शेखरलाई खाणको आड

Break n Links
Break n Links

लुम्बिनी प्रदेशका काँग्रेसी नेता कार्यकार्ताहरू आइतबार बुटवलमा भेला भएका थिए। नेपाली काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले आयोजना गरेको एउटा कार्यक्रममा काठमाडौंबाट पनि नेताहरू त्यहाँ पुगेका थिए। 

काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आफ्नो सम्बोधन फेसबुकबाट लाइभ गरिरहेका थिए। मञ्चमा काँग्रेस नेता डा. शेखर कोइराला, बालकृष्ण खाण, मिनेन्द्र रिजाल र सहमहामन्त्री जीवन परियारलगायतका नेताहरू थिए। 

त्यहीबेला खाणलाई मोबाइलमा म्यासेज आउँछ ‘तपाईं पनि बुटवलमा हो। कार्यक्रममा देख्यौं…।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा करिब ७ महिना थुनामा बसेर बाहिर आएका नेता खाणको सार्वजनिक जीवन भर्खरै तंग्रिन थालेको छ। आफ्नै गृहजिल्ला अनि आफ्नै निर्वाचन क्षेत्रमा आइतबार खाणले पार्टीका फरक समूहका नेताहरूलाई ‘न्यानो’ स्वागत गरे। त्यसको सन्देश देशैभरि यसरी यत्तिचाँडै फैलिइसक्यो कि तत्कालै खाणलाई फोन र म्यासेजहरू आउन थाले। 

आफूले पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्ने पालोमा खाण आफैले भने ‘यहाँ मैले हाम्रा नेताहरू दौतरीहरूलाई स्वागत गर्दै गर्दा काठमाडौंबाट म्यासेज आयो, तपाईं पनि त्यहाँ हुनुहुन्छ? भनेर।’ 

पार्टी सभापति शेरबहादुर देउवा दाँयाबाँया गरेनन् भने नेपाली काँग्रेसको १५औं महाधिवेशन २०८२ मंसिरमै हुनेछ। पार्टीको महाधिवेशन नजिकिइरहेका बेला अनि पार्टीभित्र ध्रुबीकरणका रेखाहरू तन्किइरहेका बेला नेतृत्वमै प्रभाव राख्नसक्ने एकजना नेता खाणले बुटवलबाट दिएको सन्देशले यतिबेला काँग्रेसभित्र एउटा नयाँ तरंग पैदा भएको छ।

नेपाली काँग्रेसभित्र लामो समयदेखि देउवाका अविराम सारथी मानिन्छन्, नेता खाण। सकेसम्म देउवाले हरकोहीलाई ‘अप्ठ्यारो’मा साथ दिएको गुण तिर्छन्। त्यसको बदलामा उनले कहिँ न कहिँ नेता कार्यकर्ताहरूलाई मौका दिन्छन्। कैयौ ‘सिनियर’हरू पाखा लगाउँदै देउवाले खाणलाई पनि पटक पटक मौका नदिएका होइनन्। जब मूलघरबाट कारबाहीमा परेर नयाँ पार्टी ‘नेपाली काँग्रेस प्रजातान्त्रिक’ बनाएका देउवाको  राजनीतिक जीवन एउटा चुनौतीपूर्ण मोडमा थियो त्यो बेला उनलाई साथ दिने खाडजस्ता एकाध नेताहरूमात्रै थिए। त्यसपछि उनीहरूबीच राजनीतिमात्रै होइन पारिवारिक सम्बन्ध पनि उसैगरी झांगिदैं गयो।   

तर जब आफ्नै पार्टी सरकारमा भएका बेला खाण पक्राउ भए। त्यसपछि राजनीतिक जीवनमात्रै होइन खाण पार्टी नेतृत्वसँग पनि टाढाटाढा हुँदै गए। त्यो बेला नेपाली काँग्रेस माओवादीसँग सत्ता साझेदारी गरेर सरकारमा गएको थियो। माओवादीका नारायणकाजी श्रेष्ठ गृहमन्त्री थिए। पूर्वगृहमन्त्रीसमेत रहेका खाणलाई आफ्नै घरबाट प्रहरीले समाएर लग्यो। 

त्यसलगत्तै नेपाली काँग्रेसका दुई महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा त मन्त्रालयमै पुगेर गृहमन्त्री नारायणकाजीलाई धन्यवाद दिन पुगे। सात महिना प्रहरी हिरासतमा रहँदा देउवा पक्षका कुनै पनि नेता खाणलाई भेट्न गएनन्। बरु त्यो बेला शेखर कोइराला उनलाई भेट्न पुगे। थुनाबाट निस्किएपछि उनी निकै कममात्रै सार्वजनिक कार्यक्रममा देखिएका छन्। गत माघ अन्तिममा उनी पार्टी सभापति शेरबहादुर देउवासँगै दाङ पुगेका थिए।

आइतबार डा. शेखर कोइरालाहरू बुटवलमा रहँदा उनको हाउभाउ, सक्रियता अनि तत्परता अलि फरकखालको देखिन्थ्यो। आफ्नै गृहनगरमा भइरहेको पार्टीको भेलामा उनले कोइरालालाई भरपुर स्वागत र सम्मान गरे। आफ्नै निवासमा खाजा खुवाउन लगे। एयरपोर्टमा स्वागतदेखि विदाईसम्म खाण सँगसँगै रहे। 

प्रचार विभागको त्यो कार्यक्रममा खाणले लगभग २५ मिनेट सम्बोधन गरेका थिए। सम्बोधनका धेरै समय उनले पार्टीको नेतृत्व कस्तो हुनुपर्छ र अब काँग्रेसले के गर्नुपर्छ? भन्ने रणनीतिक कुरामात्रै गरेनन् बरु भावी नेतृत्वका लागि केही संकेतहरू पनि दिए। पार्टी नेतृत्वबारे कुरा गरिरहँदा उनले घरिघरि डा. शेखर कोइरालातिर हेर्थे। सिधै नभने पनि खाणले धेरैपटक नेता कोइरालाको प्रशंसा गरे। नेपाली काँग्रेसको सभापतिका लागि १४ औं महाधिवेशनमा अन्तिम समयसम्म पनि देउवासँग भिडेका डा. शेखर कोइरालाले महाधिवेशन केन्द्रित अभियान निकै तेजिलो बनाएका छन्। अहिले पनि देश दौडाहामा रहेका कोइराला पार्टी सभापतिका लागि खुलेरै अघि सरेका काँग्रेसका एकमात्रै नेता हुन्। 

आगामी २०८२ साल मंसिर महिनाभित्रै हुनुपर्ने नेपाली काँग्रेसको महाधिवेशन देउवा आफैले आम चुनावपछि सार्ने संकेत गरिरहेका बेला सार्वजनिकरुपमै त्यसलाई ‘स्विकार्न सकिंदैन’ भनिरहेका कोइरालाको अहिलेको एकमात्रै अजेण्डा २०८२ मंसिरमै काँग्रेसको महाधिवेशन हुनुपर्छ भन्ने हो। 

खाणले पनि महाधिवेशनबारे आफ्नो प्रस्ट धारणा राखेका छन्। नेता कोइरालाकै भावमा उनले २०८२ मंसिर भन्दा महाधिवेशन पर सार्ने छुट नेपाली काँग्रेसलाई नभएको बताए। बुटवलको यो भेलालाई पनि महाधिवेशन केन्द्रित भनेर टिप्पणीहरू सुनिएका थिए। त्यसकै आधारमा खाणले महाधिवेशनबारे आफ्नो धारणा राखेका हुन्। 

‘कतिले महाधिवेशन केन्द्रित भन्नुभएको छ। अहिले नै काँग्रेसलाई महाधिवेशन लागेकै छैन। तर महाधिवेशन नेपाली काँग्रेसको विधानअनुसार जुन समयमा हुनुपर्ने हो त्यही समयमा हुन्छ। नेपाली काँग्रेसले विधान उल्लंघन गर्नै पाउँदैन’ खाणले भनेका छन् ‘नेपाली काँग्रेसले संविधान बदल्न पाउँछ दुई तिहाइ बहुमत भयो भने संशोधन गर्न पाउँछ तर संविधानको उल्लंघन गर्नै पाउँदैन। यो हाम्रो आचरण हो। यो हाम्रो संस्कार हो। यो हाम्रो प्रतिवद्धता हो। अनि यो हाम्रो चरित्र हो। अधिवेशन हुँदैन कि भनेर कसैले शंका नगरे हुन्छ। विधानअनुसार अधिवेशन हुन्छ।’

उनले नेपाली काँग्रेसको आफ्नो इतिहास अनि आफ्नो स्वभावअनुसार नेतृत्वका लागि परिपक्व नेता चाहिने भए पनि कहिलेकाहिँ त्यत्तिले मात्रै नपुग्ने बतए। 
‘कहिलेकाहिँ परिपक्व नेता चाहिन्छ। कहिलेकाहिँ बडो डायनामिक गतिशील नेता चाहिन्छ। अहिले देशलाई कस्तो नेता चाहिन्छ भन्ने आगामी अधिवेशनले तय गर्ला। नेपाली काँग्रेसका सभापतिले आफ्नो पार्टी मात्रै होइन अरु पार्टीको अभिभावकत्व पनि निभाउनुपर्छ’ खाणले भने ‘अब हामीले व्यक्ति हेर्ने हो। जसले देश हाँक्नसक्छ, पार्टी चलाउनसक्छ उसैलाई मदत गर्ने हो। नेपाली काँग्रेससँग सम्भावना भएका नेताहरू, इतिहास भएका नेताहरू, लिगेसी भएका नेताहरू हाम्रो बीचमा हुनु हाम्रा लागि खुसीको कुरा हो। हामी खुसी हुनुपर्छ र हामीलाई भरोसा पनि छ।’

यति भनिरहँदा उनले पटक पटक डा. शेखर कोइरालातिर हेरेका थिए।  

करिब २५ मिनेट पार्टी कार्यकर्ताहरूमाझ बोलेका खाडले अन्तिममा दुई नेता शेखर कोइराला र मिनेन्द्र रिजाललाई डाक्टरहरू भनेर सम्बोधन गरेका थिए। 

‘काँग्रेस एउटा रेल हो र त्यसका हामी डब्बाहरू हौं। रेलमा इन्जिन हुन्छ। त्यसले जता लैजान्छ डब्बाहरू त्यतै जाने हो। तर त्यही एउटा रेलमा चार पाँच जना इन्जिनहरू भए भने ती डब्बाहरू कता जाने?’ 

अन्तिममा खाणले भने ‘यस्तो महत्वपूर्ण कार्यक्रममा दुई दुई डाक्टरहरूसँग सहभागी हुन पाएँ। अब आफू फेरि पढेर डाक्टर हुन त सकिन्न तर अब डाक्टर बनेकाहरूको साथमै रहिन्छ।’

प्रकाशित मिति: : 2025-03-03 19:10:00

प्रतिकृया दिनुहोस्