प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आज भेटवार्ता हुँदै

चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्।

प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा द्धिपक्षीय भेटवार्ता हुनेछ। भारतीय समकक्षीसँग भेटवार्ता गरे लगत्तै प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ। 

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षीबीच नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी  प्रबर्द्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाईमार्गका बारेमा छलफल हुनेछ बताइएको छ।

प्रचण्डले आजै साँझ होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्नेछन्। शुक्रबार भने प्रधानमन्त्री मध्यप्रदेश जानेछन् भने शनिबार त्यहाँबाट दिल्ली आएर स्वदेश फर्किने कार्यक्रम बनाइएको छ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डसँग भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हिजाे शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्रीलाई भेट्न डोभाल उनी बसेकाे होटल मौर्यमा पुगेका थिए।

प्रकाशित मिति: : 2023-06-01 09:05:00

प्रतिकृया दिनुहोस्