आममाफी पाएका रेशम चौधरीले गरे सरकारी गाडीको दुरूपयोग  

टीकापुर हत्याकाण्डमा दोषी ठहर भइ आममाफी पाएका रेशमलाल चौधरी (रेशम चौधरी)ले सरकारी गाडीको दुरूपयोग गरेका छन्।

जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा आममाफी पाएर गृह जिल्ला कैलाली पुगेका चौधरीले टीकापुर नगरपालिकाको गाडी दुरूपयोग गरेका हुन्।

उनी कैलाली पुगेपछि टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुको गाडी दुरूपयोग गर्दै कैलालीमा भेटघाट गरिरहेका छन्। नगरपालिकाको से १ झ २९४ नम्बरको गाडीलाई घर छाड्नदेखि भेटघाटसम्ममा प्रयोग गरेको स्रोतले बतायो।

नगरपालिका प्रमुख रामलाल डगौरा थारुले गाडीको दुरुपयोग नभएको बताउँछन्। उनले बुधबार कैलाली कारागारमा टीकापुर घटनाका बन्दीलाई भेट्न रेशमसहित आफूहरु गएको बताउँदै बाँकी दिनमा दुरूपयोग नभएको बिएल नेपाली सेवालाई जानकारी दिए।

बुधबार संघ, प्रदेशका सांसदसहित आफू र रेशम चौधरी कारागारमा गाडी लिएर पुगेको डगौरा थारुको भनाइ छ। तर स्रोतले रेशम चौधरीले नगरपालिकाको गाडी दैनिक प्रयोग गर्ने गरेको बताएको छ।

टीकापुर नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत मंगलबहादुर शाहीले समाचारमा नगर प्रमुखको गाडी दुरूपयोग भएको सुनेको बताउँदै त्यसबारेमा आफु जानकार नरहेको बताए। ‘मैले पनि समाचारमा सुनेको छु। नगर प्रमुखलाई उपलब्ध गराइएको गाडी कहाँ, कसले दुरूपयोग गरेको छ भन्ने जानकारी छैन’, उनले भने।

प्रकाशित मिति: : 2023-06-04 17:54:00

प्रतिकृया दिनुहोस्