पूर्वतिरै रुमलिइरह्यो मनसुन

पूर्वीतिर पहिरा खस्न थाले, पश्चिममा भतभती पोल्ने घाम

Break n Links
Break n Links

बुधबार मात्र हो– दाङको तुलसीपुर उपमहानगरपालिका–११ उरहरीस्थित अमर माविका ८ जना बालबालिका विद्यालयमै गर्मीले बेहोस भए। त्यसपश्चात उरहरी स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी पुगेर विद्यार्थीको उपचार नै गर्नुपर्‍यो। 

यद्यपि नेपालमा वर्षा गराउने मनसुन भित्रिएको तीन दिनअघि (सोमबार) हो। मनसुन भित्रिसकेको भए पनि बागमती प्रदेशदेखि पश्चिमी क्षेत्रले गर्मीको मार खेपिरहेको छ। जसको असर प्रत्यक्ष विद्यार्थीमा पर्‍यो। 

विद्यालयमा पढ्नै नसक्ने भएपछि दाङमा घोराही, तुलसीपुर र शान्तिनगरले विद्यालय बन्द गरे। अन्य जिल्लामा पनि विद्यालय बन्द गरिएका छन्। गर्मीको मार यतिसम्म छ कि पश्चिम तराईमा दिनमा हिड्न कठिन छ।
 
बिहीबार मात्र कैलालीको धनगढीमा तापक्रम ४३.९ डिग्री सेल्सियस माथि छ। जुन अधिक तापक्रम हो। काठमाडौँमासमेत तापक्रम ३४ डिग्रीमाथि रेकर्ड भइरहेको छ। 

पश्चिमी भू–भागमा गर्मीले लखेटिरहँदा पूर्वी भू–भागमा भने वर्षे बाढी, पहिरोले नागरिकले दु:ख पाउन थालेका छन्। पहिरोले गाउँ बगेको छ। राजमार्गहरू अवरुद्ध भएको छ। 

बुधबार दिउँसो दाङमा गर्मीले विद्यार्थी पढ्दा–पढ्दै ढल्दै गर्दा राती पूर्वी भू–भाग सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरो आयो। तीन घर बगे। एक जना घाइते भए। 

खाँदबारीको ११ नम्बर वडासँगै ५, ६ नम्बर वडामा पनि पहिरोले क्षति गरेको छ। जसका कारण १ सय २५ भन्दा बढी घर परिवार विस्तापित भएका छन्।

यहाँ ठूलो पानी परेर पहिरो आएको पनि होइन। खाँदबारी नगरपालिका–११का वडाध्यक्ष अनिल राईकाअनुसार एक–डेढ घण्टा यहाँ पानी परेको थियो।

नेपालभरि विभिन्न ठाउँमा जम्मा १८१ ठाउँमा वर्षा मापन केन्द्र छन्। ती मध्ये मानव सञ्चालित ७५ वटा र स्वचालित १०६ वटा छन्। यी मापन केन्द्रमध्ये ५४ मापन केन्द्रमा सामन्यदेखि भारी वर्षा मापन भएको देखिन्छ।

तीमध्ये संखुवासभाको खाँदबारीमा रहेको नुम मापन केन्द्रमा २१७.८ मिलिमिटर वर्षा मापन भएकाे छ। २ केन्द्रमा ५० मिलिमिटर वर्षा मापन गरिएको छ। 

पूर्वी नेपालमा यतिमात्रै होइन। वर्षाले सङ्खुवासभाकै अन्य पालिकामा पनि क्षति पुर्‍याएको छ। ताप्लेजुङलगायत आसपासका जिल्लामा पनि वर्षाले क्षति गर्न थालेको छ। 

सामान्यतया नेपालमा मनसुन जुन १३ देखि भित्रिन थाल्छ। तर यसपालि पूर्वी नेपालबाट भित्रिन थालेको मौसम प्रणाली सरदर मिति भन्दा ३ दिन अगावै भित्रियो। मनसुन भित्रिदा सामान्य वर्षाले पनि यहाँको तापमान अलि कम हुनसक्थ्यो।

तर मनसुनकै आशामा पश्चिम तराई अनि मध्यपहाडहरू भने घामले सुकिरहेका छन्।

नेपालको पश्चिम तराई गर्मीले भतभती पोलिइरहेका बेला मनसुन भने पूर्वतिरै बरालिइरहेको मात्रै छैन, सामान्य मनसुनी वर्षाले पनि पहिरै खसाउन थालेको छ। 

मनसुन सक्रिय नहुँदै पूर्वमा वर्षाले क्षति गर्नु र पश्चिममा अझै गर्मीले सताउनुलाई राम्रो मान्न सकिँदैन। पश्चिमसम्म मनसुन सक्रिय हुन अझै हप्ता दिन बढी लाग्ने मौसम विभागका मौसमविद् रोजन लामिछाने बताउँछन्। 

पूर्वमा पहिरो आइसक्यो, मनसुन सक्रिय हुने कहिले?

सोमबार (जेठ २८) पश्चिम बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेको वायुले पूर्वी नेपालमा क्षति गर्न थालेको छ। तर पश्चिमतिर भने मनसुन सर्न सकेको छैन। सामान्यतया मनसुन भित्रिएको हप्ता दिनमा देशभर मनसुन सक्रिय हुने र वर्षा हुनसक्छ। 

कतिपय वर्षमा एक–दुई दिनमा नै मनसुन देशभर सक्रिय भइसकेको हुन्छ। यस वर्ष भने मनसुन भित्रिएको ४ दिनसम्म पनि मनसुन पूर्वतिरै अलमलिइरहेको छ। काठमाडौँसम्म पनि पूर्णरुपमा मनसुन सक्रिय भएको छैन। जसले काठमाडौँवासी गर्मीमै छटपटाइरहेका छन्। 

काठमाडौँदेखि पश्चिम र विशेष गरेर तराईका जिल्लामा भने गर्मीले अधिक जनजीवन प्रभावति गरिरहेको छ। लगाइएको मकै सुकेको छ। धानको ब्याड राख्न समस्या भएको छ। विद्यार्थीदेखि सडक ब्यापारीहरूलाई गर्मीले सताएको छ। 

तर अझै मनसुन सक्रिय हुने भने हप्ता दिन बढी लाग्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् लामिछानेले बताए। के अन्य वर्षमा पनि यस्तै मुनसुन सक्रिय हुन समय लाग्ने गरेको थियो? उनी भन्छन्– ‘यस्तो हुने थिएन। कहिले एक दुई दिनमा मनसुन सक्रिय हुने गरेको थियो। सामान्यतया मनसुन भित्रिएको हप्ता दिनमा देशभर मनसुन सक्रिय भइसक्थ्यो।’

बंगालबाट भित्रिएको मनसुनी हावा दक्षिण-पूर्वबाट बहन्छ। त्यसमा यहाँको स्थानीय वायुको प्रभाव पनि रहन्छ। यी दुई वायुको अन्तर्मिलनबाट नयाँ बन्ने मौसमी प्रणालीले सामान्यतया मनसुनी वर्ष गराउनसक्छ।

तर अहिले पूर्वबाट भित्रिएको मनसुनी हावा देशभरि फैलिन सकेको छैन। त्यसलाई पश्चिमबाट बग्ने हावाले पनि छेकिरहेको छ। मौसमविदहरूका अनुसार अहिले त्यहाँबाट भित्रिएको मनसुनी हावा संखुवासभा, झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम र ताप्लेजुङलगायत जिल्लाका केही भागमा मात्रै रुमलिएको छ। 

अघिल्लो वर्ष भारतीय सामुद्रिक आँधीका कारण सिक्किमतिर छिरेको मनसुनी हावालाई बेग दिएको थियो। जसका कारण त्यहाँबाट यो चक्र २२ दिनमै नेपालभरि फैलिनसकेको थियो। यसपालि सिक्किम छिरेको मनसुनी हावा ११ दिनसम्म पनि कोसी प्रदेशकै जिल्लाहरूमा अलमलिएको छ।

प्रकाशित मिति: : 2024-06-13 20:30:00

प्रतिकृया दिनुहोस्