एउटा कहालीलाग्दो जीवनसामु अँध्यारो भविष्य

‘श्रीलंका जीवन र मृत्युको डिलमा झुन्डिएको छ। न जागिर छ, न खाना किन्ने पैसा। देश बाहिर निस्कने कुनै बाटो नै छैन,’ श्रीलंकाको राजधानी कोलम्बोबाहिर बस्दै आएकी ५० वर्षीया एकल आमा शान्तिले भनिन्।

कोलम्बोस्थित राष्ट्रपति भवनमा हजारौं मानिसहरूले आक्रमण गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षेले राजीनामा दिने तयारीमा छन्। ५० वर्षे एकल आमाका छोराछोरीहरू शासकविरूद्ध सडक आन्दोलनमा निस्किएका छन्। उनी आफैँपनि प्रदर्शनमा सामेल भएको बताउँछिन्।

‘हामीलाई निद्रा लाग्दैन। यो मेरो जीवनको सबैभन्दा खराब समय हो। अब त मैले भाडा पनि तिर्न सक्दिनँ,’ उनै शान्तिले डीडब्ल्यूलाई भनिन्।

श्रीलंकामा आर्थिक संकट गहिरिँदो छ। जताततै मुस्किल छ। मानिसहरू तनाव झेलिरहेका छन्। बाँचिरहेको जीवन कहालीलाग्दो छ। भविष्य अँध्यारो छ। तर आफ्ना तीन सन्तान हुर्काउने प्रयासमा छिन्, शान्ति। लाखौं श्रीलंकाली जस्तै उनी पनि आफ्नो भविष्यबारे थप चिन्तित छिन्।

‘छोराले विदेश गएर काम गरोस् भन्ने चाहना थियो। तर राहदानी पनि पाएको छैन। सरकारी संयन्त्रले काम नै गर्दैन। छोराले मोटर मेकानिक पढेको छ तर जागिर छैन। जागिर पाउनका लागि सबै प्रयास गर्यो। तर कोही जागिर दिन तयार भएनन्। जेठी छोरीले भाग्यले जागिर पाइन् तर ज्याला निकै कम छ,’ शान्तिले भनिन्।

हाइस्कुलमा पढिरहेकी कान्छी छोरीको भविष्यबारे उनी अझै चिन्तित छिन्। श्रीलंकामा प्रायः जसो विद्यालय र सामाजिक संस्था बन्द छन्। पेट्रोलियम पदार्थको अभाव छ। कान्छी छोरी दश किलोमिटर हिँडेर हप्तामा दुईपटक ट्युसन पढ्न बाध्य छिन्।

श्रीलंका संकटपछि सार्वजनिक यातायात बन्द छ। घरमा पढ्नका लागि इन्टरनेट र भरपर्दो बिजुली नै छैन। आर्थिक मन्दीले इन्धन र खाद्यान्नको तीव्र अभाव निम्त्याएको छ।

कोलम्बो नजिकै भेलाम्पत्यामा बस्ने अटोरिक्सा चालक मोहम्मद जाफरिनले इन्धन नपाएको गुनासो गरेका छन्। चार सन्तानका बुबा उनी परिवारका एकमात्र कमाउने व्यक्ति हुन्। ‘चार दिन लाइनमा बसेपछि मात्रै इन्धन पाइन्छ। ज्यान पाल्नै मुस्किल भइरहेको छ। बच्चाबच्ची पढ्छन्। हुर्काउनै धौ–धौ भयो,’ उनले भने।

श्रीलंका संकटपछि राष्ट्रपति राजपक्षे सम्पर्कविहीन छन्। मानिसहरू आक्रोशित छन्। राष्ट्रपति भवन कब्जा गर्नका लागि हजारौँ किलोमिटर पैदल हिँडेका युवा–युवतीहरू कोलम्बो आइपुगेका छन्।

महिना दिनदेखि आन्दोलन जारी रहेपनि हजारौं मानिस शनिबार मात्रै दरबारभित्र छिरे। आक्रोशित भीडलाई राष्ट्रपति भवनमा हावी हुनबाट रोक्न सैनिक समूहले फायरिङ गर्यो। तर प्रदर्शनकारी अन्ततः दरबारभित्र पसिछाडे। क्रोधित आन्दोलनकारीले संरचना तोड्दै आगजनी गरेको स्थानीय बताउँछन्। प्रदर्शनकारीले दरबारको जिम, स्वीमिङ पुल र भान्छाको प्रयोग गरेका अनेकौं भिडिया बाहिरिएका छन्।

राष्ट्रपति राजपक्षे परिवारसहित दरबारबाट बेपत्ता छन्। उनको अवस्था अज्ञात छ। राष्ट्रपति भवनबाहेक प्रधानमन्त्रीको निजी निवास र राष्ट्रपतिको सचिवालयमा पनि आक्रमण भएको छ।

स्वतन्त्रतापछि श्रीलंका सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ। ‘शान्ति चाहन्छौं। सुखद जीवन चाहन्छौं। सबैभन्दा महत्वपूर्ण कुरा छोराछोरीले राम्रो जीवन बिताउन चाहन्छन्,’ ५० वर्षीया शान्तिले भनिन्।

प्रकाशित मिति: : 2022-07-12 15:12:00

प्रतिकृया दिनुहोस्