‘डीभी कार्यक्रम बन्द हुने हल्ला मात्रै हो, विद्यार्थीलाई पनि समस्या छैन’ (भिडियोसहित)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आप्रवासन नीति जारी गरेसँगै ट्रम्प प्रशासन गैरकानुनी आप्रवासीमाथि कठोर बनिरहेको छ।

अवैधानिक रुपमा बसोबास गर्दै आएका विदेशीहरूको सूची नै सार्वजनिक गर्दै धमाधम देश फिर्ता गर्ने अभियान थालेपछि संसारभर यतिबेला चासोको विषय बनेको छ।

यसैबीच ट्रम्प प्रशासनले ‘डाइभर्सिटी भिसा कार्यक्रम ‘डीभी चिठ्ठा’ बन्द गर्दैछ’ भन्ने चर्चा सुरु भएको छ। यसलाई बल पुग्ने गरी अमेरिकी कंग्रेसका रिपब्लिकन जनप्रतिनिधिहरूले चिठ्ठामार्फत् प्रदान गरिने डाइभर्सिटी भिसा कार्यक्रम बन्द गर्ने तयारी थालेका छन्।

जर्जिया राज्यबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन प्रतिनिधि माइक कोलिन्सले डीभी कार्यक्रम बन्द गर्ने विधेयक प्रस्ताव गरिसकेका छन्। अदृश्य कम्प्युटर कोडमा निर्भर भएर ५० हजार आप्रवासीलाई नागरिकता प्रदान गर्न नहुने बताएका छन्।

उनले प्रस्ताव गरेको ‘सेक्युरिटी एण्ड फेयरनेस इनह्यान्समेन्ट फर अमेरिका एक्ट २०२५’मा चिठ्ठा कार्यक्रम बन्द गर्ने र आप्रवासीको परिवारका सदस्यलाई ग्रिन कार्ड दिने बाटो पनि बन्द गर्ने प्रस्ताव गरिएको ‘मेनस्ट्रिट न्युज डटकम’ले उल्लेख गरेको छ।

डीभी खारेज गर्ने अधिकार राष्ट्रपतिलाई छैन- डिल्लीराज भट्ट, एटर्नी एट ल, न्यूयोर्क

तर, अमेरिकाको न्यूयोर्कमा रहेका एटर्नी डिल्लीराज भट्टले भने डीभी कार्यक्रम बन्द हुने भनेर आइरहेका समाचारमा सत्यता नभएको बताएका छन्।

बीएल नेपालीसँगको विशेष कुराकानीमा एटर्नी भट्टले डीभी चिठ्ठा कार्यक्रम रद्द गर्ने विषय राष्ट्रपतिको अधिकार क्षेत्रमा नपर्ने बताए। अमेरिकी कंग्रेसले पारित गरेर राष्ट्रपतिले हस्ताक्षर गरेपछि लागू भएकोले यसलाई खारेज गर्न पनि सोही प्रक्रियामा जानुपर्ने भएकोले तत्कालका लागि कार्यक्रम रद्द गर्न सम्भव नभएको उनले बताए।

अमेरिकामा विधार्थीलाई समस्या छैन्: डिल्लीराज भट्ट, एटर्नी एट ल, न्यूयोर्क

त्यस्तै उनले अमेरिकामा रहेका विदेशी विद्यार्थीले काम गर्न नपाएर भोकभोकै बस्नु पर्ने स्थिति आएको, टीपीएस खारेज हुन लागेको जस्तो हल्लाहरूको वास्तविकताबारे पनि खुलस्त पारेका छन्।

उनले भने, ‘आजको मितिसम्म विद्यार्थीहरू र कानुनी बसोबासीहरूलाई नयाँ नीति लागू भएको छैन। विद्यार्थीहरूलाई काम गर्न गाह्रो परिरहेको भन्ने कुरामा पनि सत्यता छैन। किनभने उनीहरूका लागि पहिला जुन नीति थियो अहिले पनि सोही नीति लागू छ। यद्यपि विद्यार्थीहरूले काम गर्नका लागि पूरा गर्नुपर्ने प्रक्रियाहरू छन्। त्यसलाई पूरा त गर्नैपर्छ।’

प्रकाशित मिति: : 2025-02-22 19:35:00

प्रतिकृया दिनुहोस्