अध्यक्ष गोल्छा–बंगलादेशका राजदूतको भेटः 

बंगलादेशसँग नेपालको व्यापार घाटा घटाउने उपायबारे छलफल, बिराटनगर–ढाका हवाइसेवा सञ्चालन गर्न राजदूतको प्रस्ताव 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँग नेपाल लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले महासंघ सचिवालय, टेकुमा भेटवार्ता गरेका छन्।

भेटमा व्यापारिक सम्बन्ध आशातित रुपमा बलियो हुन नसकेको विषयमा छलफल गर्दै आगामी दिनमा यसलाई सुदृढ बनाउन दुबै पक्ष प्रतिबद्ध रहेको सो अवसरमा बताइएको छ।

उद्योग–वाणिज्य महासंघका तर्फबाट सार्वजनिक जानकारीअनुसार, महासंघका अध्यक्ष गोल्छाले बंगलादेश कम विकसित मुलुकबाट स्तरोन्नतिको प्रकृयामा रहेकोले सो सम्बन्धी अनुभव नेपालको लागि उपयोगी हुने बताएका छन्।

व्यापार घाटा कम गर्न तथा आपसी आर्थिक सम्बन्धलाई थप विस्तार गर्न उर्जा, पर्यटन जस्ता क्षेत्रहरूमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा दुवैको जोड थियो।

भौगोलिक दूरीका हिसाबले जम्मा २७ किलोमिटर टाढा रहेको बंगलादेशले दक्षिण एशियामा नेपालसँग दोस्रो ठूलो व्यापार साझेदार रहेको तथ्यांकले देखाउँछ तर पनि दुवै मुलुक बीचको द्विपक्षीय व्यापारमा ठूलो व्यापार घाटा नेपालले व्यहोर्दै आएको छ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार पछिल्लो आर्थिक वर्षमा नेपालले जम्मा ५.७ मिलियन डलर बराबर निर्यात र बंगलादेशबाट ९०.६ मिलियन डलर बराबरको आयात गरेको थियो।

नेपालले हाल मुसुरीको दाल, खाद्य प्रिपरेशन, गहुंको चोकर, रङ्ग–रोगनका सामग्री, वनस्पति तथा वनस्पतिजन्य वस्तुहरु लगायतका सामग्रीहरु निर्यात गर्दै आएको छ भने जुट, औषधि, विद्धुतीय सामानहरु आयात गर्दछ।

०७८ असारसम्ममा नेपालमा कृषि तथा वनमा आधारित, उर्जा, आईटी, उत्पादनमुलक, खानी, सेवा र पर्यटन क्षेत्रमा गरी ७४ वटा संयुक्त लगानीका परियोजनाहरू रहेका छन्।

अध्यक्ष गोल्छाले बंगलादेशले छोटो समयमा गरेको आर्थिक उन्नतिको अध्ययन गर्न नेपाली व्यवसायीहरुको टोली स्थलमार्गबाटै भ्रमण गर्ने योजना रहेको बताउँदै बंगलादेशसँग आर्थिक सम्बन्ध मजबुत बनाउन नेपाली निजी क्षेत्र लालायित रहेकाले आर्थिक कूटनीतिमार्फत् सहयोग गर्न आग्रह गरे। साथै उनले व्यापार घाटालाई कम गर्न नेपालबाट उर्जा निर्यात बलियो स्रोत हुने बताए।

भेटमा राजदूत चौधरीले द्वि–पक्षीय व्यापार बढ्न नसकेकोलाई गम्भीरतापूर्वक लिई सम्भावनाका पाटाहरु खोज्नुपर्ने बताए। उनले द्वि–पक्षीय लगानी सम्झौता हुनुपर्नेमा जोड दिएका थिए।

‘स्थलमार्गका साथसाथै हवाई मार्गबाट पनि नेपालको विराटनगर विमानस्थल र बंगलादेशको विमानस्थलबीच सीधा हवाइसेवा सञ्चालन गर्न सकिने संभावना छ’, राजदूत चौधरीले भने, ‘आफनोेतर्फबाट आपसी आर्थिक सम्बन्ध विस्तारका हरेक प्रयास र दुवै देशका निजी क्षेत्र बीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा राजदूतावासको सदैव सहयोग रहने छ।’

भेटवार्तामा महासंघका उपाध्यक्षद्वय अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई तथा कार्यकारिणी समिति सदस्य एवं व्यापार समिति सभापति विजयसिंह वैधको उपस्थिति थियो।

प्रकाशित मिति: : 2021-10-01 17:50:00

प्रतिकृया दिनुहोस्