ललितपुर उद्योग वाणिज्य संघकाे निर्वाचन

मैले गरेका काम नै मेरो जित्ने आधार हुन्: रुपकमान महर्जन (भिडियोसहित)

शनि शाक्य

काठमाडौं

आउँदो असोज–१९ गते ललितपुर उद्योग वाणिज्य संघको ४४औं साधारण सभा तथा अधिवेशन हुँदैछ। 

ललितपुरको शंखमूलस्थित यल दरबारमा संघको साधारणसभा र २० गते स्टाफ कलेज, जावलाखेलमा निर्वाचन हुने भएको छ। सोही कारण आफ्नो विचार सुनाउँदै मतदाताहरुसँग मत पाउनका लागि उम्मेदवारहरुबीच प्रतिस्पर्धा  चहिरहेको छ। त्यही दौडमा छन्, ललितपुर उद्योग वाणिज्य संघका महासचिव रुपकमान महर्जन। 

२०७३ सालदेखि उद्योग वाणिज्य संघमा पाइला टेकेका उनले अहिले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। दुई पटक सदस्य हुँदै महासचिवको कार्यकाल सम्हालेका उनै महर्जनसँग बिएल नेपाली सेवाले गरेको कुराकानी–

तपाईंले अध्यक्षमा किन उम्मेदवारी दिनुभयो?

सर्वप्रथम त उद्योग व्यवसायीहरूको सुख र दुःखमा साथ दिनका लागि मैले ललितपुर उद्योग वाणिज्य संघमा उम्मेदवारी दिएको हुँ। विगत लामो समयदेखि संघमा आवद्ध रहेर मैले यहाँका उद्योगी व्यवसायीहरूको कुममा–कुम मिलाएर काम गरेँ।

२०७३ सालदेखि संघमा रहेर मैले मेरो तीन कार्यकाल सफलताका साथ पूरा गरें। सोही अवधिमा मैले काम सिक्नका साथै अनुभवहरू बटुल्न अवसर पाएँ। त्यसैले उद्योग वाणिज्य संघलाई मेरो नेतृत्वमा एक सबल र एकताबद्ध परिवारको रुपमा विकास गर्नका लागि मैले अध्यक्ष पदका लागि उम्मेदवारी दिएको हुँ।

तपाईंले चुनावलाई कत्तिको चुनौतीको रुपमा लिनुभएको छ?

चुनाव आफैंमा एउटा चुनौतीपूर्ण छ। तर, मैले चुनावलाई चुनौतीको रूपमा लिएको छैन। यदि ललितपुर उद्योग वाणिज्य संघमा म नयाँ मान्छे भएको भए यो मलाई चुनौती लाग्थ्यो होला। तर म पुरानो मान्छे हुँ।

चुनावमा लडेर जित्दै आइरहेको छु। त्यसैले म लगायत मेरो साथीहरूले चुनावलाई चुनौती नभई एउटा अवसरको रुपमा लिएका छौं। र, हामीले नै जित्नेछौंँ।

यो पटकको चुनावमा तपाईंले नै जित्नुहुन्छ भन्ने मुख्य आधार के–के हुन्?

मैले चुनाव जित्ने मुख्य आधार भनेकै विगतका दिनेदेखि मलाई विश्वास गर्दै आइरहनुभएको मेरा मतदाता र उद्योगी व्यवसायीहरू हुन्। र, अर्को आधार भनेको मेरो काम हो। जुन मैले उद्योग व्यवसायीहरूका लागि लामो समयदेखि गर्दैआइरहेको छु। त्यसैले मलाई विश्वास छ कि मैले यो पटकको चुनावमा अत्याधिक मत ल्याएर जित्नेछु।

तपाईंले तपाईंको प्रतिस्पर्धीहरूलाई कत्तिको सहज रुपमा लिनुभएको छ? 

मैले मेरो प्रतिस्पर्धीहरूलाई एकदमै सहजको रुपमा लिएको छु। किनकी मसँग क्षमता छ। मैले नेतृत्व लिन सक्छु र म सक्षम छु। जसको प्रमाण मेरा मतदाताहरू हुनुहुन्छ। उहाँहरूकै विश्वास र मतको कारण मैले निरन्तर मेरो कार्यकाल पूरा गरेँ। यो पटकको चुनावमा पनि म र मेरो टिमहरूलाई मतदाताहरूले आफ्नो अमूल्य मत दिएर जिताउनु हुन्छ भन्ने कुरामा पूर्ण विश्वस्त छौं। त्यसैले हामी हाम्रो प्रतिस्पर्धीहरूसँग डराएका छैनौं।

चुनाव जितिसकेपछि तपाईंको प्राथमिकता के–के मा रहनेछ?

ललितपुर उद्योग वाण्ज्यि संघको हकहितका लागि हामीले धेरै काम गर्यौं। र अझैं पनि गर्न बाँकी नै छ। ललितपुर एउटा हस्तकला नगरीय हो। यहाँ उत्पादन भएका हस्तकलाहरू संसारका जुनसुकै ठाउँहरूमा पनि प्रतिस्पर्धा गर्नसक्छ। तरपनि अन्तर्राष्ट्रिय स्तरसम्मको बजार पाएको अवस्था छैन। सोहीकारण हामीले उद्योगीलाई प्रबोधन गरेर रोजगार वृद्धिका साथै विदेशी पैसाको आर्जन गर्नुपर्छ। जसका लागि हामीले ललितपुरमा उत्पादन भएका हस्तकलाहरूलाई निर्यात गर्नुपर्छ। 

हामीले ललितपुरमा उत्पादन भएका हस्तकलालाई प्रचार गर्नुपर्छ। त्यसैगरी लुभुमा २००–३०० वटा कारखानामा कपडाहरू उत्पादन हुन्छ, जसलाई हामीले बजारीकरण गर्न सकेका छैनौं। र, अब त्यहाँ बनेका कपडाहरूको पनि बजारीकरण गर्नुपर्छ। 

त्यसैगरी ललितपुरको दक्षिण भेगमा कृषि र आन्तरिक तथा बाह्य पर्यटनको सम्भावना बोकेको ठाउँ छ तर त्यहाँ पूर्वाधारको विकास गर्न सकिएको छैन। त्यसका लागि अब हामीले महानगरपालिकासँग सहकार्य गरेर बजारको व्यवस्था गर्नुपर्छ। यसले गर्दा किसानले उत्पादन गरेका सामानहरू किनबेचका साथै पर्यटकहरूको आवतजावत पनि बढ्नेछ। 

त्योसँगै अर्को हाम्रो प्राथमिकता गोदावरी नगरपालिका–८ र ९ छम्पीमा रहनेछ। म संग्लन भएको एउटा प्रोगेक्ट छ, नेपाल आर्ट भिलेज। यसले संसारको सबैभन्दा ठुलो ७२ फिट हाइट र ९८ फिट चौडाइ भएको भैरवको मूर्ति बनाएको छ। पञ्च धातुबाट बनेको त्यो मूर्तिमा स्वगीय राजकुमार शाक्य दाइकाे संग्लनता छ। उहाँले भुटानमा १५५ फिटको हस्तकला बनाइसक्नुभएकाे छ। वरिष्ठ कलाकार तथा परियोजनाकार राजेश वाले पनि त्यहाँ आवद्ध हुनुहुन्छ। हामीले एक वर्षभित्रमा मूर्तिको उद्घाटन गर्ने लक्ष्य राखेका छौं। यसो गर्नाले हाम्रो जिल्लामा पर्यटक बढ्नेछन् भन्ने विश्वास गरेका छौं। नेपालालाई रोजगारीमा आत्मनिर्भर बनाउने नै हाम्रो उद्देश्य हो। 

अन्त्यमा, तपाईं मतदाताहरुलाई के भन्न चाहनुहुन्छ?

यो पटकको चुनावमा हामीहरूलाई आफ्नो अमूल्य मत दिएर जिताउनका लागि मेरा मतदाताहरूसँग आग्रह गर्न चाहन्छु। विगतका समयमा मलाई गर्नुभएको विश्वास यो पटक पनि कायमै राखेर मलाई जिताउनुहुन्छ भन्ने मैले आशा र भरोसा गरेको छु। हामीलाई आफ्नो महत्वपूर्ण भोट दिएर जिताउनुहोस् हामी तपाईंहरूलाई कुनै गुनासो राख्ने ठाउँ दिने छैनौं।  


ललितपुर उद्योग वाणिज्य संघको अध्यक्ष र महासचिवमा उम्मेद्वारी घोषणा

प्रकाशित मिति: : 2023-09-20 18:00:00

प्रतिकृया दिनुहोस्