जीवन सन्तुलित राख्न के चाहिएला ?
परिवार, साथीभाईको साथ सहयोग। चाहनाहरु पूरा गर्न सक्ने कमाई। त्यो भन्दा ठूलो सग्लो शरीर। यस्तै यस्तै ...
एउटा भनाई नै छ नि, ‘रिन लागोस्। तर दिन नलागोस्।’
दुख्ख, विमार नपरे जे पनि गर्न सकिन्छ। सम्भव छ। हाम्रो समाजले बसाई दिएको मानक यस्तै छ।
तर, २० वर्षीय विशाल गर्बुजालाई भने सजिलो छैन जिन्दगी सन्तुलनमा राख्न। सग्लो मान्छेले भन्दा धेरै पापड बेल्नुपर्ने छ। विशाल अपाङ्ग शरीर लिएर जन्मे। देब्रे हातको कुइँनो मुनिको भाग उनले गर्भमै गुमाए।
विशालका बा’आमा यहाँका होइनन्। पोखराभन्दा मास्तिर म्याग्दीका हुन्। आफूले जस्तो दुख छोराछोरीलाई दिन चाहेनन्। एउटा सानो घर। छोराछोरीलाई राम्रो पढाउने। लेखाउने। सानो लक्ष बोकेर झरेका थिए, पोखरा। पोखराको पुछारतिर गगनगौंडामा सानो घर बनाए। विशाल त्यही जन्मे।
ooo
आमाबाबुका लागि खुशी पनि छोराछोरी। पीर पनि उनीहरुकै।
विशालका लागि खुबै पिरोलिए बाबुआमा।
आफू सरहका साथीहरुको सग्लो शरीर देखेर विशाललाई पनि मन हुन्थ्यो। उनको पनि उस्तै शरीर होस्। तर, विशालले आफूलाई कमजोर बनाएनन्। अरु साथी सरह लेख्न, पढ्न अनि खेल खेल्न थाले। अहिले त पारा तेक्वान्दो खेलाडी बनेर नेपाललाई नै विश्वसामु चिनाउन कम्मर कसेर लागि परेका छन् विशाल।
हो, विशाल अहिले हिम्मत नहारी पारा तेक्वान्दो सिक्दै छन्। पारा तेक्वान्दोबाटै कुनै दिन नेपाललाई पदक दिलाउने उनकाे लक्ष्य छ।
ooo
विशाललाई खेलप्रति मोहा कसरी बस्यो ? थाहा छैन।
तर, १० कक्षा पढ्दा स्कुलबाट खेलेको एउटा प्रतियोगिताले नै हो खेलेर केही गर्नुपर्छ भन्ने लागेको। ‘ओलम्पिक दिवसका दिन कास्कीमा आयोजित अन्तर विद्यालय ह्यान्डबल प्रतियोगितामा एक हातले मात्र खेलेको थिएँ। प्रतियोगिताको ‘आउटस्ट्यान्डिङ प्लेयर’ बनें। त्यसपछि खेलेर केही गर्नुपर्छ भन्ने लाग्यो,’ उनले सुनाए।
त्यो बेला पुरस्कार बाड्ने व्यक्ति अहिलेका गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङ थिए। विशाललाई हिजै जस्तो लाग्छ उनको हातबाट पुरस्कार थापेको। आर्थिक सहयोग पनि पाएका थिए उनले त्यो बेला। त्यसपछि नै त हो उनलाई खेलेर पनि केही गर्न सकिन्छ कि भन्ने आँट पलाएको।
‘खेलकुदकै माध्यमबाट मैले परिवार पाल्ने, पहिचान कमाउने सामथ्र्य राख्छु भन्ने लाग्छ,’ विशाल सुनाउँछन्।
विशाल अहिले काठमाडौंमा पढाइ गर्छन्। उतै खेल सिक्छन्।
खेल मात्रै कहाँ हो र !
विशाल, साइकल पनि सग्लो शरीर भएका जसरी कुँदाउछन्। काठमाडौंका व्यस्त सडकमा उनी कुँदी रहेका हुन्छन् हिजोआज। कलेज आउजाउ गर्नेदेखि बाहिरतिर निस्किदा उनी साइकलै प्रयोग गर्छन्।
बुटवलदेखि पाल्पासम्म पनि साइक्लिङ गरेका छन् विशालले। पहिलो पटक लामो साइक्लिङ थियो त्यो। साइकलेहरुको समुहसँग उनले साइक्लिङ गरेका थिए।
साइकल कुँदाउन रहर गरे पनि उनको आफ्नै साइकल भने थिएन। उनले साइकल कुँदाउन साह्रै रहर गरेको देखेर देखेर इन्दिरा रानाले उनलाई एउटा साइकल किनिदिइन्। उनको आफ्नै साइकल त्यसपछि पाए। पोखरा आसपासका धेरै ठाउँहरु साइकलमा घुमेका छन् उनी।
साइकलेहरुको मेला टूर दि पोखरामा ब्राण्ड एम्बेस्डर पनि बनेका थिए विशाल।
ooo
उनलाई साइकल सिक्न सहयोग भने उनका बालसखाहरुले गरेका थिए।
एक जनाले पछाडिबाट समाइदिने अघिबाट अर्का एक जना। दुई जनाको सहयोगमा उनले साइकल कुँदाउन सिकें। झण्डै एक वर्ष नै लाग्यो रे! उनलाई साइकल सिक्न। घरमा साइकल थिएन। अरुकै कुर्नुपथ्र्यो। ‘आफ्नै साइकल भए चाँडै सिक्थे,’ विशाल भन्छन्।
ooo
कलेज सकिएपछि पारा तेक्वान्दो सिक्दै आफ्नो परिचयको फराकिलो पार्ने बाटोमा छन् विशाल। पारा तेक्वान्दो प्रशिक्षकसँग भेटाउने काम भने उनलार्ई पोखराका युग लामाले गरेका थिए।
पलेसा भारद्वाज उनलाई मन पर्ने पारा तेक्वान्दो खेलाडी। पलेसाले नेपालका लागि ओलम्पिकमा पारा ओलम्पिकमा तेक्वान्दोतर्फ उनी काँस्य पदकका लागि खेलेकी थिइन्। नेपालबाट पारा तेक्वान्दोमा भाग लिएर पदक दिलाउने उनको ठूलो धोको छ।
हँसमुख स्वभावका विशाललाई अन्तिममा हामीले सोध्यौं तपाईंलाई कुनै बेला अप्ठ्यारो लाग्छ शारीरिक बनोटले ?
‘म फरक क्षमता लिएर जन्मिएकोमा एकदमै गर्व लाग्छ। यसैका कारण पनि मैले धेरै मौका पाएको छु र मानिसहरूको राम्रो प्रतिक्रिया पाएको छु,’ उनी भन्छन्,‘मैले थोरै मात्रै पनि मानिसहरूको राम्रो प्रतिक्रिया पाएको छु। मैले थोरै मात्रै पनि केही गरेँ भने अरु मानिसले पाउने प्रतिक्रियाभन्दा निकै राम्रा प्रतिक्रिया मैले पाउँछु।’