अतिकति छुटेका कुराबाट सुरु गराैं। सुरुसुरुमा पढ्ने विद्यार्थीहरुमा उत्साह निकै थियाे। तर, अहिलेका जस्ताे पढ्ने र अभ्यास गर्ने सामग्री केही थिएनन्। अहिले त डिजिटल जमाना आइसकेकाे छ। भिडियो हेर्न सकिन्छ, अडियाे सुन्न सकिन्छ।
कम्प्युटर र माेबालाइमा लेख्न, पढ्न सकिन्छ। कापी, किताब, कलमकाे चिन्तै छैन। यत्ति हाे, पढ्ने मन भए भइगाे। सिकाइ प्रक्रियामा व्यापाक सुधार भएकाे छ भने प्रविधिमा उम्दा विकास भएकाे छ। दुर्गमका केही गाउँ, बस्तीबाहेक अरुलाई हाइसन्चाे छ।
इन्टरनेटबाट भिडियो क्लास लिइरहकाे देख्दा अनाैठाे लाग्छ। हामी बाँचुन्जेल यस्ताे परिवर्तन आफ्नै आँखाले देख्न पाउँला भनेर चिताएका पनि थिएनाैं। धन्यवाद छ विज्ञान र प्रविधिलाई, जसले हामीलाई यति सहज र सरल बनाइदियाे।
लाै! म त बहकिन पाे थालेछु। सुरुमा भनुँ भनेकाे कुरै छाेडेर कताकता उडेछु। यस्तै हाे बुढ्याैली उमेर। कुराकाे मेसा मिलाउन पनि गाह्राे पर्ने।
अँ! उसबेला पढ्ने र अभ्यास गर्ने सामग्री कम थिए भन्नुभन्दा पनि थिएनन् भन्नु उपयुक्त हाेला। पढ्ने विद्यार्थीले आफैँ सबै सामग्री जाेड जम्मा गर्नुपर्थ्याे।
जंगलमा भालुकाँडाकाे रुख हुन्छ। त्याे भालु काँडाकाे वृक्षमा लाग्ने फल पाक्याे भने कालाे हुन्छ। ती पाकुन्जेल कुर्नुपर्थ्याे। पाकेपछि कालाकाला दाना टिप्ने, त्यसमा जाैका हरिया पात र घरमा आगाे बाल्दा निस्केकाे धुवाँबाट घरका दारमा टाँसिएकाे र तावाकाे पछाडितिर लागेकाे कालाे धुर्साे मिसाएर मसी बनाइन्थ्याे।
जंगलकाे माथिल्लो ओसिलाे भागमा एक दिन जति लगाएर ल्याएका निगालाई सार्कीसँग तिखाे गरी ताछि मागे त्यसलाई कलम बनाइन्थ्याे। त्यसरी नै टाढाकाे जंगलबाट ल्याइएकाे भाेजपत्रमा निगालाकाे कलम मसीमा चाेप्दै अक्षरसँग साइनाे लगाइन्थ्याे।
त्यस अलवा हाटसिंजाकाे गानी खाेलामा कालाे सिलेट ढुंगा पाइन्थ्याे। छानीछानी ल्याएका काला ढुंगाकाे पाटी बनाइन्थ्याे। त्यसमा खरीले लेखेर हिसाब गर्दा अलि राहत हुन्थ्याे। यसरी अगाडि बढेकाे जुम्लाकाे अर्थात समग्र कर्णाली क्षत्रकाे शिक्षा हिमगिरी प्राैड पाठशालासम्म आउँदा धेरैले पढ्ने अवसर पाएका थिए।
तर, धेरैभन्दा धेरैलाई शिक्षा दिने उदेश्यले खाेलिएकाे हिमगिरी प्राैड पाठशाला आर्थिक अभावले बन्द भएपछि उमेर ढल्केकाकाे लागि शिक्षाकाे ढाेका पनि बन्द भयाे। पछि चन्दननाथ बहुउद्देश्यीय पाठशाला व्यवासायिक पाठशालामा परिणत भयाे। सँगै अरु विद्यालयकाे ढाेका पनि खुल्याे। विस्तारै स्कुलहरु गाउँगाउँमा विस्तार गरिए।
कनका सुन्दरी मावि, नराकाेट मावि, डिल्लिचाैर मावि, कुडारी मावि र जुम्लाकाेट मावि थपिए। एक हिसाबले शिक्षाकाे विकेन्द्रीकरण नै भयाे। अहिले आएर गाउँगाउँमा मावि स्कुलहरु खुल्न थालेका छन्।
त्यसबेला कर्णाली अञ्चलका अरु जिल्लामा पनि छिटपुट रुपमा मावि स्कुलहरु विस्तार गरिए। कृष्णबहादुर मल्लकाे सक्रियतामा मुगुमा कालिका मावि, चक्रबहादुर शाहीको सक्रियतामा हुम्लामा सर्केगाड माविकाे स्थापना भयाे।
जुम्लामै एसएलसी परीक्षा हुने भएपछि रामकृष्ण बुढथापा, विर्ख सुनार, गणेश चाैलागाई, इश्वरी न्याैपाने, गुरुराज न्याैपाने, दलबहादुर महत, नरबहादुर महत, नाेदराज न्याैपाने, खेमराज न्याैपाने, नारायणनाथ याेगी, नवराज उपाध्याय, प्रेम बहादुर शाही (प्रेम कैदी), रत्न बहादुर थापा, रामदत्त रावलले परीक्षा दिएका थिए।
२०२५ सालकाे एसएलसी परीक्षामा सामेल भएर कालिकोट गेलाकी नन्दाकुमारी शाही पास भएपछि छाेरीहरुमा उत्साह थपियाे। विस्तारै छाेरी पढाउने चलन सुरु भयाे।
अहिलेकाे अवस्था साना दुखले आएकाे हाेइन। पहिलेकाे शिक्षालाई हेर्दा डरलाग्दो र कहालिलाग्दो दृश्य आँखा अगाडि फनफनी घुम्छ।
२०२५ सालतिर एसएलसी पास गरेकाे हाे? भनी प्रश्न गर्दा, 'हाे, गरेकाे हाे, पक्का।' भन्दा आइएमा भर्ना हुन पाइन्थ्यो। मार्कसिटकाे आवश्यकता पर्दैन थियाे। प्राथमिक शिक्षालयमा म याे विषय पढाउन सक्छु, म पाँच/छ कक्षा पढेकाे छु भन्दा सर्टिफिकेटकाे आवश्यकता पर्दैन थियाे। नियुक्ति दिएर पढाउन लगाइन्थ्याे। पियन, वैदार जस्ता जागिरहरु सजिलै पाइन्थे। तर मन्छेहरु जागिर खानलाई सितिमिति तयार हुँदैनथे।
नेपालमा औपचारिक शिक्षाकाे सुरुवात वि.सं. १९१० सालबाट सुरुवात भएकाे थियाे। पृथ्वीनारायण शाहकाे पालादेखि नै विद्यार्थीलाई छात्रवृत्ति दिन थालिएको थियाे। तर केन्द्रीकृत राज्यसत्ताले गरेकाे एउट महत्त्वपूर्ण निर्णय जुम्ला आइपुग्न ९ दशक बढी लाग्याे। सिंगाे कर्णालीभरि पुग्न त शताब्दी नै लाग्याे।
नेपालका पहिलाे हेडमास्टर लाेकमानसिंह ढंगाेल एसएसली दिन भारत पुगेका थिए। त्यसकाे पाँच दशकपछि कर्णालीका मान्छेले बल्ला एसएलसी दिन पाए। यसरी नै हामी सत्ताकाे पहुँचबाट विमुख हुन पुगेका थियौं।
अहिले त्याे सम्झिँदा जमाना कहाँबाट कहाँ पुगिसकेछ जस्ताे लाग्छ। अहिले सबै कुराकाे अभिलेख पछिसम्म नमेटिने गरी राख्न सकिने भएकाे छ। तर पनि काठमाडौं र हामीमा कयाैं अन्तर त बाँकी नै छन्।
प्रस्तुति : महेश नेपाली