मोरङमा एमाले नेताको चर्को असन्तृष्टि, ५ नेताद्वारा पार्टी परित्याग

मोरङमा नेकपा एमाले नेता तथा कार्यकर्ताको असन्तृष्टि चर्किँदै गएको छ। टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेताहरुले धमाधम पार्टीबाट राजिनामा दिइरहेका छन्। 

शनिबार मात्रै एमाले मोरङका सचिव रुपेश खतिवडा, प्रदेश कमिटी सचिवालय सदस्य डिल्लीराम शर्मा, केराबारी गाउँ कमिटी अध्यक्ष देविलाल लिम्बूसहित २० जनाले पदबाट राजिनामा दिएका थिए। 

आइतबार बिहान एमाले मोरङका जिल्ला कमिटी सचिवालय सदस्य मेघराज कट्टेलले राजिनामा दिएका छन्। 

उम्मेदवारहरुले मनोनयन दर्ता गरिरहँदा एमाले मोरङ पार्टी छाड्नेको संख्या रोकिएको छैन्। आइतबार दिउँसो पाँच नेताहरुले पार्टीबाट अलग भएको घोषणा गरेका छन्। पार्टीबाट राजिनामा दिनेहरुमा एमाले प्रदेश कमिटी सचिवालय सदस्य रामकुमार बस्नेत, प्रदेश सदस्य प्रतापकुमार थापा, मधु गुरुङ, राजकुमार बस्नेत र जिल्ला कमिटी सचिवालय सदस्य गीता सिवा रहेका छन्। 

संयुक्त राजिनामा पत्र जारी गर्दै उनीहरुले पार्टीले आम कार्यकर्ताको भावना र चाहना विपरीत गतिविधि गरेको महशुस गरी पार्टीबाट अलग भएको बताएका छन्। 

आफूहरुजस्तै पार्टीबाट अपमानित भएकाहरुलाई पार्टीबाट अलग हुन र आगामी दिनमा स्वतन्त्र भएर राजनैतिक, सामाजिक अभियानमा सामेल हुनसमेत उनीहरुले आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2022-10-09 16:49:00

प्रतिकृया दिनुहोस्