‘भ्यालेन्टाइन डे’

‘भ्यालेन्टाइन डे’ मनाउनु सकारात्मक कि नकारात्मक ?

नेपालसहित विश्वभरी आइतबार ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस मनाइँदैछ। विशेष गरी युवायुवतीले यसलाई उत्सवकै रुपमा मनाउने गरेका छन्। पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रुपले मनाउने गरिएको छ।

यस दिन प्रेमीप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मनपरेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गरिन्छ। तत्कालीन रोमन सम्राट क्लाउडियस द्धितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए। प्रेम तथा विवाहले सैनिक कजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लाउडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए। तर सम्राटको नियम मन नपराउने मध्ये रोमन सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए। उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए। सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा कोचे। 

जेल रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिबिहीन छोरीसँग माया बस्यो। आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले ‘लभ फ्रम योर भ्यालेन्टाइन’ भन्ने हस्ताक्षरसहितको प्रेम पत्र आफ्नी प्रेमिका अर्थात जेलरकी छोरीलाई दिएका कथन छ।

उनलाई सन २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो। यही दिनको सम्झनामा सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभरी हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा ‘भ्यालेन्टाइन डे’ मनाउने गरिन्छ। 

अहिले विश्वभरी युवायुवतीले विशेष महत्वका साथ मनाउने ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस मनाउनु आवश्यकता छ कि, यो विकृति हो भनेर हामीले विभिन्न महानुभावलाई सोधेका थियौं? उनीहरूको विचार जस्ताको त्यस्तैः 

मेनुका राउत (सञ्चारकर्मी) 

प्रेम दिवसले विशेषगरी युवायुवतीलाई नकारात्मक प्रभाव पारेको छ। प्रणय दिवस के हो? यो किन मनाइन्छ? भन्ने नबुझी रमाइलोका लागि विभिन्न रमणीय स्थलमा घुम्न जाने, उपहार, गुलाबको फूल साटासाट गर्ने, मन परेको मान्छेलाइ प्रेम प्रस्ताव राख्ने गर्दछन्। आफ्नो पढाई र भविष्यप्रति गम्भीर हुनुपर्ने समयमा धेरैको दिमागमा प्रेमको नकारात्मक फल फलेको छ। कसैले आफूलाई मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्न फ्रेबुअरी १४ कुरेका हुन्छन्। कुनै मान्छे कसैसँग नजिकिनु मात्रै प्रेम होइन। माया प्रेम केवल निस्वार्थ हुनुपर्दछ। सानोतिनो स्वार्थ र क्षणिक लाभका लागि गरिने प्रेम होइन। यो एउटा बिकृति र देखावटीपना हो। त्यसैले निस्वार्थ माया गर्ने जोडीका लागि हरेक दिन प्रणय दिवस हो। वर्षमा एकदिन विभिन्न उपहारसहित आफ्नो पति पत्नी वा प्रेमी प्रेमिकालाई खुसी पार्ने तर अरु दिन वास्तै नगर्ने, दुःखसुख साटासाट नगर्ने जस्ता व्यवहार हुन्छ भने बर्षमा एकदिन  प्रणय दिवस मनाउनुको कुनै अर्थ रहँदैन। यो बिकृती मात्र हो।

कृष्णउदाशी (साहित्यकार) 

प्रेम आफैँमा पवित्र अनुभूति हो। प्रेमभन्दा सुन्दर अनुभूति संसारमा अरु केहि छैन। प्रेम दिवसका कारण व्यापार भएको छ प्रेम। अनुभूति सस्तो भएको छ। दिवसको अर्थ दिन हो, प्रेम दिवस अर्थात प्रेम गर्ने वा मनाउने दिन। प्रेम कुनै निश्चित दिनको लागि मात्र हुँदैन। मौसमका कारण मात्र हुँदैन। कुनै आयोजना गरेर हुँदैन। उत्सवबाट प्रेम उत्पन्न हुँदैन। बरु प्रेम आफैँमा उत्सव हो।

युवराज ठकुरी ‘अज्ञानी’ (साहित्यकार)

जीवनमा प्रेमको महत्त्व एकदमै विशाल छ। प्रेमले जिन्दगी रङ्गीन बनाउनुका साथै सम्बन्ध पनि सुमधुर बनाउँछ। जस्तोसुकै कठिनाइका बाबजुद निरन्तर संघर्ष गर्न मद्धत गर्छ। तर  अहिले प्रेमलाई हल्का रूपमा लिने स्वार्थपूर्ति गर्ने अनि छोड्ने र अर्को प्रेम गर्ने संस्कृतिको विकास पनि भइरहेको छ। भ्यालेन्टाइनको अर्थ नबुझी देखासिखीको भरमा प्रेमको नाटक रच्नेहरुको पनि यहाँ कमि छैन। नेपाली समाज झट्ट हेर्दा विकृतिको बाटोतर्फ गइरहेको छ कि जस्तो भान पनि हुन्छ। भ्यालेन्टाइनको साँचो अर्थ बुझेर सबैप्रति रिसराग त्यागेर असल सम्बन्ध कायम गर्दै प्रेमको बहार छर्न सके असल संस्कृतिको विकास हुनेथियो। 

मिलन अधिकारी (सञ्चारकर्मी)

आफूलाई अरुभन्दा एडभान्स देखाउन विदेशीको सिको गर्ने नेपालीको बानी हो। अरुले विभिन्न विदेशी दिवस मनाएको देखिरहँदा आफू उभन्दा के कम भन्नका लागि मात्र भए पनि यस्ता दिवसहरु नेपालमा मनाइन्छन्।

वालचन्द्र सुब्बा (स्वास्थ्यकर्मी)

मलाई लाग्छ , केहि आवश्कताहरु मध्ये यो पनि आजका युवाहरूको आवश्यकताको रुपमा विकसित भइरहेको छ। यसलाई विकृति मात्रै हो भन्नु पनि पुरातनवादी सोच हो।

सृष्टि गुरागाई (विद्यार्थी) 

दुवै हो, यसलाई सकारात्मक हिसाबले लियो भने राम्रो हो र नकारात्मक हिसाबले लियो भने विकृति पनि हो। सकारात्मक यस अर्थमा कि, मानिसको सम्बन्ध सधैं एकनास हुँदैन। उतारचढावको सम्बन्धलाई जोड्ने काम यसले गर्छ। यो केवल प्रेमी र प्रेमिकाबीच मात्र हुँदैन। तर आजको पुस्ताले यसलाई केवल केटी र केटाबीचको मायाको दिवसको रूपमा बुझने गर्छन। यो दिनमा कुनै न कुनै केटीलाई प्रस्ताव राख्नुपर्छ वा घुम्न जानुपर्छ भन्ने धारणा गलत हो।

प्रकाशित मिति: : 2022-02-14 11:33:00

प्रतिकृया दिनुहोस्