सीमा विवादको परिणामत: चीन र भारत बीच सन् १९६२ मा युद्ध भएको थियो। विवादित हिमालय सीमा विवाद युद्धका लागि एउटा बाहाना मात्र थियो। मुख्य मुद्दा भने अर्कै थियो।
भारत सरकारले तिब्बतका धर्मगुरु दलाई लामालाई शरण दिएको थियो। त्यसै कारण भारत–चीन सीमान्तमा हिंस्रक घटनाहरू भइरहेका थिए।
अर्को मुद्दा भारतले फरवर्ड नीति अनुसार मैकमोहन रेखाको सीमामा आफ्नो सैन्यचौकी राख्यो। यो जून १९५९ तिर चिनियाँ प्रिमियर झोउ येनले घोषणा गरेको वास्तविक नियन्त्रण रेखाको पूर्वोत्तरमा थियो।
भारत–चीन युद्ध २० अक्टोबर १९६२ देखि २३ नोभेम्बर १९६२ सम्म अर्थात ३५ दिन चल्यो।
सम्पूर्ण हिमाली पहाडमुनिका उत्तर–पूर्वी भारतमा चिनियाँले आक्रमण गरेका थिए। आजको यूनियन टेरियोटोरी लेह–लद्दाखदेखि आसामको तेजपुर, चुसुल, सिरिजप, गुरुङ्ग हिल्स, नेफा, सिलचर, कोहिमा, आदि ठाउँले युद्धको मार खेपे।
चिनियाँ लडाकुको सामना गर्नका लागि १–८ र २–८ गोर्खा राइफल्सका जवानहरूलाई सीमामा खटाइएको थियो।
गोर्खाहरूले भारतको सीमासुरक्षामा खटिएर रगत बगाएका थिए। गोर्खाहरूले देशको लागि हुरुक्क भएर प्रत्यक युद्धमा आफ्नो प्राणको बाजी पनि लगाए। यस्ता अनगिन्ती उदाहरणहरू छन्।
केही दिनअघि म मेघालय शिलाङ्को पल्टन बजार, झालुपाड़ा, लामा भिल्ला आदि ठाउँमा पुगेको थिएँ। जहाँ गोर्खाहरूले भारत–चीन युद्धमा बलिदान दिएका धेरै तथ्यहरू फेला परे।
विक्रमबीर थापाद्वारा प्राप्त तथ्य अनुसार नायब सुबेदार तेजबहादुर गुरुङ पनि भारत–चीन युद्धमा लड़ेर सहिद भएका थिए। उनी शिलाङ् झालुपाड़ामा जन्मिका थिए। गुरुङ १–८ राइफल्समा भर्ना भएर भारतीय सेनामा नायब सुबेदार पदमा कार्यरत थिए।
१८नोभेम्बर सन् १९६२ का बिहान लगभग ६–७बजे ब्रेभो कम्पनीमाथि चिनियाँहरूले हमला गरे जुन कम्पनीमा तेजबहादुर गुरुङ पनि थिए। चुसुल तथा सिरिजप स्थित एउटा पहाड़ छ त्यो पहाड़माथिबाट चिनियाँहरूले आफ्नो सम्पूर्ण शक्ति लगाउँदै धावा बोले।
दुवैतर्फबाट गोलाबारी चलिरहेको बेला १–८गोर्खा राइफल्सका कम्पनी कमाण्डर घाइते भए। कमाण्डर घाइते भएपछि तत्कालीन परिस्थितिलाई सम्हाल्दै तेजबहादुर गुरुङले ‘दुश्मन’का ट्रेन्च नै सखाप पार्न आफ्नो जवानहरूलाई आदेश दिए।
पहाड़ी बिकटिलो परिस्थिति पार गर्दै उनीहरू लड़िरहेका थिए। लगातार ४–५ घण्टासम्म चलेको त्यो भीषण युद्धमा नायब सुबेदार तेजबहादुर गुरुङको छातीमा गोली लाग्यो तर पनि आफ्नो प्राण रहेसम्म उनी लडिरहे। अनि त्यही पहाडमा सहिद भए।
उनलाई भारत सरकारले मरणोपरान्त ‘वीरचक्र’ दियो। उनी लडेको पहाड अहिले ‘गुरुङ हिल्स’का नामले परिचित छ।
सम्भवतः उनको सौर्य र वीरताको निशानीस्वरूप पछिमात्रै त्यो पहाड़को नाम ‘गुरुङ हिल्स’ राखिएको हो। (गंगाप्रसाद भट्टराई: रगतले लेखिएको इतिहास, पृ:४९, अक्टोबर, सन्–२००९)
आज पनि तेजबहादुर गुरुङका पारिवारिक पुस्ता शिलाङमा भेटिन्छन्।
चीनसँग युद्ध लडेर असम र पूर्वोत्तर भारत बचाउने वीर गोर्खा सैनिकहरू नै थिए।
भारतका तत्कालीन प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूलेसमेत त्यो बेला चीनसँग हार मानिसकेका थिए। चिनियाँहरू तेजपुरसम्म आइपुग्दा पनि गोर्खा सैनिकहरू नै युद्ध लडे।
भारत–चीन युद्धमा हाम्रा धेरै दाजु, भाई सहिद भएका छन्। महिला दिदीबहिनीहरू एक्ला भएका छन्।
गोर्खाहरूले असम राइफल्स नामक सीमन्त सुरक्षा बाहिनीमा सन् १९६२मा भएको भारत–चीन युद्ध संघर्षमा राइफल्सको गोली–बारूद सकिएपछि रुखका हाँगालाई हतियार बनाएर चिनियाँसँग युद्ध लडेको वृत्तान्त कतिपय पुस्तकहरूमा पाइन्छ।
गोर्खाहरूको बहादुरी आजपर्यत्न उत्तिकै प्रसिद्धिको शीखरमा छ।
तर अहिलेसम्म पनि गोर्खाहरूको त्यो इमानदारिता तथा बहादुरी र देशको निम्ति बगाएको रगतको उचित मूल्याङ्कन भएको छैन्।
चिनियाँहरूले मेजर धनसिंह थापालाई पक्रेर युद्धबन्दी बनाए। चिनियाँहरूको मनोबललाई पराक्रमका साथ चकनाचूर पार्दै जाँदा हाम्रो गोर्खा जवानहरूले पनि एकपछि अर्को गर्दै वीरगति प्राप्त गर्दै गए। तेजबहादुर गुरुङपछि त्यसदिन सहिद हुनेहरूमा सिपाही प्रतिमान गुरुङ, सुनार गुरुङ, पासाङ गुरुङ, आसबहादुर गुरुङ, अंगम सिंह राई, अनन्तलाल शर्मा, भीमबहादुर थापा, भीमजंग महत, गजेन्द्रसिंह थापा, शेरबहादुर छेत्रीलगायत सैयौ' गोर्खा सेनाहरू सहिद भए। सहिद हुनेहरूमा धेरैको मृतदेह समेत पाइएन। मेजर धनसिंह थापाका बटालियानाका त झन् १२४ जनामध्ये १० जनामात्र जीवित रहेका थिए।
(केदार गुरुङ(सम्पा)भारतीय–नेपाली सहिद विशेषांक वर्ष–२१अंक,४७ सन् २०००, पृष्ठ७५)
गोर्खाहरूले गरेको यस्तो बलिदनालाई यो राज्य तथा देशको सरकारले कहिले कदर गर्ला? यो महत्वपूर्ण प्रश्न पनि हो। भारतमा गोर्खाहरूको जति योगदान गरे असम बचाउन पनि गोर्खाहरूको उत्तिकै भूमिका रह्यो। नायक देवेन्द्रसिंग थापाले टाङ्गा वेल्लीमा चिनियाँसँग भएको भीषण गोलाबारीका क्रममा सन् १९६२–१९–११ मा ज्यान गुमाए।
त्यसैगरी सिपाही बलदेबसिं कुँवर, लान्स नायक विक्रमसिं थापा, चद्रमणि राई, सुकमान राई, देवीप्रसाद शर्मा आदिले नेफा सेक्टरका टाङ्गा वेल्लीम चिनियाँहरूको गोलीको शिकार भए।
भारत–चीन विरुद्ध युद्ध गरेर अवकास लिएपछि धेरै गोर्खाहरू लखिमपुर जिल्लाको किमिंग, रामपुर एक्स मिलेन्ट्री गाउँमा बसोबास गरेको पाइन्छ।
उत्तर–पूर्वाञ्चलमा चीनविरुद्ध गोर्खाहरूले लडेर असमीया, गारो, नागा, खसिया, मणिपुरी, डफ्लाहरूलाई बचाए तर पछि उनीहरूले नै यी देशप्रेमी गोर्खाहरूलाई विदेशीको नाममा लखेट्ने षडयन्त्र गरे।
लखिमपुर जिल्लाका पद्मबहादुर छेत्री १९६२ को लड़ाईंपछि अवकास पाएका एकजना सिपाही हुन्। सूवेदार वीरलाल राई, प्रविन थापाजस्ता वीरहरू आशाफिल्ला भन्ने ठाउँमा १९६२ को नभेम्बर महिनामा सहिद भएका र उनीहरूको स्मृति अमर राख्न सरकारले स्मृतिमैदान खड़ा गरेको तर त्यसको अवस्था आजपर्यन्त तथैवच छ। (पशुपति खनाल, असम तथा लखिमपुरका गोर्खाहरूको ऐतिहासिक रुपरेखा,२०१८,पृष्ठ–५५–५६)।
चीन–भारतको युद्ध समाप्त भएपछि सैनिकहरूको स्थायी बसोवासका लागि सरकारले १९६३ मा ‘एक्स मिलेट्री गाउँ’को घोषणा गर्यो।
यी तथ्यहरूका आधारमा भन्न सकिन्छ कि, भारतीय गोर्खाले भारतको निम्ति धेरै रगत बगाएका छन्। उनीहरूको रगतको सही मूल्याङ्कन हुनुपर्छ।
गोर्खाहरूले लडेका यी युद्धगाथाहरू अहिले पनि निकै कम लेखिएका छन्। लेखिए पनि सिमित भाषा र समुदायका लागि मात्रै छन्।
युद्धका यी गाथाहरू अनि सहिदका कथाहरूलाई विश्वव्यापीकरण गरिन जरुरी छ।
तर आज पनि हामी यहाँ हेपिएका छौं, पिरोलिइरहेका छौं।