आर्थिक समृद्धिका लागि अहिलेको व्यवस्था परिवर्तन गर्नुपर्छ: प्रभु साह

File Photo
File Photo

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले देशको आर्थिक समृद्धिका लागि अहिले व्यवस्था नै परिवर्तन गर्नुपर्ने बताएका छन्।

अहिलेकै शासकीय प्रणाली, राजनीतिक नेतृत्व तथा राजनीतिक व्यवस्था एवं स्वरुपलाई अलग राखेर समृद्धि सम्भव नभएको निष्कर्ष उनको छ। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद साहले अहिलेको मुख्य समस्या पहिचान गरेर समाधान नगरेसम्म समृद्धि सम्भव नभएको ठोकुवा गरे।

‘हामीले जुन प्रणाली अपनाइरहेका छौँ, त्यसले स्थिरता नै दिन सकेको छैन। एकताभाव नै दिन सकिरहेको छैन। त्यसले एउटा स्पष्टता नै दिन सकिरहेको छैन। त्यसले एउटा सही नेतृत्व नै दिनसकेको छैन। सही नेतृत्व दिए पनि टिक्नै दिइरहेको छैन, कामै गर्न दिइरहेको छैन, त्यसैले यो व्यवस्थाको बारेमा एक चोटी विचार गर्न म आग्रह गर्न चाहन्छु’, साहले भने।

टाउको दुखेको बेला घुँडाको उपचार गरेर बिरामी निको नहुने बताउँदै उनले मुलुकको अहिलेको मुख्य समस्या नै पहिचान गरेर समाधान गर्नुपर्ने बताए।

‘नेपाली जनताले देशमा भविष्य देख्न छाडेका छन्। मजदुरहरू, युवाहरू विदेश पलायन भइरहेका छन्। पढेलेखेका युवाहरू लाखौं रकम तिरेर विदेशको नागरिक बन्न चाहन्छन्। किन यस्तो अवस्था आयो? युवालाई यो देश मेरो हो भन्ने महसुस किन भइरहेको छैन?’ सांसद साहले प्रश्न गरे, ‘देशमा विकास किन भएन भनेर सोचिरहँदा आर्थिक समस्या पहिचान गर्न सक्नुपर्छ। टाउको दुखेको बेला घुँडाको उपचार गरेर हुँदैन। त्यसैले हामीले अपनाइरहेको अहिलेको व्यवस्थामा एक चोटी विचार गर्न म आग्रह गर्न चाहन्छु।’

मुलुकमा आफ्नो भविष्य नदेखेका लाखौँ युवाहरु अहिले उदाशीन बनेको बताउँदै युवा जनशक्ति विदेशीने, पढेलेखेका व्यक्ति नेपालमा बस्न नचाहने, विधार्थी विदेश जान चाहने यस्तो विदेश पलायन हुने क्रम रोक्न नसकिएकोमा उनले चिन्ता व्यक्त गरे। 

पुर्वमन्त्री समेत रहेका सांसद साहले स्थिरता र असल नेतृत्वको अभाव देखिएको भन्दै आम युवाहरूमा एकता भाव जागृत गराउन नसकिएको बताए। अहिलेको शासकीय व्यवस्था परिवर्तन गरेर हामीले आर्थिक समृद्धि ल्याउन सक्ने उनले बताए।

‘यो सरकार मेरो हो, यो राज्य मेरो हो भन्ने महसुस दलका आसेपासहरूलाई मात्रै भएको छ। आम जनतालाई त्यस्तो महसुस भएको छैन। मुठ्ठीभर मान्छेहरू मात्रै खुसी छन्। आम जनता दुःखी छन्। दलभित्र पनि सिन्डिकेट छ र मुठ्ठीभर मान्छेले मात्र लाभ लिइरहेका छन्। स्थिरता दिन सकिएको छैन। एकताभाव दिन सकिएको छैन’, साहले भने।

यस क्रममा सांसद साहले आर्थिक समस्याको समाधानसँगै समस्याको कारण पनि पहिचान गरिनुपर्ने स्मरण गराएका थिए। अहिले जनताको शासन नभएको बताउँदै उनले दलतन्त्र र केही मुठिभर मान्छेको हालीमुहाली मात्रै रहेको बताउँदै नेताहरु जनताबाट नभई ती मुठ्ठीभर नेतासंग डराउने गरेको उनले बताए। यदि जनता मालिक हो भने हामी जनताबाट गाइडेड हुनुपर्ने भए पनि त्यस्तो नभएको उनले बताए। नेपालमा अहिले लोकतन्त्र हैन दल तन्त्र रहेको छ र मुठ्ठीभर मान्छेले राज्य गरिरहेको साहले बताए।

प्रकाशित मिति: : 2023-05-09 17:37:00

प्रतिकृया दिनुहोस्