भारतीय नागरिकलाई अमेरिका पठाउने भन्दै बन्धक बनाएर राखेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ८ जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन्।
काठमाडौँ महानगरपालिका–९ स्थित रातोपुल अल्का बजाजको घर भाडामा लिएर ११ जना भारतीय नागरिकलाई बन्धक बनाएर राखी कुटपिट र यातना दिएको आरोपमा प्रहरीले उनीहरुलाई प्रकाउ गरेको हो।
पक्राउ पर्ने भारतीय नागरिकमा इन्द्रसिंह यादव, निकुन गुप्ता, चरनजित सिंह, अशोक कुमार, अब्दुल रहिम, मनिषकुमार मलहोत्रा, रवि नेवाडे र रामचन्द्र शर्मा रहेका छन्। नेपाली नागरिकको भने नाम खुलाइएको छैन।
ती नेपालीले भारतीय नागरिकको नक्कली कागजात बनाएर सहयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेकाे छ।
प्रहरीका अनुसार गिरोहले पीडितहरू मेक्सिको पुगेको देखाउन हरियो पर्दा, त्यहाँको समय जनाउने घडी, नक्कली हवाई टिकट र बोर्डिङ पासहरु देखाएर बन्धक बनाइएकाहरुलाई परिवारबाट ४५ लाख पैसा मगाउन लगाउने गरेका थिए।
आरोपीहरुविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक र मानव बेचबिखन तथा ओसापसारविरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान थालेकाे छ।