागरिकता त्यागेर नेपाली नागरिकता लिन मिल्दैन र ?–मेरो जिज्ञाशा थियो। अलि भावुक भएर सुनाएका थिए उनले – ‘मिल्छ मिल्न त। भोलि छोराछोरीको भविष्यलाई मनन् गरेर त्याग्न सकेका छैनौं इटालिएन सिटिजन।’
देशमा राजनीति मात्रै छ। त्यो पनि फोहोरी राजनीति। विकासनिर्माणका काम ठप्प छन्। चौतर्फी विकृति बढिरहेको छ। घूसखोरी, गुण्डागर्दी र लुटपाट मच्चिरहन्छ दिनहुँ। ‘जनता जाय भाडमे’ भनेझैँ गरिरहन्छन् नेताहरु। अनि लामाजस्ता कैयौँ मान्छे बाध्य भइदिन्छन्, भविष्यको बारेमा सोच्नलाई।
‘नेपालमा हेलिकप्टर चालकको संख्या कति छ ?’, मैले पुनः प्रश्न तेस्र्याएको थिएँ। पर्यटकलाई घुम्न दिइएको आधि घण्टा समय पूरा भइसकेको थियो। खप्तडबाट पुनः दिपायल फर्किन हतारिएका उनले सुनाएका थिए– ‘जम्मा २४ जना मात्र छन्।’
यो क्षेत्रमा पाइलटहरु कम हुनाका कारण बुझ्दै जादा थाहा पाएँ, पहिलो नम्बरमा त यो कोर्स निकै महङ्गो छ। लामाले आफूले पढ्नेताका नै ८५ लाख रुपैयाँ खर्च गरेको बताए। यो कोर्स पढ्ने व्यवस्था नेपालमा छैन। हानिनुपर्छ विदेशतिरै। दोश्रो कारण हो रिस्की पेशा।
पाइलट लामाले बेलिबिस्तार लगाए– प्लेन ‘ल्याण्ड’ गर्न नसकिने ठाउँमा सजिलै अवतरण गर्न सकिने विमान हो– हेलिकप्टर। यो पेशा अपनाएपछि साह्रोगाह्रो पर्ने ठाउँमा पुग्नुपर्ने हुन्छ। बारीको कान्ला, बाटो दोबाटो उस्तै परे घरकै छतमा समेत ल्याण्ड गर्नुपर्ने हुन्छ। यसरी जताततै अवतरण गर्नुपर्दा सुरुमा निकै गाह्रो हुने कुरा सुनाए उनले।
१८ वर्षको उमेरमा पाइलट कोर्स पढ्न फिलिपिन्स पुगेका लामाले हेलिकप्टर उडाउन थालेको एक दशक नाघिसक्यो। उनी अहिले पनि भर्खर प्लस टु पढ्ने केटाझैं देखिन्छन्। इतिहास, धर्मग्रन्थ र पुरातत्वसम्बन्धी पुस्तक अध्ययन गर्न रुचाउने लामा हेलिकप्टर लिएरै कहिलेकाही रामेछाप पुग्छन्– आमाबुवा भेट्न। हेलिकप्टरमा उडाउँछन्, बेलाबखत आमाबुवालाई पनि।
हेलिकप्टर अवतरण हुन थाल्दा आकाशबाट लामाले हात हल्लाउँथे र त्रिवेणीबाट साइक्लिष्ट भरतविक्रम शाहले। जोडले कराउँथे शाह– ‘क्याप्टेन साप !’
म सम्झिन्थँे– मेरा बाल्यकालका दिनहरु। जतिबेला मलाई थाहा थिएन– हवाइजहाज र हेलिकप्टर भन्ने। आकाशमा उडेको देख्दा अग्लो ठाउँतिर गएर हेर्थेँ– चिलगाडी उड्यो भनेर। त्यसबेला सुदूरपश्चिमका आकाशमा उड्ने जहाजलाई त्यहाँ चिलगाडी भनिन्थ्यो। यदाकदा अहिले पनि चिलगाडी भनेको सुनिन्छ। त्यो उत्सुकता छुट्टै थियो। अचेल हवाइजहाज वा हेलिकप्टरमा यात्रा गर्दा सम्झिरहन्छु, विगतका ती दिनहरु।
त्रिवेणीमा कलिला घामका किरणसँगै चलाउँथे– लामाले साइकल। खिचिरहन्थे– शाहले फोटो। ती दुईजना बीचको दोस्ती छुट्टै थियो।
सरल र मिजासिला लामाको सादा जीवन र आत्मीयताले प्रभावित मलाई तुल्याइरह्यो।
परिहासमा त्यतिकै रमाउने लामाले खप्तडको आकाशमा हेलिकप्टर उडाइरहेको त्यो क्षण अनि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयछेउमा घाम ताप्दै आकाशतिर हेरेको र त्रिवेणीमा उनीसँग गरेको कुराकानी म सम्झिरहेको छु– यतिखेर काठमाडौं पुगेर। अनि सम्झिरहेको छ–ु खप्तडका तिनै प्रिय पाटनहरुलाई जो सदा मुस्कुराइरहन्छन्। अनि बनिदिन्छन् बेलामौकामा जीवनको एक सुन्दर आयाम। पहिलोपल्ट खप्तड पुगी खप्तडका पाटनसँग मुस्कान साटेर जाने ती स्वाभिमानी चालकको यात्रा सफल होस्। शुभकामना उनको उज्वल भविष्यका लागि !! फोटो सौजन्य : भरतविक्रम शाह