ठगीको नयाँ धन्दा

टिकटकमा दिमाग भुट्ने, ह्वाट्सएपबाट पैसा लुट्ने

पर्साको बहुदामाई नगरपालिका– ८ का राजनकुमार पण्डित (३० वर्ष) र रौतहट कटहरीया नगरपालिका– १ का उमेशकुमार यादव (२१ वर्ष) टिकटकलगायत सामाजिक सञ्जाल चलाउनमा माहिर थिए।

उनीहरूले जो कोहीको आनीबानी र रुची टिकटक भिडियो हेरेर छिनभरमै पत्ता लगाउन सक्थे।

सामाजिक सञ्जालमा सक्रिय उनीहरू एक दिन एउटा गिरोहसँग जोडिए। त्यसपछि उनीहरू रातारात करोडौँ पैसा थुपार्न सफल भए। कतिसम्म भने उनीहरू सुत्ने बिस्तारासमेत पैसाको चाङमाथि हुन थाल्यो।

एक-दुई क्लिकको भरमा उनीहरूको खातामा भटाभट पैसा जम्मा हुन थाल्यो।

गिरोहले टिकटक सञ्चालनमा उनीहरूको अद्भूद क्षमता देखेर उक्त कामको लागि छनोट गरेको थियो।

र, उनीहरूले गिरोहका प्रतिनिधिले जे–जे भने त्यही-त्यही गर्दै गए।

उनीहरूको काम थियो, टिकटकमा अनेकौँ मानिसहरू (विशेषगरी महिला)को चियोचर्चा गर्ने। तिनीहरूले के, कस्ता सामानहरू चाहन्छन् ? उनीहरू के लगाउँछन्, कस्ता सामानहरू चलाउँछन् ? पत्ता लगाउने।

र, जो मान्छेले टिकटकमा जे सामान बढी चाहन्छन् त्यही सामान टिकटक, ह्वाट्सएप र फेसबुकमार्फत् ‘तपाईंलाई लक्की ड्रमार्फत् यस्तो सामान पर्‍यो। कस्टम क्लियरेन्सको लागि हामीलाई पैसा पठाउनुहोस्’ भन्ने।

यसरी उनीहरूले टिकटकमा आइफोन मन पर्छ भन्नेलाई आइफोन, सुनको हार मनपर्छ भन्नेलाई हार, ल्यापटप मनपर्छ भन्नेलाई ल्यापटपको अफर गर्न थाले।

उनीहरूले टिकटक लाइभमा आएर मानिसहरूलाई त्यस्ता सामानहरू जस्तै: आइफोन, हारलगायत सामानहरू किन्ने प्रेरित गर्थे। उनीहरूले एकातिर टिकटक लाइभमार्फत् मान्छेहरूलाई ती सामानहरूको चाहना बढाइदिन्थे भने अर्कोतिर तिनै मान्छेलाई ‘तपाईंलाई लक्की ड्रमार्फत् यो सामान पर्‍यो’ भनेर बहकाउँथे।

यसरी बहकिनेहरूले लक्की ड्रमार्फत् परेको भनिएको सामान पाउनको लागि ती युवाहरूले भनेअनुसार ‘कस्टम क्लियरेन्स’का लागि पैसा पठाउन थाले। उनीहरूलाई ग्राहकलाई पाँच-सात हजारदेखि लाखसम्म पैसा ‘कस्टम क्लियरेन्स’का लागि विभिन्न बैंक खातामा पठाउन लगाउँथे।

यही क्रममा उनीहरूले नेपाल प्रहरीका एक जना अधिकृतकी सरकारी जागिरेसमेत रहेकी आफन्त पर्ने महिलालाई पनि त्यसैगरी ‘लक्की ड्र’मार्फत् आइफोन परेको र ‘कस्टम क्लियरेन्स’को लागि पैसा भुक्तानी गर्न भने। आइफोनको लोभमा ती महिलाले एक लाख पैसा बैंकमा जम्मा गरिदिइन्।

तर, आइफोन आएन। सम्पर्क गरेका सबै नम्बरहरू अफ भए।

आइफोनको लोभमा उल्टो पैसा गुमाएकी ती महिलाले भएजति कुरा प्रहरीलाई बताइन्। प्रहरीले अनुसन्धान गर्‍यो।

अनुसन्धान गर्दा यही भदौ ४ गते ललितपुरको कुपन्डोलस्थित गुसिङ्गालको एउटा कोठमा भेटिए, राजनकुमार र उमेश। नेपाल प्रहरीको साइबर व्यूरोको टोली उनीहरूको कोठामा पुग्दा उनीहरू त्यसैगरी अन्य मान्छेहरूलाई अफर गर्नमा उद्दत थिए, नोटहरू छोछ्याइएको बिस्तरामा रमाउँदै।

व्यूरोको टोली कोठमा छिर्दा ‘ओई कप्स् आयो, कप्स्’ भन्दै भाग्न खोजेका थिए। तर, सकेनन्। उनीहरूको त्यो डेराबाट व्यूरोको टोलीले ४९ लाख ९५ हजार रुपैँया नगद रकम, सात थान मोबाइल, १ सय ८५ थान सिमकार्ड, १२ थान एटिएम र एउटा मोबाइल राउटर बरामद गरेको छ।

यतिमात्रै होइन, व्यूरोमा ल्याएर अनुसन्धान गर्दा उनीहरूले अझ चाखलाग्दा र गम्भीर रहस्य पनि खोल्दै गए।

‘यिनीहरू त भारियामात्रै रहेछन्’ साइबर व्यूरोका प्रमुख एसएसपी नवीन्द्र अर्यालले भने।

एसएसपी अर्यालकाअनुसार राजनकुमार र उमेशलाई परिचालन गर्ने मुख्य गिरोह भारतमा छ। उक्त गिरोहले विशेषगरी नेपाल–भारत सीमा क्षेत्रमा बसेर नेपालमा सामाजिक सञ्जालमार्फत् ठगी धन्दा चलाइरहेको छ।

यो एउटा विशेष योजनामा गरिएको ठगी धन्दा हो। जसको सिकार बनेका छन्, सामाजिक सञ्जालमा अभ्यस्त र चञ्चल नेपाली।

उनीहरूको ठगी धन्दा विशेष सतर्कता र योजनासहितको छ।

उनीहरूले ‘जामजाम इलेन्ट्रोनिक्स’मार्फत् ग्राहकहरूलाई ‘लक्की ड्र’मा विजेता भएको सूचना उठाउँछन्।

त्यस्ता सूचनामा आकर्षित बनाउने काम राजनकुमार र उमेशजस्ता प्रतिनिधिहरूले गर्छन्। त्यही सूचनामा लोभिएका ग्राहकहरूले गिरोहले भनेको बैंक खातामा पैसा पठाइदिन्छ। त्यो पैसा जम्मा गरेर कोठमा राख्ने काम राजनकुमार र उमेशको हो।

उनीहरूले जम्मा गरेको पैसा युएनपार्क, शंखरधरपार्क वा कुनै पुल तथा खोला छेउमा भेट हुन आउने अर्को अपरिचित ग्याङले लिएर जान्छ। राजनकुमार र उमेश त्यो ग्याङसँग कुनै चिनजान वा बोलचाल हुँदैन। सबै काम इस्सारामा फत्ते हुन्छ।

राजनकुमार र उमेशबाट लिएको पैसा उक्त ग्याङ हुँदै गिरोहसम्म पुग्छ।

सामाजिक सञ्जालमार्फत् ठगी धन्दा चलाउने गिरोह नेपालमा नभई नेपाल–भारत सीमा क्षेत्रमा रहेको एसएसपी अर्याल बताउँछन्।

गिरोहसम्म पुग्न व्यूरोले इन्टरपोलको सहयोगमा अनुसन्धान अगाडि बढाइरहेको छ। भने, राजनकुमार र उमेशमाथि जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

टिकटक वा ह्वाट्स्एपमार्फत् ‘लक्की ड्र’को लोभ देखाएर सर्वसाधारणलाई लुट्ने धन्दा नयाँ होइन।

तर, यसरी ‘ग्रान्ड डिजाइन’ बनाएरै सामाजिक सञ्जालमा सर्वसाधारणको दिमाग भुट्दै भुट्दै लगेर नङ्याउने परिपाटी पछिल्ला दिनहरूमा मौलाउँदै गएका छन्।

‘यो विगतमा भए गरेका ठगीको जस्तो केस होइन। यो ठगी पूरै मास्टर प्लानमा भइरहेको छ’, व्यूरो प्रहरी निरीक्षक राजनकुमार खड्की भन्छन्।

राजनकुमारले भनेजस्तै यसरी ठगी गर्ने गिरोह सामान्य छैन।

व्यूरोको टोलीले राजनकुमार र उमेशबाट ४९ लाख ९५ हजार नगद बरामद गरेको छ। राजनकुमार र उमेशले बयानमा भनेका छन्, ‘यस पटक धेरै पैसा जम्मा भएको थिएन। हामीले अरुबेला त एक करोडभन्दा माथि पैसा घरमा राख्थ्यौँ।’

अर्थात्, यो गिरोहले पीडित बनाएकाहरूको संख्या निकै ठूलो छ। सयौँ मानिसहरूलाई पीडित बनाएको यो गिरोहले ठगी धन्दालाई प्रविधिको माध्यमबाटै व्यवस्थित बनाएर कसलाई कति ठग्ने, कसको केस कहाँसम्म पुग्यो ? कुन बैंकमा खाता खोल्ने, कुन सिमबाट फोन गर्ने, पीडित कस्तो व्यक्ति हो ? र उसले कस्ता कुरा मन रुचाउछ भन्ने जस्ता तमाम डाटाहरू (तथ्यांक) राखेका छन्। यो कुरा राजनकुमार र उमेशको कोठाबाट बरामद गरेको कोठमा भेटिएको डायरीबाट पुष्टि हुन्छ।

व्यूरोकाअनुसार राजनकुमार र उमेशले मात्रै १ सय ८५ वटा सिमकार्ड र सात वटा मोबाइल चलाएका छन्। भने, १२ वटा एटिएम कार्ड र ८० वटा बैंक खाता प्रयाेग गरेका छन्।

उनीहरूले पीडितलाई फोन गरेर पैसा मगाउँथे। पीडितले शंका नगरे ठिक छ। कोही पीडितले आशंका गरेर प्रहरीलाई खबर गरेको गर्‍यो भने उनीहरूले प्रहरीले अनुसन्धान गर्ने अनुमान गरेका फोन नम्बर र बैंक खाता निष्क्रिय (डिएक्टिभेट) गर्थे। र, सूचीमा रेड नोटिस् लगाएर ‘कप्स्’ लेख्थे।

‘कप्स्’ अर्थात् प्रहरीले अनुसन्धान गरिरहेका मोबाइल नम्बर वा खाता। प्रहरीले पछ्याइरहेका ती खाता गिरोहले एकाएक बन्द गर्थ्यो। र, फेरि नयाँ खाता खोल्थ्यो।

यसरी यो गिरोहले सर्वसाधारणको दिमाग भुट्नेदेखि प्रहरीबाट कसरी बच्नेसम्मका ‘डिजाइन’ नै बनाएको छ। उक्त ‘डिजाइन’मा छिर्ने प्रहरीको प्रयास जारी छ।

सामाजिक सञ्जालबाट हुने ठगी तथा अपराधमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कानुन आकर्षित हुन्छ।

सामाजिक सञ्जालमार्फत् आपराधिक गतिविधि गर्नेमाथि नेपाल प्रहरीको साइबर व्यूरोले निरन्तर डण्डा चलाइरहेको छ। तर, आमनागरिक नै सामाजिक सञ्जाल प्रयोगमा सचेत नहुँदा यस्ता घटना दोहोरिरहने गरेको प्रहरी निरीक्षक खड्की बताउँछन्।

‘सामाजिक सञ्जालमा ठगी धन्दा चलाउनेहरूमाथि अनुसन्धान गर्न र कारबाही गर्न व्यूरो सक्षम छ। तर, प्रयोगकर्ताहरू पनि टिकटक, फेसबुक, ह्वाट्सएपजस्ता सञ्जालहरू चलाउँदा सचेत हुनुपर्छ,’ खड्कीको सुझाव छ।

प्रकाशित मिति: : 2023-08-26 20:35:00

प्रतिकृया दिनुहोस्