लाेभलाग्दाे मार्ग पोखरी, तर पुग्नै छाडे पर्यटक

कुनै बेला जिल्लामा निक्कै कहलिएको पर्यटकीय गन्तव्य हो, मार्गपोखरी। तेह्रथुमको छथर गाउँपालिका-१ आङदिमका याे पाेखरी रहेको छ। धार्मीक तथा पर्यटकीय रुपमा परिचित पोखरीमा केही वर्षअघिसम्म पर्यटकको आकर्षण थियाे तर अहिले सुनसान छ। 

हरिया डाँडाकाँडाले घेरिएको पहाडको टुप्पोमा रहेको पोखरी सफा, सुन्दर र लाेभलाग्दाे छ। सिधुवा-शुक्रबारे सडक खण्डको डङडङे भन्ने स्थानबाट करिब आधा घण्टा पैदल हिँडेपछि पुग्न सकिने यो पोखरी प्रचार-प्रसार अभावमा ओझेलमा परेकाे छ। पोखरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न  प्रदेश १ को उद्योग वन तथा पर्यटन वातावरण मन्त्रालयकाे १० लाख बजेटबाट पदमार्ग निर्माण समेत भएकाे छ।

यस पोखरीमा भाकल गरे मनोकांक्षा पुरा हुने जनविश्वास छ। अहिले पाेखरीमा पानी घट्दै गएको स्थानीय निङ्मा शेर्पाले बताए। ‘पहिले पहिले पोखरीमा भाकल गरे चित्ताएको पुरा हुन्छ भनेर आउँथे। धामीहरु गुफा बस्थे तर, खै किन हो अहिले आउँदैनन्,’ उनले भने।

वरिपारि लोभलाग्दो हिमशृङ्खलामा रम्ने सकिने यो पोखरीमा पर्यटक खासै पुगेको पाईदैन। त्यसो त भौतिक पुर्बाधार निर्माणा नभएका पनि हैनन्। यहाँ आउने पर्यटकको लागी शौचालय, खानेपानीको धारा, विश्रामस्थल, पदमार्गलगायतका संरचना पनि छन्।

पोखरी संरक्षणका लागि प्रयास भए पनि पर्यटकको नजर पुगेको छैन। पहाडको दृश्य अवलोकन गर्दै पोखरीसम्म पुग्दा रमाइलो भए पनि पदमार्ग छेग्ने झाडी हटाउन आवश्य रहेकाे पर्यटक कुमार लिम्बूले बताए। 

पोखरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश तथा स्थानीय सरकारले काम गर्दै आएको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए। प्रचारप्रसार अभाव तथा सरोकारवाला निकायहरुले चासो नदिँदा पर्यटकीय रुपमा प्रचुर सम्भावना बोकेको पोखरी आफैमा ओझेल पर्दै गएको छ। 

प्रकाशित मिति: : 2022-08-27 15:03:00

प्रतिकृया दिनुहोस्