कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै। यो त आफैँमा जागरण पनि हो। चेत पहिल्याउने बाटो पनि हो। कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी। अर्को नदी अर्थात् कालीगण्डकी। यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले।
नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी। ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन्। पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो। यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ। स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ।
दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ। नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन्।
दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ। नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ। यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ।
त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ।
त्यसलाई कवितामार्फत मुखरित गर्न ’कालीगण्डकी बचाऔँ अभियान’ले 'नदी सप्तक श्रृङखला' (आन्दोलन कविता) सुरू गरेकाे छ।
यस अन्तर्गत स्राेहाैँ श्रृंखलामा कवि निमेष निखिलकाे कविताः
अर्थात् नदीहरू
फेरि तिम्रा ओठहरूमा गीत बनी टाँसिएर
म अक्षम राजनीतिज्ञको बेसुरो प्रशंसा चाहन्नँ ।
उप्काएर संवेदनाका पत्रहरू
रगताम्मे भइसकेकी छु ।
बिर्सिसकेकी छु दुख्न
आफन्ती पीडाहरूमा- पराईको के कुरा !
तिमीले रोपिगएको आशाको लहरामा
अहँ फलेनन् आँत शान्त पार्ने पानीका घोगाहरू
बदलामा सलहको सुनामी पसेको छ
मेरो जीवनदायी बहावमा ।
तिमीले माग्न नपाउँदै
आफै रित्तिने गरी दिएँ सबैथोक ।
खेतबाट सुनौला बाला बनेर
चाहारेँ तिम्रा नसा-नसामा ।
भन, कहाँबाट आयो
तिम्रा लालाबालाको ओठमा फुलेको मुस्कान ?
बिर्सेर, बग्ने मेरो प्रकृतिलाई
तिमीले पटकपटक उभ्याएपछि अहंकारको पर्खाल
म क्रमशः आगोमा रूपान्तर भइरहेछु ।
तिम्रो दम्भको परिणति खरानीबाहेक केही होइन
नबिर्स
त्यो खरानी बगाई लैजाने पनि मै हुँ ।
अर्थात् म नदी
म द्रोणाचर्यको गुरूदक्षिणाले श्रापित
एकलव्यको आलो घाउ हुँ ।
यसलाई पाेस्टरमा पनि पढ्न सकिन्छः