नेपालमा साँच्चैको समस्या छ कि समस्या बनाइन्छ ? यदि समस्या छ भने मूल समस्या के हो ? यदि बनाइन्छ भने किन बनाइन्छ ? अनि, कसले बनाउँछ ? गत सप्तान्हान्तमा अमेरिकी राष्ट्रपति ट्रम्पको गृहनगर वेस्ट पाम बिचमा भेटिएका एक वृद्ध अमेरिकीले यो स्तम्भकारसामु तेर्स्याएका केही अनपेक्षित प्रश्नहरूको सूची हो यो ।
शनिबार साँझपख ट्रम्प निवास मारालागो नजिकै एटलान्टिक महासागरको किनारमा अप्रत्याशित रूपमा भेटिएका थिए लायम मर्फी । मलाई देखेर उनले टाढैबाट ‘नमस्ते’ भने । नेपालबाट हजारौँ माइल टाढाको बिरानो ठाउँमा एक अमेरिकी वृद्धबाट नमस्ते सम्बोधन सुनेर मन नै उद्देदित भयो ।
हामीजस्ता रङ्गका मानिसलाई अमेरिकी नै मान्न गाह्रो भइरहेको यो बेला त यस्तो अवसर एक दुर्लभ पल नै हो । ‘अमेरिकी भुइँ टेकेर पनि टाउकोमा नेपाल बोकेर हिँडेका म जस्तालाई यस्तो पलले दिने खुसीको कुनै सीमा नै हुन्न ।
मैले नमस्ते फर्काउँदै सोधेँ, तपाईँ नेपाली भाषा बुझ्नुहुन्छ ?’ उनले ‘सबै बुझ्ने’ तर बोल्नचाहिँ ‘अलि अलि मात्र सक्ने’ बताए । हामीले आपसमा चिनापर्ची ग¥यौँ र नजिकैको काठको फलैचामा बसेर भलाकुसारी गर्ने निधो ग¥यौँ ।
लायम म जन्मेको वर्ष पिसकोर स्वयंसेवकका रूपमा नेपाल गएका रहेछन् । अढाइ वर्ष दोलखाको एक दुर्गम विद्यालयमा पुगेर अंग्रेजी पढाएछन् । नेपाली भाषा बोल्ने भएर फर्केका उनीसँग फर्कदा ‘मुटुमा अटेसम्म नेपालको माया’ थियो रे । मैले सोधेँ, ‘त्यो माया त्यति नै छ कि ? घटी वा बढी के भयो ?’ उनले हाँस्दै भने, ‘कहाँ घट्नु ? बढेर साउँभन्दा पनि ब्याज नै धेरै भइसक्यो अब त ।’
यस बीचमा उनी तीनपटक नेपाल गएका रहेछन् । उनलाई नेपाल जति गए पनि ‘धित मर्दैन’ रे ! मैले उनलाई सोधें, ‘केले जाउँ जाउँ बनाउँछ तपाईँलाई ?’ उनको सटिक उत्तर थियो, ‘प्रकृति’ । उनले थपे, ‘पहिला त मानिसको व्यवहार पनि लोभलाग्दो हुन्थ्यो । तर, अहिलेचाहिँ त्यस्तो छैन, घट्दैछ ।’
किन घट्यो होला ?
मेरो प्रश्नको उत्तरमा उनले खाँट्टी नेपाली शव्दमा भने, ‘भूमण्डलीयकरण’ । उनले ‘तितो कुरा यस्तो पनि छ’ भन्दै अगाडि थपे, ‘सोलुमा धारामा पानी छैन, पसलमा प्लास्टिक बोतलमा कोक पाइन्छ । सोलुमा त धाराको पानी खाना जाने हो, कोक खान त एटलाण्टा गए भइहाल्यो नि ।’
कुरैकुरामा उनले अहिले अमेरिकाको हरेक गाउँमा नेपाली भेटिने पनि बताए । तर उनले यो पनि थपे, ‘उनीहरूमध्ये धेरैजसोले नेपालीपन उतै फुकालेर आएका छन् । उनीहरूको अनुहारमा नेपाली मुस्कान छैन । अमेरिकी मुस्कान निकाल्न खोज्छन्, मिल्दै मिल्दैन । ‘उनले फेरि अर्को खाँट्टी नेपाली मुहावरा सम्झदै भने, ‘न हाँसको चाल न बकुल्लाको चाल जस्तो । यति भनेपछि मेरो अनुहार हेर्दै उनले लाख टक्काको प्रश्न तेस्र्याए, ‘मिल्यो मेरो कुरा ?’
मैले भने, ‘महोदय, यो तपाईंको निजी अनुभूति हो । तपाईंलाई गलत भन्न मिल्दैन, सही नै हुनुहुन्छ । तपाईंलाई यस्तो सोच्न बाध्य बनाउने हामी नै हौं । यसका लागि म लज्जित छु ।’
लियामले केही गम्भीर कुरा बताए, ‘मेरो नाम सुनेर तपाईँ अनुमान गर्न सक्नुहुन्छ कि म आइरिस मूलको अमेरिकी हुँ । आइरिस संस्कृतिमा लियाम भनेको अमेरिकामा विलियम भनेजस्तै हो । मेरो नामले नै मानिसहरूलाई म आइरिस मूलको भनेर चिनाउँछ । यो मैले बचाएको मेरो पुर्खाको बिरासत हो । म तेस्रो पुस्ताको आइरिस–अमेरिकी हुँ । मेरो बाजे आयरल्याण्डबाट आउनु भएको हो ।’
केही समयअघि उनले मायामीमा एक अधवैसे नेपाली भेटेका थिए । उनको नाम थियो, जोन । त्यो नामले अहिले पनि उनलाई बिझाएको रहेछ । उनी भन्दै थिए, ‘जोनको ठाउँमा जीवन भएको भए म सजिलै अनुमान लगाउन सक्थे कि उहाँ नेपाली हुनुहुन्छ । अनुहारले नेपाली देखाएको थियो तर नामले अर्कै भन्यो । मेरो विचारमा उहाँले त्यसो गरेर नेपाल बढाउनु भएन, घटाउनु भयो । अमेरिकामा पनि केही थप्नु भएन । आजको अमेरिका हामी जस्ता सबै आप्रवासीहरूले आफूसँग ल्याएको थपेर धनी भएको हो ।’
उनले आफ्नै नामको उदाहरण दिएर अर्को एउटा महत्वपूर्ण कुरा सम्झाए, ‘मैले लियाम बचाएर राखेको छु, त्यो अमेरिकामा थपिएको छ । मेरो नाम लियाम नभएर विलियम भएको भए मैले आइरिस मूल छोडेको हुन्थे र अमेरिकामा केही थपेको पनि हुन्न थिएँ । मैले आइरिस थपेर अमेरिकालाई अरू धनी बनाउँछु भनेर अमेरिकाले मलाई स्वागत गरेको हो ।’
वृद्ध आइरिस–अमेरिकीको गम्भीर कुरा सुनेर मन भारी भैरहेको थियो । उनले अर्को एउटा दृष्टान्त थपेर थप गम्भीर बनाइदिए, ‘म केही समय पहिले जहाजमा एटलान्टा जाँदै थिए, संयोगले छेउको सिटमा एक नेपाली युवा भेट्टाएँ । उनलाई त्यहाँ पाएर म ज्यादै खुशी भएँ ।
नमस्ते गरें तर उनले ‘हाय’ भनेर अर्कोतिर मुख फर्काए । मलाई उनीसँग कुरा गर्न मन थियो, त्यसका लागि मैले बिच बिचमा कोशिस पनि गरेँ । तर उनले चासो नै देखाएनन् । उल्टै हवाइजहाजबाट निस्कने बेलामा मलाई ठक्कर दिएर निस्किए । तर, ‘सरी’ पनि भनेनन् ।’
उनले थपे, ‘यो त नेपाली संस्कृति नै हैन नि । यस्तो मानिसले कहिलै पनि नेपाल र नेपालीलाई सही प्रतिनिधित्व गर्दैन । बाहिर पुगेका हरेक नेपालीले यस्तो व्यवहार गर्ने हो भने नेपाल भूइँमा मात्र बाँच्छ, मनमा बाँच्दैन । देश त भुइँमा हैन, मनमा बाँच्नुपर्छ ।’
लियामको कुरा सुनेर म धेरै दुखेँ । कहाँ दुखें थाहा भएन तर सारा पीडा अनुहारले देखाइरहेको थियो । लियामले मेरो पीडा बुझेर कम पार्ने उपायको खोजी गर्दै थपे, ‘समस्या नेपालको मात्र हैन, हिजोआज सबैतिर यस्तै समस्या छ । अमेरिकाको त के कुरा गर्नु र ? मलाई लाग्छ, म यतिबेला अमेरिकामा हैन, अर्कै देशमा छु । अमेरिका यस्तै हुन्थ्यो भन्ने जानेको भए शायद यति धेरै मानिस यहाँ आउने थिए ।’
लियामले उनको थप निराशा यसरी पोखे, ‘कम्तिमा पनि अबको चार वर्षको लागि अमेरिका यही नै हो । अमेरिकी जनताले म्यान्डेट दिएको अमेरिका । म्यान्डेट दिनेले मात्र हैन, नदिनेले पनि यही अमेरिका भोग्नुपर्छ । सक्नेले यही बसेर भोग्नुपर्छ । नसक्नेले आफ्नो बाटो लाग्नुपर्छ ।’ उनले भारी मनले सुनाए, ‘अबको ५ महिनामा म उत्तरी आयरल्याण्डको सानो गाउँ बेलिकमा हुनेछु । त्यो मेरो पुर्खाको गाउँ हो । त्यो गाउँमा म मेरा पुर्खाको आशीष भेट्न जाँदैछु । शायद भगवानले यो समय त्यसैका लागि उपहार दिनु भएको होला ।’
कुराकानी लामो भैसकेको थियो । एटलान्टिक महासागरको नीलो पानीमा गोधुली झरेर केही सुनौलो भैसकेको थियो । आकाशतिर हेरेर लियामले सुरूमै मैले उल्लेख गरेका केही जटिल प्रश्नहरू गरे, ‘नेपालमा साँच्चैको समस्या छ कि समस्या बनाइन्छ ? यदि समस्या छ भने मूल समस्या के हो ? यदि बनाइन्छ भने किन बनाइन्छ समस्या ? अनि, कसले बनाउँछ समस्या ?
उनका प्रश्नहरूको उत्तर दिनुभन्दा अगाडि उल्टै मैले उनलाई केही प्रश्नहरू गरेँ । मेरा प्रश्नहरू उनले सोधेजस्तै थिए । फरक केही थियो भने मात्र कालको थियो । उनले वर्तमानकालमा सोधेका प्रश्नहरू मैले भूतकाल बनाएर सोधेको थिएँ ।
मेरो प्रश्नको उत्तर दिनुभन्दा पहिले लियामले सानो भूमिका बाँधे, ‘म गलत हुनसक्छु । म गलत भएँ भने सच्याएर बुझ्नु होला ।’ त्यसपछि थपे, ‘पहिलेको नेपालको समस्या राजनीतिक थियो । भौतिक विकाससँग जोडिएको थियो । गरीवी र अशिक्षासँग जोडिएको थियो । त्यति भएर पनि मानिस आफ्नै खुट्टामा उभिएका थिए । व्यक्तिगतभन्दा सामुहिक भावना बढी थियो । बाहिर गएर पढेर देशमै फर्कनुपर्छ भन्ने भावना थियो । आजजस्तो मनलागी बोल्न नपाए पनि बोलेको कुराको अर्थ हुन्थ्यो । उनीहरूको मन ठूलो थियो, व्यवहार सभ्य थियो । मेरो विचारमा अहिलेका भन्दा त्यतिबेलाकै मानिसहरू सुखी थिए ।’
लियामलाई त्यतिबेलाका समस्या साँच्चैका समस्या लाग्थे । उनले भने, ‘त्यतिबेला साँच्चै नै समस्या थिए । तर, अहिलेका धेरै समस्या बनाइएका हुन् । अस्वस्थ प्रतिस्पर्धा, देखासिकी, सामाजिक मूल्य र मान्यतामा ह्रास, सदाचारको अभावले गर्दा बनेका समस्या हुन् यी । समस्या सामान्य हुन् तर यिनीहरूलाई असामान्य बनाइएको छ ।’
यति भनेपछि उनले मलाई समस्याका बारेमा भन्न लगाए । मैले भने, ‘मूल समस्या समाजमा देखापरेको सामाजिक तथा नैतिक मूल्य, मान्यताको बिचलन हो । यसलाई यो रूपमा ल्याउन नेपालको अस्वस्थ राजनीति र त्यसको नालायक मूल नेतृत्व जिम्मेवार छ जस्तो लाग्छ । हो, संसार लोकप्रियतावाद र अन्ध राष्ट्रवादको घनचक्करमा फसेको छ । यो घनचक्करको भूमण्डलीयकरणबाट नेपाल पनि अछुतो छैन ।’
हरेक विहान नेपालका केही अनलाइन पोर्टलमा समाचार पढ्ने लियाम बीबीसी नेपाली भने नछुटाइ पढ्दा रहेछन् । विश्वका अन्य सञ्चार माध्यममा आएका नेपाल सम्बन्धी समाचार पनि पढ्दा रहेछन् । उनले भने, ‘म नेपाललाई प्रेम गर्छु । त्यसैले यसको नराम्रो सुन्न र पढ्न सक्दिन । तर, पनि पछिल्लो समय नेपालमा खासै राम्रा समाचार बनेको पाउँदिन । त्यसले मलाई बेचैन बनाउँछ ।’
लियामले मलाई केही व्यक्तिगत प्रश्न पनि सोध्न भ्याए, ‘तपाईँले किन नेपाल छोड्नु भएको हो ?’ यसै पनि यो प्रश्नले मलाई धेरै दुखाउँछ । थप दुख्न नपरोस् भनेर मैले यस प्रश्नको एउटा बनिबनाउ उत्तर तयार गरेको छु । त्यही उत्तर मैले उनलाई पनि सुनाए, ‘लियाम, मैले नेपाल छोडेर आएँ तर नेपालीपन छोडेर आएको हैन । बोकेरै आएको छु । सकेसम्म अमेरिकामा पनि नेपाल देखिने र सुनिने बनाइरहेको छु । म नेपाल खुम्च्याइरहेको छैन, अरू फराकिलो बनाइरहेको छु । मैले बोकेर ल्याएको नेपाल अहिले मेरो राष्ट्रियता बनेको नेपाली–अमेरिकीका रूपमा फराकिलो बनाएको छु । यसो गर्दा मैले अमेरिकाको विशाल क्यानभाषमा सानो नेपाली–अमेरिकी रङ पनि थपिरहेको हुन्छु ।’
लियामले छुट्टिने बेलामा एउटा गहन प्रश्न सोधे, ‘नेपालमा ओली र देउवा नभएको कल्पना गरेर भन्नुस् त नेपाल समस्यामा हुन्थ्यो कि समाधान ? प्रश्न सजिलो थियो तर उत्तर सजिलो थिएन । मैले उत्तर दिन केही समय लिएको देखेर उनैले थपे, ‘मेरो विचारमा यिनीहरू नै नेपालका मूल समस्या हुन् । यिनीहरू नभएको भए मेरो विचारमा नेपाल यति धेरै समस्यामा हुने थिएन । प्रचण्डका कारण पनि समस्या थपिएको छ तर उनलाई समस्याको यो घनचक्करमा तान्ने उनीहरू नै हुन् । मेरो विचारमा नेपालका शनि देउवा र राहू ओली हुन्, प्रचण्डलाई केतु भन्दा हुन्छ ।
छुट्टिने बेलामा उनले भने, ‘अमेरिका पनि अर्कै भएको छ, आफ्नो ख्याल गर्नु है । अझ वेस्ट पाम बिचमा हुञ्जेल त कहाँ छु भनेर पनि बिर्सन मिल्दैन नि तपाईंले ।’
साँझ होटलमा फर्केर नेपालको समाचार हेर्दै थिएँ । फेर ओलीको पुरानै पानी–गफ सुन्नुपर्यो, ‘म आफू पनि भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि भ्रष्टाचार गर्न दिन्न ।’ केही दिन पहिले मात्र नेपाल फेरि भ्रष्ट देशको कालोसूचीमै रहने समाचार बाहिरिएको थियो । भ्रष्टाचार नगर्ने र हुन नदिने भनेर खोकिरहने ओली प्रधानमन्त्री भएकै बेला यस्तो समाचार, कति हाँस्नु ?